Goraksha

National Daily

रक्षा सुरक्षाको पावन पर्व : रक्षाबन्धन

ब्रह्मकुमार माधव तिमिल्सेना

हरेक वर्ष श्रावण शुक्लपक्षको पूणर्िमाको दिन मनाइने रक्षाबन्धन पर्व नेपाल, भारतलगायत हिन्दू धर्मको लागि मात्र नभई सम्पूणर् मानव जातिकै महत्वपूणर् अवसरकै रुपमा लिइन्छ । यो पारस्परिक रुपमा भाइ-बहिनीको आपसी स्नेहको रुपमा मनाउने गरिन्छ । यस दिनमा बहिनीले भाइलाई रक्षा-सूत्र बाँध्ने गर्दछिन् ।

बहिनीले भाइलाई रक्षा बन्धन बाँधेपछि अपेक्षा गर्दछिन् कि जब कुनै पनि बहिनी दुःखको घडी तथा उनको अस्मितामाथि आँच आउँछ त्यतिखेर भाइले ज्यानको बाजी लगाएर बहिनीको रक्षा गर्नेछन् । हरेक जटिल र विपरित परिस्थितिहरुमा रक्षा गर्ने एक प्रतिज्ञाको कंगन हो भनेर मान्नु पनि समय सापेक्ष हुन सक्दैन किनकि शारीरिक रुपमा दिदीबहिनीको आत्मसम्मान तथा सम्पत्तिको रक्षा गर्न कुनै पनि दाजुभाइलाई सदाकालमा के सम्भव हुँदैन ।

यसको अतिरिक्त जनै पूणर्िमाको शुभ अवसरमा ब्राह्मणहरुले “येन बद्धो बलिः राजा दानबेन्द्रो महाबलः। तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल।।” को मन्त्रोचारण गर्दै आफ्ना यजमानहरुलाई पत्रिताको सूचक धागो बाँधेर उनीहरुको जीवनमा अशुभता, दरिद्रता, भाग्यहीनता र असुरक्षालाई कम गर्ने प्रयास गरिन्छ । ब्राह्मणहरुको आशीष वचनले यजमानहरुको सारा जीवन सुखी एवं समृद्ध बन्न सक्छ ? पौराणिक कथा अनुसार दैत्य र देवताहरुको युद्धमा पराजित इन्द्रलाई उनकी पत्नी इन्द्राणीले ईश्वरलाई साक्षी राख्दै पवित्रता र आध्यात्मिक शक्तिको वाचक राँखी बाँधेको कारण इन्द्रले राज्य भाग्य र सम्पत्ति पुनः प्राप्त गर्न सफल भएका थिए ।

विचार गरौँ इन्द्राणीसँग इन्द्रको नाता भाइबहिनीको त थिएन तर रक्षाबन्धन केको लागि ? यसबाट समेत स्पष्ट हुन्छ यस पर्वले पतिपत्नीलाई समेत पवित्रताको श्रेष्ठ गुण सूत्रमा एकबद्ध गराएर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ छ । त्यसैगरी श्रीमद्भागवत्मा कंशले आफ्नी बहिनी देवकीलाई मार्नको लागि तरवार निकालेको दृष्टान्तले पनि स्पष्ट पार्दछ कि दृष्टि वृत्ति बदलियो भने भाइ पनि कसाई बन्न सक्छन् । यदि दृष्टि वृत्ति सोच र व्यवहार ठिक रहने हो भने कसाई पनि भाइ बन्न सक्छ । यमराजको बारेमा भनिन्छ कि उनले सबैलाई दण्ड अथवा यातना दिन्छन्, अतः मानव मात्रको लागि उनी भयानक मानिन्छन् ।

परन्तु आफ्नी बहिनी यमुनाको लागि भाइ हुन् । तसर्थ भाइबहिनीको रक्षाको लागि यही स्नेह सम्बन्धको कारण पर्याप्त छ । शारीरिक रक्षाको लागि मात्र रक्षा बन्धनको चलन मान्न विवेकसम्मत हुन सक्दैन ।

वास्तवमा रक्षा बन्धनको चलन कुनै अन्य अभिप्रायबाट सुरु भएको थियो । रक्षा भनेको संरक्षण वा सम्भार गर्नु हो भने बन्धन अर्थात कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रतालाई जोगाएर राख्न वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु, संकल्पबद्ध हुनु रक्षाबन्धनको सन्देश हो । हामीले आफ्नो कर्मलाई पवित्र, श्रेष्ठ तथा दिव्य बनाएर स्व एवं विश्वको रक्षा गर्ने शुद्धताको बन्धन हो रक्षाबन्धन् । प

रन्तु समयान्तरमा ‘रक्षा’ र ‘बन्धन’ शब्दको गलत अर्थ लगाउनुको कारण यसको स्वरुप बदलियो । सबैभन्दा पहिला यो भुल गरियो रक्षा शब्दको तात्पर्य शारीरिक रक्षामात्र जोडियो । यस पर्वको अन्य नामबाट पनि रक्षाको वास्तविक अभिप्राय झल्किन्छ । यसलाई बिषतोडक, पुण्यप्रदायक पर्व पनि भनिन्छ । यसबाट सिद्ध हुन्छ रक्षा बन्धनको सम्बन्ध विष विकार छोड्ने तथा पवित्र आत्मा या पुण्य आत्मा बन्नु हो ।

केवल परम्परा र अन्धश्रद्धा एवं एक धार्मिक सम्प्रदाय तथा जातीयताको आडम्बरीय घेरामा मात्र राखिनु सान्दर्भिक मान्न सकिँदैन कि ? पवित्रताको धारणाले मात्रै स्वयम्को, सर्वको र विश्वको सुरक्षा हुन सक्दछ । भनिन्छ- पवित्रता सुख शान्तिको जननी हो । यसतर्फ किन हाम्रो ध्यान जान नसकेको ? जनै अर्थात् पवित्रता र कर्म बन्धन वा मर्यादाको सूचक हो । जनै बदल्नु अर्थात् कर्मरुपि धारणा गर्दै हाम्रा गलत सोच-विचार र दृष्टिकोणमा परिवर्तन ल्याउनु हो । जात होइन चालचलन, व्यवहार र दर्शन अनि आदर्श जीवनको दिव्यीकरण ल्याउनु हो ।

जनैपूणर्िमाको सुखद् अवसरमा रक्षासूत्र ग्रहण पश्चात टीका लगाउने र प्रसाद खाई मुख मीठो गर्नुको साथै दक्षिणा दिने प्रचलन पनि रहेको पाइन्छ । टीका लगाउनु अर्थात् आत्मिक स्वरुपमा टिक्नु हो । भृकुटीको बीचमा आत्मा स्थित छ । अविनाशी आत्माले उक्त स्थानमा रही यस भौतिक शरीरद्वारा रंगमञ्चमा नाटक खेलिरहेको हुन्छ । जस्तो कर्म गर्दछ त्यस्तै फल भोग्दछ । ज्ञानको रंगमा रङ्गिनु र आत्मिक स्मृतिमा रहनुको साथै आत्मिक दृष्टिले हामी सबै भाइभाइ हौँ ।

यो आध्यात्मिक ज्ञान यसभित्र लुकेको छ । यो दृष्टिले कामरुपी विषलाई छोड्न र तोड्नमा सहायकको भूमिका निर्वाह गर्दछ । मधुर वाणी बोल्नु, श्रेष्ठ आचरणमा रहनु नै मीठो प्रसाद ग्रहण गर्नु र गराउनु हो भने दक्षिणा दिनु अर्थात् आफूभित्र विद्यमान नराम्रा आचरणहरु, आसुरी वृत्तिहरु, अशुद्ध संकल्पहरुको त्याग गर्नु हो । परमात्मा पितालाई साक्षी राख्दै एक स्वच्छ एवं ब्रह्मचर्य जीवन जिउने सुनौलो अवसर हो, यो । स्वयम्लाई आत्मिक रुपमा सशक्तिकरण गर्ने, परिवर्तन गर्ने र रुपान्तरण गर्ने उत्तम मौका पनि हो ।

आजको सन्दर्भमा रक्षाबन्धन
समयान्तरमा यस पर्वलाई केवल शारीरिक एवं आर्थिक रक्षाको भावमा हेर्दा यसको महत्वलाई कम गरियो । आजको परिस्थितिबाट हामी सबै अनभिज्ञ छैनौँ । चारैतिर बढ्दै गएको असुरक्षा, हत्या, हिंसा, अन्याय, पापाचार, आसुरी विचारधारा, महामारी विपत्तिको बोलवाला भई मानव काम, क्रोधलगायत मनोविकृतिहरुबाट पीडित र आहत भइसकेको छ । दुःख, अशान्तमय जीवन जिउन वाध्य छ, आजको मानव समाज ।

यस्तो विषम घडीमा मुक्ति दिन, सत्धर्मको स्थापना गर्न र विपतको संकटग्रस्त समयमा सर्वको कल्याणका खातिर विश्व रक्षक, जगत नियन्ता सर्वधर्मका आस्था भरोषाका केन्द्र, परमपिता परमात्मालाई यस धर्तिमा अवतरित हुनै पर्दछ । मानवमा सदाचार, सद्भाव, आत्मियताको खडेरी परिरहेको, विनाशको कालो बादल चारैतिर मडारिरहेको साथै नारी अस्मिता एवं गौरव धरासायी भयरहेको, मानव मनोवल ह्रास हुँदै गइरहेको यस विकराल घडीमा पुनः सुख, शान्ति स्थापित गरी मानव आत्माको रक्षा, विश्वको रक्षा केवल भौतिक साधन, वस्तु, वैभव एवं मानवीय शक्तिले सम्भव हुनै सक्दैन ।

आध्यात्मिक ज्ञान, राजयोगको अभ्यासबाट जबसम्म हामीले परमात्माको नाममा सच्चा दिलले आफ्ना पशु वृत्तिहरुको बली दिँदैनौँ, विषरुपी विकारहरुलाई खत्तम गर्दैनौँ, शुद्ध र पवित्र दृष्टि बनाउँदैनौँ तबसम्म कसैको पनि रक्षा हुनै सक्दैन ।

परिस्थिति, चुनौती र कठिनाईको वावजुद पनि जुन विचारको रचना गर्दा हामीलाई खुशी, शान्ति र आनन्द हुन्छ त्यही विचार रचना गर्नसक्ने मानसिक अवस्था नै सच्चा मनको स्वतन्त्रता हो । जीवन एक उत्सव हो, जीवन न त भविष्यमा नै जीवन केवल वर्तमानमा छ । विगतका नमीठा स्मृतिहरु र भविष्यका अनिश्चित कल्पनाहरु मनमा उब्जाएर वर्तमानको खुशी र आनन्दलाई कम नगरौँ । कुनै पनि समस्या मनभन्दा शक्तिशाली हुँदैन । जीवनमा समस्याको आफ्नो कुनै आकार हुँदैन समस्यालाई सानो वा ठूलो रुपमा लिने आफैमा निर्भर छ । मन नै हामी आत्माहरुको शत्रु हो भने आफ्नै मित्र पनि हो । आवश्यकता छ मनको व्यवस्थापन वा सकारात्मक दिशा निर्देशको ।

स्वयम्लाई आत्मा निश्चय गरी सर्वगुण र शक्तिका स्रोत निराकार ज्योति स्वरुप परमपिता शिव परमात्मासँग मन, बुद्धिको निरन्तर सम्बन्ध राख्नु नै राजयोग हो । प्रतिदिन विहान उठ्नेवित्तिकै आफ्नो मनलाई अनुशासित गर्ने केही समयको राजयोग मेडिटेशनको अभ्यास दिनभरि आउने परिस्थितिमाथि शासन गर्ने आधार बन्दछ ।

तसर्थ हरेक नर-नारीले आफ्नो जीवन श्रेष्ठ, शक्तिशाली र सुरक्षित बनाउनको निमित्त मन, वचन, कर्मले पवित्रतालाई अपनाऔँ । परमात्माको यस धर्तिमा अवतरण भइसकेको छ । हामी सबैका कल्याणकारी पिताबाट रक्षासूत्र ग्रहण गरौँ, तबमात्र सुरक्षित रहन सक्छौँ । अतः रक्षाबन्धनको अर्थ र महत्वलाई बुझेर मात्र रक्षाबन्धन गरौँ, त्यसले सार्थकता पाउने छ । अन्यथा रक्षाबन्धन एक परम्परा तथा सामान्य धागोमा सीमित रहनेछ । आसुरी वृत्तिलाई नाश गरेर सुखमय संसार निर्माण गर्ने महान अभियानमा लागौँ । मानवताको सम्बन्धलाई सक्षम सफलीभूत, प्रगाढ बनाउन स्वपरिवर्तनको दृढ संकल्पका साथ सद्भावना, स्नेह र सहयोगरुपी सौगात दिऔँ ।

यसैमा सर्वको रक्षा र कल्याण समाएको छ । परमात्माको श्रीमत् हाम्रो सुरक्षा छत्रछायाँ हो । विश्वरक्षक, पतित-पावन ज्ञानसागर एवं कल्याणकारी सर्व आत्माहरुका परमपिता परमात्मा शिवबाबाद्वारा प्रदत्त गीता ज्ञानलाई जीवनमा धारणा गरी अहिंश्रक वृत्ति अपनाऔँ । जीवनको हर क्षण अमूल्य छ, तसर्थ यसलाई व्यर्थमा नगुमाऔँ । पवित्रताको ब्रतले मनुष्य आत्माको जन्म जन्मान्तर सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ ।

जब हामी रक्षाबन्धन (जनैपूणर्िमा) लाई आज हरेक धर्म वा जाति, वर्गमा समान रीतले यसभित्र लुकेको पवित्रता एवं स्नेह भावनाले प्रेरित भई सबैको रक्षा गर्दछौँ र अरुबाट समेत गराउँछौँ तब यो बसुन्धरा (सृष्टि) मा सुख, शान्ति अनि समृद्धिको हरियाली देख्न सकिनेछ । यस धरतिलाई पुनः रामराज्य अर्थात् स्वर्ग बनाउने परमात्माको महान योजनामा हामी सबै सहभागी बनौँ । आत्मिक स्मृतिको तिलक, दैवी गुणहरुको शृंङ्गार, मधुर बोली साथै योगको अग्निले विकर्म नष्ट गर्दै पवित्र बन्ने अनि बनाउने प्रतिज्ञा गरौँ ।

रक्षाबन्धनको पावन अवसरमा समस्त मानव आत्माहरुमा भौतिक, आध्यात्मिक, सामाजिक तथा सर्वपक्षीय उन्नति, प्रगति हुँदै जाओस् । परिवारमा एकता, सद्भाव एवं वसुदैव कुटुम्बकम्को भावना विकसित गर्ने प्रेरणा जागोस् । सबैको कल्याण होस् । वर्तमान महामारीको विरुद्ध मानसिक रुपमा लड्ने क्षमता जागोस् । काल वा अकालमा यस संसारलाई छोड्ने आत्माले राम्रो बास पाओस् वा शान्तिको अनुभूति गर्न सकोस् । नेपाल तथा विदेशमा रहनुहुने समस्त नेपाली साथै परमात्माका प्रिय सन्तान आत्मीय आमा, बुबा, दिदी, बहिनी, दाजुभाइ सबैप्रति नमन गर्दै हार्दिक मंगलमय शुभकामना । ॐ शान्ति !

लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं एक आद्यात्मिक अभियन्ता /ब्रह्माकुमारीज घोराहीका प्रवक्ता हुन् ।