Goraksha

National Daily

वृद्धभत्तामा अनियमिता

घोराही, ३ भदौ । घोराहीकी एक बृद्धाले आफूले पाउँदै आएको बृद्धाभत्ता नपाएको गुनासो गरेकी छिन् ।

घोराही–२ रामपुर निबासी देबाकली खनालले आफ्नो सिभिल बैंकमा रहेको 04B-00118143017 नम्बरको खातामा जम्मा भएको माघ महिनाको बृद्धभत्ता बाफतको ८ हजार रुपैयाँ आइतबार बैंकमा निकाल्न जाँदा पैसा खाताबाट निकालिसकेको बैंकले जानकारी गराएपछि उनी रित्तै हात फर्किइन् ।

गएको माघदेखि असारसम्म खनालले बृद्धभत्ता बाफतको रकम १६ हजार पाउनुपर्नेमा वडा कार्यालयले असारमा कोरोनाका कारण वडा कार्यालयबाट ८ हजार ती बृद्धा महिलालाई दियो । तर, वडा कार्यालयले भर्पाई भने १६ हजारमा गराएको छोरा शिवराज खनालले बताए । उनले बैंकमा आमालाई ल्याएर पैसा निकाल्न आउदा मात्रै आफूले थाहा पाएको भन्दै पैसा बैंकबाट वडाध्यक्षले लगिसकेको पनि वडा कार्यालय पुगेर थाहा पाएको सुनाए ।

आमालाई ल्याएर आइतबार बैंकमा पैसा निकाल्न आएको थिएँ, तर, आमाको बैंक खातामा १६ हजार नै पैसा गएको देखिन्छ, माघदेखि असारसम्मको पाउनुपर्ने १६ हजारमध्ये आमाले असारमा कोरोनाका कारण वडा कार्यालयबाट ८ हजार बुझ्नुभएको हो’, छोरा खनालले गुनासो गर्दै भने– ‘यो गलत काम भएको छ, राज्यले दिएको बृद्धभत्ता पनि नपाउने अबस्था आउनु दुःखद् पक्ष हो, यो मेरो मात्रै होइन होला, त्यहाँका धेरै बृद्धबृद्धाको यो समस्या हो, ८ हजार दिने १६ हजारको भर्पाई गराउने यो गलत काम हो, थाहा पाउनेले त भन्ने भए, थाहा नपाउनेलेलाई समस्या भयो ।’

छोरा खनाल यो बिषयमा बुझ्न आइतबार नै घोराही–२ रामपुरको वडा कार्यालय पुगे । साथमा सोही वडाका सदस्य थिए गिरबहादुर केसी कँवर । उनले सो बारेमा जानकारी वडा सदस्यलाई पनि गराए । वडा कार्यालयका कर्मचारीलाई वडा सदस्यले सो समस्याका बारेमा सोध्दा कर्मचारीले १६ हजार भर्पाईमा ल्याप्चे लगाएको जानकारी वडा सदस्यलाई गराएपछि यो कुरा बाहिर आएको हो ।