Goraksha

National Daily

महाभारत कथाभित्रका कथा

राधेश्याम उपाध्याय

महाभारत कथा प्रसंग
एक दिन लोमस मुनि आए र स्वर्गका राजा ईन्द्रले अब अर्जुन शस्त्रास्त्र विद्याले निपुण भए । यहाँ सारौँ बलवान् निवातकवच नामको असुर छ । त्यसलाई मार्न देवताहरुले पनि सक्दैनन् । यो काम अर्जुनबाट मात्र हुनसक्ने भएकाले केही दिन अर्जुन यही बस्दछन् । तपाईं भाइहरुका साथ तपस्या गर्न जानुहोस् र आत्मबल बढाउनुहोस । तपस्याभन्दा अरु ठूलो केही छैन भनि समाचार सुनाए । यो सुनेर युधिष्ठिरहरु लोमस ऋषिलाई समेतसँगै लिएर तीर्थाटनतर्फ लाग्दछन् । त्यहाँबाट पहिला नैमिषारण्य गए । नैमिषारण्य केही दिन बसी प्रयाग संगमस्थलमा गई स्नान गरे र अगस्त्य मुनिको आश्रममा गए । त्यहाँ केही दिन बसी मुनिका कथाहरु सुने;

अगस्त्य मुनिबाट समुद्र शोषण 
अघि कुनै कालमा ऋषि तौष्ठाले जंगलमा यज्ञ गरी बसेका थिए । उनलाई पुत्रको इच्छा भएकाले यज्ञबाट विश्वरुपाको उत्पन्न गरे । विश्वरुपालाई इन्द्रले मारिदिए । यो सुनेर ऋषि तौष्ठा धेरै क्रोधित भए र इन्द्रसँग बदला लिने विचार गरे । उनले पुनः इन्द्रलाई मार्नसक्ने पुत्र प्राप्तिका लागि धेरै कष्ट गरेर लामो समयसम्म यज्ञ गरे । प्रतिशोधको भावनाले यज्ञ गरेकाले यज्ञबाट भयानक विशाल शरीर भएको दानवको उत्पत्ति भयो ।

उक्त दानवलाई तौष्ठा ऋषिले वृत्रासुर नाम दिए र तिम्रो भाइ विश्वरुपाको बिनाकारण हत्या गरे, त्यसैले तिमीले त्यो दूराचारी इन्द्रलाई मृत्युदण्ड देऊ, मैले यही कारणले तिम्रो उत्पत्ति गरेको हँु । पिताको यस्तो कुरा सुनेर बृत्रासुरले स्वर्गमा गई आक्रमण गरे र विजय हासिल गरी तीनै लोक (स्वर्ग, मत्र्य पाताल) मा रजाई गर्न लागे ।

देवताहरु भागेर विष्णु भगवानका शरणमा गए । विष्णु भगवान्सँग बृत्रासुरलाई कसरी मार्ने भनी प्रार्थना गर्न लागे । विष्णु भगवान्ले देवताहरु आफ्ना शरणमा आएको देखी देवताहरुको हितका लागि भन्नुहन्छ ‘हे देवता हो बृत्रासुरलाई मार्ने कुनै अस्त्र नै बनेको छैन । त्यसैले तिमीहरु दधीचि ऋषिकहाँ जाउ र उनको शरीरको हाड माग ।

ऋषिको हाडबाट ठूलो बज्र बनाउ र उक्त बज्रबाट इन्द्रले बृत्रासुरलाई समुद्रका तिरमा लगी मार्न सक्नेछन्’ भनि सिकाइदिनुभयो । के दधीचि ऋषिले आफ्नो हाड दिन्नन् त भनी शंका पैदा भयो र विष्णु भगवान्ले दुई भाइ अश्विनी कुमारहरुले मागेमा दिनसक्ने उपाय समेत विष्णु भगवान्ले सिकाएपछि अश्विनी कुमारका दुई भाइलाई अगाडी लगाई सबै देवताहरु दधिची ऋषिकहाँ जान्छन् । ऋषिका पाउमा परी स्तुति गरेर ऋषिलाई खुशी बनाई पहिले नै वाचा गराई बृत्रासुरको अत्याचारको वणर्न गर्दै आफ्नो हाड दिन अनुरोध गरे ।

दधीचीले पनि लोक हितका लागि म आफ्नो तुच्छ शरीरको हाड दिन्छु लैजाओ भनी आफ्नो प्राण त्यागिदिए । तत्काल ऋषिको शरीरको हाडबाट विश्वकर्माले भयङ्कर बज्र तयार पारे । उता बृत्रासुरले स्वर्ग, मत्र्य पातालमा एकछत्र राज्य सञ्चालन गरिरहेको थियो । देवताहरु उसँग गई मित्रता कायम गरे र केही सल्लाह छ भनी समुद्र किनारमा बोलाए र छल गरी इन्द्रले दधीचीका हाडबाट तयार पारेको बज्र प्रहार गरी बृत्रासुरको हत्या गरे ।

बृत्रासुरको मृत्युपछि उसँग रहेको कालकेय नामको दानव आफ्नो फौज सहित समुद्रमा गएर बस्न थाल्यो । त्यो दिनभर समुद्रमा लुक्ने र रात्रिमा बाहिर आई ऋषि, मुनि र ब्राह्मणहरुलाई खोजी-खोजी मार्न लाग्यो । त्यो सबै देवताहरुले थाहा पाए र विष्णु भगवान्को स्तुति गर्न लागे । विष्णु खुशी भई दर्शन दिनुभयो र सबै देवताहरुले ती दैत्यहरुलाई मार्ने उपाय सोधे । विष्णुले पनि खुशी भई तिमीहरुको समस्याको समाधान अगस्त्य मुनिबाट हुने भएकाले अगस्त्य मुनिकहाँ जाने सल्लाह दिई विष्णु अन्तरध्यान भए । सबै देवताहरु अगस्त्य मुनि कहाँ गएर समुद्रमा धेरै थरिका दानवहरु लुकेर बसेका छन् ।

ती दानव दिनमा समुद्रमा लुक्ने र रात्रिमा बाहिर आई खोजी-खोजी सबै ऋषि, मुनि र ब्राह्मणहरुलाई मार्न लागेकाले सबैको रक्षाका लागि समुद्र शोषण गरिदिन अनुरोध गर्दछन् । यसरी देवताहरुले अनुरोध गरेको सुनी सबैको उद्धारका लागि अगस्त्य मुनिले तीन अञ्जुलीमा सबै समुद्रको पानी पिइदिए । समुद्र जलहीन भएकोले देवताहरुले त्यहाँ रहेका सबै राक्षसको सर्वनाश गरेर ऋषि मुनि सबैको उद्धार गरे ।

लोमश ऋषिले पहिलेको यो कथा युधिष्ठिर महाराजलाई सुनाए र युधिष्ठिर महाराजले लोमश ऋषिलाई सोधे ‘हे मुनि ! यसरी अगस्त्य मुनिले समुद्रलाई पिएपछि फेरि समुद्र पृथ्वी लोकमा कसरी अवतरण भयो । यो सुनेर लोमश ऋषिले युधिष्ठिरलाई भन्नुभयो;

सगर राजाको कथा 
कुनै समयमा इक्ष्वाकुवंशमा सगर नाम गरेका राजा हस्तिनापुरमा राज्य गरेर बस्दथे । उनले उनान्सय यज्ञहरु निर्विघ्न साथ सम्पन्न गरे । सयौँ यज्ञ निर्विघ्नताका साथ सम्पन्न गरे इन्द्र बन्ने र भएको इन्द्र पतीत हुने त्यस बेलाको नियम थियो । सगरले पनि इन्द्र हुनका लागि सयौँ यज्ञ सम्पन्न गर्न घोडा छाडेका थिए ।

यसरी सगर राजाले सयौँ यज्ञ सम्पन्न गरेर आफूलाई पतीत गरी उनी इन्द्र हुन लागेको कुरा स्वर्गका राजा इन्द्रले थाहा पाए र आफ्नो इन्द्र पदको रक्षाका लागि सगरले यज्ञका लागि छाडेको घोडा पर्केर कसैले भेटाउन नसक्ने पातालमा कपील मुनिका आश्रममा लगेर बाँधिदिए । सगरका छोराहरु साठी हजार भाइ थिए । तिनीहरुले घोडा तिनै लोकभरि खाजे तर भेटाउन सकेनन् ।

ठूलो पिर मानेर घर फर्कंदै थिए, समुद्रको उत्तर दिशामा पाताल जानका लागि पृथ्वी खन्न लागे । केही जमिन खनेपछि कपील मुनिको सुन्दर कुटी देखे र त्यहाँ गई हेर्दा कुटी पछाडि यज्ञका लागि छाडेको घोडा पनि बाँधिराखेको देखे । त्यो देखेर क्रोधित हुँदै मुनिलाई मार्ने भनेर खैलाबैला गरे । त्यो हल्लाले गर्दा मुनिको तपस्यामा विघ्न पर्नगयो र कपील मुनि क्रोधित भएर आँखा उघारी हेर्दा अग्निको ज्वाला निस्कियो र सगर राजाका साठी हजार छोराहरु भष्म भई मरे ।

सगर राजाका एक अंशुमान नाम गरेका नाति थिए । उनले कपील मुनिका आश्रममा गएर मुनिको सेवा चाकरी गरी मुनिलाई खुशी बनाएर यज्ञको घोडा ल्याई यज्ञ पूरा गराए । अंशुमानका छोरा दीलिप भए । दीलिपका छोरा भगिरथ भए । भगिरथ प्रतापी र प्रख्यात राजा थिए । उनले म पितृहरुको उद्धार गर्छु भनी गंगाको तप गर्न लागे ।

केही समयपछि गंगा खुशी भएर दर्शन दिइन् र गंगाले वर माग भनिन् । गंगाको यस्तो कुरा सुनी भगिरथ राजाले दण्डवत गर्दै भने ‘हे गंगे ! कपील मुनिको श्रापले मेरा साठी हजार पितृहरु भष्म भई पृथ्वी लोकमा भड्किरहेका छन् उनको उद्धारका लागि हजुर पृथ्वी लोकमा अवतरण भई मेरा साठी हजार पितृहरुको भष्म बगाई उद्धार गरिदिनुहोस्’ भनी वर मागे ।

भगिरथको कुरा सुनेर गंगाले भनिन् ‘हे भगिरथ ! स्वर्गबाट पृथ्वी लोकमा झर्दा मेरो वेग कसैले थाम्न नसकेर पृथ्वी चकनाचुर हुने छिन् र सर्वनाश हुनेछिन्, अतः तिमीले शिवको तपस्या गरी शिवलाई खुशी पार । शिवले मेरो वेग थाम्न सक्ने छन् र तिम्रो इच्छा पूरा हुनेछ, शिवलाई खुशी तुल्याई मेरो स्मरण गर्‍यौ भने म पृथ्वीमा झर्नेछु’ भनी वरदान दिई गंगा स्वर्ग गइन् ।

गंगाको यस्तो वरदान पाई भगिरथ हिमालयमा गई बडो कष्टसाथ शिवको तप गर्न लागे । शिव खुशी भई प्रत्यक्ष दर्शन दिनुभयो । भगिरथले शिवजीलाई गंगा स्वर्गबाट झर्दा हुने वेग थाम्न अनुरोध गरे । शिवजीले हुन्छ तिमी गंगालाई बोलाउ म गंगाको वेग थामेर गंगाको घमण्ड चुर गर्नेछु भनेर भगिरथले पनि गंगाको स्मरण गरे ।

गंगा ठूलो वेग गरेर पृथ्वीमा झर्न लागिन् । शिवजीले पनि आफ्ना जटा खुला गर्नुभयो र आफ्ना जटा मुकुटमा थम्नु भयो । शिवजीले केही दिन आफ्ना शिरमा बाँधेर गंगालाई राखिदिनुभयो । गंगा पृथ्वीमा झर्न सकिनन् र निसास्एिर शिवका जटामै बस्न वाध्य भइन् । गंगालाई म शक्तिशाली छु भन्ने घमण्ड थियो । सो घमण्ड शिवले चुर पारिदिनुभयो । गंगा पृथ्वीमा झर्न सकिनन् र पुनः भगिरथले शिवजीको स्तुति गरे र भगिरथको अनुरोधमा मसिनो धाराबनाएर पृथ्वीमा छोडिदिनुभयो ।

त्यसपछि भगिरथजी अगाडि-अगाडि गंगा पछाडि-पछाडि भई विस्तारै पर्वत जंगल काट्दै केही समयपछि कपील मुनिको आश्रममा पुगी सगर राजाका साठी हजार छोराहरुको भष्म बगाएर लगिन् र भगिरथले आफ्ना पितृहरुको उद्धार गरे । यसरी भगिरथले गंगा जलले ठूलो सागरलाई भरी सागरको पुनः उत्पत्ति भयो । यसरी भगिरथले गंगाजीलाई पृथ्वीमा अवतरण गराएकाले गंगालाई भागिरथी पनि भनिन्छ । यसरी सागरको पुनः उत्पत्ति भएको कथा लोमष ऋषिले युधिष्ठिरलाई सुनाउनुभयो ।

क्रमशः …