ब्रम्हा एवं ब्राम्हण
ब्रह्माकुमार माधव तिमिल्सेना
यस विश्व नाटक अथवा ड्रामामा सबै घटना पूर्व निर्धारित छन् । स्वयं परमपिता शिवबाबा पनि यस ड्रामाको अटल नियममा बाँधिनु भएको छ । जब जब यस संसारमा धर्मको ग्लानि हुन्छ तव धर्मको उत्थान गर्न, साधु सन्तहरूको रक्षा गरेर दुष्कर्म गर्ने पापीहरूलाई नाश गर्न म यस धर्तीमा अवतरण गर्दछु भनेर भगवान्ले अर्जुनलाई भन्नुभएको कुरा श्रीमद् भगवद्गीतामा बर्णित छ ।
सत्य युग र त्रेता युग भनेको देवी देवताहरूको स्वर्णिम राज्यको समय हो । त्यस समयमा अधर्म एवं विकारहरूको प्रवेश नै हुँदैन । द्वापर युगबाट मात्र देवी देवताहरू आफ्नो दैवी गुणबाट च्युत भएर वाम मार्गमा लाग्न थाल्छन् र कलियुगको अन्तिम चरण शुरु भएपछि धर्मको अति नै ग्लानि हुनथाल्छ । संसारमा पाप कर्म गर्ने पापीहरू धेरै हुन्छन् । मानिसहरू धर्मभ्रष्ट कर्मभ्रष्ट भएर पाप कर्ममा चुर्लुम्म डुब्छन् ।
अज्ञान अन्धकारमा भौंतारिएका दुःखी आत्माहरू यस धर्तीमा ईश्वरको अवतरणको लागि प्रार्थना गर्न थाल्छन् । श्रीमद् भगवद्गीतामा उल्लेख गरिएको भगवान्को यस धर्तीमा अवतरण गर्ने समय भनेको यही नै हो,जसलाई संगमयुग भनिन्छ ।
पाँच हजार वर्ष अगाडि उत्पत्ति भएको कल्पवृक्षको शुरुवात आदि सनातन देवी देवता धर्मबाट भयो । समय बित्दै गएपछि विभिन्न धर्महरूको उत्पत्ति हुँदै गयो । विभिन्न मत, पन्थ र सम्प्रदायहरूको स्थापना हुँदै गयो । पवित्र देवी देवताहरूको कला घट्दै गयो । कल्पवृक्षका हाँगाबिँगाहरू पैmलिएर झाँगिंदै गए तर कल्पवृक्षको मूल तना सुक्दै गयो ।
अब समय आइपुगेको छ यो जीणर् कल्पवृक्षको अन्त्यको किनकि नयाँ कल्पवृक्षको बीजारोपण भइसकेको छ परमपिता परमात्मा शिवबाबाद्वारा । परमधाम निवासी स्वयं परमात्मा ज्योतिबिन्दु स्वरूप हुनुहुन्छ भने बाबाका बच्चा आत्माहरू पनि ज्योतिबिन्दु स्वरूप नै छन् । तर हरेक आत्माको रूप र संस्कार बेग्लाबेग्लै छ । हरेकको अभिनय फरक-फरक छ । एक आत्माको संस्कार अर्को आत्माको संस्कारसँग मिल्दैन ।
पूर्वजन्मको संस्कार अनुरूपकै रूपाकृति र शरीर हरेक आत्माले पाएका छन् । आकारमा हरेक आत्मा समान देखिन्छन्, ठूला साना हुँदैनन् र स्वयं परमात्मा पनि आत्मा समान ज्योतिबिन्दु रूपको नै हुनुहुन्छ तर गुण, धर्म र संस्कार फरक-फरक छन् । यिनै गुण, धर्म र संस्कारका आधारमा नै प्रत्येक आत्माले अर्को जन्ममा लौकिक माता पिता एवं परिवारजन पाउँछन् तथा समाजमा र राज्यमा फरक फरक पद, मान सम्मान, अमीरी गरिबी, सुख समृद्धि, स्वास्थ्य, सौन्दर्य र कुरूपता आदिको अवस्था पार गर्नुपर्ने हुन्छ ।
सन् १९३७ (वि.सं. १९९४)मा भारतको सिन्ध प्रदेश (हाल पाकिस्तान)मा शान्तिधाम निवासी परमपिता परमात्मा ज्योति बिन्दु शिवले जुन वृद्ध एवं साधारण मानिसको तनमा अवतरण गर्नुभयो उहाँको नाम लेखराज थियो । एक साधारण शिक्षकको छोरा भएर पनि आफ्नो मेहनत र सीपले उहाँ देश विदेशसम्मप्रख्यात हीराको व्यापारी बन्नु भयो । उहाँलाई सबैले दादा भन्थे ।
दादाको अर्थ सिन्धी भाषामा ठूलो दाइ भन्ने हुन्छ । दिव्य साक्षात्कार पश्चात उहाँले आफ्नो व्यवसायबाट सन्यास लिनुभयो र ओम् मण्डलीको माध्यमबाट राजयोगको अनुपम ज्ञानको प्रचार प्रसारमा लाग्नुभयो । परमपिता परमात्मा गीता ज्ञानदाता शिव स्वयंले ब्रह्माको (दादा लेखराज) मुखबाट “निजानन्द स्वरूपम् शिवोऽहम् शिवोऽहम्, ज्ञान स्वरूपम् शिवोऽहम् शिवोऽहम्, प्रकाश स्वरूपम् शिवोऽहम् शिवोऽहम्”को उच्चारण गर्नुभएर स्वयंको परिचय दिनुभयो । परमात्मा शिव आनन्द स्वरूप, ज्ञान स्वरूप अनि प्रकाश स्वरूप हुनुहुन्छ ।
परमपिता शिव स्वयंले नै दादा लेखराजलाई आदि मानव ब्रह्माको उपाधिले विभूषित गर्नुभएको थियो। स्वयं परमात्मा शिवबाबाबाट अद्वितीय राजयोगको ज्ञान हासिल गरी सम्पूणर्रूपले पवित्रताको पालना गर्ने प्रथम व्यक्ति हुनुभएकोले दादा लेखराजलाई आदि मानव भनिएको हो । ब्रह्माबाबाको मुखारबिन्दबाट स्वयं शिवले अद्वितीय राजयोगको सम्पूणर् विधि एवं रहस्यहरू उजागर गर्नुभयो ।
एकपल्ट ब्रह्माबाबाको अगाडि स्वयं विष्णु प्रकट भएर भन्नुभयो- “अहम् चतुर्भुजः तत् त्वम्” । अर्थात् ब्रह्माबाबाको अर्को रूप नै विष्णुको रूप हो । उहाँ नै अब आउने सत्ययुगमा नारायण अर्थात् पहिलो विश्व सम्राट बन्नु हुनेछ। शिवबाबा एवं विष्णुसँगको साक्षात्कारपछि दादा लेखराजको सम्पूणर् जीवनचर्यामा परिवर्तन हुनगयो ।
महान् व्यक्तिको हर कार्य महान् हुन्छ । समाजमा अपहेलित, पीडित र तिरस्कृत नारी वर्गको उत्थानमा बाबा दिन-रात खट्नुभयो । उहाँले हर माता कन्यालाई उच्च नजरले हेर्नुहुन्थ्यो र उनीहरूलाई उच्च आदर र सम्मान गर्नुहुन्थ्यो । हाम्रो पुरुषप्रधान समाजले नारीहरूको मनोबललाई गिराएको थियो- नारी नरकका द्वार हुन्, नारी अबला हुन्, नारी ताडनका अधिकारी हुन् जस्ता भावनाबाट ।
तर शिवबाबाले नारीहरूमा ज्ञानको कलश, अमृत कलश र जिम्मेवारीको कलश राखेर उच्च स्थान प्रदान गर्नुभयो भने ब्रह्मा बाबाले आफूलाई गुप्त राखेर माता कन्याहरूलाई यज्ञको हर कार्यमा अधि बढाउनुभयो । हर माता कन्यालाई योग्य टीचर, समर्थ टीचर र शक्तिशाली टीचर बनाएर यज्ञको जिम्मेवारी सुम्पिनुभयो । बाबाले नारीहरूलाई सम्मान गर्दै भन्नुहुन्थ्यो नारी पतित-पावनी गंगा हुन्, नारी शिवशक्ति हुन्, नारी स्वर्गकी द्वार हुन्, नारी बन्दे मातरम् हुन् ।
संसारमा तमाम धार्मिक संघ-संस्थाहरू निर्माण भए तर ती सबै पुरुषप्रधान अर्थात् पुरुषका नामबाट प्रचलित, संचालित भए । जस्तै अरविन्दद्वारा स्थापित अरविन्द आश्रम,ईसा द्वारा स्थापित इसाइ धर्म,बुद्धद्वारा स्थापित बौद्ध धर्म आदि-आदि, तर बाबाले नारीको नामबाट यस महायज्ञको नामाकरण गर्नुभयो ।
आज ब्रह्माकुमारी संस्थाको नामबाट विश्व परिचित छ । बाबाले जगदम्बा मातेश्वरीज्यूलाई संस्थाको प्रमुख संचालिका घोषित गर्नुभयो । ब्रह्मा बाबाले आफूले जीवन भर आर्जित सम्पूणर् चल-अचल सम्पत्ति माता-कन्याहरूको ट्रष्ट बनाएर उनकै नाममा सर्व समर्पण गर्नुभयो । विश्वमा नारीद्वारा सफल रूपमा संचालित एउटै मातृ संगठन, धार्मिक संस्था ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नै हो । यो सम्पूणर् नारीहरूको गौरव हो, सम्मान हो, सत्कार हो । यही बाबाको देन हो ।
विष्णुको कमल नाभीबाट ब्रह्माको उत्पत्ति भएको मानिन्छ । ब्रह्माबाट ब्राह्मणको पनि उत्पत्तिको गायन छ । ब्रह्माका चार मुख के कुराका प्रतीक हुन् ? नव सृष्टिको सृजनहार स्वयं-भू शिवपिताले नै बह्मा मुखकमलबाट भन्नुभयो— ब्रह्मा मुखबाट निस्किएको शिवको गीता ज्ञान विश्वको चारै दिशामा फैलिएको छ जसको परिणामस्वरूप चित्रकारले ब्रह्माका चार मुख देखाउँछन् ।
कमलको प्रतीक हो— ब्रह्मा एक सांसारिक गृहस्थ व्यवहार भएका सामान्य व्यापारी एउटा व्यावहारिक व्यक्ति हुनुहुन्थ्यो । परन्तु जब परमात्माले उहाँको तनको आधार लिनुभयो तब उहाँमा सम्पूणर् निर्लिप्तता अर्थात् कमलवत उपरामता स्थिति प्राप्त भयो । उहाँको कलियुगी कायाबाट पनि कमलको नै सुगन्ध आउन थाल्यो ।
अकल्याण गर्नेहरूप्रति पनि उहाँभित्र सदा सद्भावना बनिरह्यो । शरीर वृद्ध भएर पनि उहाँ अबोध बच्चालेजस्तै हाउ-भाउ देखाउन थाल्नुभयो । जवान ठूला बडा वा बूढा जो उहाँसामु पुग्दथे सबैलाई लाग्थ्यो आफ्नै काका वा मामा हुन् । यस्तो भावनाले प्रायः सबै ओत प्रोत हुन थाले ।
अन्तर्मनमा उहाँले सारा सृष्टिको पालनाको दृढ संकल्प लिनुभएको थियो त्यसैले ब्रह्मा कहलाउनु भयो । प्रजापिता ब्रह्माबाबा सामान्य हुनुहुन्नथ्यो बरु सर्वोच्च दैवी संस्कृतिको कणर्धार हुनुहुन्थ्यो । आसुरी वृत्तिलाई सारा संसारबाट मेटाउनका लागि उहाँले सफल सेनानीजस्तै आध्यात्मिक संग्रामद्वारा विजय हासिल गर्नुभयो ।
हेर्दा त मानव हुनुुहुन्थ्यो परन्तु आफ्नो अटुट पुरुषार्थमा उहाँले लुप्त भइसकेको आदि सनातन देवी देवता धर्मको यस्तो कलमी लगाउनुभयो । जसका शाखा-प्रशाखाहरू वटवृक्ष समान सारा संसारमा फैलिँदै गइरहेका छन् ।
यसैले प्रवृत्ति मार्गमा श्रेष्ठताको स्थापना गर्नेवाला प्रजापिता ब्रहमा र जगदम्बा सरस्वतीलाई सारा दुनियाँमा एडम एवं ईव,आदम हौवा, मम्मा बाबा वा आदम बीवी भनी मानिसहरू श्रद्धापूर्वक याद गर्ने गर्दछन् ।
ब्रह्मा मुखकमलबाट शिवबाबाले सृष्टि चक्रको हुबहु पुनरावृत्तिको यस्तो ज्ञान दिनुभयो जसका बारेमा कसैले सोचेका थिएनन् । सृष्टिको कल्प वृक्षको समयानुसार कसरी विस्तार हुन्छ र कल्पको अन्त्यमा सबै आत्माहरू परमात्माको साथमा कसरी परमधाम जान्छन्, यस्तो गूढ रहस्य न कसैले सुनेका थिए,न कसैले बताएका नै थिए ।
आत्मा-आत्मा त सबैले भन्छन् परन्तु आत्मिक वृत्ति बनाएर परमात्म स्मृतिद्वारा सर्वोच्च पदको प्राप्ति कसरी हुन्छ ? गीताको यस्तो व्यावहारिक सच्चा ज्ञान आजसम्म कसैले सुनाएको थिएन । देवताहरूको दिव्यता र उनीहरूको क्रियाकलापको सही परिचय अहिलेसम्म कसैसँग छैन ।
केही मानिसले अहिले भन्न सुरु गरेका छन्— कलियुग गइरहेको छ । परन्तु कलियुग त जानेवाला छँदैछ, निकट भविष्यमा सत्ययुग कुन प्रकारले आउनेवाला छ यसको स्पष्ट रूपरेखा र लक्ष्य ब्रह्माकुमारीहरूले मात्र दिन सक्दछन् ।
स्वामी माधवाचार्यले गीता भाष्यको १८औं खण्डमा यस प्रकार भनेका छन् -ततःःऊनम् शमाद्ययिः यः शुश्रूषुःः शूद्र उच्यते । अधिकाष्चेद गुणाःःशूद्रे ब्राह्मणादिःस उच्यते ।। अर्थात यदि ब्राह्मणले नै क्षमा लगायतका अन्य क्षमताहरु हराएमा शुद्र हुने भनि बताइएको छ । मान्छेलाई परिवार या खलक भन्दा पनि उसको व्यक्तिगत चरित्र अनि ज्ञानका आधारमा बिभाजित गरिएको पाइन्छ । यस श्लोकमा शुद्ध्रले पनि क्षमा लगायतका अन्य ब्राह्मणीय गुण आर्जन गरेमा ब्राह्मण कहलाउने बताइएको छ ।
ब्रह्मा शब्दको उत्पत्ति संस्कृतको वृह धातुबाट भएको हो जसको शाब्दिक अर्थ मुखद्वारा उत्पत्ति गर्नेवाला भन्ने हुन्छ । परमपिता शिव निराकारले ब्रह्मा मुख कमलको आधार लिएर जब सच्चा गीता ज्ञान सुनाउन शुरु गर्नुभयो त्यहाँदेखि एक दुई सय हुँदै अहिले लाखौंको संख्यामा ब्रह्मा मुख वंशावली सच्चा ब्राह्मण दुनियाँका हर कुनामा ईश्वरीय ज्ञानको बिगुल फुकिरहेको पाउन सकिन्छ ।
ब्रह्मा मुख वंशावली ब्राह्मण नै त्याग तपस्या सेवामा फरिस्ता फेरि सत्ययुगमा देवी देवता पदको अधिकारी बन्छन् । यस्तो रहस्ययुक्त ज्ञान यस धरामा कसैले पनि भनेन । ब्रह्माको आचरण र शिवबाबाको उच्चारण अनुसार चल्नेवाला बुद्धिले समर्पित तथा ब्रह्मचर्य व्रतको निष्ठापूर्वक पालन गर्नेहरू नै सच्चा ब्राह्मण कहलाउन हकदार हुन्छन् ।
ब्राह्मण कुलमा शरीरको जन्मले मात्र कसैलाई ब्राह्मण मान्न सकिदैन । शास्त्रीय वचन छ- जन्मना जायते शूद्र कर्मणा द्विज उच्यते । जसको अर्थ हो— जन्मदाँ मान्छे शूद्र हुन्छ, कर्म या संस्कारले उसले आफ्नो स्थान तय गर्छ । द्विजको संस्कारले संस्कारित भएपछि मात्र ऊ ब्राह्मण भन्न लायक बन्दछ । जसरी वेदको अध्ययन वा अभ्यास गर्नेहरू विप्र कहलाउँछन् ।
विद्वानहरूको भनाईमा आज हिन्दुत्व अनि सनातन संस्कारको सबैभन्दा दुर्बल पक्ष नै वणर् र जातको बिभेद भएको छ । वणर् र जातको बिभेदलाई पुरातनवादि भनेर बिभिन्न आरोप लगाइएपनि वास्तवमा यो पुरानो जमानाको नभइकन पछि आएर अपव्याख्या भएको तथ्यका रुपमा छ ।
सामाजिक व्यबहार अनि धार्मिक चिन्तन धेरै हदसम्म फरक कुरा हो, जातिय बिभेद अनि वणर् बिभेदलाई धार्मिक चिन्तन भन्दा पनि सामाजिक व्यबहारका रुपमा पनि लिन जरुरी छ । हिन्दुत्वले कर्म र धर्मको प्रष्ट फरक छुट्याएर राखेको छ, कर्मका आधारमा धर्मलाई जोडेको हिन्दु सस्कारमा ब्राह्मण, क्षेत्रिय,बैश्य अनि शुद्र सबै जातहरु ऊँच या नीच नभइकन कर्मका आधारमा फरक राखिएको तथ्य छ ।
परमपिताको ज्ञानलाई ब्रह्मामुख कमलद्वारा सुनेर जसले आफ्नो जीवनलाई दिव्य बनाउँछन्, वास्तवमा उनीहरू नै ब्राह्मण हुन् । ब्राह्मणको लागि शास्त्रमा भनिएको छ- नव सृष्टिको निर्माणमा जसले आफ्नो तन, मन, धन, सम्बन्ध, स्वास वा शुभ संकल्पको प्रयोग गर्छ । सारा संसारलाई आध्यात्मिक दिशा दिएर पढाउने वा पालना गर्नमा प्रयत्नशील रहन्छ, ऊ नै सच्चा ब्राह्मण हो ।
ब्रह्माद्वारा ब्राह्मणहरूको मात्र उत्पत्तिको गायन होइन। मनुस्मृतिका अनुसार जगदम्बा सरस्वती,नारद आदि पनि उहाँकै पुत्र-पुत्री थिए । ब्रह्मा मुखबाट निस्किएको सद्ज्ञानद्वारा जसले पापलाई धोएर बगाइदिए तथा समता वा स्नेहपूर्वक आचरण गर्न थाले, उनीहरू नै ब्राह्मण हुन् अर्थात् जसले मन, वचन, कर्म वा तन, मन, भन, स्वास संकल्पद्वारा पाप हुन दिएनन् उनीहरू नै सच्चा ब्राह्मण कहलाउन योग्य बने ।
ज्ञान, योग, धारणा र सेवालाई आफ्नो आदर्श मान्ने साथै ब्रह्माको आचरण वा पदचापलाई अनुसरण गर्ने तथा ब्रह्मचर्यलाई पुणर्रुपले पालना गर्ने एवं मर्यादालाई अवलम्वन गर्ने जो कोहीपनि ब्रह्माकुमार र ब्रह्माकुमारी मानिन्छन् ।
गोत्रका कारणले वा जटा राखेर वा जनै धारणले मात्र कोही ब्राह्मण बन्दैन बरु पवित्रता,शान्ति,सत्य, धर्माचरण हुनेहरू नै ब्राह्मण भनिन योग्य हुन्छन् । जसले ज्ञानको गहिराइमा गएर त्यसलाई जीवनमा उतारे अर्थात् जसमा तप, त्याग, क्षमा, दया, दान, सत्यशील आदि गुण छन्,उनीहरू वास्तव मै ब्राह्मण हुन् ।
यी सद्गुण कुनै पनि नामधारी जाति सम्प्रदायमा छन् भने उनीहरू नै निःशन्देह सच्चा ब्राह्मण हुन् । धर्म भनेको धारणा हो भने मानव कर्मको आधारमा श्रेष्ठ वा ब्राह्मण मानिन्छ । सभ्यताको सर्वोत्तम शिखर अर्थात् सतोप्रधान सत्ययुगी दुनियाँमा सबै आत्माहरू दैवी सम्पदाले सम्पन्न थिए । उनीहरूलाई नै सर्वगुण सम्पन्न, सम्पूणर् निर्विकारी,डबल अहिंसक,सोह्रकला अवतार भनिन्थ्यो ।
यसभन्दा पनि पहिले जब परमपिताले ब्रह्मा मुखद्वारा आदि सृष्टिको संरचना गर्नुभयो तिनीहरूलाई ब्राह्मण कुलभूषण भनिन्थ्यो । उनीहरू विकारबाट पैदा भएका थिएनन्, मुखबाट पैदा भएका थिए । भोगी विलासी सृष्टि होइन, अमैथुनी सृष्टि थियो । त्यहाँ कुनै प्रकारको वणर् विभाग वा जाति वर्ग थिएन । जैन तीर्थंकर महावीर स्वामी वा बुद्ध दुवै राजघरानामा जन्मिएका थिए ।
पछि गएर आ-आफ्नो तपस्याद्वारा उहाँहरु धर्मात्मा कहलिनु भयो । बाल्मिकी जन्मजात शूद्र थिए परन्तु डकैतीबाट महापरिवर्तन भएपछि उनलाई मुनि वा महर्षि भनियो । महात्मा बुद्धले समेत आफ्ना प्रवचनहरूमा ब्राह्मणलाई परिभाषित गर्दे भन्नु भएको छ-भिक्षुहरु हो,कुनै मानिस जन्मको आधारमा ब्राह्मण हुन सक्दैन ।
उसले ब्राह्मणचित कर्तव्य गरे मात्र ब्राह्मण हुन सक्छ । फेरि आजका जातीय ब्राह्मणहरूको कोखबाट जन्म लिने बित्तिकै उनीहरू कसरी ब्राह्मण कहलाउँछन् ? यदि शुद्र कुलमा जन्मिएको व्यक्तिमा सैकडौं गुण छन् तर ब्राह्मण कुलमा पैदा भएको व्यक्ति अवगुणै अवगुणको खानी छ भने ब्राह्मण कसलाई भन्ने ? यसको जिम्मा पाठकज्यूहरुमा । ओम् शान्ति !
लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं एक आध्यात्मिक अभियन्ता/ब्रह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।
