दाङमा आजदेखि रात्रि-कर्फ्यु
गोरक्ष समाचारदाता
दाङ, ३२ साउन । स्थानीय प्रशासनले आज (सोमवार) साँझ ७ बजेदेखि लागू हुने गरी ५ दिनका लागि रात्रि-कर्फ्यु आदेश जारी गरेको छ । कोभिड—१९ को विश्वव्यापी संक्रमणसँगै दाङ जिल्लामा पनि संक्रमणको जोखिम उच्च रहेको मूल्यांकन गर्दै भदौ १ गतेदेखि ५ गतेसम्मका लागि यो निषेधाज्ञा जारी गरेको हो । यो अवधिभर साँझ ७ बजेदेखि विहान ५ बजेसम्म कुनै पनि सामाजिक जमघट तथा हिडडुल समेत गर्न पाइने छैन ।
कफ्र्युको समयमा प्रेस जगत, एम्बुलेन्स, दैनिक अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने साधन तथा अन्य कुनै प्रयोजनका लागि पास लिएका सवारी साधन बाहेक कुनै पनि सवारी साधन चल्न पाउने छैनन् । शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निणर्य गरेको हो । कोरोना संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरुले दिएको रायसुझाव अनुसार रात्रि-कफ्र्युको आदेश जारी गरिएको केन्द्रका संयोजक रिजालले बताएका छन् ।
यो सयममा जिल्लाका होटलहरु, खाजाघर, अन्य पसलहरु (मेडिकल वाहेक) सबै बन्द रहने छन् । हिडडुललाई पूणर्रुपमा प्रतिबन्ध लगाइएको छ । यो अवधिमा आदेश उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन अनुसार कारवाही हुने पनि सिएमसीको बैठकले निणर्य गरेको छ । पर्वका नाममा गाउँघरमा नाँचगान, भोजभतेर तथा कुनै पनि सामाजिक जमघट हुने खालका कामहरु हुने छैनन् । रात्रिकालीन समयमा विभिन्न चहलपहल र भीडभाडका कारण पनि कोरोनाको संक्रमणको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यो आदेश जारी गरिएको हो । सक्रिय संक्रमितको संख्या बढ्दै गएमा सुरक्षा व्यवस्थामा थप कडाई गरिने पनि बैठकले निणर्य गरेको हो । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या करिब ५० को हाराहारीमा छ । यो संख्या बढेर २ सयभन्दा बढी भएमा पुनः जिल्लामा लकडाउनसँगै निषेधाज्ञा समेत जारी गर्ने तयारी सिएमसीले गरेको छ ।
यसैगरी बैठकमा स्थानीय पालिका प्रमुखहरुले हरेक पालिकामा कम्तिमा पनि एउटा क्वारेन्टाइन अनिवार्य रुपमा व्यवस्थापन गर्ने र तेस्रो मुलुकबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखि पिसिआर परीक्षण नेगेटिभ आएको अवस्थामा मात्र घर पठाउने विषयमा पनि छलफल भएको छ । यद्यपि यसको आधिकारिक निणर्य भने भएको छैन । यस अघि भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई पनि लक्षण नदेखिएको अवस्थामा होमक्वारेन्टाइनमा बस्ने गरी घर पठाइँदै आएको थियो । जसका कारण संक्रमणको जोखिम समुदाय स्तरमै थप बढ्न थालेको छ ।
