नजरको संवाद
यम रेग्मी
तल्लो जीवन उपन्यास अंश
‘रक्षा ! ए छोरी ! अझै उठ्या छैनी कि क्वा हो ?’ बिहानै सीता बाहिरबाट माथि झ्यालतिर हेर्दै बोली ।
‘आएँ मामु !’ रक्षा जुरुक्क उठी विस्तराबाट र आँखा मिच्दै बोल्ली । माथिबाट तल झरी । आँगनमै धारो थियो, खोली र मिचिमिची हातमुख धोई । टावेलले अनुहार र हातको चीसो पुछी । आमाको सामुन्य आई । थचच्क बसी । बोली-‘किन मामु ?’
सीता आँखासम्म आएका कपालका धर्सा पछाडि सारी, छोरीका । लामो कपालको चुल्ठो खेलाउँदै बोली, ‘नानी म त पाखा सरिगेँ, पहिले चिया बनाऊ अनि खाना पकाऊ । अबको चार दिन तिमी भान्से ।’
आमाको कुराले झनै टाउको दुख्यो उसको । अमीलो मुख लगाई । वायाँ हातले टाउको कन्याई । दायाँ हातले आँखा मिची । जाँगर नलाई नलाई जुरुक्क उठी । केही नबोली भान्सामा छिरी ।
एकैछिनमा चिया बनाई । खान दिई सबैलाई । हतार-हतारमा खाना पकाई । पहिले आफूले खाई र विद्यालय गई ।
पहिलो घण्टी थियो, सामाजिक विषयको । नेपालमा रहेका गलत प्रथाहरू थियो पाठ । एक नम्बरमा छुवाछूत थियो । धेरै व्याख्या गरे सरले, छुवाछूतको बारेमा, विगतदेखि वर्तमानसम्मका । यसले मानिसको जीवनमा पार्ने असर, यसलाई हटाउन विद्यार्थीले खेल्नुपर्ने भूमिकामा खुब जोड दिए ।
घण्टीभरि आमाका अमानवीय व्यवहार झलझली सम्झी रक्षाले अनि गोपाललाई सम्झी । आ-आफै आगो पनि भई । शरीरबाट खलखली पसिना आयो । दिनभरि तनावमा रही । अरु विषय पढाएको केही बुभ्mन सकिने उसले । तनावको बीचमै चार बज्यो । छुट्टी भयो र सरासर घर आई ।
साँझको खाना पकाउन भान्सामा छिरी । पकाई पनि । गोपाल खेतबाट एक भारी घाँस ल्यायो । आँगनमा झ्याम्म फाल्यो ।
सीता बैठक कोठामा टिभी हेर्दै थिई । टिभीको आवाज बन्द गर्दै बोली-‘छोरी पहिले गोपाललाई ख्वाऊ । आज नास्ता पनि खान पाको छैन, भोकायो होला अनि हाम्ले खाम्ला ?’
रक्षा केही बोलिने । बिहानैदेखि दुःखी थिई । आमाको बोलीले झनै दुःखी भई । स्टिलको ठूलो थालभरि भात पस्की । थालको एक छेउमा टमाटरको चट्नी राखी । अर्को छेउमा बोडीको तरकारी । ठूलो कचौरामा दाल राखी । एउटा हातले थाल टिपी । अर्को हातले दालको कचौरा टिपी । खाना पुर्याई गोठमा ।
भाँडा तयार थियो । खानाको प्रतीक्षामा बसेका थिए । रक्षाको आगमनसँगै ऊ कुवाँतिर हात धुन निस्क्यो । खानैसँग भाँडा भूइँमा राखी । उसका पहिलेका फोहर थाल, कचौरा र लोटा हेर्न सकिन । ट्याप्प टिपी, नजिकैको मलखात थियो त्यहीँ खुइत्त मिल्काई । भान्सामा आई । सफा जगभरि पानी भरी लगी र खानासँगै राखिदिई ।
गोपाल ठिङ्ग उभियो । नयाँ भाँडा र खाना हेरेको हेरै भयो । रक्षा ढोका बाहिर थिई । नजर गोपालतिरै थिए, उसका । पुलुक्क हेर्यो, गोपालले रक्षालाई, पहिलो पटक । नयन-नयनको मिलन भयो । मिलनपछि संवाद भयो आँखाको । रक्षा धेरैवेर संवाद गर्न सकिन । लाजले लाल भई, लज्जावती झारझैँ । मुसुक्क हाँसी, गुलावी हाँसो । शिर निहुराई, बाँस निहुरिएझैँ । इसाराले बोली-‘अबबाट यी भाँडामा खाना खाऊ ल !’
ऊ सरासर भित्र गई । गोपाल खाना खान थाल्यो ।
सीताको महिनावारीको पाँचौ दिन । शनिवारको दिन थियो । रक्षा सात बजेसम्म सुती अनि उठी । आँखा मिच्दै टिभी कोठमा छिरी । टिभी खोली । नयाँ-नयाँ हिन्दी म्यूजिक भिडियो हेर्न थाली ।
गोपाल उठेर घाँस काट्न गइसकेको थियो । सीता नुहाएर भान्सामा छिरी । खाना पकाई । गोपाल पनि घाँसको भारी बोकेर आयो ।
सीता थालमा भात । कचौरामा दाल । गोपालको नजिक गई । ऊ छक्क परी, नयाँ भाँडा देखेर । ऊ रिसले आगो भई । केही बोलिन । थालमा भात राखी, कचौरा दाल राखी । पैताला बजाउँदै फरक्क फर्किई ।
गोपाल गाईभैँसी फुकायो । गाईभैँसीको पछि-पछि ग्वालातिर लाग्यो ।
सीता टिभी कोठामा छिरी । रिसाएको बघेनीझैँ छोरीमाथि खन्निई । बोली-‘आमालाई एक वचन पनि नसोधी त्यो चमारलाई नयाँ थाल र कचौरामा खान दिन्छेस् ? तेरो पोई हो र त्यो ? तँलाई पख ! ऐले तेरो बा आएपछि था हुन्छ ।’
रक्षा टिभी हेर्दाहेर्दै काली-नीली भई । लुगलुग काप्न थाली । ऊसलाई ठूलै गल्ती गरेझैँ लाग्यो । ऊ डराएकै आवाजमा बोली- ‘त्यो पनि मान्छे हो नि ! तल्लो जाति भन्दैमा किन यति धेरै भेदभाव मामु ? मान्छे-मान्छे एउटै होइन र ?’
‘अझ मुखमुख लाग्छेस् । अस्तिकी पिउसीले मैलाई सिकाउँछेस् ?’ एक झापट गालमा बजाई । रक्षा रुँदै पढ्ने कोठमा छिरी । त्यस दिन उसले विहानको खाना पनि खाइने ।
दिनभरि कोठामै बसी । दिमागमा एउटै शब्द नाचिरह्यो- ‘तेरो पोई हो त्यो ?’ फेरि आफूले आफैलाई प्रश्न गरी – ‘के मेरो पोई बन्न सक्दैन ऊ ? के ऊ मान्छे होइन, अर्कै जीव हो र मेरो पोई हुन नसक्ने ? मेरो पोइ हुन नसके पनि कसैको पोई त अवश्य होला त ?’ यस्तै कुरा खेले मनमा दिनभरि । ‘पोई’ शब्दले जीवनमा पहिलो पटक नयाँ आनन्द दियो, उसलाई ।
असोजको पहिलो साता, विहानको पारिलो घाम । पहेँलै खेतमा धान पाकिसकेको थियो । तोरी छर्नलाई बारी जोतेर रखरख पारिएको थियो । मनमोहक थियो वातावरण । गोपाल विहानै जुरुक्क उठ्यो, हातमुख धोयो । बारीमा मकैको ठुटी टिप्न गयो ।
सीता चियाको गिलास पेटीमा राख्दै बोली-‘गोपाल ! चिया खान आइज ।’ ऊ सरासर घरमा आयो । पेटीमा थचक्क बस्यो, चिया पिउन थाल्यो ।
शरीरमा रातो लेहेङ्गा, पाउमा अग्ला रातो सेन्डिल, अधरमा रातो लिपिस्टिक, निधारमा रातो टीका, नङमा रातो नङपालिस, हातमा रातो पर्स भिरेर अप्सराझैँ आँगनमा देखापरी, रक्षा ।
गोपाल हातमा चिया समातेर हेरेको हेरै भयो, बिना सूचना रक्षालाई त्यस्तो पहिरनमा देखेर ।
आँगनमा टक्क उभिई, रक्षा । गोपालतिर पुलुक्क हेरी । गोपालको आँखा पहिलेदेखि नै पच्छाइरहेका थिए । केही बेर आँखा-आँखाको लडाई भयो । उसले हारी, परेली तल भारी । मुसुक्क हाँसी । गोपाल फिक्का हाँसो हाँस्यो । रक्षा शिर निहुराएर दायाँ हातले कपालको चुल्टो खेलाउदै बोली, ‘आमा ढिलो भयो, चाँडो गर्नुहोस् ?’
सीता भित्रैबाट बोली-‘गोपाल ! सामानको झोला धेरै गह्राँै छ, हाम्लाई गोग्लीसम्म छोडाएर आतो, जन्ति आउने बेला भैगो होला ?’
रक्षा गोपाललाई पुलुक्क हेरी । आमाको कुरा मनमा चसक्क बिझ्यो । केही अगाडिको खुशी, आफै मरेर आयो । उसलाई भरिया बनाउनु परेकोमा ।
गोपाल जुरुक्क उठ्यो । झोला काँधमा राख्यो र अघि-अघि गोग्लीतिर लाग्यो । रक्षा आमासँगै उसको पछि लागी ।
दिनभरि ऊ विवाहमा रम्न सकिन । गोपाललाई सम्झिरही । दिनभरि रातो लुगामा रक्षा पनि गोपालको आँखामा नाचिरही ।
एक हप्ता पछि हो, साँझको पाँच बज्नलागेको थियो । गोपाल भैँसीलाई दाना खुवाउँदै थियो, सीता भान्सामा थिई । रक्षा बाहिरबाटै बोली- ‘आई एम विनर मम् ! म नौमा क्लास फस्ट ।’ आमासँग बोले पनि आँखा गोपालतिर नै थिए, उसका । गोपाल मुसुक्क हाँस्यो उसको खुशीमा, उसलाई अथाह आनन्द भयो ।
सरासर गोपाल सामू गई, हातमा दुईवटा चोखोपन राखिदिई, गोपाल आँखाबाटै बधाई दियो ।
कृष्ण भित्र मुसुमुसु हाँसिरहेका थिए । बाउलाई चोखोपन दिँदै बोली-‘डाइडी ! टुडे हजुरको छोरी फस्ट, टुमारो माइ बर्थ डे ।’
सीता कृष्ण नजिक पुगी, सोफामा थचक्क बसी । पतिको कुममा हात राख्दै बोली-‘भोलि छोरीको जन्मदिन मनाइदेऊ, साह्रै रहर गर्छे ।’
कृष्णले स्वीकृति दिए । धुमधान वर्थ-डेको तयारी भयो ।
केक, फलफूल र मासुगलायतका सममन किन्नका लागि गोपाल बजार गयो । पहिले बेकरीमा गयो, केक अर्डर दियो । फलफूल पसलमा गयो, अर्डर अनुसार किन्यो । मासु पसलमा गयो, अर्डर अनुसारकै किन्यो । जे-जे किन्न बाँकी थिए, अरु सबै समान किन्यो । लामा फेन्सीमा गयो । एकजोर राता सुरुवाल-कुर्ता किन्यो, रक्षालाई बर्थ-डेको उपहारको लागि ।
साँझ बर्थ-डे सुरु भयो । नौ कक्षा नै आएको थियो, उसको बर्थडेमा ।
सुन्दर कोठा, उज्यालो प्रकाश, कलिलो गोरो सुन्दर अनुहार, मृगरुपी चञ्चल र लोलाएका नयन, मिलेको नाकको डाँडी, कम्मरभन्दा तल झरेको केसराशी, हिन्दु धर्मानुसार स्वर्गकी परी थिई, रक्षा ।
आमाबाट उद्घान भयो बर्थ-डेको कार्यक्रम । सबैले ‘हेप्पी बर्थ-डे र ताँलीको आवाजले कोठा गुञ्जायमान भयो अनि बुबाले रातो टीका लगाए । आशीर्वाद दिए । साथीमा पालो झर्यो । सबै साथीहरू टीका लगाएर उपहार दिए । अन्त्यमा पालो आयो गोपालको ।
गोपाल रक्षाको नजिक गयो । रक्षा लाजले रातीपिरी भई । अनुहार हेर्न सकिन । शिर निहुराई, तीनपटक निधारमा टीका लगायो, रक्षाको, केक काट्यो, खुवायो । रक्षाले केक काटी, खुवाइदिई । उपहारकोमाथि पाँच सयको नयाँ नोट राख्यो । रक्षाको हातमा राखिदियो । सबैले अनौठो दृष्टिले हेरिरहे, उसको उपहार र पाँच सयको नोटलाई । तर कोही केही बोलिन ।
खाना खाने सेसन सुरु भयो । सबै साथीहरू रुचीअनुसार खाना खान थाले । रक्षा साथीहरूलाई नाइनास्ती गर्दा पनि खाना थपिदिन्थी । सबै साथीहरू प्रशन्न मुद्रामा थिए । त्यो भन्दा सयौँ गुणा प्रशन्न रक्षा थिई ।
खाना थप्ने कचौरो भान्सामा खोजी, भेटाइने । कचौरो खोज्न गग्रेतामा पुगी, गोपाल जुठा भाँडा मिसिहेको थियो गग्रतामा । आफूभन्दा ठूला जुठा भाँडाको थुप्रो थियो । ऊ हतार-हतार माजिरहेको थियो, भाँडा । पछाडिबाट केही बेर हेरी, बोल्न सकिन, मन अमीलो भयो । अनायासै आँखा रसाए । केही बेर अघिको त्यो खुशीको महासागर, मरभूमिमा परिणत भयो । साह्रै आत्मग्लानि भयो, बर्थ-डे मनाएकोमा ।
भनभनी रिँगटा लाग्यो । केही नबोली, फरक्क फर्किई । सरासर माथिल्लो तलामा गई, ठूलो रूख ढलेझैँ विस्तरामा गर्लम्म पल्टिई । लामलुम सिरक ओढी । डाको छोडी-छोडी रुन थाली ।
