Goraksha

National Daily

कक्षा ७ मा भर्ना भएको दिन …

निःस्वार्थ अनि निर्भिक, दृढ अनि गतिशील । यी तमाम ऊर्जा–तत्वले भरिएको त्यो अनुहार । न दम्भ न अहंकार । शालिन, सौम्य र सरल, अर्थात् शिवप्रसाद घिमिरे । आफ्नै कर्म, लगाव र समर्पणले उभ्यायो, उनलाई । त्यही सर्मपणले उभ्याएको जीवनमा खुशी खोज्दा उनी बाल्यकालमा नै फर्किए । र, भने–‘कक्षा ७ को भर्नाको दिन ।’

पहाडको बसाई, गरिखाने परिवार । बुबाको पढाउने भन्दा घरमै बसेर काममा सहयोग गरोस् भन्ने चाहना । तर कर्म नै अघि लागेपछि कसको के लाग्छ र ? आफन्त र अरुले पनि मलाई पढाउनु पर्छ भनेर बुबालाई सुझाव दिए । सुझावमा बुबा राजी हुनुभयो । ‘स्कूल छोडेको २ वर्षपछि कक्षा ७ मा भर्ना भएँ, त्यो दिन नै मेरो जीवनको सबैभन्दा खुशीको क्षण हो’–उनले भने । बीचमा टुटेर जोडिएको उनको शिक्षाको गोरेटो त्यसपछि फराकिलो बनेर आयो ।

राजनीतिशास्त्रमा स्नाकोत्तर र कानुनमा विएल गरेका घिमिरे जिल्ला बारका अध्यक्ष हुन् । २०७६ मंसिर २८ मा जिल्ला बारको नयाँ नेतृत्वको लागि चुनाव मिति तय भएको थियो । अध्यक्षको उम्मेद्वारको दौडमा उनी पनि थिए तर परिस्थिति अनुकूल थिएन । संगठन र पार्टीले अर्केलाई अध्यक्षको टिकट दियो । त्यो उम्मेद्वारलाई फरक पार्टीहरुले पनि समर्थनको घोषणा गरे । तर त्यहीबीचमा उनी अध्यक्षको उम्मेद्वार भए ।

चुनावमा प्रतिस्पर्धीभन्दा ४ मत धेरै प्राप्त गरेर जिल्ला बार सम्हाल्ने लिस्टमा आप्mनो नाम सुनिश्चत गरी छाडे । उनको त्यो जितलाई धेरैले आश्चर्य नै भने । धेरैले उनीप्रति गर्ने प्रश्न यो पंक्तिकारले पनि सोध्न भ्यायो– ‘त्यो बेला कसरी जित्नुभयो त चुनाव ?’ उनको जवाफ सरल छ–‘म मतदाताको उम्मेद्वार थिएँ, त्यही भएर चुनाव जितेँ ।’ यो जीवनको अर्को खुशीको क्षण भएको उनले सम्झना गरे ।

यसैगरेर उनको जीवनमा धेरै खुशीका क्षणहरु छन् । त्यही खुशीका क्षणबाट मूल्यांकन गरेर बसाइसराई खुशीको अर्को क्षण भएको सम्झना गरे । साविकको काभ्रे गाविस हाल बंगलाचुली गाउँपालिका ३ कमिरेचौर । उच्च शिक्षाको लागि घोराही भरतपुर आउनुपर्ने तर त्यति सहज थिएन, न त सवारी साधन नै चलेका थिए । पैदल हिड्नुपर्ने बाध्यता ।

धेरै सयम उनले पनि त्यही नै गरे । शुक्रवार स्कूल बिदा भएपछि घर जान झण्डै ४ घण्टा पैदल हिडे र आइतवार विहान पैदल हिडेर स्कूल भ्याए । तर पनि हार खाएनन्, उनले । बरु त्यससँगै संघर्ष गर्दै अघि बढे । त्यही बीचमा २०४० सालमा पहाडबाट हालको घोराही उपमहानगरपालिका १३ बडहरा बसाइसराई गरे ।

त्यसपछि बल्ल सहजता र सुगमताको महशुस गरेको र त्यो पनि जीवनको खुशीको क्षण भएको बताए । सहर झरेपछि सुविधाको खोजी भयो । बहुदल प्राप्तिको आन्दोलन बलेर सकिएको थियो । त्यसको केही वाछिटा देखिने समय भने सकिएको थिएन । महेन्द्रवहुमखी क्याम्पसमा आइएल दोस्रो वर्षका विद्यार्थी । पहिले आइए नै पढे । तर त्यसमा खासै जाँगर चलने, त्यसपछि कानुन पढ्ने निधो गरे र पढे ।

घरबाट क्याम्पस पुग्न झण्डै पौने घण्टा लाग्ने । त्यो भन्दा अघि साइकल नै प्रयोगमा थियो । जीवनलाई सहज बनाउन र समयको मागअनुसार स्पेलेण्डर बाइक किने । त्यो बेला त्यसको मूल्य ८५ हजार थियो । त्यो किन्दा पनि जीवनमा आनन्द प्राप्त भएको थियो । त्यो पनि मेरो जीवनको खुशीको क्षण हो । स्पेलेण्डर हुँदै उनी भिआरमा पुगेका छन् । त्यही भिआरसँगै उनी जीवनको रोडम्यापमा दौडिरहेका छन् ।

उनको जीवन पनि आम मानिसको जस्तै सरल र वक्ररेखा दुवैमा हिडेको छ । बाल्यकालसम्म वक्ररेखामै बित्यो । तर त्यसपछि जीवन सहज र सरल दुवै भएर आएको छ । २०४० सालमा एसएलसी पाससँगै उनले लेखापढी काम सुरु गरे । त्यसले घरपरिवार चलाउन र छोराछोरीलाई पढाउन सहज बनायो ।

धेरै वर्ष मालपोततिर लेखापढी गरेका उनी अदालततिर जोडिए र कालोकोट लगाएर श्रीमान !…… भन्दै कानुनका ‘केस्रा’ केलाउँदै आजभोलि बहस गर्ने ठाउँमा अधिवक्ता भएर उभिएका छन् । त्यो पनि जीवनको खुशीको क्षण भएको बताए ।

सूचना तथा सञ्चार प्रविधिको पहुँच थिएन । गाउँकै केटी भएकाले भेटघाटको माध्यम भने निरन्तर नै थियो । त्यो पनि पानी–पँधेरो र ग्वाला जाने समय । मनमा प्रेम भने पलाएको थियो तर कहिल्यै भन्न सकेन । त्यो मनमा दबाएर नै राखेको थिए । बोलचाल र झगडा दुवै हुने । तर प्रेमको ग्रिन सिग्नल भने देखाउनसकेको थिएन ।

त्यो बेला समय त्यस्तै थियो । धेरै डर र लाज लाग्ने समय । तर पछि घरकाले नै उनै अर्थात् देवी पाण्डेसँग नै २०३८ सालमा मागी विवाह गरिदिनुभयो । त्यो पनि मेरो जीवनको अर्को खुशीको क्षण हो ।

२०२२ साल जेठ १६ गते बुबा बामु घिमिरे र आमा ईश्वरी घिमिरे कोखबाट जन्मेका उनका २ छोरा र ३ छोरी गरेर ५ सन्तान छन् । सन्तान हिड्ने बाटो पनि सहज नै बनाएका छन्, उनले । अर्थात् सबै सन्तानलाई राम्रै शिक्षा दिएका छन् । सन्तानको शिक्षामा पनि उनलाई सन्तोष नै छ । छोराछोरीले पनि राम्रै पढेका छन् । कोही रोजगारमा छन् । कोही आफनो पेशा व्यवसाय गरेका छन् । ‘त्यो देख्दा खुशी लाग्ने गरेको छ’–उनले भने ‘त्यो पनि जीवनको अर्को खुशी हो ।’

उनको जीवन पनि वहुरुपी गहराजस्तै छ । राजनीति, सामाजिक अभियन्ता, कानुन व्यवसायी, नेपाली कांग्रेसको वडा सभापति भएर ३ कार्यकाल नै चलाए ।

त्यो बाहेक अन्य संघसंस्थामा पनि आबद्धता छन् । पार्टीमा काम गर्दा पनि सधैँ सहज भयो । पार्टीले दिएको जिम्मेवारी सधैँ पूरा गरे । त्यो भएर होला पार्टीले पटक–पटक वडा सभापतिको जिम्मेवारी दियो । त्यो मेरो लागि अर्को खुशी हो’–उनले भने । जीवनमा कमाउनु भन्दा सहयोगी हुनुपर्ने मान्यता छ, उनको ।

‘कोही सहयोग माग्न आएमा कहिल्यै पनि सहयोग नगरेको सम्झना छैन, आपूmसँग जे–जस्तो छ, त्यो दिएर पठाउने गरेको छु’ उनले भने ‘त्यहाँ मैले जीवनको खुशी भेट्ने गरेको छु ।’ परिवारको शिक्षा नै त्यस्तै थियो, त्यही भएर सहयोग खोज्न आउने खालि हात फर्कंदैनन् । र, भन्छन्–‘त्यो भएपछि जीवन सधैँ खुशी हुन्छ ।’

प्रस्तुती : इन्द्र डि.सी.