आशन्न महाधिवेशन र कांग्रेसको भविष्य
भूवन पोख्रेल
शक्तिसंघर्षको पर्याय प्रतिपक्षी कांग्रेसको वहुप्रतिक्षित महाधिवेशन आगामी फागुनमा हुने भनेपछि भावी नेतृत्वबारे बहस सुरु भएको छ । अहिले कांग्रेस इतिहासमै कमजोर र प्रतिरक्षात्मक हुँदै गएको वर्तमान पृष्ठभूमिमा हुन लागेको महाधिवेशनले कांग्रेसको भविष्यलाई सुनिश्चित गर्ने चुनौतीपूणर् अभिभारा बोकेको छ ।
नेपाली कांग्रेस नीतिभन्दा नेतृत्वमा बढी शक्तिसंघर्ष र असहमतिपूणर् उल्झनमा बल्झेका कराण वर्तमान अवस्था भोग्नुपरेको हो । कांग्रेसमा २००७ सालको बृद्ध पुस्तादेखि २०६२/०६३ को नयाँ पुस्ता पनि नेतृत्वको दाबी गर्नै अग्रपंक्तिमा छन् । महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित नभई समय सपेक्ष सिद्धान्तको पुनः व्याख्या गरी स्पष्ट नीतिगत मार्गचित्र कोर्न सक्नु आशन्न महाधिवेशनको प्रमुख कार्यभार हुनुपर्छ ।
उदार लोकतन्त्र पक्षधर बौद्धिकवर्गको वाहुल्य भएको देशमा लोकतान्त्रिक तथा उदारवादी पार्टीको सैद्धान्तिक र वर्गीय आधार कमजोर हुन सक्दैन । सैद्धान्तिक र वर्गीय धरातलले समृद्ध भएको नेपाली कांग्रेस पार्टी किन कमजोर र अलोकप्रिय भयो ? कांग्रेसको नीति सान्दर्भिक हुँदाहुँदै पनि नेतृत्वले असफलता किन भोग्नुपरेको हो ? नेपाली कांग्रेसले जनभावना अनुरुप राज्य र पार्टी सञ्चालन गर्ने सक्षम पार्टीका रुपमा रुपान्तरिक हुने हो भने अब्बल रुपमा अघि बढ्न अझै पनि ढिला भएको छैन ।
राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका मार्गनिर्देशक सिद्धान्त हुन तर नेताहरुको अन्तरविरोधका कारण पछिल्लो समयमा यी सिद्धान्त विखण्डित बन्न पुगेका छन् । राष्ट्रियताको संरक्षण र राष्ट्रहितको प्रबद्र्धन कांग्रेसको मूलमन्त्र हुँदाहुँदै पनि राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षार्थ पछिल्लो समय चुकेको आरोप खेप्नुपरेको छ ।
राष्ट्रियताबारे नयाँ पुस्तामा कांग्रेसको छवि सकारात्मक बन्न नसकेको कारण २०७२ सालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीमा मौन बस्नु नै हो । अहिले नयाँ नक्सा प्रकाशन र संविधान संशोधनमा का.ग्रेसको भूमिकाले छवि केही बचेको छ । कांग्रेस नेकपा जस्तो अनुदार र संकीणर् राष्ट्रवादीका धेरामा अटाउन सक्दैन ।
नेपाली कांग्रेसको गरिमामय इतिहासलाई कसैले सीमित आँकलन गरेर बिर्सन सकिँदैन । जहानिया राणा शासन र तानाशाही राजतन्त्रको अन्त्य गरी लोकतन्त्र र गणतन्त्र स्थापनार्थ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास साक्षी छ । कांग्रेसले लोकतन्त्र स्थापनार्थ गरेको बलिदानीपूणर् संघर्षको विपक्षीहरु पनि प्रशंसा गरेर थाक्दैनन् ।
कांग्रेसको शासनकालमै लोकतान्त्रिक मूल्य मान्यतालाई सम्बद्र्धन र संस्थागत गर्न जति पहलकदमी हुनुपथ्र्यो त्यति हुन नसकेको आरोप खेप्नु परेको छ । समावेशी र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको अक्षरस र भावनालाई पूणर् रुपमा आत्मसात गरी सोही सिद्धान्त अनुरुप राज्य र पार्टी सञ्चालन गर्छ भनी जनताको विश्वास कांग्रेसले आर्जन नगर्दासम्म कांग्रेसले पुनर्जन्म प्राप्त गर्न सक्दैन ।
वीपी कोइरालाद्वारा प्रतिपादित लोकतान्त्रिक समाजवादी नीतिलाई अक्षरस पालना गर्ने हो भने कांग्रेसको जनाधार कहिल्यै कमजोर बन्न सक्ने छैन । सामाजिक न्याय सहितको समुन्नत समाज स्थापनाका लागि लोकतान्त्रिक समाजवादको पुनःव्याख्या गर्नु अपरिहार्य छ । कसरी नेतृत्व हत्ताउनेतर्फ केन्द्रित बनेकाले वीपीले अंगीकार गरेको मेलिक सिद्धान्त त्याग्नुले नै कांग्रेसको भविष्य अन्धकार बन्न पुगेको हो ।
प्रतिपक्षको रुपमा कांग्रेसको भूमिका कस्तो छ स्पष्ट देखिएन । कमजोर प्रतिपक्षको रुपमा सीमित रहनु नै कांग्रेसको निष्क्रियता हो । प्रतिपक्षको रुपमा कांग्रेसले निर्वाह गरेको भूमिकाप्रति स्वयम् पार्टी र नेपाली जनता सन्तुष्ट छैनन् । सरकारले भ्रष्टाछार अनियमितता गर्दागर्दै पनि सुरुदेखि नै सतर्क बनाउन र सरकारलाई सचेत बनाउन सकेन ।
संसदमा कांग्रेसको आवाज बुलन्द हुनुको साटो शून्यता छायो । शेरबहादुर देउवाको कार्यशैलीप्रति पार्टीभित्र पनि सन्तुष्ट भएको देखिँदैन । पार्टी महाधिवेशनको वहानामा सरकार तर्फभन्दा पनि कांग्रेसको ध्यान पार्टीभित्र केन्द्रित बन्न पुगेको छ ।
सरकारका भ्रष्टाचारका मुद्दा, कोभिड विरुद्धका सामग्री खरिद प्रकरण, क्वारेन्टाइन व्यवस्थापन, कोभिड-१९ नियन्त्रणको प्रयासमा देखिएका अनियमितता विरुद्ध प्रतिपक्षले पाइला पाइलामा आवाज उठाउनुपर्ने हो । चीनसँगको दौत्य सम्बन्ध कायम गर्ने सरकारको राम्रो वा बलियो पक्ष होला तर छिमेकी मुलुक एउटासँग सम्बन्ध बनाएपछि अर्कोसँग बिगार्नुपर्छ र सन्तुलित परराष्ट्र सम्बन्ध राख्न नसक्नुपर्ने सरकारको कमजोरी हो ।
नेपाली कांग्रेस सहमति, सहकार्य र एकताको बाटोबाट पृथक भइसकेपछि न त गिरिजाको मार्गमा अडिएको छ । वीपीबाट दीक्षित र शिक्षित शेरबहादुर देउवाबाट पार्टी अध्यक्ष भइरहँदा कांग्रेस के कसरी दिगभ्रमित बन्न पुग्यो ? त्यो विचारलाई किन अहिले अँगाल्न सकेन ? नेपाली कांग्रेस सामूहिक नेतृत्वबाट चल्नुपर्ने ठाउँमा व्यक्तिबाट सञ्चालित छ । नेपाली कांग्रेसको पर्याय देउवा बन्न पुगेका छन् ।
पार्टीमा व्यक्तिगत मनोमानी बढिरहेका बेला महाधिवेशनको संघारमा नबोले पार्टीको भविष्यमा मात्र नभई नेतृत्वको भविष्य नै संकटमा पर्नसक्छ । नीति र नेतृत्व दुवै दृष्टिले संक्रमणकालबाट गुज्रिरहेको कांग्रेसको भविष्यका लागि आसन्न महाधिवेशन टर्निङ प्वाइन्ट हुने छ । अहिले नेपाली कांग्रेस अग्निपरीक्षाको घडीमा छ ।
आपसमा हार्दिकताका साथ नेतृत्व हस्तान्तरण गर्ने नेपाली कांग्रेसको संस्कार वीपीले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सुम्पेर बसालेका थिए । तर यो संस्कार गिरिजाप्रसाद कोइराला नेतृत्वमा आएपछि अवरुद्ध भयो । उनलाई गुरु मान्ने सुशील कोइराला र शेरबहादुर देउवाले पनि त्यही नीति अपनाए । शेरबहादुर देउवाको नेतृत्वको विकल्प नेपाली कांग्रेसलाई चाहिन्छ । नेपाली कांग्रेसको इतिहासमा महत्वपूर्ण कडी शेरबहादुर भएकाले उनलाई पूर्वसभापति बनाई युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । यो काम चुनौतीपूर्ण छ, कठिनाइपूर्ण छ तर पनि नेपाली कांग्रेस नेतृत्व हस्तान्तरणमा ढिला भइसकेको छ ।
महाधिवेशनलाई अल्मल्याएने तथा कुनै वहानामा पछि हट्नु आवश्यक होइन । महाधिवेशनलाई बेलैमा सम्पन्न गर्न सबै एकजुट हुनुपर्छ ।
विचार शून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या बन्न पुगेको छ । कोरोना महामारी मत्थर भएको खण्डमा संघीय संसदमा प्रमुख प्रतिपक्षी दल तथा नेपालको सबैभन्दा पुरानो राजनीतिक संस्था नेपाली कांग्रेसको चौथो महाधिवेशन आउँदो फागुनमा हुने तय भएको छ । तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुन नसक्ने परिस्थिति भए महाधिवेशन जेठभन्दा पर नसर्ने नेताहरु विश्वस्त देखिन्छन् ।
महाधिवेशनका सन्दर्भमा कांग्रेसभित्रका दर्जनौँ गुट उपगुट सल्बलाउन थालिसकेका छन् । संघीय प्रादेशिक र स्थानीय चुनावमा नेतकपाको दिग्विजयपछि निराश बन्न पुगेको कांग्रेसजनमा विस्तारै चेतनाको सञ्चार हुन थालेको छ । पराजयपछि कार्यकर्ताको मनोबल उच्च राख्न केन्द्रीय तहले कुनै प्रयास नगरेकाले चुनावमा चुकेको शाहस अझै फर्कन सकेको छैन । नेकपा सरकारका यी दुई वर्षमा कांग्रेस कार्यकर्ताको राजनीतिक विस्थापन तीब्र भयो ।
बृद्धावस्थाका कारण शारीरिक रुपमा शिथिल हुँदै गरेका देउवामा पनि अझै सत्तामोह कम भएको छैन । उनको पदलोलुप प्रवृत्तिको फाइदा उठाउने कुतत्वले राजनीति हाँकिरहेका छन् । उनले गठन गरेको अनुशासन समितिले अनुशासनका नाममा आतंक फैलाइरहेको छ । कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशी, कैलालीका प्रभावशाली नेता पुष्कर ओझा, डडेल्धुराका नेता रामबहादुर विष्ट पार्टीबाट निस्काशित भएका छन् ।
कसरी देउवाले वीपीको मेलमिलापको नीति लत्याएर तीनै जना विरुद्ध कारवाहीको निणर्य गर्न कत्ति पनि हिच्किचाएनन् ? गुटगत राजनीतिक स्वार्थका कारण एक सच्चा राजनीतिक व्यक्तिको हत्या गर्न खोज्नु कदापि न्यायसंगत होइन । यसले झनै राजनीतिक कद होच्याउँछ । संसदबाट एमसीसी पास गराउने नाममा सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको नेकपासँग हात मिलाउने हो भने त्यसको परिणाम अत्यन्त घातक सिद्ध हुन्छ ।
अहिले कांग्रेसभित्र वैचारिक अराजगता छ । एकथरिले हिन्दूत्वको नारा लगाइरहेका छन् भने अर्कोथरिले संघीय समाजवाद विरुद्ध लागेका छन् । कांग्रेस यथास्थितिवादी झुण्ड नहोला भन्न सकिँदैन, यदि देउवाकै शैलीमा अघि बढ्ने हो भने । कांग्रेस परराष्ट्र नीतिमा पनि स्पष्ट हुनुपर्छ ।
संसदमा प्रमुख प्रतिपक्षी दलका हैसियतले सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कहिल्यै नेपालको परराष्ट्र नीतिबारे प्रश्न गरेको सुनिएन । राष्ट्रवादको नाममा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग नेपालको नक्सामा गाभेर संविधान संशोधन गरियो । ओली सरकारले भारतसँगको असन्तुष्टिको कारण बारे कुनै स्पष्टिकरण दिनु परेन ।
नेपाली कांग्रेसका नेताको मौलिकता र पहिचानलाई नेकपाका नेताहरुले पाखा लगाए । अब संसदको संविधानमा अंकित गरेको नक्साको टुङ्गो सरकारले कसरी लगाउँछ ? प्रतिपक्षी कांग्रेसले यसमा सघाउनु पर्छ । आफ्नो भूभाग फिर्ता भारतसँग वार्ताबाट हुन्छ कि युद्धबाट ? प्रधानमन्त्री केपी ओलीको सत्तारक्षाका लागि वा सत्ता स्वार्थको कारण आफ्ना कमजोरी लुकाउन चढेको राष्ट्रवादको वेलगाम उन्मत्त घोडाको लगामलाई प्रतिपक्षले समात्न सक्नुपर्ने होइन र ? यसरी कांग्रेस किमकर्तव्यविमुढ हुँदा उसभित्रको विचार शून्य अवस्था छर्लङ्गिएको छ ।
कांग्रेसमा धाउनेहरु मूल्य र मान्यताको खोजाभन्दा पनि वेरोजगारी समस्याको बोझ उठाएर फाइदाका लागि नेता रिझाउने आएका कार्यकर्ताले पार्टी चल्न सक्दैन । कांग्रेस पार्टी पक्कै पनि ठूलो पार्टी हो तर ठूलो पार्टी भन्दैमा जात्रा र मेलामा लाग्ने झुण्ड लाग्ने होइन । पार्टीभित्रका कार्यकर्ता प्रशिक्षित हुनुपर्छ । पार्टीको नीतिको व्याख्या र प्रतिरक्षा गर्नसक्ने हुनुपर्छ ।
कार्यकर्तामा आत्मबल, शाहस बढाउनेभन्दा पनि दास बनाउने प्रवृत्ति कांग्रेसका नेताहरुमा हुनुलाई विडम्बना ठान्नु पर्छ । गणेशमान सिंहको सोच र दूरदर्शीता तथा कृष्णप्रसाद भट्टराईको निष्ठा र इमानलाई कांग्रेसले बचाएर राख्न सक्नुपर्छ । कांग्रेसका भ्रातृसंगठन लथालिङ्ग छन् । कति उमेरकालाई युवा भन्ने, कति वर्षसम्मकालाई विद्यार्थी मान्ने सबै मापदण्ड तोकिनु पर्छ । पार्टी पद्धतिमा चल्नु पर्छ ।
पार्टीमा महिला प्रतिनिधित्व बढाउनुपर्छ, हेपिनु कदापि हुन्न । यस्ता कुरा नयाँ नेतृत्वले गम्भीरतापूर्वक सोच्नु पर्छ । पार्टी चलाउन शारीरिक र मानसिक रुपले तन्दुरुस्त अवस्थामा हुनुपर्छ । कांगे्रसको प्रतिष्ठा धरापमा पर्न दिनु हुन्न । देउवा अब पार्टीबाट शालिनतापूर्वक ढङ्गले अवकास लिन तयार हुनुपर्छ । पार्टी फुटाउने, आन्तरिक कलह कांग्रेसका लागि कदापि शोभनीय हुँदैन । सभापतिका रुपमा शेरबहादुर देउवाले उपयुक्त उत्तराधिकारी छान्नसके भने सबैका लागि यो उदाहरणीय कदम मानिने छ ।
कांग्रेसको इतिहास नै यस्तो छ, ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक अधिनायक हुन सक्दैन । नेकपाको विगत नै यस्तो छ ऊ चाहेर पनि एउटा सीमाभन्दा अधिक उदार बन्न सक्दैन । कांग्रेसको उदारवादी चरित्रको अरुले फाइदा उठाउनु हुँदैन ।
