भगवान् श्रीकृष्ण र गीताको सन्देश

सुप्रिया मां

भगवान् श्रीकृष्ण यस्तो एउटा हाँस्ने, खेल्ने, नाच्ने, खुशी हुने, प्रेम गर्ने र रमाउने व्यक्तित्व हो, जसमा बालपनको लीला, युवावस्थाको राशलीलाका साथै उमेर र समय सँगसँगै बगेको ज्ञानको पराकाष्ठाले सुसज्जित एउटा परमधर्म लुकेको छ । भगवान् श्रीकृष्ण धर्तिको यस्तो एउटा अवतरण हुनुहुन्छ, जसले जेलमा जन्म लिएर पनि मानव जातिलाई दुःखका सबै बन्धनबाट मुक्त हुने सन्देश दिनुभयो ।

भगवान् श्रीकृष्ण शान्तिका यस्ता दूत हुनुहुन्छ, जसले युद्धको मैदानमा पनि कर्मयोग, ज्ञानयोग र भक्तियोगको त्रिवेणी बगाउनुभयो । भगवान् श्रीकृष्णको सन्देश अतीत र वर्तमानका लागि मात्र उपयोगी होइन आउने भावी पुस्ताहरुका लागि पनि महान्तम् धर्मको आधार हो । त्यस्तो के सन्देश दिनु भएको छ भगवान् श्रीकृष्णले भगवद् गीतामा ? यो हाम्रो आजको चिन्तनको विषय हो ।

भगवान् श्रीकृष्णलाई हामी पूर्ण अवतारको रुपमा मान्दछौँ । किनकि उहाँमा ज्ञानको पूर्णतम् सन्देश थियो । उहाँको जीवन पूर्ण जीवन थियो, जसमा हाँस्ने, खेल्ने, नाच्ने, प्रेम गर्ने, रमाउने, खुशी हुने र परम्सत्ताको व्यवस्था सँगैसँगै गरिन्थ्यो । लौकीक राशलीलादेखि लिएर अलौकीक ज्ञान सँगसँगै बग्दथ्यो ।

भगवद् गीता भएपछि अब अरु कुनै शास्त्र बनाउन आवश्यक छैन । किनकि यसमा पूर्ण सन्देश छ । सबै प्रकारका चेतना र सबै तहका मानिसहरुका लागि जीवनमा चाहिने ज्ञानको सन्देश छ र यस्तो सन्देश अरु कुनै शास्त्रमा पाइँदैन । भगवद् गीता स्वयम् भगवानको मुखारविन्दुबाट निस्किएको शास्त्र हो ।

भगवद् गीताको सन्देश सबैका लागि त्यत्तिकै सान्दर्भिक र वैज्ञानिक छ । विश्व जनमानसलाई सर्वाधिक प्रभावित पारेको शास्त्र हो, भगवद् गीता । गीतामा सबै प्रकारका आध्यात्मिक मार्गहरु समावेश छन् र यो बाहिरको भौतिक जगतमा पनि सफल, समृद्ध हुन र साथै ईश्वर प्राप्तिको सुगमतम मार्गचित्र हो । गीता सर्वोत्कृष्ट जीवन जिउने व्यावहारिक ज्ञानविज्ञानको खानी हो ।

गीता समस्त दुःखहरुबाट मुक्तिको व्यावहारिक र वैज्ञानिक आध्यात्मिक ज्ञान हो । गीता विश्वका सबै मानिसहरुका लागि सम्पन्न, खुशी र आनन्दसँग जीवन जीउन अति नै उपयोगी र रहस्यमय वैज्ञानिक शास्त्र हो । त्यसकारणले विश्वका धेरै मानिसहरुको ध्यान यो भगवद् गीताले खिचिरहेको छ ।

विश्वका जानेका बुझेका सबै मानिसहरुले आफ्नो जीवनमा एक पटक भगवद् गीता पढ्न चाहन्छन् । भगवान् श्रीकृष्णको जीवनी जान्न, बुझ्न र आफ्नो जीवनमा उतार्न चाहन्छन् । पूर्वीय मुलुकका मानिसहरुलाई मात्र होइन पश्चिमका मानिसहरुलाई पनि यो गीता एउटा आकर्षणको केन्द्र बनेको छ । पश्चिमका मानिसहरु पनि गीताभित्र रहेको जीवन जीउने कलाको रहस्यलाई जान्न, बुझ्न र आफ्नो जीवनमा उतार्न चाहन्छन् । गीता संसारका सबै दर्शनशास्त्र र धर्मशास्त्रहरुको सार हो ।

भगवान् श्रीकृष्णमा वहुआयामी प्रतिभा देखिन्छ । जतिखेर जीवनमा जे आइपर्यो त्यस्तै गर्नसक्ने क्षमता, परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्नसक्ने क्षमता र जीवनका सबै प्रकारका प्रश्नहरुको उत्तर दिनसक्ने क्षमता भएको व्यक्तित्वको रुपमा मानिन्छ । जस्तोसुकै समस्याको पनि उत्तर भगवद् गीतामा पाइन्छ । बालबालिका, युवा, विद्यार्थी, बृद्धावस्था, व्यापारी, कर्मचारी, गृहस्थी र सन्यासीलगायत सबै प्रकारका मानिसहरुको जीवनमा आउने समस्याको समाधानको उत्तर भगवद् गीतामा पाइन्छ ।

भनिन्छ भगवान् श्रीकृष्णको स्पर्षले मात्र पनि कस्ता–कस्ता रोगीहरु उठेर हिड्दथे, कुरुपहरु पनि सुन्दर हुन्थ्ये । उहाँको संकल्पले मात्र पनि ठूला–ठूला राक्षसहरुको बध हुन्थ्यो र जसको टाउकोमा राखेको मख्खनको भाँडा उहाँले फुटाइदिनुहुन्थ्यो, उनीहरुको अज्ञानता सबै फुटेर जान्थ्यो र उनीहरु सदाका लागि ज्ञानमा उपलब्ध हुन्थे ।

जब भगवान्ले बाँसुरीको धुन निकाल्नुहुन्थ्यो तब सारा गोप–गोपिनीहरु वृन्दावन र मथुराको कुञ्जगलीमा दौडिएर आउँथे र नाँच्दथे भनेर शास्त्रमा उल्लेख भएको पाइन्छ । भगवान् श्रीकृष्ण सर्वशक्तिमान् हुनुहुन्थ्यो । किनकि उहाँ स्वयम् भगवान् हुनुहुन्थ्यो, गीता पढ्दा यसरी उल्लेख भएको पाइन्छ ।

भगवद् गीतामा भगवान् भन्नुहुन्छ, हाम्रो मन र इन्द्रीयहरु हाम्रो आफ्नो वशमा छन् भने तिनीहरु हाम्रा मित्रहरु हुन् र हामीले जे गराउन चाहन्छौँ उनीहरु त्यही गर्छन् तर हाम्रो वशभन्दा बाहिर भए भने तिनीहरु अनियन्त्रित् हुन्छन् र त्यतिबेला तिनीहरु शत्रु हुन्छन्, आफू मनोमानी गर्छन् र मानिसको पतनको ठूलो कारण बन्दछन् । जब मानिस पर धर्ममा हुन्छ अर्थात् काम, क्रोध, लोभ, मोह, ईष्र्या द्वेषमा हुन्छ र बेहोसीमा जीवन जीउन थाल्छ तब मन र इन्द्रीयहरु पनि आफ्नै शत्रु हुन्छन् र नियन्त्रणभन्दा बाहिर हुन्छन् ।

एउटा भनाइ छ– ‘जब मालिक मस्त निन्द्रामा निदाउँछ तब चोरहरुले सबै लुटेर लैजान्छन् ।’ अर्थात् हामी बेहोसीमा जीवन जीउन थाल्यौँ भने हाम्रा इन्द्रीयहरुले नै हामीलाई लुट्न थाल्छन् र मनले नै हामीलाई भड्काइदिन्छ । जो व्यक्ति योगाभ्यास र ध्यान गरेर मनभन्दा माथि उठेको हुन्छ र मनलाई आफ्नो वशमा राखेको हुन्छ उसले नै आफ्ना इन्द्रीयहरु र मनलाई जितेको हुन्छ र यस्तो मानिसलाई सफलता, असफलता, दुःख, सुखजस्ता कुनै पनि कुराहरुले विचलित गराउँदैन । गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई त्यही कुरा बताउनुभएको छ ।

गीतामा भगवान् भन्नुहन्छ– ‘हामीले आफूलाई जे हुँ भनेर मानेका छौँ हामीलाई त्यसैसँग सम्बन्धित् कुराको बारम्बार याद आइरहन्छ । जस्तै पिता वा माता हुँ भनेर आफूलाई माता वा पिता मानेका छौँ भने बारम्बार हामीलाई आफ्ना छोराछोरी मात्र स्वाभाविक रुपमा याद आइरहन्छ, पति मानेका छौँ भने पत्नी याद आउँछ, पत्नी मानेका छौँ भने पति याद आउँछ, प्रेमी मानेका छौँ भने प्रेमिका याद आउँछ, प्रेमिका मानेका छौँ भने प्रेमी याद आउँछ र डाक्टार मानेका छौँ भने विरामी याद आउँछ ।

त्यसैगरी म आत्मा स्वरुप हुँ भनेर आफूलाई आत्मा मानेका छौँ र आत्माकेन्द्रित् भएर जीवन बाँचेको हो भने हामीलाई बारम्बार परमात्माको याद स्वाभाविक रुपमा आइरहन्छ, छुट्टै याद गरिरहनु पर्दैन, होइन भने कहिल्यै पनि हामीलाई परमात्मा याद आउँदैन ।

भगवान् श्रीकृष्ण कहिल्यै पनि आफ्ना परिवार र समाजबाट भाग्नुहुन्न । सबै प्रकारका परिस्थितिको डटेर सामना गर्नुहुन्छ । सबै विपरित परिस्थितिहरुलाई सरल र सहज तरिकाले समाधान गर्नुहुन्छ ।

हामी जुन ठाउँमा छौँ, जुन पेशामा छौँ र जुन कर्म गरिरहेका छौँ त्यसैबाट माथि उठ्न सकिन्छ भन्ने सन्देश गीतामा पाइन्छ । परिस्थिति र समस्याभन्दा माथि उठ्ने हो भने र जति समस्याहरु आउँछन् त्यसलाई विवेकपूर्ण तरिकाले समाधान गर्ने हो भने हाम्रो चेतना माथि उठ्दै जान्छ र हामी निखारिँदै जान्छौँ । भगवद् गीताले हामीलाई जीवन जीउने गहिरो कला सिकाउँछ । भगवान् श्रीकृष्णको जीवन स्वयम् त्यही सन्देश हो ।

भगवान् श्रीकृष्ण भन्नुहुन्छ– हामीले गर्ने सबै प्रकारका कर्महरुको फल वा परिणाम प्राप्त हुने भएकोले कर्म गर्दा होस् राखेर कौशलतापूर्वक कर्म गर्नुपर्छ र परिणाम जस्तो आउँछ त्यसलाई सहज तरिकाले स्वीकार्नुपर्छ । कर्मलाई नै योग बनाएर आफूलाई कर्म गर्ने निमित्त मात्र हुँ भनेर कर्म गरेका छौँ भने कर्मबन्धनबाट मुक्त हुन पनि सकिन्छ ।

भगवान् श्रीकृष्णको भौतिक शरीरको रँग नीलो देखाइएको हुन्छ र हातमा बाँसुरी देखाइएको हुन्छ । यसले अरु पनि धेरै कुराको संकेत गर्दछ । नीलो रँगले सबै जीवात्माहरुको आकर्षणको केन्द्र र विशाल ज्ञानको भण्डार भन्ने जनाउँछ र हातको बाँसुरीले विश्वब्रह्माण्ड एउटा परमध्वनीले बनेको छ, जसलाई हामी ओमकार पनि भन्दछौँ, त्यही ओमकारको ध्वनीको संकेत गर्दछ । भगवान् श्रीकृष्णमा देखिएको यी दईवटा कुराले हामीलाई त्यतातिरको खोज गनुपर्ने संकेत गर्दछ ।

भगवान् श्रीकृष्ण भन्नुहुन्छ– सबै कुरा छोडेर मेरा शरणमा आउ म तिमीहरुलाई सबै प्रकारका दुःखबाट सधैँका लागि मुक्त गरिदिन्छु र सास्वत् सुखमा वा आनन्दमा लैजान्छु ।

कति सरल, सहज र जीवनोपयोगी छ भगवद् गीताले दिएको सन्देश । कृष्णजन्माष्टमि हामी हिन्दूहरुका लागि ज्ञानमा उपलब्ध हुने एउटा महान चाड हो । त्यस दिन भगवान् श्रीकृष्णलाई अन्तरमनले स्मरण गर्ने, भक्तिभावले भरिने र उहाँका जीवन सूत्रहरुलाई र सन्देशहरुलाई जीवनमा उतार्ने दिन हो । कृष्णजन्माष्टमि पर्वको सबैलाई हार्दिक शुभकामना । आजलाई यत्ति नै, हरि ॐ !

सुप्रिया मां आननदपथ संस्थाका संस्थापक हुनुहुन्छ ।