Goraksha

National Daily

द्वापरयुगमा कृष्णलीला, कलियुगमा कंशलीला

मधुसूदन सुवेदी

द्वापरयुगको भाद्र कृष्ण अष्टमी तिथि रोहिणी नक्षत्र साउन महिना बुधवारको ठीक राति १२ बजे भगवान कृष्णको जन्म भएको थियो । जसको जन्मले देवता, ऋषि, तपस्वीलगायत सारा धार्मिकजन र धार्मिक मन खुसी, हर्ष एवं उमंगले भरिएको थियो र प्रफुल्लित थियो ।

किनभने त्यतिबेला कृष्णको जन्मले सारा न्यायप्रेमीको भलो, कल्याण र रक्षा हुने निश्चित थियो भने कुकर्मी, अन्यायी, अधर्मी, अपराधी तथा कंश प्रवृत्तिको नाश, विनाश, क्षत-विक्षत हुने निश्चित थियो ।

द्वापरयुगको धर्तीमा आपराधिक क्रियाकलाप तथा गतिविधिको बृद्धि-विकास तीव्र गतिमा भएकै कारण कंशको नाश गर्नका खातिर भगवान् नारायणले मनुष्यको रुपमा कृष्ण अवतार लिनुभएको थियो ।

जसको कारण द्वापरयुगको कृष्ण भगवान्को लीलालाई आजका मिति र तिथिसम्म पनि बिर्सन, भुल्न र चुक्न सक्दैनौं । भगवान् कृष्णले अधिकांश गोपिनीको रक्षा गरेको सुन्न र पढ्न पाइन्छ । यसो भन्नुको अर्थ यो होइन कि भगवान् श्रीकृष्ण कामुक थिए ।

यसको सट्टा भगवान् श्रीकृष्ण नारीमा भएको शक्तिलाई स्वीकारेका थिए र नारी शक्तिविना यो सृष्टि चल्न सक्दैन भन्ने कुरा स्वयंलाई पनि थाहा थियो । त्यतिबेला नारीको पहिलो पेशा भन्नु नै गाईको पालन गर्नु, स्याहार गर्नु, घाँसपात गर्नु, दूध दुहुनु, मही पार्नु, नौनी निकाल्नु र घ्यू तयार पार्नु ।

यस्तो अवस्थामा गाईको अंगमा (३३) कोटी देवी-देवताको बास हुने कुरा पनि स्वयं श्रीकृष्णलाई राम्ररी थाहा थियो । त्यसैले पनि भगवान् श्रीकृष्णले गोपिनीको रक्षा गर्नु नै सारा गाई तथा गोकुलको रक्षा गर्नु हो भन्ठानेर नारीप्रति भगवान् मोहित हुनुहुन्थ्यो ।

भगवान् श्रीकृष्णको लीलालाई लिएर अहिलेको समयमा धर्म परिवर्तन गर्ने र गराउने निहुँमा अनेकौँ कुतर्क गरे पनि त्यसमा कुनै तुक र प्रमाण छैन । जसले नारीको शक्ति बुझेको हुन्छ, जानेको हुन्छ, चिनेको हुन्छ, उसले पक्कै पनि हरेक नारीको सम्मान गर्छ र न्याय गर्छ ।

नारीप्रतिको यो मोह, यो न्याय, यो सहयोग, यो कल्याण, यो रक्षा, यो संरक्षणलाई लिएर कामुकताको परिभाषा दिनु आफैप्रतिको घोर अन्याय र अपराध हो । यदि कृष्णलीला कल्याणकारी थिएन भने त्यतिबेलादेखिको संस्कृति र परम्परा यतिबेलासम्म पनि यसरी आस्था र विश्वासका साथ भगवान्का रुपमा सर्वव्यापी हुने अवस्था आउने थिएन ।

भगवान् श्रीकृष्ण स्वयं राजर्षी परिवारका हुँदा-हुँदै पनि गाई-गोठमा बसेर गाई-बाच्छाको स्याहार गर्नु र गोबर-गहुँत गन्ध आउने गोपिनीका पछाडि किन लागे ? आफैमा लीलाको प्रसंग नै छ । यदि भगवान्ले गोपिनीमा कुनै शक्ति नजानेको भए र शक्ति नठानेको भए पक्कै पनि आफ्नो सीमित इच्छा-आकांक्षा पूरा गर्न गोपिनीका पछि लाग्ने थिएनन् ।

भगवान् श्रीकृष्णको चरित्र स्पष्ट पार्नको लागि गोपिनीहरुले श्रीकृष्णको शीरमा भएको मयुरको प्वाँखलाई लिएर यसरी आफ्ना तर्क प्रस्तुत गरेका थिए- मयुर यस्तो अलौकिक पक्षी हो, जसको भाले पंक्षी र पोथी पंक्षीका बीच कहिल्ये शारीरिक सम्पर्क हुँदैन ।

तथापि उनीहरुको वंश पनि विस्तार चलिरहेकै हुन्छ । यो कसरी कलेको हुन्छ भन्ने एउटा भाले मयुर आफ्नो पंख फिंजाएर मस्त नाचिरहेको समयमा एउटी पोथी मयुरले पनि त्यो भालेको नाँच निकै रोचकपूर्वक हेरिरहेकी हुन्छिन् ।

यसै नाचोको क्रियकलापसँगै भाले मयुरको आँखाबाट आँशु चुहिन थाल्दछ र त्यो आँशु देख्नेवित्तिकै पोथी मयुरले त्यो आँशु भुइँमा खस्न नै नदिई आफूले पिउने गर्छिन्, जसको कारण उनी बच्चा पार्नका लागि तयार हुन्छिन् र फूल पार्छिन् ।

यसरी शरीरको स्पर्शविना नै वंश विस्तार गर्ने एकमात्र प्राणी तथा पंक्षी मयुर भएकोले भगवान् श्रीकृष्णले प्रयोग गरेको मयुरको प्वाँखको एक नार्दनिक दृश्य हो भनेर गोपिनीहरुले रहस्य खोलेका थिए ।

यस्ता भगवान् पुज्ने, मान्ने, ठान्ने हामी नेपालीको आजको अवस्था के छ त ? के हामी आज कोही द्वापरयुगका भगवान् श्रीकृष्णजस्तै छौं ? या कंश नै बन्न पुग्यौं ? समीक्षा गर्नु नितान्त जरुरी र अपरिहार्य भइसक्यो ।

कंशको ज्यादति बढ्दै-बढ्दै जाँदा एक दिन भगवान्को अवतार हुने कुरा पनि निश्चित छ । अहिलेको समयका लागि हामीलाई यही कंश अवतार नै सुहाएको होला तर यो अवतार टिक्नेवाला र बिक्नेवाला छैन । राजर्षी खानदान र सुख-सुविधा उपलब्ध हुँदासम्म कंश अवतार जवर्जस्त लादे पनि यथार्थ त कृष्ण नै सत्य हो ।

एकदिन पक्कै पनि अवस्थाले कोल्टे फेर्नेछ । त्यतिबेला कंशको हालत के हो ? द्वापरयुगमा पनि कंशको हाली-मुहाली नभएको होइन । राज्य नचलाएको पनि होइन, सर्वश्व भोगचलन नगरेको पनि होइन तर पनि लोक कल्याणकारी र धर्मरक्षक बन्न नसक्दा श्रीकृष्णको अवतारमा नाशिनु पर्‍यो र मासिनुपर्‍यो ।

त्यसकारण यतिबेला सबैलाई आफ्नो-आफ्नो कार्य प्रिय लागेको होला र सर्वस्वीकार्य लागेको पनि होला तर समीक्षा गर्न नभुलौं, हामी कृष्ण कि कंश ? यदि कृष्ण हौं भने सारा जगतको भलो, कल्याण, रक्षा र संरक्षण गरौं । यदि कंश हौं भने श्रीकृष्ण अवतारको बाटो हेरौं, एकदिन कलियुगमा पनि पक्कै कृष्ण अवतार हुनेछ र सारा कंशको विनाश हुनेछ । यो सबै समयको खेल हो । सगरमाथा चढाउने पनि यही समय हो भने पाताल धसाउने पनि यही समय हो । प्रतीक्षा गरौं ।