भेडीखर्कमा : भेंडापालन व्यवसाय
डा. कृष्णराज डी.सी.
पिउने पानी नदिने तिमी पियूस देउला ?
लडेको मान्छे नदेख्ने तिमी के आँसु झारौला ?
बाबा र आमा रुवाई तिमी मन्दिर पुग्दछौ ?
कुकर्म गरी संसारभरि लाजले झुक्दछौ ।
विषय प्रवेश
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’ शीर्षकको निबन्धमा नेपाल ! सुन्दर, शान्त, विशाल ! भनी लेखेका थिए । उनले कुनै पनि वस्तुको आकार सानो वा ठूलो कत्रो छ ? भनी मापन गर्ने आधार त्यसको सीमा विस्तारभन्दा आन्तरिक गुण-गहनता नै मुख्य हुने कुरा बताएका छन् ।
उदाहरणको रुपमा उनले भनेका छन् : ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्ठभाषी निर्मल शिशु सानो हुन्छ, हाम्रो आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ तर यही सानो वस्तुमा सारा संसार अटाएको हुन्छ ।’
तसर्थ नेपाल आकारप्रकारका दृष्टिले सानो भए पनि यसको आन्तरिक गुणवत्ताका दृष्टिले यो सानो नभएको कुरा उनले बताएका छन् । नेपाल प्रकृतिक सौन्दर्यले भरिपूणर् भएको मुलुक हो ।
खासगरी अधिकांश भूभाग कृषियोग्य जमिनको अभाव भएको कारणले यहाँ कृषि व्यवसायका साथै अन्य विविध व्यवसायको प्रचुर सम्भावना रहेको देखिन्छ । खासगरी नेपालको विभिन्न हिमाली क्षेत्रमा पशुपालन र फलफूलखेतीलाई मूल व्यवसायको रुपमा अँगालिएको पाइन्छ ।
यहाँका भेडीखर्कहरुमा भेडी गोठालाहरुले भेँडा पालन व्यवसायलाई आफ्नो जीवनवृत्तिको मूल व्यवसायको रुपमा अँगालि आएका देखिन्छन् । हाम्रो देश नेपाल कृषिप्रधान देश हो । तसर्थ, हिमाल, पहाड, तराई गरी यो देश तीन प्राकृतिक प्रदेशमा विभाजन गरिएको छ र सोही आधारमा यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरताको दृष्टिले नियाल्दा विभिन्न भूगर्भविदहरुले नेपाललाई एसियाको ‘स्वीट्जरल्याण्ड’ भनी परिभाषित गरेका छन् । जसरी युरोप महादेशमा ‘स्वीट्जरल्याण्ड’ प्राकृतिक सौन्दर्यको दृष्टिले सर्वोत्कृष्ट मानिन्छ त्यसैगरी एसिया महादेशमा पनि नेपाल ‘स्वीट्जरल्याण्ड’जस्तै सुन्दर मानिन्छ ।
तसर्थ, विद्वान्हरुले यसलाई नेपाल बनाउनेभन्दा पनि ‘स्वीट्जरल्याण्ड’ बनाउने सपना देख्दछन् । भाषा विज्ञानका दृष्टिमा यो एउटा आलङ्कारिक कुरा मात्र हो, यथार्थभन्दा धेरै परको । बरु पेशा र व्यवसायका दृष्टिले नेपाललाई ‘अष्टे्रलिया’ बनाउने हो भनेको भए राम्रो हुन्थ्यो होला । किनभने कृषिप्रधान देश नेपालमा पशुपालन व्यवसायको धेरै सम्भावना देखिन्छ ।
खास गरी जसरी ‘अष्टे्रेलिया’मा त्यहाँको प्रकृतिले भेँडापालनको लागि अनुकूल हावापानी र घाँसपातको व्यवस्था गरिदिएको छ त्यसैगरी नेपालमा पनि भेँडापालन व्यवसाय अष्टे्रलियाजस्तै अनुकूल बन्ने देखिन्छ । तसर्थ, नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौँ भन्दा पनि अष्टे्रलिया बनाउँछौँ भनेको भए उपयुक्त हुने देखिन्छ ।
खास गरी कृषिप्रधान देश नेपालमा यहाँका किसानहरुले कृषि व्यवसायका अतिरिक्त पशुपालन व्यवसाय र फलफूलखेतीलाई बढी महत्व दिएको देखिन्छ । पशुपालन व्यवसायअन्तर्गत् गाईपालन, भैँसीपालन, माछापालन, कुखुरापालन, सुँगुरपालन, बाख्रापालन, अष्ट्रिचपालन आदि पर्दछन् । यसको साथै गाईको व्यवस्थापनको लागि ‘गिद्धपालन’ व्यवसाय पनि यहाँ उपयोगी हुन जाने देखिन्छ ।
तर हाँस र परेवापालन व्यवसाय भने यहाँका व्यवसायीहरुले सञ्चालन गरेको देखिँदैन । बरु यसो कतै आफ्नो भोजनलाई सुस्वादु बनाउनको लागि हाँस मारन वा परेवा मारन व्यवसायअन्गर्तत कुटिर उद्योग सञ्चालन गरेको भने देखिन्छ । पशुपालन व्यवसायअन्तर्गत खास गरी भेँडापालन व्यवसायको लागि अष्टे्रलियालाई विश्वप्रशिद्ध मानिन्छ ।
हुन त त्यहाँको सरकारले ऊँटहरुलाई धेरै पानी खाएको कारणले आकाशबाट गोली हानेर मारेको भन्ने समाचार सुनिन्छ । तर, भेँडा पाल्ने व्यवसायलाई अष्टे्रलियाको खास गरी तास्मानिया क्षेत्रतिर भने प्रमुख व्यवसायको रुपमा त्यहाँका बासिन्दाहरुले अँगाल्ने गरेको देखिन्छ ।
सहरी क्षेत्रमा भेँडालाई आवश्यक पर्ने अनुकूल हावापानी र घाँसपात तथा बसोवासको उपयुक्त व्यवस्थाको अभावको कारणले ग्रामीण क्षेत्रमा नै भेँडापालन वा पशुपाला वा फलफूलखेतीको व्यवसायलाई नै मुख्य व्यवसायको रुपमा अँगालिएको पाइन्छ ।
सहरमा घना बस्ती भएका कारणले पनि त्यहाँ कृषि तथा पशुपालन व्यवसाय अनुकूल नहुने देखिन्छ तर गाउँमा जनघनत्व पनि कम भएकोले त्यहाँ उद्योगधन्दा तथा व्यापारभन्दा कृषि र पशुपालन व्यवसायलाई नै बढी जोड दिइन्छ ।
दक्षिण एसियाअन्तर्गतको नेपालको हिमाली क्षेत्रमा कृषियोग्य जमिनको अभाव भएको र त्यहाँको अधिकांश भूभाग प्राचीन मोडदार पहाडले बनेको हुँदा त्यस क्षेत्रमा कृषि व्यवसायभन्दा पशुपालन व्यवसायको प्रचुर सम्भावना रहेको देखिन्छ ।
तर, सो व्यवसायमा संलग्न व्यक्तिहरुले कृषिविज्ञान तथा पशु विज्ञानसम्बन्धी आवश्यक शिक्षादीक्षा र प्रशिक्षण र ज्ञान भने हासिल गरेको देखिँदैन । तसर्थ, वर्तमान समयको आवश्यकता अनुसार त्यस व्यवसायमा आवद्ध व्यवसायीहरुलाई तत्सम्बन्धी शिक्षादीक्षा तथा आवश्यक पृष्ठपोषण भने जरुरत पर्दछ ।
के हो भेँडापालन व्यवसाय ?
‘भेँडा’ चारखुट्टे पशु हो । यसले देवलोकदेखि मानवलोकसम्म समान महत्व र गरिमा हासिल गरेको देखिन्छ । पौराणिक शास्त्रअनुसार परापूर्वकालमा स्वर्गमा ईन्द्रको सराप पाएर पृथ्वीमा आएकी अप्सरा उर्वशीले आफ्नो साथीको रुपमा समेत भेँडीलाई साथमा लिएर आएकी थिइन् भन्ने किम्बदन्ती पाइन्छ ।
राजा पुरुरवासँग भेट हुँदा उनले आफ्नो साथी भेँडीलाई नै आफ्नो सुरक्षा कवजको रुपमा उपयोग गरेकी थिइन् भन्ने पढ्न पाइन्छ । धेरै लामो समयसम्म राजा पुरुरवा र उर्वशीबीच मायाप्रेम त बस्यो तर इन्द्रको सरापअनुसार उनले आफ्नो समय पूरा गरिसकेपछि आफ्नो प्रेमी परुरवालाई पृथ्वीमै छोडेर आफ्नो साथी भेँडीलाई साथमा लिएर स्वर्गलोकतार्फ गएकी थिइन् भन्ने प्रमाण पनि नीतिशास्त्रहरुमा भेटिन्छ ।
यसरी देवलोकदेखि मानवलोकसम्म भेँडा लोकप्रिय बनेको देखिन्छ । भेँडालाई घरमा घाँसपात, दानापानी आदि खुवाउनु त्यति आवश्यक पर्दैैन । किनभने यो भेँडीखर्कमै बढी रमाउँछ । खास गरी मिमाली क्षेत्र भेँडाको लागि उपयुक्त स्थान मानिन्छ ।
जस्तै ढोरपाटन, बुकीपटान, चित्रीपाटन खास गरी तीब्बती क्षेत्रका विभिन्न पठारहरु (उच्च समस्थली) र तीब्बती क्षेत्रका नजिकका दार्चुला, हुम्ला, जुम्ला, मुगु, कालीकोट, रुकुमको उत्तरी क्षेत्र, मनाङ, मुस्ताक, म्याग्दी, बाग्लुङ, रसुवा, दोलखाको जिरी, चरिकोट, ताप्लेजुङ आदि हिमाली जिल्लाहरु भेँडापालन (च्याङ्ग्रा, चौँरीगाई) आदिका साथै घोडा, खच्चर र फलफूल खेतीका लागि अनुकूल स्थान मानिन्छन् ।
त्यस क्षेत्रमा स्याउ प्रमुख रुपमा खेतीको लागि छनोट हुन्छ भने आलुबखडा, ओखर, आरुलगायतका फलफूल र अन्य विभिन्न जडिबुटीहरुसमेत हिमाली क्षेत्रमा उत्पादन गर्ने गरिन्छ । खास गरी त्यस क्षेत्रमा ठन्डी जलवायु हुने हुँदा त्यहाँका बासिन्दाहरुलाई न्यानो तथा ऊनी कपडाको जरुरत पर्दछ । तसर्थ, उक्त आवश्यकता परिपूर्तिको लागि पनि भेँडापालन व्यवसायले सहयोग गर्ने गरेको देखिन्छ ।
भेँडापालन वहुआयामिक महत्व ओगटेको व्यवसाय हो । यसको मल अन्न उत्पादनको लागि निकै उपयोगी मानिन्छ । यसको साथै भेँडीको दूध र घ्यू पनि मानव स्वास्थ्यको लागि निकै पोषिलो मानिन्छ । भेँडाका पाठाहरुको ऊनबाट वहुमूल्य ऊनी कपडाहरुको निर्माण गरिन्छ ।
भेँडाको मासु निकै स्वादिलो र पोषिलो पनि हुन्छ भने भेँडाको छालाबाट जुत्ता, झोला, टोपी, ज्याकेट आजिजस्ता लुगाहरु बनाउन सकिन्छ । यसको साथै देवताहरुलाई खुशी बनाउनको लागि पनि खास गरी वराह देवताको मन्दिरमा भेँडालाई बलि चढाउने प्रयोजनको निमित्त उपयोगी मानिन्छ । भेँडाको हाडबाट विभिन्न गहना तथा औजारहरुका बिँडहरु बनाइन्छ भने भेँडाका सिङहरु घरको ढोकामाथि टाँगेर घरको सुन्दरता बढाउने काम गरिन्छ ।
भेँडापालन व्यवसायले राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरको महत्व ओगटेको छ । वेरोजगारीवर्गलाई यसले विभिन्न घरेलु उद्योगहरु जस्तै राडी, पाखी, गलैँचा, पस्मिना, कम्बल आदि उत्पादन गर्ने उद्योगको लागि आवश्यक पर्ने कच्चापदार्थ उपलब्ध गराई त्यस व्यवसायमा संलग्न महिला, बूढाबुढी, युवा र केटाकेटीहरुलाईसमेत रोजगार प्रदान गर्दछ ।
खासगरी हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा, भोटे, राई, लिम्बु, गुरुङ, तामाङ, मगर, खम्पा आदि जातिका वासिन्दाहरुले भेँडा, च्याङ्ग्राको ऊनबाट आफूलाई आवश्यक पर्ने वस्त्रहरुको उत्पादन गरी ती वस्तुहरुबाट प्रशस्त मात्रामा आय आर्जन गर्दै आएको पाइन्छ । हिमाली क्षेत्रमा निकै ठन्डी हुने हुँदा ऊनबाट बनेका टोपी, स्वीटर, मोजा, जुत्ता आदि पनि त्यहाँका बासिन्दाहरुको लागि उपयोगी मानिन्छन् ।
यसरी भेँडापालन व्यवसायबाट स्वदेशी र विदेशी दुवैप्रकारका मुद्राहरु आर्जन गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ । खास गरी राडी, पाखी, गलैँचाजस्ता तयारी मालहरु समुद्रपारिका देशहरुमा निर्यात गरी प्रशस्त मात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने शौभाग्य समेत नेपाललाई भेँडापालन व्यवसायले प्रदान गरेको छ । थोरै लगानीमा सञ्चालन गर्न सकिने यो व्यवसायमा भेँडाका प्रजातिहरु भने फरक-परक हुन्छन् ।
जस्तै हिमाली क्षेत्रमा च्याङ्ग्रा प्रजातिको भेँडाहरु हुन्छन् साथै त्यहाँ चौरीगाईको पालन पनि गर्ने गरिन्छ । चौँरीगाईको ऊन र दूधबाट दुग्धजन्य पदार्थहरु छुर्पी, मख्खन, नौनी आदिको उत्पादन गरिन्छ भने ऊनबाट अन्य ऊनी वस्त्रहरु तयार पारिन्छ । तर, नेपालको मध्यपहाडी भेगतिर स्थानीय प्रजातिका भेँडाहरु पाइन्छन् ।
ती भेँडाहरुले तुलनात्मक रुपमा हिमाली क्षेत्रका भेँडाहरुभन्दा कम मात्रामा दूध र ऊन दिने गर्दछन् । मध्यपहाडी प्रदेशमा मध्यमप्रकारको हावापानी न ठन्डी न गर्मी हुने हुँदा त्यहाँका भेँडाहरुको ऊन धेरै हुँदैन र तिनीहरुले दूध पनि कम दिन्छन् । तर, तराई प्रदेशका भेँडाहरु भने लामा पुच्छर भएका हुन्छन् । ती भेँडाहरुले पनि गर्मी हावापानीका कारणले गर्दा धेरै ऊन दिन सक्तैनन् । यसरी स्थानीय हावापानीअनुसार भेँडाका रँगहरु पनि फरक-परक हुन्छन् ।
जस्तै काला, सेता, खैरा, राता आदि रँगका भेँडाहरु विभिन्न प्रकारको हावापानी र स्थानअनुसार फरक-फरक रँगका हुन्छन् । तर हरियो र पहेँलो रँगका भेँडाहरु भने प्रायः दुर्लभ नै मानिन्छन् । हुन त धर्मशास्त्रअनसार भेँडाभन्दा गाई निकै सोझो चारखुट्टो पशु मानिन्छ । यसको धार्मिक र पौराणिक महत्व पनि मानव जन्मदेखि मृत्युपर्यन्त मानिन्छ ।
पौराणिक मान्यताअनुसार देव र दानव मिलेर समुद्र मन्थन गरेपछि नन्दा, सुभद्रा, सुशीला, सुरभि आदि नाम गरेका गाईहरुका साथै कालकुट वा हलाहलविष, चौधरत्नाहरु मणि, माणिक्य, अमृत, ऐरावत हात्ती र धनकी अधिष्ठात्री लक्ष्मी समेत प्राप्त भएको थियो भनिएको छ । तर आधुनिक युगमा ती आलङ्कारिक पदार्थहरुभन्दा भेँडालाई नै बढी गुणी तथा उपयोगी प्राणी मान्नुपर्ने देखिन्छ ।
किनभने भेँडा निकै सोझो र स्वविवेकहीन चारखुट्टे प्राणी हो । हामीलाई थाहा छ, काग प्राणीहरुमध्ये चलाख प्राणी मानिन्छ । तसर्थ कागले लामो बाहुला भएको लुगा लगाएका मानिसले बाहुलाभित्र ढुङ्गा लुकाएका हुन्छन् भन्ने पूर्वानुमान गरी त्यस्ता मानिसहरुलाई देख्नेबित्तिकै ऊ उडिहाल्छ । कतै रुखका हाँगा वा डालीमा बस्नुपर्दा पनि कागले चारैतर्फ आफ्नो टाउको घुमाई-घुमाई हेरिरहन्छ ।
तर भेँडो यति सोझो चौपाया पशु हो जसले दायावायाँ, पूर्व, पश्चिम, उत्तर, दक्षिण कतै पनि नहेरी जुनसुकै प्रकारको क्षति भोग्नुपरे पनि ऊ खुरुखुरु टाउको भूइँतिर झारेर हिंडिरहन्छ । पशुविज्ञानमा भेँडाको यो सबैभन्दा ठूलो गुण र विशेषता मानिन्छ । उसको लागि यो विशेषता घातक भए पनि अरुको लागि वा मानव जातिलाई भने फाइदाजनक नै हुने देखिन्छ ।
तसर्थ, आज कृषिप्रधान मुलुकहरुमा उच्च प्राथमिकताका साथ ‘भेँडापालन’ व्यवसायले उच्च महत्व हासिल गरेको हो कि भन्ने निष्कर्षमा पुग्न सकिन्छ । तर, अन्य मुलुकहरुको भन्दा हाम्रो मुलुक नेपालमा वैदेशिक मुद्रा आर्जनको मूल स्रोत भनेको तयारी सामानहरुको निर्यात नै हो ।
जसअन्तर्गत् राडी, पाखी, गलैँचा, पस्मिना आदि ऊनीजन्य तयारी मालसामानहरु पर्दछन् । तसर्थ, उक्त मालसामान निर्माण गर्ने कच्चा पदार्थ (ऊन) भेँडाबाट बढी मात्रामा प्राप्त हुने हुँदा हाम्रो देश नेपालमा पनि अन्य देशमाझैँ भेँडापालन व्यवसायले बढी महत्व राख्दछ । खास गरी यो व्यवसायले अष्टे्रलिया महादेशसँग बढी सानिद्यता राख्दछ ।
