आस्थामा : ‘ईश्वर छ’
नारायणप्रसाद श्रेष्ठ
बाबुको पहिचान जन्म दिने आमाको हाउभाऊ र परिचयबाट भएको हुन्छ अथवा बच्चाको बाबु जबसम्म आमाले इसारा गर्दैनन् तबसम्म थाहा नभइरहेको हुन्छ । कारण यो अदृश्य शक्तिभित्र लुकेको परमसत्य हो । समाजले बच्चाको बाबु विवाह संस्कारमा सामेल भएको नाताले त्यही हुनुपर्छ भन्ने मान्यता राखेको हुन्छ । तर, असली कुरा उसको आमा वाहेक अरुलाई थाहा हुँदैन । त्यसैले भनिन्छ आमा सत्य हो बाबु सत्यभित्र लुकेको अदृश्य शक्ति हो ।
जसरी जन्म मरणको इतिहासमा यो क्रम दोहोरिरहन्छ त्यसरी नै ईश्वरीय शक्ति पनि यसरी नै गतिशील भइरहेको हुन्छ । कुनै अवस्थामा सत्य भएर प्रकट भएको पाइन्छ भने कतिपय अवस्थामा अदृश्य शक्तिको रुपमा पनि प्रत्यक्ष भएको महशुस गर्न सकिन्छ । जसरी आमाले बाबुको पहिचान गराएकी हुन्छिन् त्यसरी नै आस्थाले ईश्वरको पहिचान गराएको हुन्छ । आस्था, विश्वास र समर्पण नै ईश्वरको पहिचान हो ।
जहाँ आस्था हुन्छ त्यहाँ ईश्वरको रुप प्रकट भइरहेको हुन्छ । तसर्थ, संसारमा जेजति घटना र परिघटना भइरहेका छन् ती सबैमा कहीँ न कतै ईश्वरीय रचना प्रतिविम्बित भइरहेको हुन्छ । ठूला–ठूला दर्शनशास्त्रीहरु पनि ईश्वरप्रतिको विश्वासले आफू सफल भएको महशुस गर्दछन् । ईश्वर छ र ईश्वरीय कृपाले नै अहिले मेरो संकल्प सफल भएको भनी उनीहरु भन्न हिच्किचाउँदैनन् ।
यति मात्र होइन आविस्कारको प्रत्येक क्षण वा प्रारम्भको पहिलो कर्मविन्दुको सुरुवात उनीहरुले ईश्वरप्रति आस्था र भरोषा राख्दै आफूलाई प्रदर्शन गरेका हुन्छन् । हामीले वर्तमान अवस्थामा जे–जति पौराणिक ग्रन्थहरु अध्ययन र विश्लेषण गरेका छौँ त्यसमा कहीँ न कतै ईश्वरीय लीला प्रतिविम्बित भएको पाइन्छ । ती सबै हामीमा रहेको अस्था र भरोषाले स्वीकार्दै आएको सत्य हो ।
त्यसैले हिजो, आज र भोलिको परिस्थितिलाई अँगाल्ने परिस्थिति जुन किसिमले आज देखिँदै छ त्यसमा कतै विश्वास र कतै भरोषा लुकेकोले यसलाई ईश्वरीय कृपा होइन भन्ने आधार भेटिन सकेका छैनन् । जन्म, मृत्यु सत्य हो भनी प्रमाणित गर्ने वैज्ञानिकले समेत मानव आत्माभित्र समाहित सत्य पुञ्ज कहाँ र कसरी आउँछ जान्छ यस कुराको खोज गर्न सकेका छैनन् । यसबाट सिद्ध हुन्छ ईश्वर छ र यो आस्था र विश्वासमा छ ।
केही समय हामीले आस्था र भरोषाका कारण कृष्ण जन्मको सार्थकतालाई स्वीकारी विविध किसिमले कृष्णजन्माष्टमी मनायौँ । कृष्णले गरेका कर्म र व्यवहारलाई मार्गदर्शनको रुपमा स्वीकार्ने वातावरण पनि बनायौँ । आज हामी बाबुको मुख हेर्ने पर्व मनाउँदै छौँ । मातापिता ईश्वरको स्वरुप हो भनी स्वीकार्दछौँ ।
त्यसको केही दिनपछि हामी तीज पर्वमा समाहित हुने छौँ । पार्वतीले महादेव स्वामी पाउँ भनी गरेको ब्रतको प्रभाव तीज पर्वलाई हिन्दू अनुयायीले स्वीकार्ने गरेको छ । कसैले पतिको आयु र कसैले कर्ममा आधारित भएर यो पर्वलाई स्वीकारेको स्थिति छ । कतिपयले यस पर्वको वैज्ञानिक आधारलाई पनि स्वीकारी मनाउँदै गरेको पाइन्छ ।
यसबाट के थाहा हुन्छ भने पर्वभित्र कहीँ न कतै सत्य लुकेको छ । जहाँ सत्य हुन्छ त्यहाँ विश्वास हुन्छ, जहाँ विश्वास र आस्था हुन्छ त्यहाँ संकल्प र दृढता रहन्छ । यही मानव जीवनलाई गतिशील बनाउने आधार पनि हो । त्यसैले ईश्वर खोज्न अन्त होइन आफूभित्रको विश्वास र आस्थालाई बलियो बनाई अन्तरआत्माभित्रको चेतनालाई जागृत गराउनु पर्छ । विश्वास र श्रद्धा नै हिन्दू सभ्यताको अनुपम दृष्टान्त पनि हो ।
खुशी मिहिनेतपछि प्राप्त हुने आनन्द हो । जहाँ परिश्रम हुन्छ त्यहाँ सफलता हुन्छ । जहाँ सफलता हुन्छ त्यहाँ आनन्द हुन्छ । त्यही आनन्द नै खुशीको क्षण पनि हो । खुशीले खुशी पनि पाइँदैन । अन्धकारबिना उज्यालोको कुनै महत्व नभएझैँ आस्था बिना विश्वास रहँदैन र जहाँ विश्वास रहँदैन त्यहाँ सत्य टिक्न सक्दैन ।
त्यसैले सत्यको पहिचान गर्न आफैले परिश्रम गरी अनुभूति गर्नु पर्छ । खुशी हुन मनलाई पवित्र धारमा लैजान सक्ने क्षमता प्रदर्शन गर्न सक्नुपर्छ । एकाग्र र थीर रुपले स्मरण शक्ति बृद्धि गरी आफूलाई प्रस्तुत गर्नु पर्छ । कामना राख्नु कुनै गलत कुरा होइन तर बुझ्नुपर्ने सत्य के हो भने कामनामा आशक्ति राख्नु हुँदैन ।
कामनामा तृप्ति राख्नु भनेको अचेतन अवस्थामा गुज्रनु हो । किनकि मानिसका विचारहरु चेतना, अचेतना र सचेतनामा गुज्रिरहने प्रक्रियाभित्र गतिशील भइरहेको हुन्छ । कुनै कुराको पनि विश्वास नराख्नु मानिसभित्रको अहंकारीपन हो । यसले सधैँ घमण्ड र स्वार्थ निम्त्याइरहेको हुन्छ । जहाँ स्वार्थ हुन्छ त्यहाँ अविश्वास लुकेको हुन्छ ।
इच्छा प्राप्तिभित्रको मोह राख्नु भनेको आफ्नो दायित्व बिर्सनु हो । त्यसैले ईश्वरको महिमा बुझ्नु छ भने मठमन्दिर मात्र होयन सत्संग र सहकार्यमा उत्साहित भएर लागिरहनु पर्छ । मन सुनीति हुनुपर्छ, सुरुचि रहनु हुँदैन । किनकि दृष्टिभ्रमले बढाउने सुरुचिले मानव जीवनलाई अल्मल्याउन सक्छ । त्यसले वेचैनी उत्पन्न हुनसक्छ । जहाँ वेचैनी हुन्छ त्यहाँ विचारमा स्खलन हुन पुग्दछ । त्यसैले आफूभित्रको शक्तिलाई पहिचान गरी विश्वास र भरोषामा रहेको ईश्वरीय गुणलाई शिरोधार्य गर्न सक्नुपर्छ ।
हुन त मानिस ईश्वर खोज्न विभिन्न मठमन्दिर, गिरिजाघर, मस्जिद आदि स्थानमा जान्छन् । म त ईश्वरीय भक्तिमा लागिसके भनि आफूलाई वाह्य हाउभाउमा समर्पण गरेको पनि देखाउँछन् । तर ती सबै ढोङ मात्र हुन् । मठमन्दिरमा ईश्वर खोज्न जानु भनेको आफ्नो धारणालाई केन्द्रिकृत गर्ने माध्यम प्रयोग गर्नु हो । तर त्यो नै सबै हो भन्नु हुँदैन । किनकि ईश्वर खोजी गरेर भेटिने वस्तु होइन । वस्तु हराएझैँ ईश्वर खोज्न कतै धाउनु पर्दैन ।
यो त मानव हृदयभित्र लुकेको अदृश्य जीवतत्व हो । यसलाई खोज्न आफ्नै मनभित्रको त्यो स्थानलाई चिन्नुपर्छ जसले आस्थाको आधारमा वाह्य जगतमा प्रकट हुन सक्षम राख्दछ । आस्था छैन भरोषा पनि छैन, देखावटी हिसाबले यदि मानिसको इच्छा ईश्वर प्राप्तिमा लागेको छ भने त्यो केवल स्वार्थ र अहंकारको प्रतीक मात्र हो । आँखा लोभी मन पापी भनेझैँ देखावटी आचरणले ईश्वर प्राप्त गर्न सकिँदैन । फेरि आँखाले देखेको सबै सत्य पनि हुँदैन । किनकि एउटा सामान्य उदाहरण हेर्ने हो भने हामी बुझ्छौँ कि ईश्वर छ र यो अदृश्य शक्ति भएर प्रज्ज्वलित छ ।
जस्तो मानिसको इच्छा र आकांक्षा धेरै छ, प्राप्ति गर्न पनि खोजिरहेको हुन्छ तर सफलता पाउन सकेको हुँदैन । एउटा थोक सोच्यो अर्को भइरहन्छ । मानव सोचको परिणाम विपरित अर्को उपलब्धि देखिन्छ । मन ताक्छ बञ्चरो ताक्छ घुँडो भनेझैँ मनमा एउटा व्यवहारमा एउटा यो पनि देखिन्छ । तसर्थ, ईश्वरलाई खोज्न अथवा प्राप्ति गर्नु छ भने मनको मैले पखाल्न जरुरी छ । दृष्टिभ्रमभित्र लुकेको विलाषीपनलाई छोड्नु पर्छ । प्रकृतिसँग रमाउन सिक्नुपर्छ । प्रकृति र वातावरणले ल्याउने परिस्थिति अनुकूल आफूलाई परिचालन गर्नु पर्छ ।
आस्था, भरोषा र विश्वास अटल राख्नु पर्छ । जब मनमा अटल आस्था र विश्वास दृढ भएर संकल्पित हुन्छ तब त्यहाँ जताततै ईश्वरीय शक्तिको बोध हुन थाल्छ । त्यसैले क्षणिक लोभ र आशक्तिमा फसेर ईश्वरको महिमालाई गलत दिशा निर्देश गर्नुको बदला आफूभित्रको सत्य पहिचान गरी आध्यात्मिक सत्यले स्वीकारेको सत्संग गर्न जरुरी हुन्छ । यसैबाट मानिसमा विश्वासको वातावरण बन्दै जान्छ र अन्त्यमा मानिस ईश्वरलाई पहिचान गर्न सक्षम हुन्छ । यस कुरालाई सबैले ख्याल गर्नु पर्छ ।
