रेडियो ‘लवगुरू’ भानुभक्त

‘मेरो प्रेम थियो, टुट्यो, प्लिज दाजु उनी (प्रेमी)बाट म टाढा रहेर बस्नै सक्दैन’ एक युवतीको यो टेलिफोन संवाद सुनेर रेडियोको माइक्रोफोन अगाडि निःशब्द जस्तै थिए, भानुभक्त बस्नेत ।

भताभुङ्ग भइसकेको एक ‘प्रेमिल घर’ पुनः ठड्याइदिने उपाय के हुन्थ्यो र ? तथापि माइक्रोफोनबाटै सान्त्वनाको मल्हमपट्टी बाँध्ने कोशिश गरिरहे, भानुभक्तले । पीडाले गाँजिएका ती प्रेमिकाको मन झनै भत्कियो ।

हेडफोनमा एकोहोरो रुवाई बाहेक शब्दहरु फुर्न छोडे । भानुभक्त विवश थिए ‘संवाद अन्त्य गर्न ।’ टुटेको एक प्रेम कथाले कुँडिएको भानुभक्तको मन त्यतिबेला केही शान्त बन्यो–‘लगत्तै ती युवतीका प्रेमीसँगै फोनमा गफिन पाए ।’ रेडियोको तरङ्गमा गुञ्जिएको ती प्रेमिकाको क्रन्दन उनका प्रेमीले सुनिरहेकै रहेछन् अनि उनै प्रेमीले फोन बजाए ।

आफूले रेडियोमा सुनेको आफ्नी प्रेमिकाको क्रन्दनले मन थिलोथिलो भयो । प्रेमकथा अन्त्य हुनुको पीडामा ती प्रेमी पनि त रहेछन् । पुराना गल्ती सच्याएर एक प्रेमिल घर पुनः ठड्याउने रेडियोबाटै गरेको उद्घोषले भानुको मन शान्त बन्यो ।

‘रेडियो कार्यक्रममै भएको फोन संवादले भत्किएको एउटा प्रेमिल घर ठड्याउने अवसर मेरा लागि धेरै ठूलो हो’–भानुक्त भन्छन्–‘त्यो बेला केही गरेँ भन्ने आभाष भयो ।’ प्रत्येक हप्ता यस्ता धेरै प्रेमकथासँग अन्तरघुलन भएरहन्छन्, भानुभक्त बस्नेत । प्रेममा मस्त हराइरहेका कथाहरुमा आनन्दले बगिरहेका हुन्छन्, उनी अनि प्रेम पीडाका कथाहरुमा उसैगरी दुखेर सान्त्वना बाँड्न थाल्छन् ।

रेडियो कार्यक्रममार्फत् धेरै जोडीको प्रेमिल घर पुनः ठड्याइदिएका पनि छन्, भानुभक्तले । यसर्थ उनी केही प्रेम जोडीका लागि रेडियो ‘लवगुरु’जस्तै बनिदिएका छन् । उनकै कार्यक्रमको माध्यमबाट आफ्नो प्रेम सम्बन्ध पुनः जोडिएका उदाहरणका पात्रहरुले बाँड्ने हर्षले भानु उत्तिकै उत्साहित छन् ।

यस्ता थुप्रै पात्रहरु आउँछन् भानुको रेडियो कार्यक्रम ‘लभ एण्ड ब्लफ’मा, जसले प्रेम आनन्दानुभूतिसँगै प्रेम वियोगका दर्दनाक कथाहरु खुलस्त खोल्छन् । ‘प्रेममा धोका खाएर पीडामा रहनुभएका साथीहरुले कार्यक्रममा रुँदै फोन गर्नुहुन्छ’–उनले भने–‘रेडियोको माध्यमबाट या समाचारका माध्यमबाट अन्य हरेक किसिमका समस्याहरु उजागर हुन्छन्, तर मैले प्रेमका समस्यालाई उजागर गर्ने एउटा फरक प्रयास थालेँ, जो अहिले सफल पनि भयो ।’ भानु अहिले निरन्तर यो कार्यक्रममार्फत् फरक–फरक प्रेमकथामा अन्तरघुलन भइरहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ लौकीका भानुभक्त बस्नेत उच्च शिक्षा अध्ययनका लागि दाङ घोराही हानिएका थिए । तत्कालीन विद्यानीलकण्ठ उच्च माविमाा अंग्रेजी विषयका विद्यार्थी भानुमा सञ्चारजगतको मोह बढ्दै जानथाल्यो ।

यसको अर्को कारण उनका दाजु पनि हुन सक्छन् । उनका दाजु देवेन्द्र बस्नेत रेडियो स्वर्गद्वारीमा काम गर्दै आएका थिए । देबेन्द्र अहिले पनि त्यही रेडियोमा कार्यरत छन् । भानुभक्तको मनभित्र पलाउँदै गरेको ‘आरजे’ को मुना पलाउन पाउँछ पाउँदैन ? उनी अनभिज्ञ थिए । उनले दाजुलाई प्रस्ताव गरे तर उनका दाजु देवेन्द्रले अध्ययनलाई प्राथमिकता दिन भन्दै तत्कालका लागि आरजे बन्ने ‘ख्वाव’ नदेख्न भने ।

‘म जब घोराहीमा आएँ, तबदेखि रेडियोमा कार्यक्रम सञ्चालन गर्ने भित्रीइच्छा बढेर गयो’–उनले भने ‘तर दाइले यो कुरामा सहमति जनाउनुभएन ।’ १२ पढ्दै गरेका भानुको आरजे बन्ने एकोहोरो जिद्धी र अनुरोधका अगाडि उनका दाजु सहमत हुन करै लाग्यो । चार वर्ष अघि रेडियो स्वर्गद्वारीमा आरजेका रुपमा इन्ट्री मारे भानुभक्तले ।

‘त्यो बेला म फरक रेडियोमा काम गर्ने योजना बनाइरहेको थिएँ तर स्वर्गद्वारी एफएममै काम गर्नका लागि आदरणीय सुदीप दाजुले अवसर प्रदान गरिदिनुभयो’–भानु सम्झन्छन् । मनको गीत नामक रेडियो कार्यक्रमबाट सुरु भएको उनको रेडियो कर्म स्वर्गद्वारी एफएममा चार वर्ष बित्यो । हप्तामा ६ वटासम्म फरक–फरक कार्यक्रममार्फत् श्रोतासम्म पुग्न भ्याएका भानुको एउटा कार्यक्रम नमुना नै बन्यो ।

त्यो कार्यक्रम थियो ‘लभ एण्ड ब्लफ ।’ ‘मैले रेडियो कार्यक्रममा प्रेम कथा लेखेका पत्रहरु पढेँ, कसैको जीवन कथा आफै बोलिदिएँ’–उनले भने–‘तर ती प्रेमकथाकै पात्रहरुले आफ्नो कथा भन्न किन नसक्ने वा मैले भन्न किन प्रेरित नगर्ने भनेर ‘लभ एण्ड ब्लफ’ कार्यक्रमको योजना बुनेँ ।’ तर आफ्नो प्रेमकथा रेडियोबाटै कसले भन्ला ? उनका सामू चुनौती निकै थियो । तथापि कार्यक्रमको सुरुवात गरिछोडेँ ।

‘मेरो पहिलो कार्यक्रमबाटै श्रोताहरुको राम्रो साथ पाएँ, पहिलो कार्यक्रमबाटै आफ्नो प्रेम कथा भन्न आउनेहरुको उत्साहप्रद संख्याले मेरो कार्यक्रम सफल हुन्छ भन्ने विश्वास पनि लाग्यो’ भानुले भने । उनले कार्यक्रममा कसैले कसैलाई मनपराएको, प्रेम प्रस्ताव राखेको, प्रेम सम्बन्धमा रहेको र प्रेम वियोगको अनुभूतिलाई कार्यक्रमको विषयवस्तुमा राखे । यी चार विषयभित्र रहेर श्रोताहरुले आफ्नो अनुभूति÷कथालाई भट्टाभट् भन्न थाले ।

‘लभ एण्ड ब्लफ’ मार्फत् रेडियो स्वर्गद्वारीमा दुई वर्ष प्रेमीहरुको कथामा अन्तरघुलन भएका भानु अहिले फरक रेडियोमा छन् । अहिले घोराहीकै रेडियो इन्द्रेणी एफएममा रहेका उनले रेडियो स्टेशन परिवर्तन गरे तर रेडियोका कार्यक्रम ‘लभ एण्ड ब्लफ’लाई सँगसँगै लिएर गए ।

‘मैले जति पनि रेडियो कार्यक्रमरु सञ्चालन गरेँ सबैभन्दा बढी म सन्तुष्ट बनेको कार्यक्रम यही हो’–उनले भने ‘प्रेम वियोगले चर्किएका मनका घाउहरुमा मल्हम बन्ने कार्यक्रमबाट म टाढा रहन सकेन, अतः रेडियो फेरियो तर कार्यक्रम फेर्न सकेन ।’ अहिले पनि प्रत्येक हप्ताको शनिवार डेढ घण्टासम्म प्रेमिल कथामा अन्तरघुलन भइरहने भानुभक्त भत्किएका प्रेमिल मनहरुलाई जोड्ने ‘लवगुरु’ बनिरहेका छन् ।