सरकार, न्याय र राजनीति
सुभाष न्यौपाने
बस्ती डुवान बाढीपहिरो बढिराछ देशमा ।
कोरोनाको महामारी बढ्यो उग्र रुपमा ।।
नेताजी र मन्त्रीजीको बासना श्रीखण्डको ।
आसेपासे सपना देख्छन् आलिशान महलको ।।
औषधोपचार भाँडमा जाय जनता मरुन् जति ।
विकासका नामको खेती गरियो कति-कति ।।
जुनसुकै तरिकाबाट भए पनि जनजीवन र राष्ट्रिय हित र अस्तित्वमा असर नपर्ने गरी कुनै पनि मुलुकमा सञ्चालनमा ल्याइने विकास निर्माणका कार्य, नागरिकको स्वास्थ्य, शिक्षा र सुरक्षाका साथ मुलुकमा चलाइने गतिविधिहरु लोकतान्त्रिक गतिविधिहरु हुन् । यी पद्धतिहरुलाई सही मार्गमा हिडाउनको लागि निर्दिष्ट गर्ने निकाय या संयन्त्र त्यस देशमा अस्तित्वमा रहेको राजनीति हो ।
जब मुलुकमा राजनीति अराजक बनेर जान्छ र असंवैधानिक बाटोबाट अगाडि बढ्न खोज्छ त्यसपछि उक्त मुलुकमा रहेका या गठन भएको सरकार न्याय र सुरक्षालगायतका सबै राष्ट्रिय अस्तित्वको जगेर्नाको निमित्त चलायमान रहेका सबै संरचनाहरुमा उच्छृंखलता आउन थाल्छ ।
यसरी सरकार जनताप्रति उत्तरदायी हुने कुरालाई बिर्सन थाल्छ । आफ्ना भाइ, भाइदारहरुलाई योग्यताको आधारमा नभई नाताको निकटता र प्रभावकारितालाई हेरेर विशेष ओहदा र जिम्मेवारी प्रदान गर्ने प्रचलन बढ्छ ।
दुई खुट्टामा टेकेर अगाडि बढेको न्याय, अन्यातर्फ अगाडि बढ्न खोज्यो भने सवलाङ्ग कानुनलाई विकलाङ्ग बनाउनै पर्छ । यसरी राष्ट्र र राष्ट्रियतामाथि धावा बोल्दै सरकार न्याय र राजनीति अगाडि बढ्न खोज्यो भने देश र दुनियाको अवस्था के होला ? हो ठीक त्यही परिस्थिति मुलुकमा सिर्जना हुन गइरहेको छ ।
मुलुकको राजनैतिक अकर्मण्यताले नै सरकार जनताप्रति उत्तरयादी बन्न सकिरहेको छैन । जसले जतिसुकै गफ गरे पनि राजनीतिक अनुत्तरदायी गतिविधिको कारण मुलुकभित्र सञ्चालित स्वास्थ्य, शिक्षा, न्याय, सुरक्षा तथा प्रशासनका सबै निकायहरु किमकर्तव्य विमुढ छन् ।
उनीहरुलाई जसले प्रभावमा पार्यो उसैले मुनाफा लिनसक्ने गतिविधिहरु उनीहरुबाट सञ्चालित हुन्छन् । किनभने यतिबेला उनीहरुलाई थाहा छ कि सरकार आफै आफूले खनेको खाल्डोको हिलोमा फसिरहेको छ । त्यसैले सरकारको नाममा सञ्चालन हुने सबै जसो निकायहरुलाई न त सरकारको भर छ न त सरकारको डर छ ।
उनीहरुलाई थाहा छ हामीलाई यस्तो सरकारले के गर्छ, सामान्यतया कांग्रेस, कम्युनिष्टको राजनीतिसँगै सबै नेपाली जनतालाई कुनै मतलव छैन । तर उनीहरुको राजनैतिक गतिविधि र उनीहरुले गर्ने अराजकपूणर् व्यवहारले मुलुकको विकास निर्माणलगायत शिक्षा, स्वास्थ्य र सुरक्षा आदि विषयमा प्रभाव पार्ने भएकाले जनताले राजनीतिक दलहरुको बीचमा रहेको आपसी खिचातानी तथा तिनै दलहरुद्वारा गठित नेपालको सरकार गलत मार्गलाई नपछ्याओस् भन्ने चाहन्छन् ।
त्यसैले सबै नेपालीको ध्यान नेपाली राजनीति र नेपाल सरकारको गतिविधिप्रति ध्यान गएको छ । सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दल दुवै आ-आफ्नो संगठनभित्र र सरकारसम्म आपसमा एकअर्कालाई ठग्ने र ढाँट्ने प्रकृतिको विकास गरेर अगाडि बढ्दै गरेको देख्दा नेपाली जनता अलि दुःखी छन् ।
सत्ताधारी दल दलका नेताहरु सरकार र दलको नेतृत्वको निम्ति लुछाचुँडीमा छन् भने प्रमुख प्रतिपक्षी दल पनि त्यो चरित्रबाट किन विमुख हुन्थ्यो । उसका नेता भन्नेहरु पनि ठगठाग गर्दै कार्यकर्ताको आँखामा छारो हाल्दै एकअर्कालाई दोष लगाउँदै अगाडि बढिरहेका छन् ।
त्यसैले मुलुकमा न्याय, सुरक्षा र विकास निर्माणका लागि सबैभन्दा पहिले नेपाली राजनीति, गैरसंवैधानिक बाटोमा अराजक तरिकाले हिड्नु भएन । जसले गर्दा राज्यले आफ्नो गन्तव्य पहिल्याउन अलि गाह्रो हुन्छ अनि राज्य सञ्चालकहरु अराजकतातर्फ अगाडि बढ्न उद्यत हुन्छन् । जसको कारण मुलुक भड्खालोमा जानसक्छ । जुन अवस्थाको अहिले नेपालीले भोगिरहनुपरेको छ । हेर्नुस् ! यही त हो नि अराजकता भनेको ।
कानुनलाई चुनौती दिँदै अन्यायबाट मुनाफा लिन न्याय अगाडि बढिरहेको छ । सुरक्षालाई चुनौती दिँदै हत्या, हिंसा र बलात्कारका घटनाहरु शृंखलाबद्ध रुपमा बढिरहेका छन् । जनस्वास्थ्यको बारेमा सरकारले कहिले पिसिआर गर्नु पर्दैन भन्छ त कहिले संक्रमण बढ्न थाल्यो भन्दै जनतालाई देखाउन स्वास्थ्य सुरक्षाको लठ्ठी देखाउँछ । कहिले लकडाउन खुकुलो बनाउने, खुला गर्ने भन्छ कहिले लकडाउन गर्ने र बढाउने कुरा सार्वजनिक गर्छ ।
यस्तो हुनुको कारण नै सरकार र राजनीतिका सबै जिम्मेवार तहका पदाधिकारीहरुले आफ्नो दायित्वलाई बिर्सनु हो । अघि, पछि जेसुकै भए पनि मुलुकमा संकट पर्दा संगठनभित्रका खिचातानीहरु गौण रहन्छन् । तर हाम्रो लोकतान्त्रिक मुलुकमा त जब-जब संकट उत्पन्न हुन्छ तब-तब मुनाफाको क्याल्कुलेटर चल्न थाल्छ ।
जनता बाढी, पहिरो र कोरोना महामारीको चपेटामा परिरहँदा सत्ताधारी दलका नेताहरु हाम्रो पार्टीमा ठूलै ध्वजा फाटिसक्यो । अब यो जोडिने र टालिने अवस्थामा छैन भन्छन् नेकपाका इतर समूहका नेताहरु । उता नेकपाको सरकार पक्ष तथा नेकपाका क्याप्टेन नै भन्छन्- मैले कुनै पदमा राजिनामा गर्दिन जुन-जुन पदमा राजिनामा गर्ने हो तपाई नै गर्नुस् भन्ने जवाफ आफ्नो अर्को क्याप्टेन क्याप-नाइन समूलाई दिइसके ।
अब हेर्नुहोस् उनीहरुको यो लडाई न युद्ध न शान्तिमा चलिरहेको छ । जनतालाई भने यसमा भ्रान्ती छ । उनीहरुलई जनताको बारेमा सोच्ने र गर्ने फुर्सदै छैन । उनीहरु सधैँ जनतालाई अल्मल्याउँदै गाईजात्रामा रमाइरहेका छन् । उनीहरुलाई न त कोरानाको कहर छ न त भोकै मर्ने डर छ ।
अर्को प्रमुख प्रतिपक्ष भन्ने राजनीतिक दल वीपीको नाम मनमनै जपेको छुँ भन्छ सुतेकै छ । उसलाई पनि जनताको बारेमा सोच्ने फुर्सदै छैन । अहिले अलि-अलि उठेको जस्तो देखिन्छ । त्यो पनि शेरबहादुरले सबै खाइसक्न लागे भनेर ।
महामन्त्री अब पार्टी कार्यालय दिनहु जाने रे । खोसिन लागेको भाग जोगाउन । सरकारको क्रियाकलापको अध्ययन गर्न र प्रतिपक्षको भूमिका निर्वाह गर्न होइन । जनताले आशा गरेको यिनैको हो, यिनैको भर छैन ।
गुण्डामा पनि नैतिकता हुन्छ तर प्रचण्डमा त्यति पनि नैतिकता देखिएन भन्ने बामदेव गौतम मीठो खाने नेताको रुपमा चिनिन्छन् । हिजोको एमालेका महाधिवेशनमा प्रधानमन्त्री केपी ओलीका मुख्य सहयोगी र भक्तको रुपमा चिनिने बामदेव गौतम नेकपा बनिसकेपछि उनै नैतिकता नभएका नेता प्रचण्डको गुटमा सहभागी हुन पुगे र पदाधिकारीको बैठक हुँदाका बखत प्रधानमन्त्री ओलीलाई तपाईँले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा गर्नुपर्छ भनेर औँला ठड्याउँदै यदि राजिनामा नगरे हामी वहुमतको निणर्यबाट तपाईँलाई फाल्छौँ भन्दै चेतावनी दिने नेता काम्रेड बामदेव गौतम केही दिन पहिले प्रधानमन्त्री ओलीसँगको एकलसम्वाद पश्चात निःशब्द बन्दै आएका थिए ।
चर्चा त थियो बामदेवले श्रीमती तुलसालाई मन्त्री बनाउने वार्गेनिङमा निःशब्द बनेका हुन् भन्ने । उक्त विषय अस्ति पुष्टि भयो, उनले प्रचण्डसँगको एकल सम्वादमा भने रे अब म पार्टी एकताको पक्षमा छुँ । साना-ठूला कुनै गुटमा छैन भन्ने जवाफ दिए रे । उनी एउटा यस्ता नेता हुन्, नेकपाभित्रका, उनको सबै ठाउँमा उपस्थिति र पहुँच हुनुपर्ने तर आफ्नो बुताले होइन ।
सरकारले केही दिन पहिले नियुक्ति गरेका लगानीको प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट सुन्नमा आएअनुसार नेकपाका नेता बामदेव गौतम निकट एक विचौलिया समूहका सदस्य हुन् रे । भट्टको नियुक्ति प्रक्रियाप्रति नेकपाका नेताहरुबाटै विरो भइरहेको भए तापनि प्रधानमन्त्री ओलीले उनलाई नियुक्त गरिसकेपछि अब गरिने विरोधले उनको अर्थात् भट्टको गतिविधि र प्रवृत्तिको बारेमा आम नागरिकले जानकारी प्राप्त गरे पनि नियुक्ति बदर हुने सम्भावना भने छैन ।
के सरकारलाई अर्थात् ओलीजीलाई थाहा थिएन भन्न मिल्छ ? कुनै पनि व्यक्तिलाई राज्यले कुनै पनि निकायको प्रमुखमा नियुक्ति गर्दा उसको बारेमा जानकारी नपाइ त पक्कै गरिँदैन । नियुक्तिकर्ताले पनि सबै कुरा बुझेर गरेका छन् । आजको नेकपा भित्रको युद्धलाई मत्थर पार्नकै निमित्त प्रधानमन्त्री ओलीले गरेको यो नियुक्तिले प्रष्ट पारेको छ ।
त्यसपछि आफूलाई प्रभावशाली नेताको रुपमा उभ्याउन खोज्ने नेता बामदेव गौतमको मुख बन्द भएको छ । सरकारले आफ्नो गुट बलियो बनाउनका निमित्त प्रयोग गरेको यी अवयवहरु राष्ट्रघाती त पक्कै हुन् । जसको कराण सरकार र राजनीतिक दलमा व्यक्ति आफू बलियो त बन्न सक्ला तर राष्ट्र चाहिँ बलियो बन्न सक्तैन । यसको असर नेताहरुलाई होयन जनस्तर अर्थात् जनसाधारणले दुःख पाउने अवस्था आउँछ ।
जुन सरकारले मुलुक र नागरिकको बेवास्ता गरेर अगाडि बढ्न खोज्छ त्यो गैरन्यायिक गतिविधि हो, असंवैधानिक गतिविधि हो, अराजक गतिविधि हो । यी कुरालाई गलत सावित गर्न संविधानको धारा नै बोलिरहनु पर्दैन । जनता आफै बोलेर या उठेर सार्वजनिक रुपमा यी गतिविधिको विरुद्धमा उत्रिनलाई कुनै संविधानले लेखिरहनु पर्दैन ।
नेपाली जनता त साच्चिकै जनार्दन हुन् । यदि नेतृत्वकर्ताले आफूलाई सच्याउन चाहेनन् भने जनतारुपी जनार्दनले आफ्नो सुदर्शनचक्र प्रयोग गर्न सक्छन् । सुदर्शनचक्रको विशेषता पनि छ, जुन अस्त आफ्नो ढोक्रोबाट निस्किएपछि आफ्नो जिम्मेवारी पूणर् नगरी आफ्नो ढोक्रोमा फर्कंदैन रे ।
दुनियाले भ्रष्टाचारी र विचौलिया भन्नेहरुलाई ओहदामा पुर्याउने ओली सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले घुस, भ्रष्टाचार नगरेर के गर्ने ? उनका आसेपासेहरु त हाम्रो लोकतन्त्रमा सबैभन्दा बढी घुस्याहा र भ्रष्टाचारी भएको प्रमाणित भइसकेको छ । बरु पञ्चायतकालमा यस्तो सञ्जालयुक्त भ्रष्टाचार हुँदैनथ्यो ।
यदि कसैको दोषी प्रमाणित भएमा दरबारका भक्तहरुलाई पनि हत्कडी लागिेको हामीले देख्यौँ । लोकतन्त्रमा त त्यसरी सार्वजनिक ओहदामा नियुक्ति गरिने व्यक्ति त सार्वजनिक बहसको विषय बन्नुपर्छ । यहाँबाट माझिनसके भने मात्र उनीहरु ओहदामा वहाल हुनलायक हुन्छन् ।
जबसम्म यो मुलुकमा राजनीति र राज्यले असंवैधानिक तथा अराजक मार्गबाट दल र देश हाँक्न खोज्छ तबसम्म मुलुक समृद्ध पनि बन्न सक्तैन । मुलुकवासी सुखी पनि बन्न पाउँदैनन् । त्यसैले जुनै मुलुकमा पनि अशान्ति र आक्रान्तले सताइरहन्छ । जबसम्म मुलुकको राजनीति राज्य र न्यायले जनता र कानुनको विरुद्धमा बहस तथा कार्यान्वयन गतिविधिलाई अराजक ढङ्गले अगाडि बडाउन खोज्छन् ।
राज्य सञ्चालकहरु अकर्मण्य बने भने कुनै पनि मुलुकले केही गर्न सक्तैन । नक्साको लिपुलेक र पुर्जाको सुस्ता महेसपुर उस्तै हो । परराष्ट्र समस्यालाई सहज सफल बनाउनको निमित्त सफल कूटनीति प्रयोग गर्नुपर्छ । हाम्रो देशमा त परराष्ट्र समस्या समाधान गर्न क्रोध नीति र उपन्यास, चुट्किलानीति प्रयोग गरिन्छ ।
अन्त्यमा के पनि हो भने जुन देशको राजनीति, विदेशनीति तथा अर्थनीति र न्याय सुरक्षाको नीतिले एउटा सपनाको आधारमा निणर्य गर्न र अगाडि बढाउन खोजे भने यो मुलुक यथार्थ गन्तव्यतिर गइराखेको हुँदैन । कुनै पनि अवस्थामा दुर्घटनाको खाल्डोमा पर्नसक्छ । त्यसैले मुलुकको राजनीति र राज्य अकर्मण्य रहँदासम्म मुलुकमा साधन, स्रोत जति भए पनि सफल भने हुँदैन ।
