पुस्तक समिक्षा : मेरो अतीत
गुरुप्रसाद शर्मा रेग्मी
दाङमा आउँदासाथ दाजु एकराज शर्माको ‘मेरो अतीत’ पुस्तकको विमोचन हुन लागेको सुखद् समाचारले मलाई रोमाञ्चित बनाइदियो । जीवनको उत्तरार्धमा पुगेका मानिसहरुले प्रायःजसो अर्काको कुरा गरेर या तास खेलेर या आफ्नो जीवनमा घटित घटनाहरुलाई अतिरञ्जित बनाई अरुलाई सुनाउने र आफू अतिरञ्जित हुने गरेको देखिन्थ्यो ।
तर श्रद्धेय दाजु एकराज शर्माले आफ्नो आत्मबल र आत्मविश्वासलाई ऊर्जाशील बनाइ जसरी नयाँ-नयाँ पुस्तक सिर्जना गर्नुभएको छ त्यो सिर्जनाको कार्य अनौठो मात्र नभएर भावि पुस्ताको लागि अनुकरणीय स्रोतको प्रतिक बन्ने जो काम गर्नुभएको छ । त्यो ज्यादै सराहनीय कार्य भएकाले प्रशंसनीय पनि हुनुभएको छ । श्रावण २५ गतेका दिन आफ्नो जन्मदिनको अवसरमा पत्रकार महासंघको हलमा सम्पन्न भएको पुस्तक विमोचनको कार्यक्रममा म पनि उपस्थित भएको थिएँ । साहित्यकार, साहित्यप्रेमी, पत्रकारहरुको कार्यक्रममा बाक्लो उपस्थिति थियो ।
लेखकको नातिबाट पुस्तक विमोचित गराएर एउटा नयाँ सिष्टमको जग बसाल्ने काम पनि भएको अनुभूति गरेको छु । विमोचित पुस्तक जब मेरो हातमा पर्न गयो, पुस्तकलाई ओल्टाइ-पल्टाइ अगाडि, पछाडि सबै हेरेँ । भित्र नहेरेको भए पनि बाहिरबाट हेर्दा मेरो अतीत पुस्तक अलिकति दुब्लो देखिए पनि राम्रो भएजस्तो लाग्यो । घरमा आएर जब पूरै पस्तक पढेँ, पुस्तकबो टिप्पणी गर्न मनले घचघच्याउन थाल्यो र लेख्न वाध्य गरायो ।
‘मेरो अतीत’ पुस्तक १८२ पृष्ठको रहेछ । सुरुका ५० पृष्ठसम्मका पानाहरुमा हिरण्यलालका सन्तानहरुदेखि लेखकका छोरा सन्तोष रेग्मीसम्मको पाँच पुस्ताको वर्गद्दीका पट्वारी परिवारहरुको नालीबेली देखाउने काम भएको छ । १२५ पृष्ठदेखि १५५ पृष्ठसम्म लेखकले लेख्नुभएका गीतिनाटक र कविताहरु पनि छापिएको छ । १०५ पृष्ठदेखि ११६ पृष्ठसम्म विदेश भ्रमणका कुरा र फोटोहरु रहेका छन् । यस बीचमा लेखकको अतीतलाई स्थान दिएको छ ।
त्यसपछिका सबै पृष्ठहरुमा लेखकले पाएका सम्मानपत्र, प्रमाणपत्र, चिठीपत्र र फोटो राख्ने काम भएको देखिन्छ । अतीतको कथा होस् या आत्मकथा लेख्ने क्रममा लेखकले आफ्नो जीवनमा घटेका झिनामसिना, राम्रा-नराम्रा सबै कुरालाई जस्ताको त्यस्तै राखिदिने हो भने पाठकहरुको आस्था र निष्ठा बढ्न जान्छ र वास्तविकता परिलक्षित हुन्छ ।
यदि यस्तो नगरे लेखकले आफ्ना राम्रा कुरा मात्र देखाउने प्रयास गर्ने हो भने त्यसमा भएको मपाइपनाले पाठकहरुमा आस्था र निष्ठा जगाउन त्यसले सक्दैन भन्ने कुरा यसको विधाको विधिले भनेको छ । कोही कसैको व्यक्तित्व र पहिचान निर्माण गर्न सहयोगी हुन सक्दैन । आफ्नो व्यक्तित्व र पहिचान आफै बनाउनु पर्दछ । अर्काको भर, विश्वासमा हरने मानिसको न व्यक्तित्व बनेको हुन्छ न पहिचान नै बढेको हुन्छ । त्यसैले भनिएको हुनुपर्छ- कसैले आफ्नो भाग्य दैवलाई लेखाएर आएको हुँदैन, आफ्नो भाग्य लेख्न आफै प्रयत्नशील हुनुपर्छ ।
अतीतको कथा या आत्मकथा लेख्ने मानिसको पहिचान सुनिश्चित छैन भने उसले आफ्नो पहिचानलाई सुनिश्चित गराउन बाबुआमाहरु, दाजुभाइहरु, इष्टमित्रहरु र मान्यजनहरुको पहिचानमा आफ्नो पहिचान समावेश गराई आफ्नो पहिचानलाई उच्च बनाउने प्रयास गरेको हुन्छ । तर मेरो अतीतका लेखकको राजनीतिक, सामाजिक, साहित्यिक, शैक्षिक र धार्मिक आफ्नो अलग पहिचान हुँदाहुँदै पनि बुबाआमाहरु, दाजुभाइहरुको पहिचानसँग आफ्नो पहिचान जोडेर देखाउन खोज्दा लेखकको पहिचान नै ओझेलमा पर्न गएको जसतो देखिन्छ ।
वास्तवमा यिनै कुराहरुले गर्दा मेरो अतीत ओझेलमा पर्न गएको छ । यस अतीतको कला र आत्मकथा पनि एउटा साहित्यिक विधा हो । यसको पनि आफ्नो विधि र विधान अलग हुन्छ । त्यसको लेखकले पालना गर्नुपर्छ भन्ने कुरा बिर्सनु हुँदैन । यदि लेखकले यो विधाको विधि र विधानलाई तपसिलमा राखेर आफ्नो मनगढन्ते विधिबाट लेख्ने काम हुन गयो भने पाठकहरुको आस्था र निष्ठा बढ्न सक्दैन । यसमा लेखक सचेत हुनु पर्दछ भन्ने कुरा बिर्सनु हुँदैन । ‘मेरो अतीत’ पुस्तकमा सबै कुरा समावेश गर्ने प्रयास नभएको होइन ।
तर विषयवस्तुहरुको छनोट गरेर राख्दा मेल खान नसकेको देखिन्छ । कतिपय कुरा नराख्नुपर्नेमा राखिएको छ भने कतिपय कुरा राख्नुपर्नेमा नराखिएको देखिन्छ । तापनि पुस्तक राम्रो छ, लेखकको अतीतलाई देखउँछ जस्तो लाग्दछ ।
