Goraksha

National Daily

श्रीकृष्ण जन्माष्टमी : स्वर्णिम संसारको यादगार पर्व

ब्रह्माकुमार माधव तिमिल्सेना

कृष्ण शव्द कृष् धातुबाट बनेको छ । जसको अर्थ हुन्छ आकर्षित गर्नु । आकर्षित उसैले गर्न सक्छ जो गुणवान वा चमकदार तथा उच्च आदर्शले सम्पन्न हुन्छ । तर वर्तमान समयमा अरुप्रति आर्कर्षित हुनेहरु आफ्नो जीवन आर्कषणमय वनाउने हिम्मत गर्न सकिरहेका छैनन् । भाद्र महिनाको कृष्णपक्ष अष्टमी तिथीमा कृष्णको जन्म भएको कुरा श्रीमद्भगवद् गीतामा उल्लेख छ । श्रीकृष्णको जन्मभन्दा पहिला आठ मुख्य देवताहरुको पनि जन्म भएको देखाईन्छ । अतः वास्तवमा जन्माष्टमी केवल श्रीकृष्णको जन्म उत्सव मात्र नभै आठ मुख्य देवताहरुको जन्मोत्सव पनि हो ।

श्रीकृष्णका भक्तहरु उनलाई “बैकुष्ठनाथ” को उपाधीले सम्वोधन गर्दछन् । सतयूगी पावन एवं सम्पूर्ण सुखी सृष्टि वा दैवी सृष्टि अथवा स्वर्ग हो बैकुष्ठ । धेरै जसो मानिसहरूको यो मान्यता छ कि श्रीकृष्ण द्वापरयुगको अन्त्यमा आउनुहुन्छ । तर श्रीकृष्ण सर्वगुण सम्पन्न,सोह्रकला सम्पूर्ण, सम्पूर्ण निर्विकारी एवं सम्पूर्ण पवित्र हुनुहुन्थ्यो ।

विचार गरौ उहाँको जन्म द्वापरयुगको रजोप्रधान एवं विकारयुक्त सृष्टिमा कसरी हुन सक्दछ? श्रीकृष्णको दर्शनको लागि सूरदासले आफ्नो अपवित्र दृष्टिलाई समाप्त गर्ने कोशिश गरे र श्रीकृष्ण भक्त मीराबाईले पवित्र रहनको लागि विषको कचौरा पिउन स्वीकार गरिन् तब भन्नुस् श्रीकृष्ण देवता अपवित्र दृष्टिवृत्ति भएको सृष्टिमा कसरी आउन सक्नुहुन्छ ? श्रीकृष्णको यूवा चित्र पाइँदैन भने श्री नारायणको वाल चित्र कतै देख्न सकिदैन ।

अतः श्रीकृष्ण अर्थात् श्री नारायण सत्ययुगी सृष्टिको आरम्भमा आउनुभएको थियो र अब पुनः फेरि आउँदै हुनुहुन्छ । यसबाट पनि स्पष्ट हुन्छ कि श्रीकृष्णको जन्म द्धापरयुगमा नभएर सतयुगमा भएको हो किनकी सतोप्रधानता एवं धर्मनिष्ठता केवल दैवी दुनियाँमा मात्र सम्भव छ ।
आजभोलि प्रतिदिन समाचारपत्रहरूमा अकाल, बाढी, भष्ट्राचार वा लडाइँखझगडाका समाचारहरू पढ्न पाइन्छन्।

प्रकृतिका पाँच तत्वहरू पनि मानिसलाई दुःख दिईरहेका छन् र सारा वातावरण नै दूषित भइसकेको छ। अत्याचार, विषयविकार तथा अधर्मको नै बढी आवाज छ । त्यसैले त यो विश्व नै “काँटाहरूको जंगल” बनिसकेको छ । एक समय थियो जबकि विश्वमा सम्पूर्ण सुखशान्तिको साम्राज्य थियो र त्यो सृष्टि ‘फूलहरूको बगैंचा’ थियो । प्रकृति पनि सतोप्रधान थियो । कुनै पनि प्रकारका प्राकृतिक आपदहरू थिएनन् ।

मानिस पनि सतोप्रधान दैवीगुण सम्पन्न थिए र आनन्द खुशीमा जीवन व्यतीत गर्दथे । त्यस समयमा यो पूरा संसार स्वर्ग थियो,जसलाई सत्ययुग पनि भन्दछन्। यस विश्वमा समृद्धि,सुख र शान्तिको मुख्य कारण यही थियो कि त्यस समयका राजा र प्रजा सबै पवित्र र श्रेष्ठाचारी थिए । त्यसैले उनीहरूको शिरमा सुनको रत्न जडित ताज र अतिरिक्त पवित्रताको ताज पनि देखाइन्छ।

श्री कृष्ण तथा श्री राधा सत्ययुगको प्रथम महाराजकुमार र महाराजकुमारी हुनुहुन्थ्यो । हामी मध्ये कसैलाई थाहा होला कुनै समयमा स्वयंवर भएपछि वर बधुको नाम प्रायः बदलिन्थ्यो । यही प्रथाको कारण हुन सक्छ जानकीको नाम सीता राखिएको हो । त्यसैगरी स्वयंवर पश्चात “श्री नारायण र श्री लक्ष्मी” नाउँ हुन्छ। श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण बासुदेव” यो श्लोकबाट पनि हामीले बुझ्न सक्छौ कि श्रीकृष्णको आत्मा नै श्री नारायण वन्ने रहेछ ।

श्रीमद्भगवद् गीतामा श्रीकृष्णलाई नारायण भनी सम्वोधन गरेको पाइन्छ । श्रीकृष्णको राजधानीमा बाघ र बाख्रोपनि एउटै तलाउमा पानी पिउँथे अर्थात् पशुपंक्षी सम्म पनि पूर्ण अहिंसक थिए। त्यस समय सबै श्रेष्ठाचारी, निर्विकारी, अहिंसक र मर्यादापुरुषोत्तम थिए, त्यसैले उनीहरूलाई ‘देवता’ भनिन्छ।

संसारमा लाखौं मनुष्य आत्माहरुको जन्म हुन्छ अनि मृत्यु । सबैको नाम र जन्मलाई याद पनि गरिदैन र जन्मोत्सव पनि मनाईदैन । तर केही यस्ता महान् हस्तीहरुको जन्म हुन्छ जसको नाम नलिएर वा जन्मोत्सव नमनाएर रहन पनि सकिदैन । जन्माष्टमी पर्व यस्तो एक महान् पुरुष श्रीकृष्णको जन्मोत्सवको यादगार पर्व हो जो सृष्टिकै एक अदभूत,अद्धितीय अनि महान् छन ।

जसको नाम मात्रको स्मरणले पनि मानव मात्रमा खुशीको लहर छाउँछ । यस्ता महान् पुरुष जसलाई जगत्ले सम्मान गर्दछ,पूजा अर्चना गर्दछ र गायन पनि गर्दछ । जव श्रीकृष्ण जन्माष्टमी आउँछ तव श्रीकृष्णका आकर्षक झाँकीहरु सजाईन्छन् । त्यस्तै कृष्ण मन्दिरमा समेत मोर मुकुटधारी,हीरा रत्नजडित मुकुट लगाएको तेजस्वी मुखमण्डल,आकर्षक र भव्य आभा मण्डलधारी देखाईन्छ तर सांच्चिकै श्रीकृष्ण साकारमा कति सुन्दर र आकर्षणमूर्त थिए होलान् जसको कल्पना हामीले गर्न पनि सक्दैनौं । यिनै महान् हस्तिको जन्मोत्सवलाई नै हामी श्रीकृष्ण जन्माष्टमी पर्व भनेर मनाउँदछौं ।

आजभोलि हामी जुन रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउँछौं त्यसमा महत्वपूर्ण आध्यात्मिक रहस्य एवं अर्थ लुकेको छ । श्रीकृष्णको जन्म मध्यरात र जेलमा सामान्य व्यक्तिको कोखबाट भएको,वाल्य अवस्थादेखि नै अनेकौं असूरहरुलाई संहार गरेको,पाण्डवजस्ता सत्यवादीहरुलाई अर्ति उपदेश दिई मुक्तिको मार्ग बताएको,विराट स्वरुप दर्शन गराई अर्जुनलाई नष्टोमोहाको पाठ सिकाएर वैराग्य वृत्तिको विकास गराएको जस्ता महत्वपूर्ण एवं रहस्ययुक्त कुराहरु कृष्णलिला तथा कृष्णचरित्रमा उल्लेख छन् भने अर्कोतिर कृष्णको नाउँमा अनेकौं विकृतिजन्य हौआहरु पनि शास्त्रमा लेखिएको पाईन्छ ।

कृष्णले दही चोरेर खाए, ग्वालिनीहरुको कपडा लुकाई दिए,सोह्र हजार एक सय आठ पटरानी बनाए आदि आदि जस्ता विभिन्न विसंगतियुक्त कुराले गर्दा समाजमा भावनात्मक रुपमा उच्छुङ्खलता र उदण्डता एवं बहुविवाह जस्ता क्रियाकलाप समेतलाई टेवा पुगेको पाईन्छ । वास्तविक रुपमा विश्लेषण गर्दा यी सबै नाटकिय प्रवृत्तिहरु हुन ।

भाव र व्याख्यामा समानता हुनुको सट्टा विविध अतिरञ्जित तरिकाबाट व्याख्या गर्दा यथार्थ भाव नै लोप हुन गएको देखिन्छ । शास्त्रमा उल्लेखित जन्माष्टमीको सम्बन्धमा हामीले प्रतिकात्मक रुपमा बुझ्नु पर्ने हुन्छ । जबसम्म धर्म संस्कृति एवं चाडपर्वहरुको वास्तविक पहिचान गर्देनौ र त्यसभित्रको सत्यताको उजागर हुदैन तवसम्म हरेक वर्ष मनाईने पर्वहरुबाट उपयुक्त फाईदा लिन सकिदैन । त्यसपछि केवल परम्परा र देखावटीमा मात्र सिमित हुदै जाँदा समाजले जुन रुपमा गति लिनुपर्ने हो सो हुन नसकिरहेको अवस्था हो ।

वर्तमान संगमयूगमा परमात्मा निराकार ज्योतीस्वरुप शिव जो गोपेश्वर अर्थात श्रीकृष्णको पिता हुनुहुन्छ । उहाँले यस धरतीमा मानवीय तनमा प्रवेशता गरी दिइएको राजयोग र ईश्वरीय ज्ञानको आधारमा श्रीकृष्णजी कुनै सूर्यास्त पछिको मध्य रातमा जन्मिनु भएको होइन । यहाँको कलियुगरुपी मध्यरात जाँंदा दुःख,अशान्ति र चिन्ताको वातावरणमा साधारण व्यक्तिको कोखबाट योगबलद्धारा दिब्य जन्म भएको थियो ।

श्रीकृष्ण जन्म पश्चात संसारमा कलियुगको महाविनास हुनगई स्वर्णिम संसारको अभ्युदय हुन्छ । यहाँ मथुरा एवं ”जेल” भनेको कलियुगी कष्टदायी वातावरणको प्रतिक हो भने “गोकुल”सतयुगको प्रतिक हो । जब संसारमा एक चमत्कारीक व्यक्ति (श्री कृष्ण) को जन्म हुन्छ तव वातावरणदेखि नै हरेक प्राणी विशेषमा शान्ति र सुखले बास गर्न थाल्दछ जसलाई स्वर्णिम संसारको संज्ञा दिईन्छ। अर्काे यथार्थता श्रीकृष्णले कुनै कुरुक्षेत्रमा एक व्यक्ति विशेषलाई मात्र महत्वपूर्ण गीता ज्ञान सुनाएका थिएनन् वरु परमात्मा शिवले ब्रह्मा जो श्री कृष्णको पूर्व जन्म हुनुहुन्छ निजको माध्यमबाट कुरुक्षेत्र अर्थात् संसाररुपी कर्मक्षेत्रमा परमात्मासँग प्रितबुद्धि मानवलाई सुनाउनु भएको थियो ।

जसबाट अनेकौं अज्ञानतारुपी असूरहरुलाई नास गरी ईश्वरीय प्रवृत्तिको विकास गरिएको थियो । यो कुनै हिँसात्मक युद्ध थिएन । त्यस्तै जव ब्रह्माको माध्यमबाट भगवान शिवले दिव्य अलौकिक ज्ञान हजारौं नर नारीहरुलाई दिँदा उनीहरु सबै सुन्न लालायित भई आफ्नो जीवन महान बनाउँछन् । तर यस किसिमको सत्य भावलाई नबुझी श्रीकृष्णका हजारौं पटरानी थिए भन्नु युक्तिसंगत होईन यो त उल्टै कलंक पो हो त !

ज्ञानको प्रवाह कलियुगको अन्त्यमा वर्तमान समय ब्रह्माको माध्यमबाट भएको हो । यसलाई किवदन्तिको रुपमा नकारात्मक तरिकाले व्याख्या गरियो । साथै श्रीकृष्णले पाण्डवलाई साथ दिए भन्ने भावार्थ सत्यबादी ब्यक्ति नै सतयुगी श्रीकृष्णको राज्यमा पुग्न सक्दछ भन्ने हो । दानवीय प्रवृत्तिका मानवहरु आफैमा परिवर्तन नभएसम्म श्रीकृष्णको राज्य अर्थात स्वर्ग वा बैकुष्ठमा पुग्न सक्दैनन् ।

पाण्डव भनेका ईश्वरप्रेमी एवं सकारात्मक सोच,दृृष्टिकोण धारणा भएका व्यक्ति विशेषको प्रतिक हुन भने काम क्रोध जस्ता मनोविकारले कुण्ठित व्यक्ति नै कौरव हुन,जसले संसारमा हत्या,हिँसा र आतंकको साम्राज्य खडा गर्छन । परमात्मा प्रदत्त सत्य ज्ञानद्धारा उदय भई विस्तारै हरेक मानवमा विद्यमान विविध विकृतिजन्य दानवीय प्रवृत्तिहरुलाई पबित्र ईश्वरीय प्रवृृत्तिमा रुपान्तरण गर्नु नै अहिँसक संग्राम हो । हिंसक युद्धले सुशासन वा स्वर्ग आउँन सक्दैन ।

व्यक्तिमा वैचारिक अथवा भावनात्मक परिवर्तन ल्याउने अँिंसक संग्राम नै हो ईश्वरीय ज्ञान र योगको प्रवल शक्ति । त्यसैगरी श्रीकृष्णलाई पाँंचमुखे विषालृु बासुकी नागमाथि नाचेको देखाईन्छ । पञ्च विकारहरु—काम,क्रोध,लोभ,मोह र अहंकाररुपी विषालु विकारमाथि विजय प्राप्त गरेको प्रतिकात्मक अवस्था हो वासुकी नाग ।

साथै अर्कोतिर चारैतिर समुन्द्रको वीचमा पिपलको पातमाथी बुढीऔला चुस्दै गरेका श्रीकृष्ण देखाइएको हुन्छ । तपाँई हामी सामान्य दिमागले सोचौ अनि विचार गरौ कि सागर त्यसमा पनि एउटा पातमा बच्चा रहन सक्छ कि सक्दैन ? यसको भावार्थ पनि बुझ्नु जरुरी छ– कलियूगको महाविनास पश्चात चारैतर्फ पानीको भाग बढी र जमिन कम हुन्छ अर्थात पिपलको पात बरावर जमिनको क्षेत्रफल हुन्छ ।

यही सानो संसारमा सर्वश्रेष्ठ दैवी दुनियाँंको स्थापना हुन्छ र श्रीकृष्ण स्वर्णीम राज्यका पहिलो देवताको रुपमा जन्म लिन्छन् । प्रकृति तथा पुरुष दुवै सतोप्रधानता भएको अद्धितीय देवकूलमा पवित्र सर्वगुणसम्पन एकता र समानताको प्रार्दुभाव हुन्छ ।

हामीले पनि जीवनलाई श्रीकृष्ण समान प्यारो बनाउनु छ । यसरी हामीले श्रीकृष्ण जन्माष्टमी पर्वमा केवल मन्दिर गएर श्रीकृष्णको पूजा गरेर सन्तुष्ट हुनु छैन । हामीले त श्रीकृष्ण जस्तो पूज्य पद प्राप्त गर्न प्रेरणा लिनु छ । श्रीकृष्णलाई मनमोहन मान्नेहरु आफ्नो जीवन मनमोहन किन बनाउन सकिरहेका छैनौ ? श्रीकृष्णको जीवन उज्वल महान र गुणवान पावन अवस्थाको सूचक हो ।

श्रीकृष्ण निर्विवाद रुपमा एक अत्यन्त महान धार्मिक देवआत्मा हुनुहुन्थ्यो । उहाँमा राजनीतिक पदवी,प्रशासनिक कुशलता पनि प्राप्त थियो । अतः श्रीकृष्णको चित्र तथा मन्दिरमा सदैव प्रभामण्डलले सुशोभित तथा रत्नजडित स्वर्णमुकुटले सुसज्जित देखाईन्छ । सतयूगमा राजनैतिक तथा धार्मिक सत्ता एउटैको हातमा हुन्छ । यी दुइटै मुकुट त्यही सत्ताको प्रतिक हो । जसको जन्म दिन आज एक सार्वजनिढक उत्सव वनेको छ । स्वामी विवेकानन्द सन्यास पश्चात महान वने ।

महात्मा गान्धी प्रौढ अवस्थामा एक राजनीतिक नेता एवं एक सन्तको रुपमा प्रसिद्ध भए । यही कुरा गौतमबुद्ध,तुलसी,कबीर,दयानन्द,महावीर,मदर टेरेसा,दादी प्रकाशमणी,दादी जानकी आदी आदीको वारेमा समेत भनिन्छ । परन्तु श्रीकृष्णको आमालाई विष्णु चर्तुभुजको साक्षात्कार भएको थियो र उहाँ जन्मदाँदेखि नै पूज्य पदवी प्राप्त थियो ।

आत्माको मौलिक विशेषता सद्गुण हो । त्यसैले संस्कारहरुलाई प्रायः सुकार्य एवं संस्कृतीको सुकृतिका रुपमा ग्रहण गरिन्छ । परन्तु आजको परिप्रेक्ष्यमा संस्कार जाती वर्णको रिती नीतिको सीमाभित्र बाँंधिएर कर्मकाण्डको रुपमा रुपान्तरण भैदिँदा निस्प्राण हुन पुगेको छ । अव त संस्कृती र सांस्कृतिक शव्दको अवमूल्यन हुन गएको छ,दुरुपयोग भएको छ भन्दा अन्यथा नहोला । हाम्रो सभ्यता र संस्कृतीको महत्ता त सम्पूर्ण मानवताका साथ स्थापित गर्नु अर्थात वसुदैव कुटुम्वकम्को पवित्र भावनामा छ । संक्षेपमा, सत्यता,पवित्रता,दया,प्रेम क्षमा उदारता सद्भावना,सम्मान जस्ता शाश्वत गुणहरुलाई सांस्कृतिक मूल्य मानिन्छ । तर विडम्वना खै आजभोली यी मूल्यहरु ?

आजको समाज आन्तरिक विकृतीहरुको शिकार बनिरहेको छ । अद्यात्मप्रधान मूल्यनिष्ठ संस्कृती भौतिकताको चकाचौंधमा फसिरहेको छ । त्याग र संयम प्रवासी जस्तो देखिएको छ । सहिष्णुता कायरतामा बदलिएको छ । उदार संस्कृती र वन्धुत्व भाव बन्दूक भावको भेष धारण गरेजस्तै भएको छ । अव हामीसँग प्राचीन संस्कृतीको ढोल पिट्नुको सिवाय केही छैन । यो सवैको जिम्मेवार अरु कोही नभएर हामी स्वयं नै हौ । सांस्कृतिक प्रदुषण सामाजिक व्यवस्थामा व्लड क्यान्सर जसरी फैलिरहेको छ ।

दिनदिनै बढ्दै गइरहेको नास्तिकवाद, धर्मप्रतिको उदासिनता या कट्टरवादिता, साम्प्रदायिक दंगा, महिलाहरुको आत्मघाती अंग प्रदर्शनको प्रवृती,युवाहरुमा दिशाहीन दौड,आधुनिकताको आकर्षणमा फंँसिरहेको छ । भ्रष्टाचारको महासागरमा डुविरहेको समाज,अनैतिकताको भूँमरी हराईरहेको राजनीति,युद्ध र गृह युद्धको आगोमा जलिरहेको राष्ट्र, प्राकृतिक विपत्ति र विज्ञानका विनाशकारी साधनहरुको होडवाजीले अवको समाज कता गइरहेको छ ? कल्पना गर्नुहोस आदरणीय पाठकगण…. अव पनि नसोचे कहिले सोच्ने आज नगरे कहिले गर्ने र हामीले नगरे कसले गर्ने ?

चरित्र मनुस्यको सर्वश्रेष्ठ पूँजी हो । स्वर्णीम संसारको इतिहास उज्वल चरित्रको पृष्ठभूमीमा लेखियो । त्यसैले आज पनि जनमानसमा सत्यम् शिवम् सुन्दरम्को अवधारणा छ । मन्दिरमा विराजित देवी देवताहरुको मूर्तिमा पवित्रता र दिव्यताको आभास पाइन्छ । यही चारित्रिक सम्पदाको अभिव्यक्ति हो । अवको आवश्यकता हाम्रो गुमेको दैवी संस्कृतीको उत्थानका लागी आध्यात्मिकता र सांस्कृतिक जागरण हो । मातृशक्तिको क्षमतालाई प्रत्यक्षता गर्ने समय आइसकेको छ ।

आफूभित्र जन्म–जन्मान्तर सम्म कडा रूप धारण गरी जमेर बसेका पुराना स्वभाव, संस्कार र मनोवृत्तिलाई अंश वंश रूपमा समाप्त गरौं । जीवनका प्रत्येक पाइला पाइलामा दैवी चलन, चरित्र र चेहराबाट प्रत्यक्ष जीवन मूर्ति बनौं । शान्ति, कान्ति र दिव्यताको झलक फलक मात्रै प्रदर्शन होस् । व्यक्तित्वको दर्शन मात्रले अनेक आत्मालाई शान्ति, सुख, पवित्रता र शक्तिको अनुभूति हुन सकोस् । एक अलौकिक फरिश्तापनको दर्शन हुन सकोस् । मानसिक पीडा, अशान्ति, भय, चिन्ताले छटपटिएको मनस्थितिलाई समेत राहत मिलोस् तथा त्यस्ता कमजोरीबाट मुक्त हुन सक्ने शक्ति मिलोस् । आजको दिनले हाम्रो दैवी सनातन संस्कृतीको रक्षाका लागी सोच्ने शुभ प्रेरणा समेत प्रदान होस् ।

निकट भविश्यमा यस कलियुगी कालरात्रीको महाविनाश आईसकेको छ । हाहाकार पश्चात अवश्यमेव जयजयकार हुनेछ । चारैतर्फ जलमग्न हुनेछ र अविनाशी भरतखण्डेमा श्रीकृष्णको दिव्यजन्म निश्चय नै हुनेछ, त्यसैको यादगार पर्व हो जन्माष्टमी । पुनः यस पावन घडीमा यहाँहरुको भौतिक,सामाजिक,सांस्कृतिक तथा आध्यात्मिक उन्नती प्रगती हुदै जावस् यही मंगलमय शुभकामना । ॐ शान्ति

लेखक डिभिजन वन कार्यालय,दाङ्गका अधिकृत एवं एक आध्यात्मिक अभियन्ता /बह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।