हटाइँदै छहारी र प्रतीक्षालय
बालाराम खड्का
तुलसीपुर, १ भदौ । ‘सायद यो पिपल पनि हटाइँदै छ, तर यसको इतिहासका विषयमा सबै वेखवर छन्’, तुलसीपुर उपमहानगपालिका-१८ का स्थानीयबासी एवं समाजसेवी भैरव मजगैयाँ भन्दै थिए । कोइलाबास र मानपुर बजारको जुन सहज लिंक थियो, त्यसबेला रोल्पा, सल्यान र रुकुमका व्यवसायी तथा नूनतेल बोक्न आउने आम नागरिकको भारी बिसाउने चौतारी अब रहने छैन ।
पल्लो बिजौरीमा पनि प्रतिक्षालय जाने निश्चित भएको छ । यो विषयमा स्थानीय वयोबृद्धहरु चिन्तित छन् । तर यसको विकल्प न स्थानीय सरकारले दिएको छ । नत निर्माण कम्पनीले नै । एउटा इतिहास मेटिन लागेकोमा स्थानीय सरकार पनि कत्ति गम्भीर नभएको स्थानीयहरु बताउँछन् । त्यो चौतारोमा बृद्धबृद्धाहरुले भलाकुसारी गर्थे, जीवनको उत्तराद्र्धमा पनि सफा अक्सिजन पाउन उनीहरु दिनभरी चौतारोमै बस्थे, तर त्यो पिपल पनि ढल्ने छ, त्यो चौतारी पनि रहने छैन । अब कहाँ गफिने ? उनीहरुलाई चिन्ता छ ।
वरपिपलको रुखमुनि बस्दा बकुला चराले विस्ट्याएको अनुभूति अब उनीहरुलाई हुने छैन, शितलताको अनुभूति पनि हुने छैन । अहिले रुख कटान भइरहँदा पनि विद्युतीय सुरक्षालाई कत्ति पनि ध्यान दिइएको छैन । पहिले बाटो वरपर तथा गाउँघरमा वरपिपलका रुखहरु रोप्ने र त्यसमा चौतारी गराउने, वरपिपल रोपेर विवाह गर्ने चलन थियो । तर जिल्लामा पछिल्लो समय वरपिपलसहितका थकाई मार्ने चौतारीहरु हराउँदै जान थालेका छन् । विगतमा थकाई मार्ने चौतारीहरु पछिल्लो समय सडक, विद्युत विस्तार, सँगै संरक्षणमा कसैको ध्यान नजाँदा हराउँदै गएका हुन् ।
पुराना पुस्ताले रोपेका वरपिपलसँगै बनाएका चौतारी विकाससँगै विनास हुन थालेका छन् । पछिल्लो समयमा विकाससँगै वरपिपल विनास भए पनि त्यसको संरक्षण गर्न चासो नदिँदा चौतारीसँगैका वर तथा पिपल मासिँदै गएका छन् ।
केही वर्ष अघिसम्म थकाई मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिसहरु ठाउँ-ठाउँका चौतारीहरुमा प्रशस्त देखिन्थ्यो । तर अहिले तिनै चौतारीसँगै वर पिपलसमेत देखिनै छोडेको स्थानीयको भनाइ छ । घोराही-तुलसीपुर सडकखण्डको विजौरीमा रहेको वरपिपल चौतारामा यसअघि थकाई मार्ने वृद्ध यमबहादुर वलीले सडक निर्माणसँगै चौतारीमा रहेको वरपिपलको रुख हटाएपछि आफूहरु प्रतिक्षालयमा बस्ने गरेको उनले बताए ।
कुनै बेला धार्मिक आस्थाका कारण रोपेर हुर्काएका वरपिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजका भएका समस्या र विवादमा भेला हुने थलो पनि चौतारी थियो तर हिजोआज विवाद भए पनि चौतारीमा विवादको समाधान गर्न प्रवृत्ति समेत हराइसकेको छ र हराइसकेका छन् चौतारीहरु पनि । पुराना पुस्ताले रोपेका वरपिपल र बनाएका चौतारीको महत्व भने अहिले सडक, विद्युत विस्तारले गर्दा हराइसकेको स्थानीय श्यामराज गुरुङले बताए ।
‘पहिला-पहिला त दिनभर चौतारीमा बस्यो गाईभैसी चरायो, सुख-दुःखका गफ गरिन्थ्यो, थकाई मेटिनुका साथै आनन्द हुन्थ्यो अहिले त त्यस्ता दिन पनि छैनन् र चौतारीहरु पनि छैनन् । ‘पहिला गाँउघरमा मोटरबाटो पुगेको थिएन भारी भरिया वा घोडाले बोक्ने गर्दथे, भरियाले चौतारीमा वरपिपलको छायाँसँगै थकाई मार्ने गर्दथे तर अहिले भने चौतारी भेट्न समेत गाहो छ’, स्थानीय बयोवृद्ध दलजित वलीले भने । ‘केहि वर्ष अगाडिसम्म गाउँमा वरपिपलसहितको चौतारी हुनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो ।
तर अहिले भएका चौतारी पनि मर्मत गर्न भन्दा पनि सडक खन्दा होस् या अन्य विकास निर्माणका कार्य गर्दा भत्काउने गरिएको स्थानीयहरु बताउँछन् । ‘विकाससँगै विनास हुनु स्वाभाविक हो, तर त्यसको विकल्पमा अन्य स्थानमा वरपिपल रोप्नु पर्छ’, स्थानीय गणेश शर्माले भने । भएका चौतारीलाई पनि स्थानान्तरण नगरिँदा पछिल्लो समय चौतारीहरु विस्तापित हुँदै गएका छन् ।
उकाली-ओराली गर्ने स्थानमा पनि चौतारी बनाउनुपर्छ भन्ने भावना सबैमा हुन्थ्यो । केहि वर्ष पहिलासम्म वृद्धवृद्धाको गफ गर्ने र भेटघाट गर्ने ठाउँ चौतारी नै हुन्थे । वरपिपल रोपेको ठाउँमा ढुंगाका कलात्मक चौतारा बनाउने चलन थियो तर अहिले भने विस्तारै वरपिपल र चौताराहरु नै हराउँदै गएको स्थानीय बुढापाकाहरु बताउँछन् ।
तुलसीपुर-घोराही सडक खण्डमा दर्जनौ सडक वरपरका वरपिपलहरु र चौताराहरु मासिएका छन्, वरपिपलहरु काटिँदैछन् । तर ती वरपिपलहरु काटिए पनि बाटो निर्माणसँगै अन्य नयाँ विरुवाहरु रोप्नुपर्ने स्थानीयहरु बताउँछन् । घोराही-तुलसीपुर पहिले यात्रा गर्दा हामीहरु यही वरपिपल चौतारीमा थकाई मार्ने गरेका थियौ, तर ती चौतारीहरु अब सबै लोप हुन थालेछन्’, समाजसेवी कृष्णकुमार गिरीले भने ।
यी वृक्षले चराचुरुङ्गीलाई फल र सुरक्षित आश्रय दिन्छन् । वरपिपल र पोखरीले जैविक विविधता संरक्षणमा योगदान गर्ने जानकारहरु बताउँछन् । वरपिपल वातानुकूलित वृक्ष मानिन्छन् । शास्त्रले ‘कुपोदकं वटच्छाया, श्यामास्त्री चेष्टिकागृहं’ अर्थात् कुवाको पानी, वरको छायाँ, इँटाको घर र स्त्री (प्रिया) यी सबै गर्मीमा शीतलता र ठण्डीमा न्यानो प्रदान गर्ने स्वभावका हुन्छन् भनेको छ ।
वरपिपल ठूलो आकारका वृक्ष भएका हँुदा यिनले लामो समय र धेरै मात्रामा कार्बन सञ्चित गरी वातावरणलाई स्वस्थ राख्न ठूलो योगदान गर्ने डा. गोकणर् दाहालले बताए । ‘वरपिपलको धेरै महत्व छ, स्त्री प्रजनन् होस् वा स्त्रीसम्बन्धी रोगहरुका लागि धेरै महत्व छ । डा. दाहालले औषधिको रुपमा पिपलको बोक्रा, सन्तान नहुनेहरुका लागि बरको दूध र आक्ला औषधिको रुपमा प्रयोगमा आउने बताए ।
