चौथो जिल्ला सभा : पस्किए सुरुङ योजना

  •   
  •  

अमरराज आचार्य
दाङ, २१ साउन । जिल्लामा प्रस्तावित गरिएको नीति कार्यक्रममा यातायातलाई छोटो दूरी, कम जोखिम र पर्यावरण सन्तुलनलाई कायम गर्ने, दाङ–देउखुरी उपत्यकालाई जोड्नका लागि सुरुङ मार्ग निर्माण गर्नेलगायतका योजना पस्किएको छ । यद्यपि त्यसलाई कार्यान्वयन गर्ने दायित्व भने स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको हुनेछ । जिल्लाको समग्र विकास निर्माणका लागि यो महत्वाकांक्षी योजना समन्वय समितिले ल्याएको हो ।

त्यसका लागि सबै तहका सरकारको सहयोगको अपेक्षा रहेको पनि जिल्लाका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्ला समन्वय समितिका सभापति जितेन्द्रमान नेपालीले बताएका छन् । कोभिड–१९ को संक्रमणको कारण रोजगार विमुख भएर स्वदेश फर्केकाहरुको श्रमशक्तिलाई प्रयोग गर्न आफनै माटोमा रोजगार सिर्जना गर्ने स्थानीय, प्रदेश र संघीय सरकारसँगको समन्वय गरिने पनि जिल्लासभामा प्रस्तुत गरिएको नीति र कार्यक्रममा उल्लेख गरिएको छ ।

जिल्लाको सञ्चार क्षेत्रको विकासका लागि स्थानीय सरकारको सहयोगमा जिल्लास्तरीय तालिम, प्रतिष्ठान स्थापना गरिने छ । सञ्चारको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकार एवं पत्रकार महासंघसँग समन्वय र सहकार्य गरिनेछ । जिल्ला समन्वय समितिले जारी गरेको नीति तथा कार्यक्रमलाई सञ्चारकर्मीहरुले सकारात्मकरुपले लिँदै स्वागतसमेत गरेका छन् ।

सभामा परापूर्व कालदेखि दाङ चौधेरास्थित रतननाथ मन्दिरबाट भारतको देबी पाटन सञ्चालन हुँदै आएको गोरक्ष पात्र देवताको देवीपाटन यात्रालाई जिल्लाको सांस्कृति एवं आध्यात्मिक उत्सव सम्मान गर्दै देबीपाटन यात्रा सञ्चालनको मुख्य घोराही–लमही–कोइलावास मार्गलाई रतननाथ मार्ग नामाकरण गर्नको लागि समन्वय गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

जिल्लाको समग्र विकासको मार्ग चित्र तयार गर्न पालिकाहरुको समन्वयमा विकासका सवालहरुमा बहस, तथा योजना निर्माण गरी दाङको विस्तृत विकास गुरुयोजना तयार गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी औद्योगिक ग्राम स्थापनाका लागि सर्भे गरी संघीय मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा रहेको दाङको धर्ना, लक्ष्मीपुरको जिल्ला स्तरीय औद्योगिक ग्राम स्थापना गर्न केन्द्रीय सरकारसँग समन्वय गरिने, राप्ती नदीको दुवैतर्फ तटवन्ध गरी वृक्षारोपण एवं बगर खेतीलाई प्राथमिकता दिन स्थानीय सरकार सँग समन्वय गरिने नीति कार्यक्रममा समावेश गरिएको छ ।

जिल्लासभामा प्रदेशसभा सदस्य शंकर गिरीले मुख्यमन्त्री नै जिल्ला सभाभर बस्न नखोज्नुले प्रदेश सरकार नै जनताका कुरा सुन्न नचाहेको अभिव्यक्ति दिए । ‘मुख्यमन्त्रीलाई कुरा सुनाउन चाहन्थ्यौं, विकास निर्माणभन्दा पनि कोरोनाको संक्रमणबाट जनता बाँच्ने योजना ल्याउनुस् भन्न चाहेको थिएँ, तर उहाँले हामीहरुलाई सुन्नै चाहनुभएन’, गिरीले भने ।

सो अवसरमा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पनि गोरक्षरत्ननाथ मन्दिरको विश्वव्यापी मान्यतालाई सम्बोधन गर्नेगरी घोराही कोइलाबास सडकलाई गोरक्ष रत्ननाथ मार्ग नामाकरण गर्न माग गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विष्णु शर्मा पौडेलले विकास निर्माणमा एकताबद्ध हुनुपर्ने बताइन् । कार्यक्रममा प्रदेशसभा सदस्यहरु अमरबहादुर डाँगी, शंकर गिरीलगायतले शुभकामना दिएका थिए । कार्यक्रम जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको थियो । उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुदीप गौतमले गरेका थिए ।

उत्कृष्टलाई सम्मान
जिल्ला समन्वय समितिको चौथो सभामा मूल्यांकनको आधारमा प्रथम, द्वितीय, तृतीय स्थानीय तह, सरकारी कार्यालय तथा गैरसरकारी संस्थालाई सम्मान गरिएको छ । सभामा स्थानीय तह प्रथम तुलसीपुर उपमहानगरपालिका, द्वितीय राप्ती गाउँपालिका, तृतीय घोराही उपमहानगरपालिकालाई सम्मान गरिएको थियो । त्यसैगरेर सरकारी कार्यालयतर्फ कृषि ज्ञान केन्द्र घोराही प्रथम, खानेपानी डिभिजन कार्यालय द्वितीय, पूर्वाधार कार्यालय तृतीयलाई सम्मान गरिएको हो । गैर सहकारी संघसंस्थातर्फ सहकर्मी समाज प्रथम, ओरेक नेपाल द्वितीय र नेपाल महिला सामुदायिक सेवा केन्द्र र नेपाल परिवार नियोजन संघ तृतीय भएका थिए ।