सेवारहित आइसियु
दशकौँदेखि स्तरीय स्वास्थ्य सेवाको लडाइँ लडिरहेका दाङले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । निजी क्षेत्रमै स्टाफ नर्स र अन्य प्राविधिक जनशक्ति उत्पादनका शैक्षिक संस्थादेखि प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको दायित्व समेत पाएको छ । स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउनुपर्छ भन्ने समस्त दाङबासीको एउटै आवाजले केन्द्रीय सरकारलाई समेत वाध्य पारेको अवस्थामा यहाँ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत गठन भयो । प्रतिष्ठान गठनसँगै दाङ जिल्लाले स्वास्थ्य समृद्धिमा अर्को फड्को मारेको भन्दै घर–घरमा दीपावलि समेत भए र प्रतिष्ठानलाई स्वागत गरियो । अन्ततः प्रतिष्ठान सञ्चालनमा आयो । त्यसै परिप्रेक्षमा प्रतिष्ठानमा प्रयोगशाला पनि आधुनिकीकरण भयो । विशेषज्ञ चिकित्सक पनि केही विधाका आउन थाले । त्यससँगै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको व्यवस्थापन र उपचारमा पनि प्रतिष्ठान तयार भयो । एक सातामै दश बेडको आइसोलेशन वार्ड पनि निर्माण भयो । दुई–दुईवटा पिसिआर मेसिन जडानसँगै आइसियु मेसिन पनि जडान भए । सेवा सञ्चालनको उद्घाटन मुख्यमन्त्री शंकर पोख्रेलले गरे । तर यथार्थमा दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र होइन, कुनै पनि सरकारी र निजी स्वास्थ्य संस्थामा आइसियु सेवा उपलब्ध छैन ।
समय सुहाउँदो प्रविधिमा स्वास्थ्य संस्थालाई पनि स्तर बृद्धि गर्दै लैजानुपर्छ भन्ने आम नागरिकको चाहना हो । त्यसमा सबै राजनीतिक दल र सत्तासिन पार्टीले विशेष भूमिका निर्वाह गर्नु पर्दछ भन्ने पनि विश्वव्यापि मान्यता हो । तर गठन प्रक्रियासँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कहीँ न कहीँ अल्झाउने र अल्मल्याउने खेलमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार लागेको स्पष्ट देखिन्छ । किनकि त्यो अवस्था अहिले छताछुल्ल भएको छ । एक पैसा पनि आन्तरिक स्रोत नभएको अवस्थामा त्यहाँ जडान भएका पिसिआर मेसिनले पूरै क्षमता अनुसार परीक्षण गरिरहेका छैनन् अनि आइसियु मेसिन देखाउन हात्तीका दाँतजस्तै भएका छन् । यहाँका विरामीहरुले आइसियु सेवा लिन पाएका छैनन् । सबै प्रक्रिया पूरा नहुँदा समस्या भएको अस्पताल प्रशासनले आइसियु मेसिन उद्घाटन भए पनि अक्सिजन प्लाण्टको बार्गेनिङ गर्न वाध्य भएको छ ।
तुलसीपुर प्रादेशिक अस्पतालको अवस्था झनै दुर्भाग्यपूर्ण अवस्था रहेको छ । कोरोना विरामीको उपचारका लागि भनेर त्यहाँ जडान भएका आइसियु मोनिटर र भेण्ट्रिलेटरहरु कुन प्रक्रिया मिलाएर लगिएभन्दा पनि कोरोना विशेष अस्पतालमा भर्ना भएका बिरामीले त्यो सुविधा नपाई किन रिफर गरियो ? भन्ने अर्को लज्जास्प्रद सन्दर्भ पनि छ । तर प्रशासनले यो विषयमा केही बोल्न चाहेको छैन । त्यससँगै प्रादेशिक अस्पतालमा आएको सिटी–स्क्यान मेसिन पनि विरामीको सेवाका लागि हो वा कमिशनका खेलका कारण हो ? भन्ने विषयमा पनि अस्पताल प्रशासन र प्रदेश सरकारले बोल्नु आवश्यक छ । मेसिन जडान हुनु उत्साहको खुशियाली होइन, सेवा पाउनु सबैभन्दा ठूलो कुरा हो । त्यसो त तुलसीपुर प्रादेशिक अस्पतालमा एउटा कार हुँदाहुँदै पनि फेरि पिक–अप भ्यान खरिद भएको छ । कुन प्रयोजनका लागि अस्पतालले पिक–अप भ्यान खरिद ग¥यो ? अस्पताल प्रशासनले एउटा एम्बुलेन्स समेत नियमित सञ्चालन गर्न नसकिरहेको अवस्थामा पिक–अप भ्यान खरिद गर्नुको अर्थ के हो ? भन्ने सवालमा पनि अस्पताल प्रशासन जानकार हुनुपर्दछ, कुनै राजनीतिक दलको प्रचारप्रसार र अस्पताल प्रशासनको कमिशनको चक्करमा सेवा प्रवाहको उद्घाटन हुनु दुर्भाग्य हो । सामान जडान हुँदैमा सेवा प्रवाहको ग्यारेण्टी हुँदैन । त्यसका लागि थप उपकरण र जनशक्ति उपलब्ध गराउनेतर्फ तीनै तहका सरकारको खबरदारीसँगै सहयोगको पनि वातावरण हुनु आवश्यक छ । हलो अड्काएर गोरु पिट्ने प्रवृत्तिलाई रोक, जनताको स्वास्थ्य सेवामा गम्भीर बन ।
