आनन्द भनेको कस्तो अवस्था हो ?
सुप्रिया माँ
हामीमध्ये अधिकांश मानिसहरुले जीवनका दुई आयामहरुको मात्र अनुभव गरेका छौँ । त्यो हो – सुख र दुःख । सुख र दुःख भन्ने कुरा हाम्रा लागि नयाँ कुरा होइन । यो हामीले सधैँ अनुभव गरेको र हाम्रो जीवनसँग जोडिएको हुनाले हामी यी दुवै आयामहरुसँग राम्ररी परिचित् छौँ ।
आनन्द जीवनको एउटा भिन्न र तेस्रो आयाम हो । जीवनको यो तेस्रो आयाम आनन्दको हामीलाई कुनै जानकारी नभएको पनि हुनसक्छ । आनन्द मानिसले मात्र अनुभव गर्नसक्ने र सुख र दुःखभन्दा फरक तेस्रो आयाम् हो ।
आनन्द जीवनको उत्कृष्ट आयाम
धेरैजसो मानिसहरुले भौतिक सुखलाई नै आनन्द हो भन्ने ठानेका हुन्छन् र भौतिक सुविधाका साधनहरु जोडेर, त्यसको उपभोग गरेर जुन सुखको अनुभव हुन्छ त्यसलाई नै आनन्दको अनुभव भयो भन्ने ठानेका हुन्छन् । तर सुख आनन्दको अनुभव भने होइन । सुख र आनन्दमा भिन्नता छ । सुखको अनुभव हुनका लागि केही कारणहरु हुनु पर्दछ वा कुनै घटना घट्नु पर्दछ । कुनै कारण नभइकन सुखको अनुभव हुँदैन ।
आफूले सोचेको, खोजेको र चाहेको जस्तो कुनै पनि परिस्थिति हुनगयो भने सुखको अनुभव हुन्छ । जस्तै कार्य क्षेत्रमा पदोन्नति हुनु, आर्थिक बृद्धि हुनु, व्यवसायमा उन्नति हुनु, छोरा वा छोरीको जन्म हुनु, पढाईको नतिजामा सफल हुुनु जस्ता कुनै कारणहरुले गर्दा हाम्रो हृदयमा सकारात्मक किसिमको उत्तेजना वा सकरात्मक भाव हुन्छ, त्यसलाई हामी सुख, प्रशन्नता, हर्ष, खुशी आदि भयो भन्दछौँ ।
सुखको भन्दा उल्टो, विपरित् परिस्थिति वा आफूले सोचेको, खोजेको वा चाहेको भन्दा विपरित् घटना हुन गयो वा सोचेको भन्दा विपरित् परिस्थिति भयो भने त्यसले हाम्रो हृदयमा एक किसिमको नकरात्मक भाव उत्पन्न गर्दछ र त्यसलाई हामी दुःख, सन्ताप, विषाद, शोक, पीडा आदि भयो भन्दछौँ । जस्तै आफूमा वा परिवारका कुनै सदस्यमा रोग लाग्नु, विरामी हुनु वा कसैको मृत्यु हुनु, आर्थिक नोक्सानी हुनु, प्रेममा विछोड हुनु जस्ता कुनै पनि कारणले गर्दा हृदयमा नकारात्मक किसिमको उत्तेजना वा नकरात्मक भाव हुन्छ र हामीलाई दुःखको अनुभव हुन्छ । सबै मानिसहरुले जीवनका यी दुई अवस्थालाई कुनै न कुनै बेला अनुभव गरिरहेका हुन्छन् ।
आनन्द हो शाश्वत् सुख
कुनै पनि विषय वा कारणबाट प्राप्त सुख र दुःखको अनुभव क्षणिक हुन्छ । जति नै ठूलो सुखको वा दुःखको क्षण आए पनि केही समयका लागि रहन्छ र विस्तारै हराउँदै जान्छ । अथवा सुख कम भयो भने दुःख र दुःख कम भयो भने सुखको अनुभव भइरहन्छ तर आनन्द बिना कारण सुखको जस्तो अनुभूति हो । यसलाई परम् सुख वा शाश्वत् सुख पनि भन्न सकिन्छ ।
आनन्द बाहिरका कुनै कारणबाट प्राप्त हुने सुख होइन । यो हाम्रो चेतनाको शान्त अवस्था हो र ध्यानस्त अवस्थामा यसको अनुभव गर्न सकिन्छ । यो सुख र दुःखभन्दा धेरै माथिको अवस्था हो । आनन्द केही क्षण वा केही दिनका लागि मात्र नभई चौबीसैघण्टा सुखको अनुभूति भइरहन्छ । चौबीसैघण्टा मधुर उत्साह, मधुर उमङ्ग, प्रेम, प्रमोदिता, सुख, शान्त र सकरात्मक भाव हृदयमा भइरहन्छ भने त्यो आनन्द हो । कुुनै पनि कारण नभएकोले यो क्षणिक समयको लागि मात्र नभई सधैँका लागि दिगो वा शाश्वत् रहन्छ ।
आनन्द हो चेतनाको अकम्प अवस्था
हाम्रो चेतना अकम्प वा शान्त भएको अवस्थामा हामी आनन्दलाई आफू भित्रै अनुभव गर्दछौँ । चेतानाको शान्त र अकम्प अवस्थामा कुनै कारण बिना परम् सुखको अनुभव भइरहन्छ । भित्र शान्ति भयो भने परम् सुखको अवस्था आफै आउँछ । बाहिरको भौतिक सुखसुविधाले आनन्द दिने होइन । त्यसले क्षणिक सुख र सुविधा मात्र दिने हो ।
बाहिरका कुनै पनि उपलब्धिले हामीलाई शान्त पनि बनाउने होइन, शान्ति हामीभित्रै छ । भित्रबाट हामी अशान्त भएका छौँ भने बाहिरबाट प्राप्त गरेका कुनै पनि उपलब्धिले हामीलाई दिगो खुस, शान्ति र आनन्द दिँदैन ।
सुखको भाव उत्तेजित् किसिमको हुन्छ र यसले मनमा एक किसिमको हलचल बनाइदिन्छ । आनन्दको भाव सुमधुर हुन्छ, मनमा कुनै हलचल हुँदैन र कुनै किसिमको उत्तेजना हुँदैन । आनन्दित व्यक्तिलाई न सुखले उत्तेजित गराउँछ न दुःखले विचलित गराउँछ । दुवै अवस्थामा व्यक्ति समभावमा रहनसक्छ । आनन्दको अनुभूतिले मानिसलाई सुख र दुःखभन्दा माथि उठाइदिन्छ ।
आनन्दलाई हामीले कुनै बेला आमाको काखमा हुँदा वा सानो हुँदा अनुभव गरेका थियौँ । त्यो समयमा हामीलाई खुशी हुनका लागि कुनै कारण चाहिँदैनथ्यो । मन त्यसै खुसी भइरहन्थ्यो, प्रफुल्लित्, उमङ्ग र आनन्दित् थियो । स-साना बालबालिकाहरुलाई हेर्ने हो भने उनीहरु बिनाकारण कति खुशी देखिन्छन् । उनीहरुलाई खुशी हुनका लागि कुनै कारण चाहिँदैन । बालबालिकले सधैँ सुखको अनुभव गर्दछन् । सानो-सानो कुरामा पनि कति रमाएका हुन्छन् । तिनै बालबालिकाहरु ठूला भएपछि आनन्दलाई बिर्सिन्छन् ।
हामी ठूलो हुँदै गएपछि त्यो आनन्दलाई बिर्सिएका हुन्छौँ । संसारतिर फैलिँदै जाँदा र संसारको व्यवहारमा लागेपछि हामीले भित्र रहेको त्यो आनन्दलाई बिर्सिंदै गयौँ । अहिले आएर हामीलाई खुशी हुनका लागि ठूला-ठूला कुराहरु चाहिन्छ र कुनै ठूलो कारण नै हुनु पर्दछ ।
सानो हुँदा कति रमाउने, खुशी हुने, हाँस्ने, खेल्ने त्यही बालकपछि गएर ठूलो भएपछि खुशी हुन त परै जाओस् हाँस्न पनि सक्दैन । हँसाउनका लागि पनि अरुले प्रयत्न गर्नु पर्दछ । बिना कारण मानिस वेचैन बनिरहन्छ र बिनाकारण तनावमा रहिरहन्छ ।
मानिसलाई हँसाउनका लागि भनेर ठूला-ठूला संस्थाहरु पनि खोलिएका छन् । हजारौँ रुपैयाँ खर्च गरेर मानिसहरुलाई हाँस्नका लागि पठाइन्छ । ठूलो हुँदै गएपछि मानिसले आफूभित्र रहेको त्यो आनन्दलाई पूरै बिर्सिन्छ र दुःखी हुँदै जान्छ । बाहिरको उपलब्धिले पाइन्छ कि भनेर मानिसले बाहिरतिर खोज्न थाल्दछ ।
मानिसले बाहिर खुब परिश्रम गर्दछ र सुविधाका साधनहरु र धनसम्पत्ति जोड्दछ । यस्ता सुखका साधनबाट क्षणिक सुख त प्राप्त गर्दछ तर केही समयपछि त्यो सुख फेरि हराउँछ र मानिस दुःखी नै रहन्छ ।
हामीले त्यो आनन्दलाई बिर्सिएको मात्र हो । हामीभित्र अझै पनि आनन्द रहिरहेको छ र त्यसलाई फेरि उजागर गर्न सकिन्छ । कुनैबेला अनुभव गरेको त्यो आनन्दको प्यास हाम्रो मनको गहिराईमा रहिरहेको छ । हामी त्यो आनन्दलाई, त्यो शाश्वत सुखलाई फेरि पनि अनुभव गर्न चाहन्छांँ, हामी त्यसैलाई खोजिरहेका छौँ । हाम्रो मनले त्यसैलाई खोजिरहेको छ र त्यसकारणले पनि मन अशान्त बन्दछ ।
मानिसले आनन्दलाई कहाँ-कहाँ खोजेका छैनन् । हिमालको चुचुरादेखि लिएर समुद्रको गहिराईसम्म खोजेका छन्, खोज्दै छन् र खोजिरहने छन् । संसारको कुनै यस्तो ठाउँ छैन जहाँ मानिसले आनन्द प्राप्त गर्न नखोजेको होस् ।
त्यो आनन्दलाई खोज्न मानिस मदिराको भट्टीमा समेत पुग्दछ र मदिरा पिएर दुःख बिर्सिएको क्षणिक अवस्थालाई आनन्द भयो भन्दछ । आनन्दलाई प्राप्त गर्नका लागि अज्ञानतावश मानिसले ठूला-ठूला पाप कर्महरु पनि गरेका छन् ।
कारण सहित प्राप्त भएको सुख पनि कहिल्यै नहराओस् भनेर मानिसहरु खुब प्रयत्न गर्दछन् । त्यो सुख सधैँका लागि रहिरहोस् भनेर विभिन्न उपायहरु पनि गर्दछन् । धनसम्पत्ति, मान, प्रतिष्ठा, उच्च पद्जस्ता भौतिक सुखसुविधाका साधनहरु पनि मानिसले यो शाश्वत् सुखका लागि नै खोजेको हो । त्यसबाट क्षणिक सुख त मिल्छ, तर त्यो सधैँका लागि रहँदैन । कारण सहित आएको सबै सुख क्षणिक हुन्छ र त्यो कहिल्यै शाश्वत हुन सक्दैन । हाम्रो खोज शाश्वत सुखको हो । मानिसले नजानेर त्यसलाई बाहिरतिर खोज्दछ अनि नपाएपछि निराश बन्दछ । मानिसले आनन्दलाई कतै बाहिर नपाएपछि जीवन नै निरर्थक ठान्दछ र मरेपछि पो आनन्द पाइन्छ कि भनेर आत्महत्या गर्न पनि पछि पर्दैन ।
सुखको महासागर हो आनन्द
हामीभित्र महासुखको वा आनन्दको सागर छ । सुखमा कुनै कारण हुन्छ र क्षणिक हुन्छ तर कारणबाट भएको भए पनि क्षणिक नै भए पनि त्यो अनुभवभित्रको महासागरबाट आएको एउटा सानो थोपा हो । कुनै कारण हुँदा हामीलाई अनुभव भएको क्षणिक सुख पनि भित्रैबाट आएको हो । सुखको महासागर हामीभित्र छ, त्यस कारणले बेला-बेलामा केही कारण हुँदा हामीलाई सानो थोपा सुखको अनुभव हुन्छ ।
उत्तेजनारहित शान्त चेतना हो आनन्द
सुख र दुःख दुवै अवस्थाबाट चेतनामा उत्तेजना हुन्छ । सुखमा सकरात्मक उत्तेजना र दुःखमा नकरात्मक उत्तेजना हुन्छ । कुनै पनि उत्तेजना नभएको शान्त चेतना हो आनन्द । चेतनाको सबैभन्दा माथिको अवस्था हो आनन्द । चेतनाको परम्शान्त अवस्था हो आनन्द । आनन्दित् हुनका लागि बाहिरको कुनै उपलब्धि हुनु पर्दैन भित्रबाट चेतनालाई शान्त बनाउने कला जाने पुग्छ ।
आनन्द हाम्रो स्वभाव हो
हामी आफ्नो स्वभावमा हुनेबित्तिकै आनन्दको अनुभव भइहाल्छ । दुःख हाम्रो स्वभाव होइन प्रभाव हो । ध्यानले हामीलाई हाम्रो स्वभावमा फर्काउँछ । ध्यान यस्तो वैज्ञानिक विधि हो जसले हाम्रो अशान्त, उत्तेजित्, विचलित् र कम्पन भएको चेतनालाई शान्त बनाउन सहयोग गर्छ । हामी फेरि आनन्दको स्मरण गर्दछौँ, आनन्दको अनुभव गर्दछौँ । त्यसकारणले ध्यान गर्ने व्यक्तिहरु सबैले मलाई आनन्द भयो भन्दछन् र आफूले खोजेको सबै कुरा पाए भन्दछन् ।
आनन्द अद्वेत्को अवस्था हो
दुःखको विपरित् सुख र सुखको विपरित् दुःख हुन्छ तर आनन्दको विपरित कुनै शब्द छैन । आनन्दको विपरित् अनुभूति हुँदैन । त्यसैले आनन्द हो अद्वेत्को अवस्था । सुख र दुःखभन्दा परको अद्वैत् अवस्था हो, आनन्द ।
आनन्द आत्मा, ईश्वर वा परमात्माको अनुभूति हो
आनन्दको शिखर परमानन्द वा परमात्मा हो । हामी ईश्वरलाई परमानन्द पनि भन्दछौँ । आनन्दको अनुभूति भगवत् तत्वको अनुभूति हो । बोधको अवस्था आनन्दको अवस्था हो । बुद्धत्व भनेको परमानन्दको अनुभव हो । बुद्ध हुनु भनेकै आनन्द स्वरुपमा हुनु हो र यो परमात्मासँगको साक्षातकार हो । त्यसैले हामी आनन्दलाई जे नाम पनि दिन सक्छौँ र जे नामले पनि पुकार्न सक्छौँ । जस्तै भगवत् तत्व, कृष्ण तत्व, परमानन्द, सत्-चित्-आनन्द, शिव तत्व, ईश्वर, भगवान् आदि ।
ईश्वर आनन्द स्वरुप हुनुहुन्छ
हामी भगवानलाई सत्-चित्-आनन्द पनि भन्दछौँ । किनकि भगवान सत्य स्वरुप, चैतन्य स्वरुप र आनन्द स्वरुप हुनुहुन्छ । सत्-चित्-आनन्द ईश्वरको गुण होइन, यो ईश्वरको स्वरुप हो । त्यसैले सत्-चित्-आनन्द परमात्माको गुण नभएर परमात्मा नै हुनुहुन्छ । अर्थात् आनन्द स्वयम् परमात्मा नै हो ।
हाम्रो स्वभावमा त्यो आनन्द तत्व रहेको छ त्यसले हामी ईश्वरकै अंश हौँ । सच्चिदानन्द परमात्माको स्वरुप बोधबाट जुन आनन्द प्राप्त हुन्छ त्यसैलाई महासुख भनिन्छ । त्यसैलाई आनन्द भनिन्छ । आफ्नै शुद्ध अन्तस्करणमा यो महासुखको अनुभव गर्न सकिन्छ ।
सुख र दुःखभन्दा माथि उठ्नेबित्तिकै हामी आनन्दमै हुुन्छौँ । सुख र दुःखभन्दा माथि उठ्नेबित्तिकै हामी ईश्वरको अनुभव गर्दछौँ । यो महासुख, शाश्वत्सुख, अकारणसुख, नित्यसुख, चेतनाको परमशान्त अवस्था वा आनन्दको अनुभूति गर्नु नै हाम्रो जीवनको लक्ष्य हो । आजलाई यति नै । हरि ॐ !
सुप्रिया मां आनन्दपथ सँस्थाका संस्थापक हुनुहुन्छ ।
