Goraksha

National Daily

करार शिक्षकलाई बेतलवी विदा

खेमराज रिजाल
तुलसीपुर, १ भदौ । लकडाउनसँगै कोभिड-१९ को संक्रमणको जोखिमका कारण कुनै पनि विद्यालय सञ्चालन नहुने अवस्थामा निजी विद्यालयहरुका संगठन मौन रहेका छन् भने सामुदायिक विद्यालयका व्यवस्थापन समितिले भने निजी श्रोतबाट भर्ना गरेका करार शिक्षकहरुलाई वेतलवी विदा दिएका छन् ।

जनकल्याण मावि दुधरासले यस्तो अभ्यास शुरु गरेको हो । त्यहाँबाट कम्तीमा निजी स्रोतका एक दर्जन भन्दा बढी शिक्षक/शिक्षिकाहरु साउन महिनासम्मको पारिश्रमिक पाएर विदा भए । उनीहरुलाई विद्यालय व्यवस्थापन परिवारले बेतलवी विदामा बस्न र आवश्यक परेको अवस्थामा बोलाइने बताएको छ ।

यो त सुरुआती अभ्यास मात्रै हो, तुलसीपुरकै रक्षाचौरमा रहेको गुरुजजुर माध्यमिक विद्यालयले पनि दुई दर्जनभन्दा बढी शिक्षकहरुलाई यसरी नै बेतलवी विदा दिँदै शिक्षकलाई आवश्यक परे बोलाइने बताएको छ । त्यसमा ८ जना कर्मचारी पनि रहेका छन् । उनीहरुलाई स्रोत निश्चित भएपछि मात्रै काममा बोलाइने विद्यालयले जनाएको छ । तर स्रोतका आधार विद्यार्थीबाट शुल्क मात्रै हो ।

विद्यार्थीबाट शुल्क लिनुवाहेकको कुनै पनि आर्थिक श्रोत सामुदायिक विद्यालयहरुसँग छैन । केही विद्यालयहरुले धेरै जग्गा तथा वगैचा आफ्ना नाममा गराएको भए पनि त्यसले महिनावरी आम्दानीको कुनै विकल्प खोजेका छैनन् । उल्टो विद्यालयका जग्गाहरु भूमिहीनका नाममा दिनदिनै अतिक्रमण भइरहेको अवस्थामा पनि विद्यालय व्यवस्थापन समितिले आफ्नो स्वामित्वको जग्गालाई आर्थिक पाटोमा लगाउनुको साटो सहयोग शुल्कका नाममा खुलेआम विद्यार्थीहरुबाट शुल्क उठाइरहेका छन् ।

सामुदायिक विद्यालयलाई शून्य शुल्कमा पढाउन सरकारले निर्देशन गरिसकेको अवस्थामा पनि विद्यालयले विभिन्न बहानामा शुल्क उठाइरहँदा स्थानीय पालिकासमेत मौन बसेको छ ।

सेन्टर माविको पनि यस्तै अभ्यास सम्भवतः केही दिनमै शुरु हुनेछ । शून्य शुल्कमा यहाँ पनि पढाइ हुन नसकेको अवस्था हो, किनकि सामुदायिक विद्यालय भएरै पनि विद्यार्थीका अभिभावकलाई कुनै न कुनै बहानामा शुल्क उठाइँदै आएको थियो ।

अहिले विद्यार्थी नै नआएपछि निजी स्रोतबाट राखिएका शिक्षकलाई धमाधम हटाउन थालिएको छ । सो विद्यालयमा पनि करार शिक्षककहरुलाई आन्तरिक स्रोतको सुनिश्चितता नभएसम्मका लागि बेतलवी विदामा बस्न भनेको छ ।

सामुदायिक विद्यालयहरुले सरकारले माध्यमिक तहसम्मको सबै शिक्षा निःशुल्क भनेको अवस्थामा पनि विभिन्न बहानामा आफ्ना मान्छेलाई भर्ना गर्न विद्यालय व्यवस्थापन समिति एवं प्राचार्यसमेत अभ्यस्त हुँदा शून्य शुल्कमा माध्यमिक तहसम्मको पढाइ शुरु हुन सकेको थिएन । त्यसैको प्रत्यक्ष असर अहिले देखिएको छ ।

विद्यालयहरुको आन्तरिक स्रोत विद्यार्थीका अभिभावकबाट पैसा असुल्नेबाहेकको कुनै थियो भने अहिले हतारोमा करार शिक्षकलाई विदाइ गर्ने अवस्था आउन नसक्ने पनि केही अभिभावकले बताएका छन् ।

त्यसैगरी घोराहीको पद्मोदय पव्लिक माविमा पनि करार शिक्षकहरुलाई विदाइ गर्न थालिएको छ । विद्यार्थीका अभिभावकबाट शुल्क लिनुबाहेक कुनै पनि निजी स्रोत नभएकै कारण जिल्लाकै नमुना विद्यालयले पनि करार शिक्षकलाई बेतलवी विदामा पठाउन थालेको हो । यस्ता अभ्यास जिल्लाका सबै पालिकाहरुले थाल्नेछन् ।

किनकि सरकारले निःशुल्क भनेको सामुदायिक शिक्षालाई पनि अभिभावकबाट यो र त्यो बहानामा विद्यालयहरुले शुल्क असुल्दै आएका थिए । कुनै विद्यालयले खेल मैदान निर्माण त कुनै विद्यालयहरुले अंग्रेजी माध्यमबाट पढाइका नाममा विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएका थिए । बर्षभरीको शुल्क मूल्यांकन गर्दा निजी विद्यालयसरह नै केही सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट पैसा असुलिरहेको पनि देखिएको छ ।

तर यो विषयमा भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले कुनै पनि स्थलगत अनुगमन र कारबाही गरेको थिएन । यहीकै स्थानीय सरकारले आधारभूत शिक्षा शून्य शुल्कमा भन्ने बजेट बतिलव्य र नीति तथा कार्यक्रममा उल्लेख गरे पनि विद्यालयहरुले उठाइरहेको शुल्कका विषयमा भने पुरै सहनशीलता अपनाएका थिए ।

कोभिडको संक्रमणको अवस्था यसैगरी नियन्त्रण बाहिर गएको अवस्थामा अब राहत शिक्षकको पारिश्रमिक भुक्तानीका लागि पनि सोचनीय विषय भएको पनि सरकारका अधिकारीहरुले बताएका छन् । शिक्षकलाई परिचालन गर्नका लागि धेरै अभ्यास स्थानीय तहले गरे पनि विद्यार्थीको सम्पर्कमा शिक्षकको पहुँच स्थापित भएको छैन ।

केही पालिकाले रेडियो शिक्षा र केही निजी विद्यालयहरुले अनलाइन शिक्षाको अवधारणा ल्याए पनि समग्रमा शैक्षिक उपलब्धि भने ६ प्रतिशतभन्दा माथि उक्लन सकेको छैन ।