सिङ्गै शैक्षिकसत्र खेर नफाल
कोभिड-१९ को संक्रमणसँगै करिब ५ महिना अवधिको लकडाउन र अहिले लकडाउन हटे पनि संक्रमणको जोखिम न्यून हुन नसकेका कारण सिङ्गै शैक्षिकसत्र खेर जाने संकेत देखिएको छ । जिल्लामा केही तहहरुले वैकल्पिक शिक्षाका रुपमा अनलाइन कक्षा तथा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्दै आए पनि सूचना प्रविधिको सहज पहुँच उपलब्ध हुन नसक्दा थोरै प्रतिशत मात्र विद्यार्थी अनलाइन कक्षा र रेडियो कक्षामा जोडिन सकेका छन् ।
अनलाइन शिक्षामा पनि विशेष गरी सामुदायिक विद्यालयको ध्यान पुग्न नसकेका कारण न्यून विद्यार्थीहरु मात्र अनलाइन शिक्षामा जोडिन सकेको तथ्याङ्क तुलसीपुरमा मंगलवार आयोजित भर्चुअल बैठकले संकेत गरेको छ । सरकारले परीक्षा नै नदिई एसइई परीक्षा दिने विद्यार्थीहरुलाई उत्तीणर् गराइए पनि बाँकी माथिल्लो कक्षाको पढाइको सम्भावना देखिएको छैन भने तल्लो तहका कक्षा सञ्चालनको प्रयास पनि सार्थक र फलदायी बन्नसकेको छैन ।
केही पालिकाहरुले शिक्षकहरुलाई टोल-टोलमा खटाएरै समुदाय स्तरमा कक्षा सञ्चालनको प्रयास गरे पनि अन्ततः यो अभ्यासले पनि सार्थकता पाउनसकेको छैन । सामुदायिक विद्यालय व्यवस्थापन समितिले पछिल्लो समयमा निजी स्रोतका शिक्षक समेत कटौती गरिसकेका छन् । उनीहरुलाई वेतलबी बिदामा घर पठाइएको छ ।
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरुलाई यस अघि नै विद्यालय जान र पठानपाठनको वातावरण मिलाउन भने पनि शिक्षकहरुले यसप्रति उत्साह नदेखाएको अवस्था छ । कतिपय विद्यालयहरुले अझै पनि पाठ्यपुस्तक विद्यार्थीका हातमा पुर्याउन सकिरहेका छैनन् । जुन असम्भव काम पनि होइन । रजिष्ट्ररमा विद्यार्थी, विद्यालयमै पुस्तक हुँदा विद्यार्थीहरुले स्वअध्ययनको वातावरण समेत पाउन सकेका छैनन् । नियमित रुपमा शिक्षकहरु विद्यालय जान सकिरहेका छैनन् । स्कूल नपुगे पनि तलव आइरहेको छ भन्ने मान्यताका आधारमा शिक्षकहरुमा अल्छीपन देखिएको छ । सरकार पनि निर्देशात्मक मात्रै बनेको छ ।
आधा शैक्षिकसत्र खेर गइसकेको अवस्थामा सिङ्गै शैक्षिकसत्रलाई खेर जान नदिनेतर्फ धेरै विकल्पहरु छन् । एक दिन पनि सयमलाई खेर नफाली मिहिनेत गरेको अवस्थामा अझै पनि शैक्षिकसत्रलाई जोगाउन सकिन्छ । त्यसका लागि विद्यार्थीहरुलाई सामाजिक दूरी कायम राखेर दुई वा तीन सिफ्टमा पनि पढाउन सकिन्छ ।
पूरै पाठ्यक्रमलाई नपढाइ मुख्य-मुख्य पाठ मात्र पढाउँदै विद्यार्थीलाई कक्षा अपग्रेड गर्न सकिने पनि अर्को विकल्प छ । यी विकल्पका विषयमा संघीय सरकार नै गम्भीर बन्नसकेको छैन । संघीय सरकारले नै निणर्य नगर्दा प्रदेश सरकार र स्थानीय तहहरुले पनि यसको अभ्यास गर्न चाहिरहेका छैनन् । यो सबैभन्दा दुःखद अवस्था हो । कोरोनाको संक्रमणबाट मुक्ति पाउन अझै कति समय लाग्ने हो कुनै निश्चित छैन । तर विकल्प रहेको अवस्थामा सबैभन्दा उच्चतम विकल्पको छनोट गरी वैकल्पिक रुपमा पनि पठनपाठनको व्यवस्थापन गरौँ । आझै आधा वर्ष बाँकी छ । पूरै शैक्षिकसत्रलाई खेर फाल्नबाट जोगाऔँ ।
