Goraksha

National Daily

सलाम छ, यी योद्धाहरूलाई : जसले आफू संक्रमित हुने प्रवाह गरेनन्

खेमराज/लिला
‘जब मैले श्रीमतीलाई आफू कोरोना भाइरसको संक्रमित भएको जानकारी गराउन थालेको थिएँ श्रीमती जमुना र छोरा सम्राटलाई बारीको पाटामा बोलाउनुपरेको थियो, म कत्ति पनि आत्मबल कमजोर भएको अवस्थामा थिइन तर श्रीमती र छोराको अनुहार पढ्दा लाग्थ्यो, मैले एउटा ठूलो भुल गरेँ कि’ यी अभिव्यक्ति हुन तुलसीपुर उपमहानगरपालिका—७ का वडाध्यक्ष टोपबहादुर केसीका ।

विश्वव्यापी कोभिड—१९ को संक्रमण नेपालमा पनि सल्कँदै गएको अवस्थामा भारतीय सीमा नाकाबाट विशेष गरी असंगठित मजदुरहरू नेपाल आउने क्रम बढ्दो थियो । कति कहाँका लागि आउँछन् भन्ने निश्चित थिएन । हरेक नागरिकलाई वडा सरकारले क्वारेन्टाइनमा व्यवस्थापन गर्ने दायित्व थियो । यही दायित्व निर्वाह गर्दागर्दै वडाध्यक्ष केसी आफै संक्रमित बने, तर उनलाई कोरोनाले मृत्यु वरण गराउँछ भन्नेमा भने कत्ति पनि विश्वास थिएन । किनकि उनी योग गुरु पनि भएकाले स्वासप्रश्वाससँग राम्रै गरी खेल्न जानेका छन् । तर आफू मात्र ढुक्क भएर हुने रहेनछ ।

‘एकपछि अर्को गरी भारतीय सीमा नाकाबाट आइरहेका नागरिकलाई वडामै क्वारेन्टाइनमा राख्नुपथ्र्यो, उनीहरूको बसोबासको अवस्था, उनीहरूको खानपानको अवस्थालगायत सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी वडाध्यक्षलाई नै थियो, त्यसैले पटक–पटक क्वारेन्टाइनमा बस्नेहरूको विस्तराको अनुगमन गर्नुपथ्र्यो, भान्साको व्यवस्थापन अनुगमन गर्नुपथ्यो अनि उनीहरूको स्वास्थ्य समस्याका विषयमा पनि जानकारी लिनुपथ्र्यो ।

त्यसका लागि सामाजिक दूरी कायम गर्दागर्दै पनि कहाँबाट कोरोनाले भेटायो मलाई थाहा छैन, भेटाए पनि प्रवाह छैन’ यी अभिव्यक्ति दिँदै संक्रमण पुष्टि भएका वडाध्यक्ष फेरि एक सातामै संक्रमण मुक्त पनि बने । तर सामाजिक क्षेत्रप्रति भने गुनासो छ । गुनासो भए पनि केही छैन, फेरि संक्रमण व्यवस्थापनमा खटिइरहने उनको अठोट छ ।

संक्रमितलाई हेरिने दृष्टिकोण एकदमै नकारात्मक रहेको अनुभूति सुनाउँदै उनी भन्छन्– ‘विश्व समुदाय नै कोभिडका संक्रमितलाई गर्ने र हेर्ने व्यवहारको प्रतिनिधित्व हो ।’ नेपालमा त अझै संकुचित छ, किनकि संक्रमितलाई महारोगीका रुपमा लिइने हुँदा समाजमा उदारभावको विकास हुनसकेको छैन । ‘जब मेरो रिपोर्ट पोजेटिभ देखियो तब समाज पूरै संक्रमणप्रति नकारात्मक रुपमा प्रस्तुत हुन थाल्यो, आफैले व्यवस्थापन गरेका भान्सेलाई पनि क्वारेन्टाइनबाट निकाल्न टोल विकास संस्थाले दबाब दियो अनि उनलाई सामाजिक अपराधीका रुपमा कबोल गर्न समेत लगायो, धन्न मैले फेरि मिलाएको छु’– वडाध्यक्ष केसी भन्छन्– ‘अब पनि म फेरि यो संक्रमणलाई फैलन नदिनका लागि सम्पूर्ण व्यवस्थापनमा लागिरहने छु ।’ टोपबहादुरको जस्तै उदार दिल र दृढ इच्छाशक्ति नहुने हो भने सायद कोरोनाको संक्रमण दाङ जिल्लामा अझै व्यापक हुने थियो ।

जनप्रतिनिधिहरू बाहिरी आवरणमा संक्रमण व्यवस्थापन गरिरहँदा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू समेत थप संक्रमणको जोखिममा थिए । तर पेशागत नैतिकता र इमानदारिताका कारण पनि उनीहरूको धर्मले विरामीहरूको उपचारबाट भाग्न परेन । जुनबेला मुलुकमा संक्रमणको तथ्याङ्क बढेको भन्दा पनि त्रास बढिरहेको थियो । निजी क्लिनीकहरूमा चिकित्सकले विरामी जाँच्न छाडेका थिए । सरकारी अस्पतालमा समेत ओपिडी सेवा बन्द थियो । चिकित्सकहरूले इमर्जेन्सीका विरामीलाई टाढैबाट सल्लाह सुझाव दिने र औषधोपचार गर्ने परिपाटी थियो । त्यसमा पनि ज्वरो आएका र रुघाखोकी लागेका विरामीलाई त इमर्जेन्सीमा पनि भर्ना सहज थिएन । उपचार पाउनका लागि असाध्यै समस्या थियो ।

यस्तै अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भूमिकालाई पनि नकार्न मिल्दैन । किनकि प्रतिष्ठानका आधाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले संक्रमणको प्रवाह नै नगरी विरामीको ज्यान बचाउन तल्लीन रहे । त्यसमा चिकित्सक, स्टाफ नर्स र अन्य केही कोभिड—१९ को संक्रमणमा पनि परे । यद्यपि प्रतिष्ठानले व्यवस्थापन गरेको आइसोलेशनमा बसेर उनीहरू कोभिड—१९ को संक्रमणबाट मुक्त पनि भए ।

‘हामीले नै हारेको अवस्थामा कोरोनाको संक्रमणले विजय प्राप्त गर्ने अवस्था थियो, त्यसैले संक्रमणको प्रवाह नै नगरी विरामीको उपचारमा होमियौँ’—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा सागर पन्थी भन्छन्– ‘यसै कारण आफै संक्रमित बन्न पनि पुगेँ, भारतबाट आएका व्यक्ति हाडजोर्नीको समस्याबाट पिडित थिए । उनलाई छोएरै उपचार गरिनुको विकल्प थिएन ।

उनको उपचारमा मलगायत अन्य स्वास्थ्यकर्मीहरू पनि थियौँ । सबैको पिसिआर परीक्षण हुँदा मलगायत केही स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखियो, रिपोर्ट आउन ५ दिन लागेको थियो, तर त्यस दिनदेखि नै हामी आइसोलेशनमा थियौँ’—प्रतिष्ठानका निर्देशक डा पन्थीको अभिव्यक्ति हो यो । आफूहरूले नै उपचार नगरे कसले गर्ने भन्ने धर्मलाई आफूले कहिल्यै नभुल्ने बताउँदै फेरि पनि स्वास्थ्योपचारका सवालमा आफू अहरोत्र खटिइरहेको उनको अभिव्यक्ति थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि कोभिड संक्रमण व्यवस्थापनको धन्यवादको पात्र छ । किनकि उधारोमा मेसिन खरिद गरी एकै दिनमा एक हजारभन्दा बढीको पिसिआर परीक्षण गरेर नेपालकै सबै प्रयोगशालाको रेकर्ड ब्रेक गरेको थियो ।

यी स्वास्थ्यकर्मी रामराज पौडेल पनि कोभिड—१९ को संक्रमण व्यवस्थापनका सवालमा अहोरात्र खटिरहने एउटा अथक पात्र हुन् । देउखुरी गढवा गाउँपालिकाका स्वास्थ्यकर्मी रहेका उनी कोरोना भाइरसको महामारीको समयमा दाङको सीमा क्षेत्र कोइलावासदेखि गढवा गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा खटिएर काम गरे । २१ दिन कोराइलावास नाकामा स्थापना गरिएको हेल्थ–डेक्समा कोरोना परीक्षणको समेत काम गरेका थिए ।

उनले चैत ९ गतेदेखि ३० गतेसम्म हेल्थ–डेक्समा काम गरेका थिए । रोजगारीका क्रममा भारतबाट मानिसहरू घर फर्किन थालेपछि पौडेलले गाउँपालिकाले वडा नं. ६ मा रहेको जनता माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेर भारतबाट फर्किएकाहरूको स्वास्थ्य जाँचसँगै बैशाखको २७ गतेदेखि क्वारेन्टाइन व्यवस्थानमा खटिएका थिए ।

त्यही क्रममा भारतबाट घर फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको स्वास्थ्य परीक्षणदेखि क्वारेन्टाइनमा खटिएका स्वास्थ्कर्मीहरूको स्वास्थ्य परीक्षणका लागि जेठको १६ गते स्वाब संकलन गरियो । स्वाबको रिपोर्ट जेठको १८ गते पोजेटिभ आयो । जसमा क्वारेन्टाइनमा भारतबाट आएर बसेका दुई जनासँगै उनका एक जना सहकर्मी गरेर ४ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । जुन कल्पना समेत गरेका थिएनन् । ‘स्वास्थ्यमा कुनै प्रकारको सिनट्रम थिएन तर सम्भावित जोखिम रहेकाले स्वाब परीक्षण गरिएको थियो’–अहेव पौडेलले भने–‘तर रिपोर्ट नसोचेको आयो, जुन हामीले कल्पनासम्म गरेको थिएनौँ ।’

कोरोना पुष्टि भएपछि पौडेल १४ दिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा बसे । ‘कोरोना संक्रमण देखिए पनि लक्षण नदेखिएका कारण त्यो बेला कुनै प्रकारको डर, त्रास थिएन’–उनी सम्झन्छन–‘तर कोरोना विशेष अस्पताल पुगेपछि केही डर लाग्यो । किनकी त्यहाँ त धेरै विरामीहरू थिए, कोही लक्षण देखिएका त कोही नदेखिएका । धेरै विरामीहरू एउटै ठाउँमा देख्दा डर लाग्यो ।’

तर कोरोनादेखि हिम्मत हारिन । सायद त्यही कारण हुनुपर्छ कोरोना विशेष अस्पतालले लक्षण नदेखिएको भन्दै १४ दिनपछि डिस्चार्ज ग¥यो । ‘कोरोनालाई जित्छु भन्ने आत्मविश्वास, उपचार र अस्पतालमा इम्युनिटी बढाउनका लागि खुवाइने खानापिनले गर्दा नै होला, कोरोना सहजै जितियो’–पौडेलले भने । उनले कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएको बेला समेत अस्पतालमा भर्ना भएका अर्का विरामीमा डेंगु संक्रमण देखिएपछि उपचारमा सहयोग गरेको समेत अनुभव सुनाए ।

त्यसो त कोभिड—१९को संक्रमण व्यवस्थापनकै क्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरूले पनि संक्रमणको प्रवाह कहिल्यै गरेनन् । उनीहरू पनि विशेष धन्यवादका पात्र छन् । कोरोना विशेष अस्पताल व्यवस्थापनका लागि अहोरात्र खटिइरहेको प्रदेश सरकार तथा त्यहाँका स्वास्थ्यकर्मी कर्मचारीहरूको पनि हामी उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न चाहन्छौँ । त्यसमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रमुख जिल्ला अधिकारी पनि विशेष धन्यवादका पात्र हुन् । हामी स्मरण गर्न चाहन्छौँ, यो विषम परिस्थितिमा पनि सुरक्षा व्यवस्थापनमा खटिएका नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा मृतकको शव व्यवस्थापनमै खटिने रिपुमर्दन गणका सैनिकहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै सलाम अर्पण गर्न चाहन्छौँ । तर अझै पनि फ्रन्ट लाइनमा खटिनेहरूको भूमिका थप क्रियाशील हुने छ भन्ने पनि हाम्रो अपेक्षा हो ।

संक्रमण फैलने एउटा पाटो थियो तर कोरोनाको संक्रमणको चपेटो भन्दा पनि विचल्लीमा परेका अलपत्र नागरिकलाई एक छाक भए पनि निःशुल्क खाना खुवाएर घरसम्म पु¥याउन सहयोग गर्ने लकडाउन हिरो तथा लमही उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठसँग पनि हामी विशेष आभारी छौँ । यसैगरी राप्ती अञ्चलकै ट्रान्जिटका रुपमा रहेको तुलसीपुरमा विचल्लीमा परेका असंगठित श्रमिकहरूलाई सम्बन्धित स्थानबाट ल्याएर गन्तव्यसम्म पु¥याउनका लागि अहम भूमिका निर्वाह गर्ने तुलसीपुर उद्योग वाणिज्य संघ, त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, लायन्स क्लव अफ तुलसीपुर, लियो क्लव, रोटरी क्लव, तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर जेसीजलगायतका संघसंस्थाहरूप्रति पनि हामी आभारी छौँ ।

उनीहरूलाई निःशुल्क खानपानका लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी तथा क्वारेन्टाइनमा समेत निःशुल्क रुपमा शुद्ध पिउने पानी उपलब्ध गराउने तुलसीपुर खानेपानी तथा बेलझुण्डी खानेपानी, राप्ती ड्रिङ्किङ वाटर प्रालि पनि विशेष धन्यवादका पात्र छन् ।

यी त सहयोगका नमुना पात्र मात्र हुन् । कोरोनाको संक्रमणको जोखिम अझै पनि टरेको अवस्था छैन । अझै पनि सहयोगी संघसंस्थाहरूको सहयोगको अपेक्षा निरन्तर रहने छ भन्ने पनि हाम्रो विश्वास हो । कोभिडलाई परास्त गर्दाको समयसम्म यी सहयोगी हातहरू यसरी नै आफ्नो दायित्वकै रुपमा अघि बढिरहने छन् भन्ने हाम्रो शुभकामना छ ।