Goraksha

National Daily

लजालु समय

तल्लो जीवन उपन्यास अंश

यमरेग्मी

रक्षा बाह्र वर्षकी थिई । आठ कक्षामा पढ्थी सगरमाथा बोर्डिङ स्कूलमा । गोपाल चौध वर्षको थियो ।
यति तुच्छ गाली । पहिलो पटक सुनी, रक्षाले आमाको मुखबाट । ठूलै अपराध गरेझैँ लाग्यो । वायाँ हातले टाबेलले छोपी । घोर्‍याक्क ढोका खोली । बाथु्रमभित्र छिरी । बलियो पारेर चुकल लगाई, ढुक्क भई ।
प्याट्ट बत्ती बाली । झलमल्ल उज्यालो भयो, कोठा । पहिले कम्मरदेखि तलको वस्त्र खोली । किलामा झुण्ड्याई । फेरि कम्मरदेखि माथिको बस्त्र खोली, त्यसलाई पनि किलामा झुण्ड्याई । बस्त्र एकातिर भए, आफू एकातिर भई । शिरदेखि पाउसम्म निरवस्त्र भई । लाज पलाएर आयो भित्रैबाट । पहिलो पटक थियो सर्वाङ्ग भएको । पुलुक्क आफ्नो शरीर हेरी, आफैलाई अचम्म लाग्यो शरीर देखेर । धेरै बेर हेरिरहन पनि सकिने ।
उसलाई भित्तादेखि लाज लाग्यो । ढोकादेखि डर लाग्यो । साबुन, सरफ, सेम्पुले आफूलाई नै हेरेझैँ लाग्यो । आफ्नै लुगाले आफूलाई हेरेर हाँसेझैँ भान भयो । धारादेखि शरम जाग्यो । लाजले पानी-पानी भई । वायाँ हातले पेट तलको अग्र भागलाई छोपी, वायाँ हातले छातिको भागलाई छोपी । प्याट्ट बत्ती मारी । जसरी बालेकी थिई । अँध्यारो भयो बाथु्रम । ढुक्क भई ।
पानीको फोहरा खोली । केहीबेर पानीसँग खेली । पानी उसँग खेल्यो, पहिलेकै वस्त्रमा । चीसो कपालमा फनफनी टाबेलले बेरी । सरदारले फेटा फेरेझैँ । चिसो कपालसँगै भान्सा छिरी ।
‘रक्षा ह्याँ आऊ तो नानी ?’ आमा बैठक कोठाबाट बोली ।
‘किन मामु ?’ राधा नजिकै आई र बोली ।
सीता घाँटी तनक्क तानी । छोरीतिर पुलुक्क हेरी । बोली, बुइँकलको उत्तरतिरको कोठामा एउटा ठूलै बाकस छ । त्याँ तेरा दाइका पुराना डे्रसका कपडा होलान् । लाउन मिल्ने एक जोर खोजेर ल्याऊ त, यसलाई बारीमा घाँस काट्न पठाम ।’
रक्षा केही बोलिन । सरासर गई बुइँकलतिर । बाकस खोली, धुलैधुलोले पूरै भरिएको थियो बुइँकल । भर्खरै नुहाएको शरीर, चीसै कपाल । माकुराको जालो र धुलोले ऊ फेरि नुहाउनेजस्तै भई । रिसले केहीबेर आगो भई । गनगन गर्दै केही बेर खोजी । बल्लबल्ल आमाले भनेकाजस्ता कपडा भेटाई । भर्‍याङबाट तल झरी, बैठकमा राखी । आफू पढ्ने कोठातिर लागी ।
गोपाल पुराना कपडा लगायो । नाम्लो वायाँ काँधमा राख्यो । हँसिया दायाँ हातले छोप्यो अनि बारीमा छिर्‍यो ।
एक दिन भएको थियो, बारीमा गएको । आफूभन्दा ठूलो घाँस भारी बोकेर आयो । झ्याम्म घाँसको भारी आँगनमा टाउकोबाट फाल्यो । लामो सुस्केरा हाल्यो । दायाँ हातले निधारभरिको पसिना पुच्यो । भारीको माथिबाट हँसिया झिक्यो । नाम्लो-बरिया फुकायो भारीबाट । पहिलेकै ठाउँमा राख्यो हँसिया र नाम्लो । घरको पेटीमा थचक्क बस्यो ।
राधा विद्यालय गइसकेकी थिई । कृष्ण जनै बाट्नमा व्यस्त थिए । सीता भान्सामा थिई । घाँसको भारीको आवाज सीताको कानमा पर्‍यो । फुलुक्क बाहिर हेरी, भान्साको झ्यालबाट । घाँसको ठूलो भारी देखी आँगनमा । खुशीले मुसुक्क हाँसी ।
‘गोपाल अब खान तयार भयो, मैले बुइँकलबाट खोजेर सिल्पटको भात खाने थाल, दाल खाने कचौरा, पानी खाने बेला, कुवाँको नजिकै राखिदिएको छु । फोहर होलान त्यसलाई राम्रोसँग माझ, म भात ल्याउँछु । भात खान तयार हो’-सीता भित्रैबाट ठूलो स्वरमा बोली ।
गोपाल धेरैबेर घोटी-घोटी भाँडा माझ्यो । जति माझे पनि पहेँलो दाग गएन । ऊ दागैसँगको भाँडा छोप्यो । भातको प्रतीक्षामा टुसुक्क पेटीमा बस्यो ।
सीताले माथिबाट थालमा भात खन्याई । कचौरामा दाल खन्याई । खाली भाँडा केही पर पेटीका राख्दै बोली- ‘खाने पानी लोटामा कुवाँबाट आफै ल्या र खान बस ।’
गोपालले पानी ल्यायो र खान बस्यो । पहिले आफूले खाएका जुठा भाँडा माझ्यो, त्यसपछि विहानका चिया खाएका, भात खाएका सबै जुठा भाँडा माझ्यो । गाई फुकायो, भैँसी फुकायो । ग्वाला लाग्यो ।
गोठ ठूलो थियो । दुईवटा कोठा थिए । एउटा कोठा धेरै ठूलो थियो, अर्को केही सानो थियो । ठूलो कोठामा गाई र भैँसी बस्थे । सानोमा बाच्छाबाच्छी र पाडापाडी । दुहुनो भैँसी थियो, गाई थिएन । एउटा कुनामा पाडो बानिएको थियो । बाँकी भाग पूरै खाली थियो । त्यही बन्यो उसको बेडरुम ।
एउटा खुट्टा भाँचिएको खाट, एउटा पुराना थाङ्नाको झिलाझिला परेको ओच्छाउने, अर्को ओढ्ने । टाढैसम्म धुसीको गन्ध आउने । त्यही पायो उसले बेड र विस्तरा ।
सीता साँझको खाना तयार पारी । रक्षा कोठामा गृहकार्य गर्दै थिई । छोरीलाई बोलाई । ऊ लेख्दालेख्दैको कापी बन्द गरी । भर्‍याङबाट तल झरी । ढोकाको संघार उभिई र बेली-‘किन मामु ?’
सीता थालमा भात पस्की । कचौरामा सिन्कीको रस हाल्दै बोली- ‘जा नानी, माथिबाटै थालमा भात र कचौरामा तरकारी हाल्देल, ब्यानजस्तै नछोएस् नि उसलाई ?’
रक्षा तलमाथि टाउको हल्लाई । एउटा हातले थाल छोपी । अर्को हातले कचौरा छोपी । सरासर बाहिर लागी ।
आमाले भनेझैँ माथिबाटै भात खसाली र त्यसरी नै दाल पनि । खाना खनाएका भाँडा पेटीमा थपक्क राखी । सरासर भित्र गई । सीता दूध तातो गर्दै थिई । आमालाई पछाडिबाट कोट्याई । सीता फरक्क फर्की । आमाको अनुहारमा हेर्दै रक्षा सासैबाट बोली-‘छि ! छि !! छि !!! के गरेको मामु हजुर यस्तो ? हजूरलाई लाज छैन ? राति पिसाव फेर्ने कोपरामा खाँदैछ उसले । पानी खाने बेला पनि पुरानो ट्वाइलेटको छ । एउटा पुरानो स्टिलको थालमा दिएको भए पनि त हुन्थ्यो नि ?’
‘चुप लाग ! जान्ने न हो सार्की हो, सार्की । तेरो बाजे ! सार्कीलाई पनि कसैले स्टिलको थालमा दिन्छ ? किन स्टिलको थाल बिल्टो बनाएर फाल्ने ? तेसले खाको थालमा फेरि को खान्छ ? फाले पनि त्यै कोपरा फालौँला ?’
राधा खरानीभित्रको आगो भई । उसलाई अनौठो लाग्यो, आमाको व्यवहार । केही बोलिनँ, मलिन मुख लगाई । कराईभरिको तरकारी पाक्दै थियो । तरकारी हेर्दै सुस्तरी बोली- ‘उसलाई तरकारी दिनु पर्दैन ?’
सीता छोरीको टाउकोमाथि डाडु मच्चाई । ठूला आँखा पारी र बोली- ‘के भन्छे यो फुच्चीले ? को हो र त्यो ? तरकारी अचार दिनुपर्ने ? पहिले जे बानी लायो त्यै लाग्छ ? हिँड बाहिर ? गर्मी भयो ।’
अघि-अघि आमा पछि-पछि छोरी । दुवैजना बाहिर निस्किए । गोपाल मीठो मानी-मानी खाँदै थियो । सीता पेटीमा टुसुक्क बसी । रक्षा अलि पर बसी । रक्षा थालतिर हेर्दै बोली-‘ खाना कस्तो छ ? पाक्या छ ?’
‘हजुर ! पाक्या छ ?’ गोपाल भातको गासैसँग बोल्यो ।
– मीठो छ ?
– छ, हजुर !
केही बेर मौन हुन्छन्, सबै । रक्षा गोपालले भातको गास मुखमा हालेको देखी, भित्रैबाट पेट निचुरेर आयो । जुरुक्क उठी, बाथु्रममा छिरी । दुई/तीन पटक वाक ! वाक !! गर्दै मुखबाट अमिलो पानी फाली । केही सहज भयो । सरासर पढ्ने कोठातिर लागी ।
गोपाल खाना खाइसक्यो । पेटीको जुठो टिप्यो । खाएको भाँडा मिस्न थाल्यो । सीता अघिदेखि पेटीमै बसेकी थिई । उसले वायाँ खु्ट्टोमाथि दाया खुट्टो खपाई । दायाँ खुट्टका औला खेलाउदै बोली- ‘ए ! तँलाई विहान एउटा कुरा भन्नै बिर्सिएछु ।’
गोपाल भाँडा मिस्दामिस्दै फरक्क फर्कियो । सीताको अनुहारतिर आश्चर्यको भावले हेर्छ । मुसुक्क फिक्का हाँसो हाँस्छ । सीता अनायसै केही भावुक भई र बोली- ‘कठै विचारो ! यै थाल र कचौरामा खान्थ्यो दाल र भात, तेरो बाउले पनि, अकालमै दैवले चुडेर लग्यो विचारोलाई ।’
झल्यास्स बाबुको याद आयो । रातसँगै अनुहार पनि अँध्यारो हँुदै गयो । सीता भान्सातिर लागी । थाल र कचौरा छोप्यो । कोठाभित्र छिर्‍यो । भित्रबाट ढोका लगायो ।
थचक्क खाटमा बस्यो । अगाडि थाल, कचौरा, बेला राख्यो । अनौठो जीवलाईझैँ धेरैबेर हेर्‍यो । परेली रसाएर थालभरि पोखियो । बाउको प्रतीकको स्वरुप कहिले भाँडा मुसार्‍यो, कहिले चुम्वन गर्‍यो, कहिले छातिमा टाँस्यो । बाबुको सम्झनामै रात बितायो ।
रक्षा पनि सुत्न सकिन, त्यस रातभरि । थालकै कारणले । कोपरामा भात खाएको आजसम्म कहीँकतै देखेकी थिइन । साँझको खाना पनि खान सकिन । मुख रातभर गिलमिल-गिलमिल गरिरह्यो । अबेला आँखा मिच्दै उठी ।
रातभरिको अनिदोले होला । एक भाग टाउको खुब दुख्यो, सहनै नसक्ने गरी । आँखा पिरा भएका थिए, खुर्सानी परेझैँ । टेबुलमा निम्सको पत्ता थियो । पत्ताबाट एउटा गोली झिकी, क्याप्प मुखमा राखी । बोतलमा पानी थियो । घाँटी ठाडो पारी, तनतनी पिई । पानीले पेटतिर गोली बगायो ।
तनक्क शरीर तानी, शरीर भारी लाग्यो । मुख धुन बाथु्रमतिर लागी ।
बाथु्रममा अनौठो दृश्य देखी । झनै टाउको दुख्न थाल्यो । गोपाल कपडा धुँदै थियो । आमाका नुहाएका कपडा थिए बाथु्रमभरि । भित्री अङ्ग छोप्नेदेखि धोती र बुलोजसम्मका । शरीरका भित्री वस्त्रहरू महिनाबारी भएको स्पष्ट संकेत दिएका थिए । ऊ तिनै वस्त्रहरू मिच्दै धोइरहेको थियो । रक्षा धेरैबेर हेर्न सकिन । फरक्क फर्की । सुत्ने पलङमा आई । थचक्क बसी । टाउको माथि फर्काई । लामो सास तानी, सुईई गरेर मुखबाट फाली ।
क्रमशः …