Goraksha

National Daily

रात्रि-कर्फ्यु : पालना गरौं

स्थानीय प्रशासनले रातमा जारी गरेको निषेधाज्ञा चाडपर्व केन्द्रित छ । खासगरी तीज पर्वमा रातभर नाचगान गर्ने र हिँड्डुल गर्ने गरिन्छ । त्यसो गर्दा कोरोना संक्रमणका लागि हुने जोखिमलाई न्यून गर्ने उद्देश्यका साथ सोमवार साँझ ७ बजेदेखि लागू हुने गरी ५ दिनका लागि रात्रि-कर्फ्यु आदेश जारी गरेको हो । कोभिड-१९ को विश्वव्यापी संक्रमणसँगै दाङ जिल्लामा पनि संक्रमणको जोखिम उच्च रहेको मूल्यांकन गर्दै भदौ १ गतेदेखि ५ गतेसम्मका लागि यो निषेधाज्ञा जारी गरेको हो । यो अवधिभर साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म कुनै पनि सामाजिक जमघट तथा हिँड्डुल समेत गर्न पाइने छैन ।

यस्तो आदेशले नाचगानमा मात्र हैन मानवीय जीवनशैलीका अन्य सन्दर्भहरूलाई पनि प्रभावित पार्नेछ । भर्खर-भर्खर जुर्मुराउन थालेको व्यवसायलाई पनि असर गर्नेछ । कफ्र्यूको समयमा प्रेस जगत, एम्बुलेन्स, दैनिक अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने साधन तथा अन्य कुनै प्रयोजनका लागि पास लिएका सवारी साधन बाहेक कुनै पनि सवारी साधन चल्न पाउने छैनन् । उल्लिखित प्रावधानहरूले बिरामीहरूलाई अस्पताल पुराउन समेत केही असुविधा पुग्ने देखिन्छ । तर पनि सही नियतका साथ र जनस्वास्थ्यको सवालमा गरिएको यो निणर्यको नागरिक स्तरबाट पालना गर्नुपर्ने नै हुन्छ । अन्यथा संक्रमण बढ्दै जानेछ । सरकार र त्यस मातहतका संयन्त्रहरूको काम र कोभिड-१९ नियन्त्रणका सन्दर्भमा भएका पहलहरू हेर्दा सन्तुष्ट हुने कुनै पनि ठाउँ छैन । आफै सचेत हुने, आफै जोगिनेभन्दा अरूमा भर पर्न सकिने अवस्था नै छैन । क्वारेन्टाइन र आइसोलेसन पनि घरमै बनाउन उत्प्रेरित गर्ने राज्यको नीति देखिन्छ । परीक्षणको दायरालाई बढाउन माग भइरहँदा त्यसलाई झनै घटाइएको छ । तीन तहकै सरकारका बजेटमा आइसोलेसन र क्वारेन्टाइनका लागि कुनै बजेट छैन । यो अवस्थामा नागरिकहरूलाई नै कैद गरेर संक्रमण रोक्ने उपायबाहेक सरकारका लागि अरु भरपर्दो मार्ग पनि सुझेको छैन ।

सरकारका तमाम कमी-कमजोरी भए तापनि हामी जोगिने र हाम्रो समाजलाई जोगाउने भूमिकामा हामी नागरिकहरू नै गम्भीर बन्न आवश्यक छ । यो समयको कफ्र्यूलाई पनि हामीलाई भीडभाडबाट जोगाउने रणनीतिका रूपमा हामीले स्वीकार्नुको विकल्प छैन । यो समयमा जिल्लाका होटलहरु, खाजाघर, अन्य पसलहरु (मेडिकलबाहेक) सबै बन्द रहनेछन् । हिँड्डुललाई पूणर्रुपमा प्रतिबन्ध लगाइएको छ । यो अवधिमा आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने भनिएको छ । कारबाहीको भागिदार हुनुभन्दा पनि जनस्वास्थ्यमा गम्भीर भएर प्रस्तुत हुनु सचेत नागरिकको बुद्धिमानी हुन्छ ।