Goraksha

National Daily

संक्रमण जोखिमका परिदृश्यहरू

भूवन पोख्रेल

नेपालमा सुरुमा देखिएका कोरोना संक्रमितहरु लक्षणविहीन थिए । अहिले लक्षणसहितका संक्रमितहरु थपिएका थप्यै छन् । पछिल्ला दिनमा मृत्यु दर पनि बढेको छ । संक्रमण दर घट्न सकेको छैन । कोरोना संक्रमणको हटस्पट बन्न पुगेका क्षेत्रमा कतै लकडाउन र कतै निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको जोखिम समुदाय स्तरमा पुगिसकेका कारण भोलिका दिनहरु झनै जोखिमपूर्ण बन्ने देखिन्छ । पछिल्लो समयमा काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

संक्रमितको संख्या बीस हजार नाघिसकेको छ । कोरोना संक्रमणको जोखिम बढेकाले आम नागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने र आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ । सरकारले पनि थप सावधानी अपनाउँदै र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्नु पर्छ । सरकारले बेलैमा सर्तकता अपनाउन नसक्दा संक्रमणको जोखिमपूर्ण अवस्था निम्तिएको हो । सरकारले लकडाउन लगाउने र खोल्ने कामले मात्र जोखिम घट्ने होइन ।

संक्रमणको बाढी भारतबाट उर्लिएको छ, यसको छालले नेपाललाई पनि भेटिरहेको छ । अहिले अवस्था निकै चिन्ताजनक बन्न पुगेको छ । सरकारले नागरिकको बानी परिवर्तन गर्न र परीक्षणको दायरा बढाउनसकेको छैन । लकडाउन खुलेपछि बाहिर निस्कनेहरुले सावधानी नअपनाएको, मास्क नलगाएको रेगुलर हात साबुन–पानीले नधोएको देखिन्छ । फिजिकल डिस्ट्यान्स पालनामा लापरवाही देखिएका कारण संक्रमण फैलिएको छ । सरकारले बन्दाबन्दीको अन्त्य गरेको घोषणासँगै निद प्रतिदिन संक्रमित बढ्न थालेका छन् ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प छ भने मूल्य बृद्धिले आकाश छुँदै छ । करोडौँले रोजगारी र व्यवसाय गुमाएका छन् । महामारीबाट छुटकारका पाउने कुनै उपाय छैन । लकडाउन हटे पनि त्यसको परिणाम सकारात्मक छैनन् । महामारी भयावह बन्दै गइरहेको छ । जनताको लापरवाही र परीक्षणको सुस्त गतिका कारण महामारी नियन्त्रण बाहिर पुगिसकेको छ । मुुकमा लकडाउन अन्त्य हुनुको अर्थ सम्पूर्ण परिस्थिति पुरानै अवस्थामा फर्कनु थिएन ।

स्थितिको गम्भीरतालाई सरकारले पनि कम आँकलन गरी नागरिकलाई सचेत तुल्याउन सकेन । सरकारले जनसाधारणलाई राम्रोसँग बुझाउन सकेन । नागरिक आफैले पनि परिस्थितिको गम्भीरतालाई मनन् गर्न चुके । लकडाउन अत्यपछिका परिदृश्यहरु थप जटिल र चुनौतीपूर्ण बन्दै गइरहेका छन् । यो असामान्य अवस्थासँग मुकाबिला गरी संक्रमणलाई नियन्त्रण बाहिर जान नदिनु सरकारका लागि अहिलेको ठूलो चुनौती बन्न पुगेको छ । सरकारको सक्रियता पनि बढेको देखिँदैन भने नागरिकले पनि उत्तिकै सावधानी अपनाउन सकिरहेका छैनन् ।

पछिल्लो समयमा नागरिकसँग अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने सुरक्षाकर्मीलगायत घनाबस्ती भएका सहरी क्षेत्र संक्रमणको मारमा परिरहेका छन् । लकडाउन अन्त्य गरेलगत्तै सरकारले अपनाउनुपर्ने रणनीतिमा अहिले चुकेको देखिन्छ । अवस्थालाई कसरी आफ्नो काबुभित्र राख्ने भन्ने रणनीति सरकारसँग रहने छ । लामो समयको लकडाउन मुलुकले पक्कै थेग्न गाह्रो विषय थियो तर ह्वात्तै टुङ्ग्याउनु अघि सरकारले नागरिकलाई मानसिक रुपमा तयार पारी चरणबद्ध रुपमा अघि बढ्नुपर्ने थियो ।

सरकारको त्रुटि भनेको लकडाउन किन लगाउनु परेको थियो र अहिले किन खोल्न जाँदै छौँ भनी आम नागरिकलाई बुझाउन नसक्नु हो । एउटा निश्चित विन्दुमा लकडाउन अन्त्य हुनुपर्ने त वाध्यात्मक परिस्थिति थियो तर धेरैमा कोरोना संक्रमण सकिएको भ्रम पर्न गई समस्या थप जटिल बन्न पुगेको हो ।

सरकारले नागरिकलाई सतर्कता बनाउने ठाउँमा उल्टै उच्च पदस्थ व्यक्तिहरु नै समूहमा मास्क नलाई छलफलमा संलग्न भएका परिदृश्य सार्वजनिक भए । सरकारी निकायका उच्च पदाधिकारीले आफूहरुको असावधानीका कारण नजिकै रहेको व्यक्तिलाई असर पर्नसक्छ भन्ने मात्र नभई यसको असर आम जनतामा कस्तो पर्नसक्छ विचार पु¥याउन नसकेको देखियो ।

अगुवा व्यक्तिहरुबाटै नियम पालना नभएपछि आम नागरिकमा कस्तो छाप पर्ला वा नागरिकलाई कसरी नियम पालना गराउन सकिएला र ! जनताले अनुकरणीय मानेका व्यक्ति र सर्वसाधारण भाइरसले उच्च ओहदाधारी भनेर छुट दिँदैन । राज्यको नेतृत्वदायी तहमा बसेका व्यक्ति अझ सतर्क बन्नुपर्छ । किनभने उनीहरुले सन्देश प्रवाह गरिरहेका हुन्छन् ।

मास्क नलगाई सार्वजनिक स्थलमा हिडडुल गर्ने आम नागरिकलाई सरकारले जरिवाना गरिरहँदा उच्च पदस्थ व्यक्तिहरु मास्कविहीन देखिनुले कस्तो घातक स्थिति रहेछ छनक पाउन सकिन्छ । सबैले आफ्ना बानी, व्यवहार सुधार गर्नतर्फ लाग्नुपर्छ नत्र उच्च पदस्थ व्यक्ति नै गैर जिम्मेवार भएको ठहर्छ । मुलुकका केही स्थानमा पुनः लकडाउन र निषेधाज्ञा जारी गरिएको छ ।

परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसिङको दर बढाउन नसके स्थिति नियन्त्रण बाहिर जानसक्छ । मुलुकै फेरि ठप्प अवस्थामा नजाला भन्न सकिँदैन । अहिले लामो दूरीको सवारी साधन नचले पनि कुनै न कुनै रुपमा संक्रमित भेटिएका स्थानबाट अर्को स्थानमा आवागमन बढेको छ । अनियन्त्रित आवागमनले ठूलो जोखिम निम्त्याउन सक्छ ।

लामो दूरीका सवारी साधन सरकारले भदौ १ गतेदेखि खोल्ने भनिए पनि सरकारले जिम्मेवार भई निगरानी गर्न सक्ने देखिएन । छोटो दूरीको सवारी साधन खुले लगत्तै भाडा दर बढेको छ तर सिटभरि टन्नै यात्रु कोचेर सामाजिक दूरी कायम नराखी गाडी चलाएका छन् । यसको अनुगमन पाटो फितलो भएको छ । सरकारको अनुगमनकारी निकाय मौन छ । भाडा दर बढी तिर्नुपरेपछि एउटा सिटमा एकजना मात्र यात्रु राख्नुपर्नेमा संक्रमणभन्दा पहिलेकै स्थितिमाझैँ यात्रु कोचेर राख्ने गरेको देखिन्छ ।

सरकारले संक्रमणका कारण मृत्युदर बढिरहँदा स्वास्थ्य पूर्वाधार मजबुत बनाउनेतर्फ ध्यान पु¥याउन सकेको देखिँदैन । सरकारी अस्पतालको दूरदशा र यसको फितलो व्यवस्थापनतर्फ सरकारले ठोस पहल कदम चाल्नसकेको देखिँदेन । सरकारले आज गरिएका हेलचक्राइको भोलि महँगो मूल्य चुकाउनुपर्ने छ । सरकारसँग प्रशस्त समय थियो तर हेलचक्राई देखिएको छ । छिमेकी मुलुक भारतमा संक्रमण आकासिइरहँदा सीमानाकामा पूर्ण रुपमा कडाई हुनुपर्छ । बदलिएको परिस्थितिमा चल्न सरकारले ठोस रणनीति चाल्नुपर्छ र यसमा नागरिकले पनि आ–आफ्नो तर्फबाट साथ दिनुपर्छ ।

सरकारले लकडाउन हटाएसँगै मठमन्दिरमा चहलपहल बढ्न थालेको छ । सुनसान अवस्थामा रहेका मन्दिरमा भक्तजन तथा दर्शनार्थीहरु बढ्न थालेका छन् । विस्तारै मान्छेहरुले पहिलेको अवस्थातर्फ फर्कन खोजिरहेका छन् । यसलाई झन खतरापूर्ण मान्नुपर्छ । कोरोना संक्रमणको जोखिम दिनानुदिन बढिरहेका बेला प्रधानमन्त्री, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, सांसद, सेना, प्रहरकिा उच्च अधिकारी, सरकारी निकायका उच्च तहका व्यक्तिले समूहमा समेत मास्क नलगाएको देखिएको छ ।

सर्वसाधारण नागरिकका लागि मास्क अनिवार्य लगाउनुपर्ने र नलगाए जरिवाना गर्ने सरकारको नीतिलाई यसले फितलो सावित गरेको छ । मास्क लगाए पनि सही तरिकाले नलगाउने र बोल्दा मास्क खोल्ने गलत बानी व्यवहारले संक्रमणको जोखिम बढी हुन्छ । ठूला बडाले नै मास्क नलगाउँदा आम नागरिकमा गलत छाप पर्छ ।

मास्क लगाए पनि निउँडो, गर्धन, कानमा झ्न्ड्याउने गरेको देखिएको छ र सही प्रयोग गरेको देखिएको छैन । सबैले सिको गर्ने ठूलाबडा नेताहरुले मास्क सही तरिकाले नलगाए सामान्य व्यक्तिको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ । अहिले संक्रमित देखिएकाहरुको इतिहास खोज्दा मास्क सही तरिकाले नलगाएको र लापरवाही गरेको भेटिएको छ । मुलुकमा आम व्यक्ति मास्क लगाउनैपर्ने कुरामा अझै सचेत देखिएका छैनन् ।

कोरोनाको खोप नबनेसम्म नाक मुख छोपिने गरी माक्स अनिवार्य लगाउनुपर्ने देखिन्छ । व्यक्तिले सामान्य बोलचाल गर्दा समेत मुखबाट भाइरस निस्किरहने चिकित्सकहरु बताउँछन् । तसर्थ बोल्दा झन अनिवार्य रुपमा माक्स लगाउनु पर्छ । सानो कोठा, सार्वजनिक ठाउँमा झन मास्क नलगाई हिडडुल गर्न मिल्दैन ।

माक्सको प्रयोगमा बढी सजग बन्न नसिके संक्रमण फैलने सम्भावना झनै बढेर जानसक्छ । कोरोना विरुद्धको लडाईमा सफल बन्न अनिवार्य मास्कको सही प्रयोग गर्नुपर्छ । मास्क कसरी लगाउने र कसरी खोल्ने भन्ने तरिका समेत कतिपयलाई थाहा नभएको देखिएको छ । मास्कको बाहिरी भाग हातले छुनु हुँदैन । सर्जिकल मास्क भिजेपछि यसको सुरक्षात्मक तह नष्ट हुने भएकाले पुरानै मास्कलाई दोहो¥याएर प्रयोग गर्न नमिल्ने हुन्छ ।

कतिपयले सर्जिकल मास्कलाई पानीले सफा गरेर पुनः प्रयोग गरेको पनि पाइन्छ तर सर्जिकल होइन सुती कपडाको तीन तहबाट बनेको मास्क दिनहुँ साबुन पानीले धोएर राम्ररी सुकाएपछि पुनः प्रयोग गर्न सकिने डाक्टरहरुले बताएका छन् । सुती कपडाबाट बनेको तीन तह भएको मास्कले सार्वजनिक स्थानमा कोरोना भाइरसको प्रसारलाई कम गर्न मद्दत गर्छ ।

त्यसर्थ कोरोना भाइरसको संक्रमणलाई समुदाय स्तरमा जानबाट रोक्न सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कने, भल्भ भएको मास्क नलगाऔँ र सुरक्षात्मक उपाय अपनाऔँ ।