रजिस्टरमा विद्यार्थी रेडियोमा पढाइ, विद्यालयमै पुस्तक
खेमराज रिजाल
तुलसीपुर, ३ भदौ । एसईईको रिजल्टमा अस्वाभाविकरुपमा ग्रेड बढाइयो, किनकि कोरोनाका कारण विद्यार्थीहरुले परीक्षा दिनै पाएनन् । परीक्षै नदिई एसईई पास…। कति खुसी भए कति विद्यार्थीले चित्त बुझाएनन् । त्यो पनि स्वाभाविकै थियो ।
कोभिड–१९ को संक्रमणका कारण विद्यालयहरु बन्द भएको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले एउटा भर्चुअल शैक्षिक बहस कार्यक्रमको आयोजना ग¥यो । त्यसो त उपमहानगरपालिकाले केही बजेट छुट्याएर रेडियो कक्षा र अनलाइन कक्षा सञ्चालनको अभ्यास पनि शुरु गरेको थियो ।
तर ती अभियानले जम्मा विद्यार्थीहरुमध्ये १० प्रतिशतलाई पनि सम्बोधन गर्न सकेनन् । भर्चुअल बैठकमा शिक्षक प्रतिनिधिहरुले यही कुरालाई प्रमाणितसमेत गरेका छन् । तैपनि रेडियो शिक्षाले केही विद्यार्थीलाई समेट्न त खोजेको थियो, तर विद्यार्थीहरुले रेडियो सुन्न कत्ति पनि जाँगरै नगरेको तथ्यांक स्वयं विद्यालयका प्रधानाध्यापकहरुले पस्केका छन् ।
‘मेरो भाषा र बुझाइमा वैकल्पिक शिक्षाको उपलव्ध एकदमै न्यून छ, यसलाई शून्य उपलव्धि भने पनि हुन्छ, हाम्रो विद्यालयका विद्यार्थीहरुको नत अनलाइनमा पहुँच पुग्न सक्छ, नत सबैले रेडियोलाई फ्लो गर्न नै सक्छन्, त्यसैले हामीले त आलोपालो गरी विद्यार्थीहरुलाई फेस–टु–फेस पढाउन चाहेका छौं, त्यसलाई उपमहानगरपालिकाले अनुमोदन गर्नुको विकल्प छैन’, मावि भित्री संक्रामका प्रधानाध्यापक सूर्यबहादुर बस्नेतले भने ।
त्यसो त मावि पातु वनगाउँका प्रधानाध्यापक महेश न्यौपानेले पनि वैकल्पिक शिक्षाको उपलव्धि नगन्य रहेको सुझाव दिए । विद्यालयले वैकल्पिक शिक्षाका विषयमा एउटा फारम तयार गरी सबै अभिभावकका घर–घरसम्म पुगेर संकलन गरेको स्मरण गराउँदै उनले ती फारामको मूल्यांकनले पनि वैकल्पिक शिक्षालाई सम्बोधन गर्न नसकेको बताए ।
अब गाउँ–गाउँमा गएर पढाउने हो कि भन्ने विषयमा उपमहानगरपालिकाको योजनाको अपेक्षा रहेको पनि उनको अभिव्यक्ति थियो । ‘वैकल्पिक शिक्षा महसुस त भएको छ, तर उपलव्धि पाउन भने धेरै कठिन छ’, तुलसीपुर उपमहानगरपालिका–५ स्थित ज्ञानज्योति प्राविका प्रधानाध्यापक मेघराज घिमिरेले सुझाव दिए । किनकि सो स्कुलमा अधिकांश विद्यार्थीहरु श्रमिकका हुन् । उनीहरुसँग न अनलाइन शिक्षाको पहुँच सम्भव छ, न त उनीहरुलाई नियमित रेडियो सुन्ने अभ्यास नै छ ।
लकडाउन अवधिभरी उनीहरुका बालबालिका पातुखोलामा गिट्टी खोतल्नसमेत अभ्यस्त देखिन्छन् । भर्चुअल कार्यक्रममा प्रधानाध्यापक घिमिरेले भनेका थिए– ‘हामीले यो रेडियो सुनभन्दा पनि नतिजा आउन सकेको छैन, त्यसैले वैकल्पिक शिक्षाको पनि विकल्प खोज्न आवश्यक छ ।’ तर समग्रमा अनलाइन शिक्षालाई सामुदायिक विद्यालयका शिक्षकहरुले नै ग्रहण गर्न सकेका छैनन् ।
अनलाइन बैठकमा बोल्ने धेरैले वैकल्पिक शिक्षाको उपदेयिता नभएको बताए । तर पछिल्लो अवस्थामा न विद्यार्थी, अभिभावक र शिक्षकहरुबीच सम्पर्क नै छ, न त शैक्षिक–सत्र खेर जान नदिने कुनै विकल्प नै शिक्षकहरुले पस्केका छन् ।
केही सामुदायिक विद्यालयहरुले समुदाय तहमा पढाइ शुरु गरेको अवस्थामा पनि पाठ्य सामग्रीको अभावसँगै बस्ने व्यवस्थासमेत सहज नभएको भन्दै एक महिनामै कक्षा बन्द भएको थियो । अनलाइनको एक्सेस विद्युत सेवाले सहज हुन दिएको छैन भने रडियो शिक्षासमेत प्रभावकारी बन्न नसकेको विद्यालय एवं अभिभावकहरुको गुनासो रहेको छ ।
शैक्षिक बहसमा विद्यालयमा क्वारेन्टाइन तत्काल हटाउन र पाठ्यभारलाई घटाएरै पनि शैक्षिक सत्रलाई खेर फाल्न नहुने सुझाव थियो । तर यो विषयमा संघीय सरकारको कुनै आधिकारिक निर्णय भने आएको छैन । संघीय सरकारले पाठ्यभार घटाएरै पनि विद्यार्थीहरुको शैक्षिक–सत्र खेर जान नदिन कुनै अर्थपूर्ण पहल गर्न सकेको छैन ।
सामुदायिक विद्यालयहरु मात्र नभएर निजी विद्यालयहरुले पनि केही महिना अनलाइन कक्षाको सुरुआत त गरे, तर सबै विद्यार्थीहरु अनलाइन शिक्षामा जोडिन नसक्दा फेरि अनलाइन कक्षा बन्द भएको पनि बताइएको छ ।
किनकि अनलाइन शिक्षालाई नेपालको भूगोल, सूचना प्रविधिको पहुँच तथा इन्टरनेट सेवाले पनि नियमित सपोर्ट दिने अवस्था छैन । छिनछिनमा अवरुद्ध हुने विद्युत सेवा कहिले नियमित हुने भन्ने सवालमा सरकारी निकाय नै गम्भीर नभएको अवस्थामा अनलाइन शिक्षाको परिकल्पना नै उपलव्धिमूलक एवं अर्थपूर्ण हुन सक्ने अवस्था छैन ।
शिक्षक आफै कोभिड विशेषज्ञ बनिदिन्छन्ः शिक्षा प्रमुख गौतम
त्यसै भर्चुअल बैठकमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख भाष्कर गौतमले शिक्षकहरु नै शैक्षिक–सत्र खेर जान नदिने सवालमा कत्ति पनि गम्भीर नभएको बताएका छन् । आफूहरुले कम्तीमा अभिभावकको फोन नं. मात्रै मागेको अवस्थामा पनि सम्बन्धित विद्यालयका प्रधानाध्यापकले दिन नसकेको गौतमको गुनासो थियो । पोल खुल्ने डरले प्रधानाध्यापकहरुले आफ्ना विद्यार्थी र अभिभावकको विवरण दिनसमेत पाएका छैनन् ।
रजिस्टरमा विद्यार्थी, अनलाइनमा पढाइ र विद्यालयमा पुस्तक अझै पनि थन्किइरहेका छन्, एकजना मात्रै शिक्षक यहाँ आउनुस् मेरो विद्यालयमा यति विद्यार्थी छन् भनेर’, शिक्षा प्रमुख गौतमले भने । शिक्षकहरु नै आफ्नो दायित्वमा चुकेको बताउँदै जे–जस्तो अवस्थामा पनि शैक्षिक सत्र खेर जान नदिन आफूहरुको यात्रा जारी रहेको पनि उनको अभिव्यक्ति थियो ।
‘फेसबुकलगायतका सामाजिक सञ्जालमा गाली गर्ने, नेताका पछाडि लागेर स्थानीय पालिका धाउने अनि स्कुलमा भएका विद्यार्थीको रेकर्ड अपडेट नै नगर्ने कस्तो प्रवृत्ति हो’, गौतमले भने । शिक्षकहरु आफै कोभिडको विशेषज्ञ बनेर विद्यार्थीलाई विद्यालयको पहुँचमा ल्याउन नदिने काम गरेको पनि उनको आरोप थियो ।
किनकि शिक्षकहरुले शिक्षा शाखा र सम्बन्धित पालिकाका जनप्रतिनिधिलाई उडाउने काम मात्र गरिरहेका छन्, त्यसैले नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका पाठ्यपुस्तक पनि सम्बन्धित विद्यालयमा थन्क्याएर राखिरहेका छन् । अहिले त भएन आइसल पढौंला भन्ने मनस्थितिमा शिक्षकहरु रहेको पनि शिक्षा प्रमुख गौतमको अभिव्यक्ति थियो ।
अनलाइन शिक्षा बहसमा तुलसीपुर नगर क्षेत्रका कम्तीमा दुई दर्जनले नाम दर्ता गराए पनि अभ्यासमा भने बढीमा एक दर्जन शिक्षकहरु आएका थिए । भर्चुअल बहसको सहजीकरण शिक्षा शाखाका शाखा अधिकृत मानबहादुर खड्काले गरेका थिए ।
