Goraksha

National Daily

स्तनपानको महत्व

अहिले विश्वभर स्तनपान दिवस चलिरहेको छ । यो दिवसका सन्दर्भमा सरोकारवाला निकायहरुले स्तनपान दिवसलाई हरेक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने गरेका छन् । यद्यपि बच्चालाई नियमित रुपमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा स्नतपान गराउने तथ्याङ्कले पुष्टि गर्नसकेको छैन । पश्चिमा मुलुकहरुसँगै नेपालमा पनि आधुनिकताको ढाडस तथा आफ्नै सौन्दर्यतामा आउने ह्रासमा ध्यान केन्द्रित गरी आमाहरुले नवजात शिशुहरुलाई पूरै समय स्तनपान गराउने प्रवृत्ति देखिएको छैन । कतै कामकाजी महिलाले नवजात शिशुहरुलाई व्यस्तताको कारण पनि स्तनपान गराउनुको विकल्पमा विभिन्न खाले बजारमा उपलब्ध कृत्रिम दूध खुवाउने गरेको पाइन्छ । स्तनपानको महत्व नबुभ्mदा तथा महिलाहरूको कामकाजी तथा अन्य कारणले पनि पर्याप्त मात्रामा स्तनपान गराउनेहरुको संख्या भने घट्दै गएको छ । यो मानव स्वास्थ्यकै ठूलो चुनौती पनि हो ।

स्तनपान बालबालिकाको नैसर्गिक अधिकार हुँदाहुँदै पनि यो अधिकारबाट बालबालिकाहरु वञ्चित छन् । स्तनपानले शिशुलाई पौष्टिकता प्राप्त हुने मात्र होइन, आमाहरुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्दछ । शारीरिक तथा मानसिक रुपमै पनि स्तनपान गराउने महिलाहरु बढी स्वस्थ र क्रियाशील हुन्छन् भन्ने विभिन्न अनुसन्धानहरुले समेत देखाइसकेका छन् । स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार भन्ने नारालाई आत्मसात गर्दै नवजात शिशुलाई स्तनपान गराउने अभियानमा सबैभन्दा ठूलो पाटो सचेतनाको हो । किनकि कम्तिमा ३ वर्ष स्तनपान गरेका शिशुहरुको शारीरिक र मानसिक विकासमा धेरै समस्या आउने छैन । किनकि नवजात शिशुहरुका लागि आमाको दूध साच्चै अमृत समान हो । स्तनपानले नवजात शिशुहरुमा रोग प्रतिरोधात्मक क्षमताको बृद्धि गर्ने कुरामा पनि कुनै विमति छैन । यो सन्दर्भमा आमाहरु बढी जिम्मेवार बन्नु आवश्यक छ । स्तनपानको महत्वलाई आत्मसात गर्नसके आफ्ना सन्तानको स्वास्थ्यमा समेत धेरै समस्या आउने छैनन् ।

स्तनपानका पनि विशेष आशनहरु हुन्छन्, जुन आशनमा रहेक नवजात शिशुहरुलाई स्तनपान गराउँदा आमाहरुलाई पनि आनन्दको अनुभूति हुन्छ भन्ने स्वास्थ्य विज्ञानले प्रमाणित गरिसकेको कुरा हो । नवजात शिशु जन्मेको एक घण्टाभित्र आमाको दूध पाएको बच्चा तथा त्यसपछि ६ महिनासम्म आमाको दूध वाहेक कुनै पनि खाद्य पदार्थ आवश्यक पर्ने छैन । आधुनिकताको लहडमा लागेर आफ्ना शिशुहरुको स्वास्थ्यमा समस्या आउने वातावरण सिर्जना गर्नु दुर्भाग्यको विषय हो । नवजात शिशुको उत्तम आहार आमाको दूध वाहेक केही हुन सक्दैन । शिशुको सुनौलो भविष्यका लागि पनि स्तनपान गराऔँ ।