Goraksha

National Daily

दाङमा रगतको मूल्य किन बढी ?

 

रक्त सञ्चार बहस

खेमराज रिजाल
तुलसीपुर, ३१ साउन । नेपाल रेडक्रस सोसाइटीले सम्भवतः नेपालभरका धेरै अस्पतालमा बिरामीहरुका लागि अत्यावश्यक रगत उपलव्ध गराउँदै आएको छ ।

रगतको कुनै मूल्य नभए पनि रक्तदाताबाट लिएको रगतको आवश्यक परीक्षणलगायत तानिएको रगतलाई निश्चित समयसम्म बिग्रन नदिनका लागि आवश्यक रसायनहरु प्रयोग गर्नुपर्ने र रगत राख्ने व्यागको समेत व्यवस्थापन रेडक्रस आफैले गर्नुपर्ने भएकाले रगत दिँदा सेवा शुल्क लिइने गरिन्छ । तर यो मूल्य दाङमा सम्भवतः अन्यत्रभन्दा महंगो भएपछि बिरामीहरु ठगिएको अनुभूति गरेका छन् भने किन महंगो भन्ने विषयमा बहस समेत शुरु भएको छ ।

धरानमा होल व्लड प्रतिपोका मूल्य ७ सय रुपैयाँको हाराहारीमा छ । बुटवलमा पनि ७ सय रुपैयाँकै हाराहारीमा छ । तर दाङ जिल्लामा भने रगतको मूल्य चर्को छ । उही केमिकल, उही व्याग र रगत स्टोर गर्ने उहीखाले फ्रिज हुँदाहुँदै पनि दाङ जिल्लामा यसको मूल्य किन १ हजार रुपैयाँ पर्ने ? उपभोक्ताहरुले यो विषयमा आवश्यक बहस थाल्न सुझाव दिएका छन् ।

किनकि जानकारहरुका अनुसार रगत तान्ने, शुद्धिकरण गर्ने, रगत राख्ने व्याग तथा फ्रिजको चार्जसमेत जोड्ने हो भने एक पोका रगत निश्चित समयसम्म स्टोर गर्नका लागि कम्तीमा ६ सय रुपैयाँको हाराहारीमा खर्च हुन्छ, तर एक पोका रगतकै मूल्य बिरामीका अभिभावकले एक हजार तिर्नुपर्ने अवस्थाले रक्त सञ्चार केन्द्रले कतै व्यापार त गरिरहेको छैन भन्ने आशंका पनि सिर्जना हुन थालेको छ ।

एक पोका रगत बिरामीका अभिभावकलाई उपलब्ध गराउँदा कम्तीमा ३ सय रुपैयाँ मुनाफा हुने र त्यसैले प्राविधिक कर्मचारी, कार्यालय सञ्चालन तथा विद्युत पानीको बिल भुक्तानी हुने रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटीमा परियोजनाबाहेक ११ जना नियमित कर्मचारीहरु छन् । उनीहरुको पारिश्रमिकवापत प्रतिमहिना बढीमा २ लाख खर्च हुने रेडक्रस सोसाइटी दाङका एक सदस्यले बताएका छन् । कार्यालय भाडामा भने कहीँ कतै पनि लिनुपरेको छैन ।

रेडक्रस सोसाइटी दाङ आफैमा गरिब संस्था पनि होइन, आम्दानीका स्रोत पनि धेरै छन् । घोराहीको रक्त सञ्चार केन्द्रले भाडामा लगाएका कोठा र सटर भाडावापत मासिक भाडा ८३ हजार मासिक आम्दानी हुन्छ । तुलसीपुरको पुरानो रेडक्रस भवन तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखालाई मासिक १२ हजारमा भाडामा दिइएको छ । त्यसरी नै रेडक्रसकै स्वामित्वमा रहेको खाली जग्गामा टहरा निर्माण गरी व्यवसाय सञ्चालनमा छन् । यसबाट मासिक ३३ हजार रुपैयाँ भाडा आउँछ । यसले रेडक्रसको देखिने चोखो आम्दानी मासिक १ लाख ३१ हजार हुन्छ ।

त्यसैगरी रेडक्रसकै तथ्यांकमा मासिक करिब २ सय ५० पोका रगत मात्र खपत भए पनि यसबाट मासिक आम्दानी १ लाख रुपैयाँ हुन सक्छ । यदि अहिले होल व्लड प्रतिपोका १ हजारमा बिक्री भइरहेको अवस्थामा । यसले रेडक्रसको देखिने आम्दानी नै २ लाख ३१ हजार रुपैयाँ हुन आउँछ । यसबाहेक रेडक्रसले अर्को व्यापार पनि गर्दै आएको उपभोक्ताहरुले बताएका छन् ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरमा हुने नवीकरण फाराम, नामसारी फाराम, प्रतिलिपि फाराम, लाइसेन्स आवेदन फारामलगायतका सबै फाराम रेडक्रस आफैले छपाई गरी सेवाग्राहीलाई बिक्री वितरण गर्दै आएको छ । यसबाट प्रतिफाराम कम्तीमा पनि २० रुपैयाँ सेवाग्राहीले भुक्तानी गर्नुपर्दछ । महिनामा हजारौं यस्ता फाराम बिक्री हुन्छन्, तर यसको हिसाव–किताव कति हुन्छ भन्ने विषयमा सामाजिक परीक्षण अहिलेसम्म भएको जानकारी छैन ।

रक्त सञ्चार केन्द्र सञ्चालनको जिम्मा राज्यका अन्य निकायले लिन नसकेको अवस्थामा आर्थिक समस्या हटाउनका लागि यसअघिका प्रमुख जिल्ला अधिकारीको रोहवरमै बसेको बैठकले यो फाराम बिक्रीको अधिकार रेडक्रसलाई दिइएको हो । यद्यपि यो अभ्यास अन्य जिल्लाहरुमा भने छैन ।

सहयोग पुगोस् भनेरै हालसम्म पनि जिल्ला प्रशासन कार्यालयमा रक्त सञ्चार केन्द्रको सहयोगार्थ भनेरै कम्पाउण्डभित्रै राहदानी बनाउनेहरुको फोटो खिच्ने मात्र होइन, फोटोकपीसमेतको व्यापार भइरहेकोलाई आम उपभोक्ताले आश्चर्य व्यक्त गरेका छन् । यद्यपि यी सबै आम्दानी जोड्दा पनि रेडक्रस साँच्चै महंगोमा रगत बेच्ने अवस्थामा हो त ?

ग्यापिङ मिलाउन बहस

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीहरुकै लागि अत्यावश्यक रगतको मूल्य दाङमा महंगो भएको सन्दर्भमा दुई चरणको छलफल सम्पन्न गरिसकेको छ । रगतको मूल्यको ग्याप मिलाउनका लागि प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी तथा रेडक्रस सोसाइटी दाङका सभापति नारायण आचार्य तथा स्थानीय जनप्रतिनिधिबीच पहिलो चरणमा प्रतिष्ठानमै छलफल भएको हो ।

छलफलमा प्रतिष्ठानले आफ्नै परिसरमा रहेको रेडक्रस भवनबाट महंगोमा बिरामीलाई रगत उपलव्ध गराइनु दुर्भाग्य भएको भन्दै यसलाई कम गर्न आग्रह गरेको थियो । यदि रेडक्रसले आफ्नो व्यापार रोकेर सेवाभावमा मात्रै लागेमा रेडक्रसकै स्वामित्वमा रक्त सञ्चार भवन सञ्चालन हुने र प्राविधिक कर्मचारीलाई पारिश्रमिक नपुगेको अवस्थामा प्रतिष्ठानले सम्पूर्ण आर्थिक दायित्वसमेत निर्वाह गर्ने बताएको थियो । यद्यपि यसमा अन्तिम सहमति भने भएको छैन ।

रेडक्रस दाङले रक्त सञ्चार केन्द्र सञ्चालनको बलियो स्रोत नभएकाले केही संरचना भाडामा लगाएर पनि बिरामीहरुका लागि आवश्यक रगत उपलव्ध गराउँदै आएको बताएका छन् । स्थानीय सरकार वा अन्य निकायले नियमित खर्च व्यवस्थापनको जिम्मा लिए रगतको मूल्यको ग्याप केही कम हुनसक्ने संकेत छलफलमा सहभागी एक सदस्यले बताए । ‘मूल्यमा ग्यापिङका विषयमा छलफल र बहस शुरु भएको छ, यद्यपि अन्तिम निर्णय भने भएको छैन’, ती सहभागीले भने ।