Goraksha

National Daily

कथा – पहिलाे   प्रेम

पुष्पा शर्मा

सन्ध्याको आँखामा आज पटक्कै निद्रा छैन | सानैदेखि संगै पढेका साथीभाइ, बाबा आमालाई छोडेर पढ्न को लागि शहर जान त मन छैन, तर के गर्नु ? आफ्नो भविष्यको बारेमा पनि सोच्नु पर्यो | बाबाआमाको सपना पनि त पूरा गर्नु छ |

गाउँमा उच्च शिक्षाको व्यवस्था न भएकोले नचाहेरै भए पनि निशालाई गाउँ छोड्नु पर्ने बाध्यता हुन्छ |अहिलेसम्म कहिल्यै घरबाट बाहिर  ननिक्लेकी मान्छे अब शहरजस्तो ठाउँमा कोही चिनेको छैन | साथीहरु कस्ता हुने हुन् ,एक्लै कसरी बस्ने होला यस्तै कुरा सोच्दै निशा पल्टिरहेकी छे |

साथीहरुसंग बिताएका एक एक घटना उसका आँखा अगाडि घुमिरहन्छन् | हिजो जस्तो मात्र लाग्छ रुँदै रुँदै स्कूल जाँदा हरि काकाले जिस्काएको,टिफिनको समयमा खुरुरु दौड्दै मोजाबाट बनेको बल खोसाखोस गर्दै खेलेको, साथीहरुसंग झेली गर्दै गट्टा खेलेको | अनि कहिलेकहिँ त सरले पढाउदा लुकी लुकी आँपको मुरब्बा चुस्दै बसेको घटना समझदा त अहिले हाँसो उठ्छ| स्कूलको खाली समयमा रामायण, महाभारतका पात्र बन्दै नाटक गरेर रमाइलो गरेका बाल्यकालका घटना एकएक गर्दै सम्झन पुग्छे |

बाहिरबाट बाबाले “सन्ध्या… सन्ध्या … ”  भनेको आवाज सुनेर झसङ्ग हुन्छे अनि जुरुक्क उठेर घडी हेर्दा त छ बजिसकेको रहेछ | सात बजेको गाडी भएकोले हतार हतार गरि तयार भई | झोला लिएर घर बाहिर निस्किन्छे  र आमासंग अंगालो हालेर रुन थाल्छे | आमाले आफ्नो मनलाई कठोर पार्दै सम्झाउछिन् – “आफ्नो भविष्य बनाउन जाने मान्छे पनि यसरी रुनुहुन्छ त ? तिमी नै हाम्रो आशा भरोशा हौ | कतिपनि कम्जोर नभएर आफ्नो लक्ष्यबात नडग्मगाउनु , ध्यान दिएर पढ्नु , दायाँबायाँ

नलाग्नु , आफ्नो राम्रोसंग ख्याल राख्नु | तिमीले यहाँ को कुनै चिन्ता गर्नु पर्दैन |”

बाबा छोरी शहर पुग्छन् | कोठाको बन्दोवस्त गरिदिएर कलेजमा भर्ना गरिदिन्छन् अनि ” केही पर्यो भने खबर गर्नु , मैले बीचबीचमा पैसा पठाइदिन्छु, ल राम्रोसंग पढ है छोरी , अहिले मा जान्छु “भनेर बाबा पनि गाउँ फर्किन्छन्|

सन्ध्याको आज कलेजको पहिलो दिन बिहानीको क्लास भएकोले ५ बजे नै उठेर तयार हुन थाल्छे | कलेज र सन्ध्याको कोठाको दुरी करिव १५ मिनेटको थियो | ऊ  ६ बजेको क्लासको लागि ५:४५ मा कोठाबाट निक्लिन्छे | आफ्नो कक्षा खोज्दा खोज्दै दस मिनेट ढिला हुन्छ  | क्लासको ढोकानेरबाट “सन्ध्याले मे आइ कमिङ्ग सर ” भनेको सुनेर कक्षाका सबै विद्यार्थीहरु हाँस्न थाल्छन् | ढिला आएकोले अंग्रेजी पढाउने रबिन्द्र सरले उसलाई केरकार गरेर भित्र पस्ने अनुमति दिनुहुन्छ | पहिलो दिन एक दुईजना साथीसंग परिचय हुन्छ त्यसमध्ये काजल र बिधान हुन्छन् | यसरी नै सन्ध्याको कलेज जीवनको शुरुवात हुन्छ |

कलेजबाट कोठामा फर्केर सन्ध्या  निकै रुन्छे ,फेरि केही क्षणपछि बाबा आमाले हिम्मत नहार्नु भनेको कुरा सम्झिन्छे अनि आँसु पुछेर पढ्न बस्छे | भोलिपल्टदेखि कलेजमा ऊ समयमै पुग्छे | कक्षामा सरहरुले सोधेको प्रश्नको जवाफ ऊ सजिलै दिन्थी |  पढाइमा उत्तिकै जेहेन्दार सन्ध्या सानैदेखि शहरिया परिवेशबाट टाढा भएकीले तडक भडक मन पराउदैनथी | हिजो उसको सोझोपनमा जो जो हाँसेका थिए, उनीहरु नै अहिले उसका  साथी बन्न चाहान्छन् | विधानले त उसलाई पहिलो दिनबाट आफ्नो मन मुटुमा सजैसकेको थियो तर त्यस कुराको कसैलाई भनकसम्म पनि हुन दियको छैन |

सन्ध्याले अहिले धेरै साथी बनाइसकेकी छे ,त्यस मध्येमा काजल एक्दमै मिल्ने साथी थिई | सन्ध्या कम मात्र बोल्थी भने काजल धेरै बोल्थी | उसको फ्रेंक बानिले उसका धेरै साथी थिए, उसको धेरै केटा केटी साथीहरुसंग हाई हेल्लो चल्थ्यो | यसै क्रममा सन्ध्या पनि केही केटा साथीहरुसंग बोल्न थालेकी थिई |

सन्ध्याको पढाइ , उसको सादगीपन, सरलता र उसको सुन्दरता देखेर धेरै केटाहरु ऊसंग आकर्षित  भएका थिए | एकदिन सन्ध्याको नोट माग्ने बहानाले हिरा उसको नजिक पर्छ | उसको भित्रि मनले दिन मानेको हुदैन तर क गर्ने साथीले मागेपछि दिनै  पर्यो | दुईदिन पछि नोट कपीभित्र हिराले आफ्नो मनको कुरा लेखेर पठाएको कुरा कोठामा गएर  नोट कपी पल्टाउदा देख्छे |

भोलिपल्टै कलेज गएर हिरालाई बोलाएर भन्छे – ” हेर्नुस हिराजी हामी यहाँ पढ्न आको हो, बाबा आमाको कति सपना छ हामीमाथि, यस्तो प्रेम गर्ने उमेर हाम्रो भएको छैन , मैले तपालाई नराम्रो भन्न खोजेकी पनि होइन, मलाई गलत नसम्झनुहोला र आइन्दा मलाइ यस्तो कुनै चीज पठाउने कोशिश नगर्नु होला |”

सन्ध्याको कुरा हिराले चुपचाप सुनिरह्यो , कुनै प्रतिक्रियाबिना नै तर उसको मन भने भित्र भित्र रोएको थियो |

प्रथम बर्षको परीक्षा नजिकैदै छ सन्ध्याले निकै मेहनत गरिरहेकी छे | ओरिपरी किताब छरिएका छन् ऊ  , बिचमा  बसेर ऊ पढिरहेकी छे | यतिकैमा बाहिरबाट ढोकामा ढकढकको आवाज आउछ , ढोका खोलेर हेर्दा उसकी साथी काजल  र उसंगै अरु दुईजना केटा साथी मिराज र गणेश पनि सरप्राइज भन्दै देखा पर्छन् | उनीहरुलाई त्यहाँ देखेर सन्ध्यालाई  पटक्कै मन पर्दैन | त्यसरी केटाहरु त्यसमा पनि परीक्षाको समयमा उसलाई कसैले डिस्टर्ब गरेको मन पर्दैन |” सन्ध्या हामी तिमीसंग गणित सिक्न आएका हौ ,तिमीलाई डिस्टर्ब त् भएन ??” गणेशले भन्छ |  मन नलागी नलागी “होइन , भएको छैन ठिकै छ ” भन्छे सन्ध्या |

अब गणेश घरिघरि यो सिकाइदेउ त्यो सिकाइदेउ भन्ने बहानाले उसको कोठामा आउन थाल्यो |  एक दिन त मुखै फोडेर उसले सन्ध्यालाई प्रेमको प्रस्ताव राखी छाड्यो | त्यसपछि गणेश पनि उसंग नजिकिएको कारण उसले थाहा पाई | कसैसंग राम्रोसंग बोल्यो भन्दैमा प्रेम गरेको सोच्ने यो केटाहरुको छोटो सोच देखेर दिक्क लाग्छ उसलाई  | अबदेखि  कोही केटासंग नबोल्ने निर्णय गर्छे र  परीक्षा सकिएपछि अलि कडा घरबेटी हेरेर कोठा सर्छे |

    दोश्रो वर्षको पढाई शुरु भैसकेको छ  | बाहिरबाट ट्रान्सफ़र भयर यक जना रेशम भन्ने केटा आयको छ | उसको र विधानको दोस्ती खुब जमेको देखिन्छ| बिधानमार्फत  ऊ सन्ध्यासंग पनि नजिकिन पुग्छ |

यस्तैमा  पहिलो वर्षको रिजल्ट आउँछ ,सबैजना रिजल्ट हेर्न झुम्मिएका छन् | काजलका ग्रुपका साथीहरु सबै पास हुन्छन् भने सन्ध्याले सबैलाई जितेर टपर भयकी रहिछे | आज उसको खुशीको सिमा छैन , आफूले टप  गरेको खबर बाबा आमालाई पठाउछे | उता त्यो खबरले बाबा आमा पनि निकै खुशी हुन्छन्|

यस वर्ष उसले छात्रवृत्ति पनि पाउँछे | सरहरू पनि उसंग दंग पर्नुहुन्छ र स्याबासी दिनुहुन्छ | “सन्ध्या तिमी हाम्रो कलेजको शान हौ , अझै मेहनत गरेर अगाडि बढ, तिमीलाई हाम्रो शुभकामान छ |”

सन्ध्याको पढाइ ,स्वभाव देखेर रेशम पनि उप्रति आकर्षित हुदै जान्छ | “अब दोश्रो वर्ष पनि सिद्दिन धेरै समय छैन | त्यसैले भोलि को कहाँ जान्छ जान्छ यक पटक पिक्निक त जानु पर्छ है साथीहरु ” भन्दै काजलले सबैलाई प्रस्ताव राख्छे | सबैजनाले हो हो जानु पर्छ भन्छन् तर सन्ध्या भने मौन छे | उसलाई यस्ता पिक्निकहरुमा जान खासै मन पर्दैन | “सन्ध्या किन नाबोलिकी हँ ? जान्न भन्न पाउदिनस् है , यत्रो कलेज टप गर्ने मान्छे त जानैपर्छ| हाम्रो खुशीको लागि भए पनि प्लिज जान्न नभन है ” भन्दै काजलले जिद्दी गर्छे | साथीहरुको कुरालाई काट्न नसकेर ऊ जान तयार हुन्छे |

सबैजना खुशीसाथ रमाउदै पिक्निक जान्छन् |त्यहाँ कोही खानाको तयारीमा जुटेका छन् ,कोही पानी बोक्दै छन् ,कोही कुखुरा काट्दै छन् , कोही भने ठुलो ठुलो आवाजमा गीत घन्कायर नाच्नमा मस्त छन् | कोही फोटो खिच्न तल्लिन देखिन्छन्  बिधान भने यक्लै टोलायर  अलि पर गयर बसेको छ | ” के भयो बिधान किन यहाँ यक्लै बसेको ? हिँड जाऊँ, उता कस्तो रमाइलो भैरहेको छ भन्दै

 रेशमले हात समातेर ल्याउँछ | खान पानको काम सकिय पछि “अब यौटा खेल खेल्ने है जसलाई जे चिट्टा पर्छ त्यो गर्ने पर्छ ” भन्दै आमोदले चिट्टा बनाउछ र पालैपालो झिक्न लाउछ | पालोको क्रममा रेशमलाइ कविता भान्ने चिट्टा पर्छ अनि उसले भन्न थाल्छ –   जूनलाई वर्णन गर्न सक्दैन

                                                  मनभित्र फुटेको ज्वारभाटालाइ 

                                                  स्वर दियर व्यक्त गर्न सक्दैन ,

                                                 कल्पनामा तिमी ,सपनामा तिमी 

                                                 अक्षरले भरियका किताब होस् वा 

                                                 खाली खाली कापी नै किन नहोस्

                                                नजरले तिम्रो प्रतिम्बमात्र देख्छ यहाँ

                                                मन मष्तिस्क ढुकुर बनेर पोखिन्छ यहाँ

                                                आज म अक्षर बोल्दै भावना पोख्छु 

                                                तिम्रो सुन्दरताको वर्णन गर्दै दिल खोल्छु |

शान्त वातावारणमा यकि चोटि तालीको  गडगड आवाजले रेशम झसंग हुन्छ | भावनामा बग्दाबदै कविता सिद्दियको थाहै पायनछ उसले | त्यसैगरी काजलले चुटकिला भनेर भावुक माहोललाई यकछिन्मा  सबैलाई हँसाउछे | अब विधानलाई गीत गाउने पालो पर्छ र ऊ गाउन  थाल्छ – धर्ती कुन को आकाश जून्कै हो , मैले वाचा कसमै खाइसके जुनी जुनी मा त उनकै हो ……….| अब अन्तिममा सन्ध्याको नाच्ने पालो परेको हुन्छ | ऊ यक्लै नाच्न नमानेकोले सबैजना  यकैचोटि उठेर नाच्न थाल्छन् | पिक्निक समाप्त हुन्छ | सबैजना गाडीमा आयर आ- आफ्ना सिटमा बस्छन् | गाडीमा पनि नाच्दै गाउदै रमाउदै फर्किन्छन् |

भोलिपल्ट कलेजमा सबैजना खुशी देखिन्छन्| पिक्निकका फोटाहरु हातमा लिदै हेर्दै हास्दै गरेका देखिन्छन् | अब कलेज छुट्टि हुन जम्मा पन्ध्र दिन मात्र बाँकी छ त्यसपछि परीक्षाको तयारीमा जुट्नु पर्छ | उता विधानलाई सन्ध्यासंग छुट्टियर बस्ने कल्पनाले मात्र पनि खल्लो लाग्छ | उसंग टाढिनु नपरोस भनेर उसले  आफ्नो मनको कुरा भन्ने हिम्मत गरेको छैन | त्यसो त बिधानको सहयोगी र मिलनसार बानि सन्ध्यालाई मन नपरेको कहाँ हो र ? अरु केटाभन्दा  बिधान फरक लाग्थ्यो उसलाई |

रेशमले सन्ध्यालाई प्रेम प्रस्ताव राख्ने धेरै मौका खोजिरहेको छ | आज सन्ध्यालाई पुस्तकालयमा काम भयर कलेज छिटो आयको मौकामा छोपिहाल्यो | ऊ बसेर पढिरहेको ठाउँमा आयर ” के म यहाँ बस्न सक्छु ? तिमीलाई कुनै अफ्ट्यारो त पर्दैन ? भन्छ | “बस्नुस् न  मलाइ के अफ्ट्यारो पर्ला र “

“तिमीलाई धेरै दिनदेखि यौटा कुरा भन्न मन लागेको छ , भन्छु है  नारिसाउनु | तिमीलाई भेटेदेखि  मलाई के भयो भयो, भोक प्यास सबै हरायको छ ; जतिखेर पनि तिम्रै अनुहार आँखा अगाडि आउँछ ; म तिमीसंग प्रेम गर्छु सन्ध्या|” त्यो सुनेर सन्ध्या तीन छक पर्छे |

 ” रेशमजी मैले तपाईलाई आफ्नो दाजुजस्तै ठानेकी छु, तपाईप्रति मेरो त्यस्तो कुनै किसिमको भावना पनि छैन | दुई दिनबस उठ गर्दैमा प्रेम पनि त हुदैन नि  | अहिले मैले मेरो भबिष्यको बारेमा सोच्नेबेला भाको छ , यस्तो प्रेमको पछि लागेर  आफ्नो जिन्दगी बर्बाद पार्न चाहान्न | तपाइँ मेरो असल साथी  हुनुहुन्छ साथी नै रहनुहोस्  सरी ” भनेर त्यहाँबाट जुरुक्क उठ्छे |

सन्ध्याको कुराले रेसमको मुटु छिया छिया हुन्छ | उसलाई यकतर्फी माया कति लाचार र कम्जोर हुदो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ तर के गरोस् ऊ चाहेर पनि सन्ध्यालाई आफ्नो मनबाट निकाल्न सक्दैन|

“सन्ध्या यकछिन् , जानुभन्दा अगाडि मेरो कुरा पूरै सुनेर जाऊ | तिमी मलाई  माया गर वा नगर त्यो तिम्रो विचार हो, म तिमीलाई जबर्जस्ति गर्दिन तर मेरो मन मष्तिस्कमा बसेको तिम्रो चित्रलाई म आफ्नो मुटुको धड्कन चल्दासम्म हटाउन सक्दैन | यदि तिमीलाई कहिले मेरो मायाको अहेसस भयछ भने आउनु म तिम्रै प्रतिक्षामा बस्ने छु |तिमी नै मेरो सपना, तिमी नै मेरो कल्पना , तिमी नै मेरो जिन्दगी ,तिमी मेरो पूजा अनि तिमी नै पहिलो प्रेम हौ| तिम्रो खुशीको लागि म तिमीबाट टाढा जानु परे पनि जान्छु | म सधै तिम्रो मुहारमा खुशी देख्न चाहन्छु| “

रेशमको कुराले सन्ध्यालाई सोच्न बाध्य बनाउछ | “आखिर कसैले कसैलाई यति धेरै माया कसरी गर्न सक्छ ?त्यसमा पनि यकतर्फी | मायामा यकले अर्काको लागि घर त्यागेको , संसार त्यागेको त सुनेकी

थिएँ तर यस्तो माया पहिलो पटक देख्दै छु | साँचिकै यसलाई माया भन्छन कि पागलपन भन्छन ?  जे होस् मैले आफ्नो पढाईमा ध्यान दिनु पर्छ |”

    दोश्रो वर्षको परीक्षा दियर सबै साथीहरु छुट्टीन्छन् सन्ध्या पनि आफ्नो गाउँ फर्किन्छे |

ऊ गाउँमै भयको बेला उसको बिहेको लागि कुरा आउन थाल्छ | बाबा त अहिले आत्तियका छैनन् आमालाई चाँहि छोरीको बिहे गर्न अलि हतार भयजस्तो देखिन्छ| बढेकी अनि पढेकी छोरीको लागि बिहेको कुरा आउनु स्वाभाविकै हो| “बी ए पास नगरी जस्तो कुरा आय पनि म बिहे गर्दिन बाबा , अब फेरि यस्तो कुरा ल्याउने भयदेखि म भोलि नै शहर गैहाल्छु |”

रिजल्ट आउँछ ,सन्ध्या फेरि पनि राम्रो नम्बर ल्याएर पास हुन्छे | पढाइका लागि सहर गयर किताब, सबै तयार कापी पार्छे | उता विधानलाई पनि कहिले कलेज खुल्ला र सन्ध्याको अनुहार देख्न पाउँला भयको थियो | पढाइ शुरु भयो , करिब चार महिना पछि सन्ध्यालाई देख्न पाउँदा ऊ निकै खुशी देखिन्थ्यो |

यसरी नै दिनहरु बित्दै थिय | उनीहरुले पढ्नका लागि आफ्नो साथीहरुको समूह बनायका थिय| कहिले काहीं खाजा खान क्यान्टिनमा पनि जाने गर्न थाले | विधान लुकी लुकी सन्ध्याको क्रियाकलाप हेर्ने गर्थ्यो | जब जब सन्ध्यालाई सहयोगको आवश्यकता पर्थ्यो तब तब ऊ उसकै वरिपरी हुन्थ्यो | एउटा असल ,सहयोगी  र मिलनसार साथीको रुपमा सन्ध्याको मनमा उसले ठाउँ बनाइसकेको थियो|

पहिलो वर्षको अन्तिम अन्तिम देखि फेरि सन्ध्याको घरमा बिहेको कुरा यक पछि अर्को आउन थाल्छ |

“घरबार बाबाले पनि यक पटक हेर्दैमा के बिग्रन्छ र ? भेट गर मन नपरे हामी कर गर्दैनौ ” भन्ने खबर पठाउनुहुन्छ | कहिले कलेजमै कहिले बाहिर बोलायर सन्ध्यालाई हेर्न आउँथे | उसले कसैलाई म आफ्नो पढाइ नसकी बिहे गर्दिन भनेर टारिदिन्छे भने कसैलाई म अरुसंग प्रेम गर्छु भनेर टारिदिन्छे | दोस्रो वर्षको परीक्षा नजिक आइरहेको बेला उसलाई बिहेको तनावले बाधा पारेको हुन्छ |विधान भने अब अन्तिम वर्षसम्ममा आफ्नो मनको कुरा सन्ध्यालाई भन्छु भनेर ढुक्कै थियो |

दोस्रो वर्ष , तेश्रो वर्ष त्यसरी नै बित्दै जान्छ अब कलेज सिद्दीन दुई /तीन महिना मात्र बाँकी थियो | यस्तैमा फेरि पनि सन्ध्याको बिहेको कुरा आउँछ , तर यसपालि घर परिवारको दबाबले गर्दा उसले अस्वीकार गर्न सकिन | आखिरमा वैवाहिक बन्धनमा बाँधिनै पर्यो, उसका सपनाहरु हरायर गय |

यो खबर जब विधानले सुन्छ तब उसको खुट्टाबाट जमिन भासिय झैँ लाग्न थाल्छ , चारैतिर अन्धकारले छायजस्तो हुन्छ | जसलाई बिगत पाँच वर्षदेखि आफ्नो मन मन्दिरमा सजायर राखेको थियो आज त्यहि मान्छे अरु कसैको हुदैछ | ऊ चाहेर पनि केही गर्न सक्दैन ,लाचार र विवश छ किनभने अहिलेसम्म न त आफ्नो मनको कुरा सन्ध्यालाई भनेको छ न त उसको मनमा क छ जानेको नै छ | उसको बिहेपछि    केही समयसम्म विधान विक्षिप्त अवस्थामा पुगेको थियो | केही समयपछि मात्र उसले आफूलाई सम्भालेको थियो |

 उनीहरु टाढियर सम्पर्कबिहीन भयको दस वर्ष बितिसकेको छ | रेसमले आफ्नो पढाइ सकेर अहिले आफ्नी श्रीमती र एउटी छोरीको साथमा खुशीसाथ आफ्नो जीवन बिताइरहेको छ | ऊ जल्दोबल्दो साहित्यकारको रुपमा परिचित  छ|

विधान पढाइको लागि अमेरिका गएको प्राय  ऊ उतै बस्छ ,कहिलेकाही मात्र नेपाल आउँछ | उसले पनि आफ्नी श्रीमती र एउटा छोराको साथमा आफ्नो जीवनको पाङ्ग्रा चलायको छ |

सन्ध्या पनि दुई छोरा र श्रीमान्को साथमा सरकारी कर्मचारिको रुपमा काम गर्दै जीवन बिताइरहेकी छे |

बितेको दस वर्षमा न त रेसमले सन्ध्यालाई भुल्न सक्यो न त विधानले नै | अहिले रेसम र सन्ध्या फेस बुकका असल साथी  बनेका छन् | उनीहरु बीच सामान्य कुराकानी चलिराखेको हुन्छ |  कहिले काही मेरो संध्यासंग “मेरो मायालाई पत्याइनौ  क्यारे अहिले भनेजस्तै श्रीमान पायर खुशी छौ होला नि ” भनेर बीच बीचमा  गुनासो गर्ने गर्छ |विधानले भने  फेस बुकमार्फत सन्ध्यालाई धेरै खोज्छ तर भेट्न सकेको हुँदैन | धेरै दिन पछि आज फेस बुक चलाउँदा सन्ध्याको फोटो देख्छ , ऊ खुशीले पागल हुन्छ र तुरन्त रिक्वेस्ट पठाउँछ | ऊ आज सागरभित्रको मोति पायजस्तै खुशी देखिन्छ |

         ऊ सन्ध्याको खबर जान्न निकै उत्साहित देखिन्छ | कतिखेर एसेप्ट हुन्छ भन्दै घरीघरी फेस बुक हेरिरहन्छ | दुई दिन पछि रिक्वेस्ट एसेप्ट हुन्छ र तुरन्त म्यासेज गैहाल्छ –” हेलो”

उताबाट पनि जवाफ आउछ – “हाई”

“मलाइ चिन्यौ ?? म बिधान”

“चिने नि  किन नचिन्नु ?  संगै पढेको साथीलाई”

के छ ? कहाँ छौ? के गर्दै छौ ? घर परिवार बच्चाबच्ची सबैको बारेमा दुवैतर्फबाट सोधा सोध हुन्छ |

अब प्राय जसो फुर्दसको समयमा उनीहरु यक अर्कासंग कुरा गरिरहेका हुन्छन्  |

“तिमीले त आफ्नो सपना पूरा गरेछौ | बिहेपछि त मेरो सपना सब चकनाचुर भयो केही गर्न सकिन | तिम्रो प्रगति देखेर खुशी लाग्यो |”

“तिमीलाई एउटा कुरा भनूँ ? अब भनेर त केही अर्थ छैन तै पनि भन्न मन लाग्यो |”

“भन न के कुरा हो त्यस्तो ” अन्जान बनेर सोध्छे सन्ध्याले |

“तिम्रो बिहेभन्दा अगाडि तिमीलाई भेटेर आए पछि मेरो बेहाल भयको थियो , मैले आफूलाई कसरी संभाले त्यो मलाई मात्र थाहा छ | तिमी त खुशीसाथ बिहे गरेर गैहाल्यौ | “

“हो र ? तिमीले मलाई मन पराउथ्यौ र ? किन न भनेको त ? यत्रो दस वर्ष पछि आज आयर भन्ने हो त?”

“साँचै तिमीलाई मैले माया गर्छु भन्ने अलिकति पनि लागेन कहिले ? नढाँटि भन त|”

“उम् कहिले काँही लाग्थ्यो तर “

“के तर “

“थाहा छैन|”

“जतिखेर पनि तिम्रै अगाडि पछाडि लागेर हिँड्दा पनि अलिकति मेरो मायाको फिल भयन तिमीलाई?”

 “भय पनि के हुन्थ्यो र ? मेरो बाबासँग गयर मेरो हात माग्ने हिम्मत थियो र ?”

“किन नहुनु ? हात मात्र के के माग्ने हिम्मत थियो नि |”

“छोड अब ती बितेका कुराहरू, नेपाल कहिले आउँछौ ?”

“३/४ महिना भित्र आउँछु ,म आयपछि भेट्छौ नि मसंग |”

“भेटिहाल्छु नि”

यक हप्तासम्म उनीहरु सम्पर्कमा आउदैनन् | सन्ध्यालाई फेरि निकै गारो भयर हस्पिटल लागियको छ| विधानको मनमा शंका उपशंका उठ्न थाल्छ | उसलाई सन्ध्याको बिरामीको बारेमा केही थाहा थियन |

छ महिना अगाडि मात्र सन्ध्यालाई अलि सन्चो हुदैन | चेक गराउदा पाठेघरमा ट्युमर भयको रहेछ | अप्रेसन गरेर ट्युमर फालियो | अब सन्चो हुन्छ भनेर ढुक्क थिई सन्ध्या तर त्यो त भित्र भित्र फैलदै  गयको रहेछ|  | डाक्टरले बिदा दिइसकेको छ | अब ऊ धेरैमा तीन महिनाको मात्र पाहुना बनेकी छे | अफिसबाट पनि बिरामी बिदा लियर ऊ छ महिनादेखि घरमै बसेकी छे |

उसको श्रीमान नरेसको  उनलाई केही चिन्ता छैन| पढेलेखेका ,जागिरे मान्छे ,उमेर पनि गाको छैन जीवनसाथी जति पनि भेट्न सक्छन् | चिन्ता छ त ती नाबालक छोराहरुको , एउटा छोरा छ वर्ष ,एउटा छोरा आठ वर्षका मात्र छन् | घरीघरी आफ्ना छोराहरुलाई काखमा च्यापेर रुन्छिन | आमाको मायाबिना यी कसरी बाच्लान ? यति सानै उमेरमा टुहुरा हुने भय भन्दै भक्कानिन्छिन्, आफ्नो भाग्य देखेर रिस उठ्छ तर के  गर्नु ,नियतिसँग कसको पो जोर चलेको छ र ? उनको रेखदेख गर्न को लागि एउटी नारेसले एउटी केटी कान्छीलाई रखिदियका छन् | कान्छी अति नै असल छे , उसले आफ्नो काम इमान्दारितासंग निभायकी हुन्छे सन्ध्याका छोराहरुले पनि उसलाई निकै माया गर्छन् |

कान्छी नै सन्ध्याको दुख सुखकी  साथी भयकी छे , उसंग सन्ध्या ढुक्कसंग आफ्ना मनका कुरा खोल्छे |

” कान्छी आज तैले मसंग एउटा वाचा गर्नुपर्छ , म मरेर गय भने पनि तैँले यो घर न छोड है , नत्र मेरा छोराहरुले दुख पाउछन्| म तँ बाहेक अरुलाई विश्वास गर्न सक्दिन | म मेरा छोराहरु ढुक्कसंग तेरो काखमा जिम्मा लायर मर्न चाहन्छु , के मेरो अन्तिम इच्छा पूरा गर्छेस ? उनीहरुलाई आमाको मायाको कमि कहिल्यै महसुस हुन दिनेछैनस् भन्ने विश्वास छ मलाई| “

सन्ध्या र कान्छी अँगालो मारेर रुन थाल्छन् |

यक हप्तापछि फेरि विधान र सन्ध्याको कुराकानी सुरु हुन्छ |

“कहाँ हराको यक हप्तासम्म ? मलाइ कस्तो चिन्ता भैराथ्यो , सन्चै त छौ ? “

“उम् अलि सन्चो थियन त्यसैले तर आतिनु पर्ने केही छैन|”

“तिम्रो यता कहिले आउने फिक्स भयो ? तिमीसंग भेट्नभन्दा पहिल्यै  म यो संसार छोडेर गय भने ?”

“के भनेकी ? त्यस्तो पनि भन्ने हो ? अहिले नै मर्ने कुरा गर्नुहुन्छ ?”

“खोई तिमीसंग यक पटक भेट्न आसाध्यै मन छ मिल्छ भने छिटो आउ है |”

सन्ध्या दिन प्रतिदिन गल्दै गयकी छे, छोराहरुको चिन्ताले भित्र भित्रै खायको छ | अब उनीहरुको पहिलाको जस्तो दैनिक कुरा हुन छोड्यो आक्कल झुक्कल मात्र कुरा हुन थाल्यो | यक हप्ता पछि विधानको नेपाल आउने फिक्स भयो|  उनीहरुले यक अर्कालाई मोबाइल नम्बर आदानप्रदान गर्छन् | बिधान दस वर्षपछि सन्ध्यालाई भेट्न पाउने कुराले निकै उत्साहित छ|  सन्ध्या भने भेट्ने आशा मारिसकेकी छे |

सन्ध्याले एउटा पानामा लेखेर “कान्छी ….. ए कान्छी यता आईज त , मेरो कतैबाट फोन आयो भने वा म मरिसके पछि कुनै बिधान भन्ने मान्छे यहाँ मलाइ सोध्न आयो भने यो दिनु है” भन्दै उसको हातमा थमाइदिन्छे |

बिधान यक दिन अगाडि मात्र नेपाल आइपुगेको हुन्छ| भोलि खाना खायर यकैचोटी फोन गरेर उसलाई सरप्राइज दिन्छु अनि भेट्छु भन्ने सोच्छ | सन्ध्यालाई दुईदिन अगाडि देखि निकै गारो भैसकेको हुन्छ ,ऊ पीडामा छटपटियकी हुन्छे | यस्तैमा बिहान आठ बजेतिर उसले यो संसार छोडेर जान्छे | मान्छेहरु जम्मा भयर रोइकराइ गरेका हुन्छन् | ” कठै यी बालक त अब टुहुरा हुनेभय, बिचारीले  कति कम उमेरमै  संसार छोड्नु पर्यो” भन्ने आवाज सुनिन्छ | सबै जना आफन्त जम्मा हुँदा हुँदै बिहानको एघार  बजिसकेको हुन्छ , लास उठाउने तयारी भैराखेको हुन्छ | त्यस्तैमा  सन्ध्याको फोनमा घन्टी बझ्छ –  कान्छीले उठाउछे , “हेलो सन्ध्या …. हेलो …. म बिधान के हिजो मात्र  नेपाल आको म”

“कान्छी रुँदै भन्छे –सन्ध्या दिदी …. सन्ध्या  दिदी त”

“तिमी को हौ ? के  भयो सन्ध्यालाई ? अनि कहाँ छिन् फोन देऊ न उनलाई “

“सन्ध्या दिदीले हामी सबलाई  छोडेर धेरै टाढा जानुभैसक्यो कहिल्यै नफर्कने गरि “

यस्तो शब्द सुनेर विधान आफूलाई रोक्न सकेन  र सन्ध्याको घरतर्फ लाग्यो | उसको लास आँगनमा सुताइयको हुन्छ ,पुरै सिन्दूर अबिर फूलमालाले ढाकियको  छ , छेउमै दुई छोराहरु टोलायर बसेका छन् | यस्तो दृश्यले विधानको मन पनि थाम्न सकेन ऊ पनि रुन थाल्यो | अलि हिम्मत गरेर मुख छोपेको कपडा उठायर हेर्छ सन्ध्याको मुख देखेर झनै खपी नसक्नु हुन्छ ,अर्को तर्फ गयर रुन थाल्छ |

यस्तैमा कान्छी आयर “बिधान भन्ने हजुर हो ? ” प्रश्न गर्छे |

“हो , म नै हो किन ?”सन्ध्या दिदीले यो हजुरलाई दिनु भन्नु भाको थियो” भन्दै एउटा कागज हातमा राखिदिन्छे | त्यो कागज लियर बिधान अलि पर गयर पढ्न थाल्छ …….

 प्यारो साथी विधान ,

  मुटुभरी माया   

        दस वर्षपछि भय पनि तिमीसंग कुरा गर्न पाएँ , म धेरै खुशी छु | तिमीले जिन्गीमा अझै प्रगति गर्दै जाऊ मेरो शुभकामना सधै तिम्रो साथमा रहनेछ | जिन्दगीमा एक पटक तिमीसंग भेट्न मन थियो ,सायद भगवानलाई त्यो कुरा मन्जुर छैन जस्तो छ | म आज मेरो जीवनको साँचो कुरा भन्न जाँदैछु जुन दस वर्ष अगाडि भन्न सकेकी थिइन | हो , बिधान तिमीले मलाइ माया गर्छौ भन्ने कुरा  थाहा थियो | त्यो भन्दा पनि ठुलो कुरा मैले पनि तिमीलाई असाध्यै माया गर्थे तर कहिल्यै तिमीलाई महसुस हुन् दिइन | तिमी एउटा प्रतिभाशाली मान्छे थियौ ,तिम्रो सपना पनि ठुलै थियो त्यसैले म तिम्रो बाधक बन्न चाहन्नथे | माया भन्ने यस्तो चिज हो जसले कसैलाई बलियो बनाउछ भने कसैलाई निकै कम्जोर बनाउँछ | म तिमीलाई कम्जोर पार्न चाहदैन्थे | त्यसैले म तिमीबाट टाढा भएँ | अब मसंग समय निकै कम छ , म मर्नुभन्दा अगाडि तिमीलाई भेटेर आफ्नो सारा मनको कुरा भन्न चाहन्थे तर अब त्यो सम्भव छैन | सायद तिमी यहाँ पुग्दा मैले यो संसार छोडीसकेकी हुन्छु होला , मलाइ सम्झेर आँसु कहिल्यै न बगाउनू | भगबान्ले चाहे भने अर्को जुनीमा भेटौला | फेरि पनि तिम्रो उज्ज्वल भविष्यको कामना गर्दै बिदा हुन्छु , सधैका लागि अलबिदा ………

                                                 उही तिमीलाई सधै माया गर्ने साथी

                                                          सन्ध्या    

  त्यो पढ़ि सक्दासम्म उसको आँखामा आँसुको बाढी आईसकेको हुन्छ | कागज हुत्याउदै कसैको परवाह नगरि गयर सन्ध्याको लासलाई काखमा राखेर रुँदै  भन्छ – “हो ,सन्ध्या तिमी नै मेरो पहिलो प्रेम थियौ | म अहिले पनि तिमीलाई उतिकै माया गर्छु | तिम्रो ठाउँ अहिलेसम्म कसैले लिन सकेको छैन | यत्रो रोगले छुँदा पनि मलाइ केही भनिनौ ,यक्लै पीडा सहेर बस्यौ | तिमीलाई भेटेर सरप्राइज दिन्छु ,आफ्नो सबै मनको कुरा भन्छु भनेको तिम्रो मृत्यु नै मेरो लागि सरप्राइज भयो | आखिरमा मेरो पहिलो प्रेम अव्यक्त नै रह्यो , न त तिमीले भन्न पायौ न त मैले नै भन्न पाएँ| ” यति भन्दै गर्दा कतै टाढाबात यो गीत गुन्जिरहेको थियो ………

                            .तिमी बस्ने यो मुटुमा कसैले बास पाउने छैन,

                          पवित्र छ हाम्रो माया छुट्टीए पनि मर्ने छैन ……..