Goraksha

National Daily

मानवीय सोच र विगतको समीक्षा

विनोद पोख्रेल

२०७६ चैत्र २९ गते
आजभोलिका अभिव्यक्तिहरुमा कोरोनाले प्रत्यक्ष वा परोक्ष प्रभाव पारेको जस्तो म आफैलाई पनि लाग्छ । त्यसैले कहिलेकाहीँ लकडाउनभरि नलेखूँजस्तो पनि लाग्छ । तर मनको अभिव्यक्ति रोक्न हुँदैन भन्ने दृढता छ । त्यसैले कुनै कुनै अभिव्यक्ति आफैलाई समेत पूणर् सन्तुष्टि नदिने वा दोहोरिएको महशुस हुने गर्छन् ।

त्यस्तै परिवेशलाई होला ‘मानिस परिस्थितिको दास हो’ भनेको । म पनि अपवाद बन्न सकेन । खास कुरो के हो भने मेरो मनमा एउटा कुरा फेरि प्रमाणित भएको छ । शक्ति अझ भनौँ बलियो शक्तिको अगाडि झुक्न वाध्य हुनुपर्छ । अहिलेको कोरोना भाइरस एउटा रोग नै हो । अझ भाइरसबाट हुने रोगहरुलाई त्यति जटिल समेत मानिँदैन ।

तर तागतका अगाडि सबै बुद्धि, सिद्धान्त, ज्ञान, अनुभव, विद्वत्ता कसरी हार्छ भन्ने एउटा दृष्टान्त बनेको छ यो वर्तमान परिवेश । एकाएक आयो, लाखौँ मानिस मरिसक्दा समेत अति विकसित भनिने विज्ञानले यो कसरी आउँछ र यसको निदान के हुन्छ भनेर पत्ता समेत लगाउन सकेको छैन ।

अब यो परिवेश भोग्नेहरुले विज्ञानलाई विशेष महत्व दिने वा भाइरस र यसको तागतलाई ? विज्ञान कति निरीह बनेको छ, यो परिस्थितिमा । अझ रमाइलो कुरो यो भाइरसको उत्पत्ति कसरी भयो वा कसरी हुन्छ देखि कसरी सर्छसम्म पनि प्रष्ट पार्न सकेको छैन, विज्ञानले । त्यही भएर यसको चैन (सञ्जाल) बढ्न नदिएर रोक्ने उपायको नाममा लकडाउनलाई लिइएको छ ।

तर यो कति सम्भव छ ? यस्ता भाइरस फेरि विकसित नहोऊन्, सबैले प्रार्थना गरौँ । तर फेरि यस्तै कुनै समस्या आएपछि पनि लकडाउन गर्न कति सहज छ ? फेरि यो लकडाउनले चाँडो र बढी प्रभाव पार्ने पनि त त्यहीवर्गलाई नै रहेछ । जसको संरक्षण, उन्नति र सवलताको लागि भनेर सस्तो राजनीति गर्ने गरिएछ ।

समस्या हुनेखानेलाई पनि छ । तर यस्तोवर्ग अरु ६ महिना वा एक वर्ष पनि यस्तै गरी सजिलरी बस्न सक्ला । तर दैनिक वा मासिक नै सही मजदुरी गरेर खानेहरुको जीवन कसरी चल्छ भन्ने बारे चिन्ता गर्ने र यसको उपाय सोच्ने समेत फुर्सद छैन । किनभने यहाँ पहिलो सोचाइृ जीवन रक्षा मात्रै छ । अर्को कुरो पनि मेरो मनमा द्वन्द्वकै रुपमा छ ।

जुन धारणाले होस् यो थुनिएको नै हो । मानिस थुनिएर बस्ने धेरै वर्षसम्म सक्छ । थुन्नेले थुनिकन राखेपछि के गर्ने ? बलियोले थुन्ने हो । तर यस्तो जीवन कति ठीक ? भन्न त यो केही समयको लागि र वाध्यात्मक परिस्थितिको सामना गर्नको लागि हो भनिएला ।

मैले पनि यही भन्छु । सम्पूणर् प्रकृतिका अंशहरु आफूभन्दा बलियोसँग हार्न वाध्य छन् भन्ने कुराको प्रमाण योभन्दा प्रष्ट के हुन्छ ! यस्तो परिवेशमा पनि राजनीतिक रँग चढाउन खोज्ने, कुनै देशलाई दोष दिएर अरु कुनैको प्रशंसा गर्ने वा फलानो देशको उपज भन्ने एकअर्कालाई दोष लगाउने अमानवीय र संकीणर् सोचहरु अहिले पनि सक्रिय भएको देख्दा भने यस्ता सोचहरुप्रति घृणा नै लाग्छ ।

मानिसको सोचको यति तल्लो स्तर नभए हुन्थ्यो जस्तो लाग्छ । तर यो पनि मावन सोचमा आउने द्वन्द्वको सामान्य प्रक्रियाभित्र पर्ने विषय पनि हुनसक्छ ।

२०७६ चैत्र ३० गते
आज चैत्र मसान्त । यो चैत्रको मात्र होइन वर्षकै मसान्त हो । यस्ता मसान्त धेरै आए । ६७ वर्षको उमेरमा ६७ वटा त मेरै लागि पनि आए । त्यसमध्ये चार/पाँच वटाबारे थाहा भएन । करिब साठीवटाबारे त थाहा भयो होला । अझ सम्झनाको कुरा गर्ने हो भने गएको चैत्र मसान्तको समेत केही सम्झना छैन । यसको दुईवटा कारण हुनुपर्छ । मसान्तलाई कसैले पनि महत्व दिँदैन ।

भोलिबाट नयाँ वर्ष सुरु हुने विशेष उल्लास र खुशीको अनुभव हुन्छ । यो वर्ष सकिएपछि वा यो वर्षले आफू पञ्छेर ठाउँ दिएपछि मात्रै नयाँ वर्ष आउने हो भन्ने सोच कसैमा हुँदेन । मसान्तलाई त ओरालो लागेको मृगजस्तै खेद्ने हो । अझ त्यति पनि होइन । मसान्तको कुनै हैसियत बन्दै बन्दैन । हैसियत त संक्रान्ति वा नयाँ वर्षको सुरुवातको मात्रै हुन्छ ।

विचरो मसान्त संक्रान्तिको तप्कनीमा परेर महत्वहीन भएर जान्छ । भएको र भोगेकोलाई वास्ता नगर्ने अनि नयाँतर्फ बढी आकर्षण राख्ने हाम्रो स्वार्थी स्वभावले मसान्तको महत्व नभएको हो । अर्को कारण हामीमा अहिलेसम्मको समय, जीवन, गतिविधि कसरी बित्यो भनेर समीक्षा गर्ने चलन छैन । जसरी बित्यो सकियो ।

त्यसैमा आफ्ना तर्क राखेर अति राम्ररी भनौँ वा सफलतापूर्वक बितेको मान्ने र आत्मरतीमा रमाउने हाम्रो चरित्र नै बनेको छ । हुन त नयाँ योजना पनि प्रायः हुँदैनन् । तर पनि केही आशा, केही अपेक्षा हुन्छ । बितेकोबाट त त्यो पनि हुँदैन । त्यसकारण पनि मसान्तलाई महत्व दिइने चलन छैन ।

मेरो सोच भन्ने हो भने कम्तिमा पनि बितेको एक वर्षमा के कति काम आफ्नो लागि, परिवारको लागि, समाजको लागि र देशको लागि गरियो अथवा भए त्यसको मूल्यांकन गर्दै पूणर् समीक्षा हुनुपर्ने हो । हुनसक्ने सबै भए वा भएनन्, गर्न नसकिने तर कल्पना गरिएका काम पूरा गर्न केही उपाय छ कि ? जस्ता कुराहरुबारे चिन्तन (व्यक्तिगत तथा सामूहिक रुपमा) हुनुपर्ने हो ।

त्यो चलन हाम्रो चलनमा छैन । हामी स्वागतमा रमाउने गर्छौं, बिदाईलाई या त वास्ता नै गर्दैनौँ या त राम्रो कुरोको रुपमा लिँदैनौँ । त्यसैले महत्व दिँदैनौँ । विहे गरेर छोरी बिदाई गर्दा समेत रुने गर्छौँ । ऊ नयाँ जीवनमा प्रवेश गर्दै छ, नयाँ स्थानमा आफ्नो प्रभाव पार्न, आफूलाई योग्य साबित गर्न सफल होस् भन्ने महत्वकांक्षा समेत हुँदैन सायद ।

यस्तो सोचले पनि मसान्तको महत्व बन्न नसकेको हो । केही दिन पहिलेबाटै नयाँ वर्षबारे परिकल्पना गर्न थालिन्छ । अलि बढी नै त्यता आकर्षित हुने गरिन्छ । त्यहाँ मसान्तलाई ठाउँ नै हुँदेन । हुन त मैले पनि मसान्तलाई अहिलेजस्तो अभिव्यक्ति दिएमा त्यति महत्व दिँदैन जस्तो लाग्छ । त्यसैले म पनि समाजमा अपवाद पटक्कै छैन ।

बरु नयाँ वर्षकै नाममा मसान्तकै दिनमा पनि केही कार्यक्रम भए होलान्, यसलाई स्थगन गर्ने भनेर । त्यसमा म पनि सहभागी भएको अनुभव छ । तर बितेको समयको पटक्कै समीक्षा वा मूल्यांकन गर्ने चलन छैन । मानिस स्वार्थी हुन्छ । उसले बलेको आगो ताप्ने गर्छ । यहाँसम्म पनि सामन्य कुरो हो भनौा, न त आफूले नयाँ आगो बाल्नसक्ने न त आफूले प्रयोग गरेकै आगो बुतेपछि त्यसको उचित मूल्यांकन गर्नसक्ने चरित्रले मानिसले उन्नति गर्न सक्दैन ।