Goraksha

National Daily

दाङमा जमिन्दारहरू किन हराए ?

युवराज शर्मा

दाङ जिल्ला जमिनदारहरुको वाहुल्यता भएको जिल्ला हो । यहाँका मानिसहरुले जमिनदारहरुलाई ठूला, भद्रभलाद्मी व्यक्तिका रुपमा हेर्थे । यहाँ उनीहरु वाहेक अरु व्यक्तिहरुले जमिन खरिद गर्न पाउँदैनथ्यो । यी जमिनदारहरुमा ठूला जमिनदारहरुको शक्ति प्रशासन क्षेत्रमा ठूलो पहुँच थियो । दाङ उपत्यकाभित्र देउखुरी र दाङ पर्थे । देउखुरी उपत्यका सानो थियो भने दाङ उपत्यका ठूलो थियो । हावापानीको दृष्टिले हेर्दा दाङ समसितोष्ण प्रदेशमा पथ्र्यो भने देउखुरी उष्ण प्रदेशीय हावापानीमा पथ्र्यो । दाङ जिल्लाको पहिलो नाम ढडुवा पहाड थियो । सदरमुकाम देवीकोट थियो । पछि त्यहाँबाट सारेर सरीकोट ल्याइयो । यसरी सार्ने काम वडाहाकिमले गर्थे । तर अमिनी र माल अड्डा भने तौलिहवामा थियो । यी दुवै अड्डाहरु ढुडुवा पहाड र खजहनी स्यूराज (शिवपुर) जिल्लाहरुका थिए । खजहनी स्यूराजको सदरमुकाम बहादुरगञ्ज थियो । ढुडुवा पहाडको सदरमुकाम सरीकोट थियो । २००७ सालको क्रान्तिपछि २००८ सालमा ढुडुवा पहाड जिल्लालाई दाङ देउखुरी जिलला कायम गरियो । बडाहाकिम बस्ने अड्डालाई गोश्वारा अड्डा भन्थे । तत्कालीन बडाहाकिम झुलेन्द्र विक्रम राणाले सरीकोटबाट सदरमुकामलाई घोराही ल्याए । त्यस बेलाको अमिनी अड्डा वर्तमान जिल्ला अदालत दाङ-देउखुरी भयो । पछि त्यसलाई दाङ देउखुरी जिल्ला अदालत नामाकरण गरिएको थियो । गोश्वारा माल अड्डा, प्रहरीचौकीहरुमा ठूला जिम्दारहरुको पहुँच थियो । ती अड्डाहरुमा ठूला जिम्दारहरुले राशन-पानी पुर्‍याउने गर्थे । त्यसैले उनीहरुको पहुँच धेरै हुन्थ्यो ।
दाङका जमिनहरु दुई प्रकारका थिए । प्रथम जिम्दारी जमिन, दोस्रो रैकर जमिन । रैकरहरुले जग्गाको मालपोत जिम्दारलाई तिर्थे । आफ्नो र रैतीबाट उठाएको मालपोत, मालपोत कार्यालयमा जिम्दारले बुझाउँथे । पहाडमा मुखिया र जिम्वालहरु हुन्थे भने तराई र भित्रीमधेशमा जिम्दार र पट्वारी हुन्थे । जग्गाको दाखिला खारेज, रजिष्ट्रेशन पास र मालपोत अशुलीको काम जिम्दारहरुले गर्थे । लेखापढी र श्रेष्ता मिलाउने काम जिम्वाल वा पट्वारीको थियो । भूमिसुधार योजना २०२० पछि मालपोत कार्यालयलाई अधिकारिक अधिकार भयो । त्यस वर्षदेखि जमिनमा हद्बन्दी कायम भई खेतीका लागि २५ विगाह र घरबासका लागि ३ विगाह समेत २८ विगाहभन्दा बढी जमिनहरु सरकारले आफ्नो मातहत लियो । तर जमिनदारहरु बाठा थिए । अर्काको नाममा आफै नामसारी गरी थोरै जमिन अधिकरणमा पर्नसक्ने तथ्याड्ढ दिए । जसलाई मिथ्याड्ढ भनियो । भूमिसुधारले त्यस्ता जमिनदारहरुलाई कारवाही पनि गर्‍यो । तर कृषि फर्मका नाममा एक सय विगाहसम्म राखेका विवरणहरु जिम्दारहरुले पेश गरेका थिए । उनीहरुको कर्तुतलाई सरकारले हान्न सकेन । जमिनहरु धेरै भूमिसुधारले लागेको हरिहर गौतम बर्दियाको थियो । उनको सत्र सय विगाह थियो । आज ती जमिनहरुमा पहाडबाट आएका व्यक्तिका नाममा भूमिसुधार हाकिमले वितरण गरेको देखिन्छ । यसरी जिम्दारहरु चोइटिए, टुक्रिए, मासिँदै गए । दाङमा जिम्दारका नाति र पनातिहरुले धेरै दुःख पाइरहेका छन् । उनीहरुको अवस्था नाजुक बनेको छ । धेरै व्यक्तिहरु पहाडबाट बसाई सर्दै आए । उनीहरुले जमिनदारको जग्गा किनेका छन् । पक्की घर बनाएका छन् । गाडी किनेका छन् । कार चढेर हिड्छन् । तर जिम्दारका नाति र पनातिहरुले सार्वजनिक बसमा यात्रा गर्छन् । तैपनि विषलु सर्पले मुन्टो उठाएजस्तो गरिब र निमुखावर्गलाई हेप्छन् । भन्छन्- हामी जिम्दारका वंशज होँ । हिङ बाँधेको टालो गन्हाएजस्तै स्वरुप देखाउन पछि पर्दैनन् । त्यसकारण जिम्दारहरु हराउँदै छन् भने दाङमा भारतीयहरुको जुलाई, चेली र बुहारीहरु रातारात नेपाली नागरिक बनेका छन् । उनीहरुका हात-हातमा नागरिकता छ । तैपनि जमिनदारका वंशजहरुको फूर्ति घटेको छैन । उनीहरुले आफ्ना वंशजहरु पछाडि परेको बुझेका छैनन् । बुझाईको समस्या उनीहरुका सन्तानहरुमा छ । वास्तवमा उनीहरु शिक्षामा पछि परेका छन् भने राम्रो ज्ञान र संस्कार पाउनसकेका छैनन् । परापूर्वदेखि एकले अर्कोलाई ठग्न, सताउने, घृणा गर्ने, प्रतिशोध जस्ता काममा जिम्दारहरु अगाडि थिए । यस्ता व्यक्तिहरुले समाजमा दुर्गन्ध फैलाउँछन् । आपसी सम्बन्ध कायम गर्न सक्देनन् । त्यस्तै गरेको पाइन्छ ।
धेरैजसो दाङका जिम्दारहरु गाउँबाट हराए पनि सहर बजारमा बस्न गएका छन् । उनीहरुले ठूला-ठूला घर बनाएका छन् । बाहिरी जिललाबाट आएका व्यक्तिहरु र गाउँबाट आएका गाउँलेहरुलाई सताउने गर्छन् । यसरी हेर्दा दाङका अधिकांश जिम्दारहरु धेरै खराब प्रवृत्तिका भएको गुनासो उनीहरुका जग्गा कमाउने किसानहरुको भनाई छ । कतिपय किसानहरुको जग्गाजमिन आफ्नो नाममा नापीका समयमा गर्ने गरेको कथा र व्यथा किसानहरुको छ । जिम्दारहरुका वंशजहरुमा अहंकार र आडम्बर स्वभाव पाइन्छ । आफ्नै प्रवृत्तिका कारण दाङका जिम्दारहरु हराउँदै छन् । अहिले उनीहरुको राजनीतिक क्षेत्रमा कम मात्रामा पहुँच छ भने उनीहरुका कार्यशैली प्रभावकारी छैनन् । त्यसकारण बाहिरी जिल्लाहरुबाट बसाईसराई गरेर दाङ आएका व्यक्तिहरु राजनीति, सामाजिक, क्षेत्रहरुमा आफ्नै स्थानमा बनाउन सफल छन् । यसबाट के देखिन्छ भने दाङका जिम्दारहरुले स्थानमानका लागि आफूहरु पछि परेको आफ्नै व्यवहार र स्वभावका कारण हो भन्ने ज्ञान गर्न सकेनन् । एकअर्काप्रति व्यवहार गर्ने सीपको विकास गर्न सकेनन् । आफूलाई सामाजिक धारमा लग्न सकेनन् । कतिपय जिम्दारका छोरानातिहरु सामाजिक वातावरणमा समावेश भए पनि सरल स्वभाव देखाउन पछि परे । घोराही बजारमा आएर बसेका जिम्दारका वंशजहरुमा छिमेकीहरुबीचमा अन्तरद्वन्द्व चर्काउन सफल भए । यसले जिम्दारवर्गको स्वभाव खराब प्रवृत्तिको देखियो । यसले वंशजमा पर्न गउको ढोँगी स्वभाव हटेन, बढ्दै गयो । यसले गर्दा उनीहरु समाजोपयोगी बन्न सकेनन् ।
कुनै पनि व्यक्तिले आफूलाई सामाजिक स्वभावको बनाउन समाजोपयोगी बन्नुपर्छ । तर दाङमा बसाई सरेर अर्कौ जिल्लाबाट आएका व्यक्तिहरु हुन् वा जिम्दारका वंशजहरु हुन्, यी दुवै एकअर्काका पर्याय बन्छन् । धनको महत्व दर्शाउँछन्, ज्ञान र सीपको विकास गर्नसकेका छैनन् । यस्ता प्रकृति र प्रवृत्ति भएका व्यक्तिहरुमा आडम्बर, अहंकार, दम्भको स्वभाव हुन्छ । यिनीहरुकै पहुँच स्थानीय प्रशासन क्षेत्रमा धेरै शक्ति पाइन्छ । त्यसैले किसान र गरिबवर्गका व्यक्तिहरु धेरै हेपिन्छन्, ठगिन्छन् । हुन त नेपालमा पहुँच र सम्बन्धको महत्व बढेको छ । उनीहरुलाई ऐन, नियम र नीतिले पकड्न सक्दैन । धन पैसा भएका व्यक्तिहरु लोभी र लालची हुन्छन् भन्थे त्यस्तै वातावरण वर्तमान समयको समाजमा छ । नेता, सांसद र मन्त्रीहरु अवसरको फाइदा उठाउनेहरु धेरै छन् । सबै धनपैसा प्राप्त गर्ने काममा भुलेका छन् । जसरी दाङका जिम्दारहरु त्यस्तै काममा भुल्थे र आज उनीहरुको उभोगति हुन सकेन । त्यस्तै हुने छ मन्त्री, सांसद र धन कमाउने धन्दामा लागेका व्यक्तिहरुको अवस्था पनि । बाँच्नेहरुले देख्ने छन् ।
दाङका जिम्दारहरु २०२० सालको भूमिसुधारको जग्गा हकबन्दकिो भरमा परे भने २०५२ सालदेखि चलेको माओवादीहरुको द्वन्द्व प्रहारमा परेका थिए । यी दुवै प्रकारका झट्का भोग्नुपर्‍यो । कतिपयले ज्यान गुमाए, धनसम्पत्ति गुमाए, घरवास लुटियो । उनीहरुलाई स्थान छोड्न वाध्य बनाइयो । जेजसरी बसे उनीहरु पनि क्रमशः हराउँदै छन्, ठाउँ छोड्दै छन् ।