Goraksha

National Daily

विशेष सावधानी आवश्यक

विश्वप्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमणले नेपाल पनि त्रसित बनेको छ । हजारौँ नागरिकमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने करिब एक सयले ज्यान गुमाइसकेका छन् । त्यससँगै दाङ जिल्ला पनि संक्रमणको उच्च जोखिममा छ । संक्रमणको अवस्था दिनदिनै बढिरहेको छ । पछिल्लो समयमा संक्रमण समुदायस्तरमा समेत पुगिसकेको छ । नेपाली सेनाको ब्यारेकसँगै अन्य समुदायमा पनि संक्रमण देखिनथालेको छ । गाउँ-गाउँसम्म संक्रमण फैलिन थालेको छ । यदि यस्तो अवस्थामा पनि विशेष ध्यान दिन नसकिएको अवस्थामा संक्रमणले भयावह अवस्था ल्याउनसक्छ । यो अवस्थामा उपचारका लागि अस्पतालमा पनि स्थान हुने छैन । हाम्रो स्वास्थ्य प्रणालीले संक्रमणको महामारीलाई थेग्नसक्ने छैन ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को अहिलेसम्म न औषधि पत्ता लाग्नसकेको छ न त यसका विरुद्धको भ्याक्सिन नै । यो अवस्थामा संक्रमणबाट जोगिनु नै पहिलो उपाय हो । संक्रमणबाट जोगिनका लागि अपनाउने सावधानी भनेको सामाजिक दूरी, मास्क र सेनिटाइजरको प्रयोग (एसएमएस) मात्र हो । सामाजिक दूरीको ख्याल नगरी भीडभाडमा जाँदा, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउने र सेनिटाइजर प्रयोगले पनि केही हदसम्म संक्रमण हुनबाट जोगिन सकिन्छ । घरमा पुगेपछि नियमित रुपमा साबुनपानीले हात धोएको अवस्थामा हातमा रहेका भाइरस शरीरमा प्रवेश गर्न पाउँदैनन् । यी तीन कुरालाई विशेष रुपमा ख्याल गर्नसके संक्रमणबाट जोगिन सकिन्छ ।