राजा वली, रक्षा बन्धन र यसको महत्व

  •   
  •  

किरण आचार्य

हाम्रो समाजमा मनाइने महत्वपूर्ण पर्वहरुमा जनैं पूर्णिमा पनि एक हो । यो पर्वमा तागाधारी अर्थात आर्यहरुले यज्ञोपवित फेर्ने र महिला पुरुष सबैले रक्षा सूत्र जसलाई रक्षा वन्धन पनि भनिन्छ, बाँध्ने पुरानो प्रचलन छ ।

वेदलाई बृटिशहरुले सच्याउन लगाएर गायत्री मन्त्र जपमा केवल आर्य पुरुषहरुको मात्र अधिकार रहेको भन्ने कुरा श्रद्धेय गुरु राम शर्मा आचार्य, शान्ति कुञ्ज हरिद्वारका संस्थापकले लेख्न लगाइएको कुरो पत्ता लगाइसके पश्चात अब यज्ञोपदित वैदिक कालमा जस्तै महिला पुरुष र हरेक जातजातिका मान्छे ती चाहे जनजाति, आदिवासी वा दलित जो भए पनि इच्छा भए लगाउन पाउने र परम पवित्र गायत्री मन्त्र जप गर्न पाउने कुरा सर्व विदित छ ।

जनै पूर्णिमाको दिन नेवार सम्प्रदायमा नौ थरीका गेडागुडी उमारेर तरकारीको रुपमा खाने पनि प्रचलन छ, जसलाई क्वाटी भनेर सम्वोधन गरिन्छ । क्वाटी अत्यन्त स्वादिष्ठ र स्वास्थ्य वर्धक मानिन्छ । खाद्यविज्ञानका अनुसार धेरै थरीको गेडागुडी मिसाई उमारेर खादा मासु सरहको प्रोटिन प्राप्त हुने कुरा पुष्टी भइसकेको छ, जसका कारण सबैमा यो लोकप्रिय भएको छ ।

अर्को कुरो सनातनीहरुले सबैको परम्परालाई सम्मान स्वरुप अपनाउने चलनले गर्दा होला आजकाल सबै जातजातिमा क्वाटी लोकप्रिय भएको । त्यो दिन नजिक भएका छोरी–ज्वाई, ब्रम्हणलाई टीका दक्षिणा पनि दिने चलन रहिआएको छ । तराइको मधेसी समुदायमा त्यो दिन दिदिवहिनीले दाजुभाइलाई रक्षा वन्धन जसलाई राखी भनिन्छ, बाँधिदिने चलन छ ।

यसलाई हामी मधेसी तिहार पनि भन्न सक्छौ भने छिमेकी राष्ट्र« इन्डियामा पनि उक्त दिनलाई राखी कै रुपमा विशेष महत्वका साथ मनाउँछन् । हाल पहाडी समुदायमा क्वाटीको लोकप्रियता बढ्दो छ ।

यो पर्वको शुरुवात सत्य युगमा घटेको एउटा घटनासित जोडिएको छ । त्यो घटनावारे उल्लेख गर्नु अघि मेरो वाल्यकाल मेरी आमा विद्यादेवी पौड्यालले भन्ने गरेको श्लोकको सम्झना आउँछ । त्यो हो ‘अति रुपवती सीता अति गर्वेण रावण, अति दानी वली राजा सर्वत्र वर्जयेत ।’ बर्षौसम्म यो श्लोकका अर्थ वुझेको थिइन र आज पनि कम मात्रामा सहमत छु । किन भने सिताको अपहरणमा उनको रुप नभएर अन्य कुरा कारक रहेछ । जे होस रक्षा सुत्र बाँध्ने वेलामा गुरु पुरोहितहरुले एउटा मन्त्र उच्चारण गर्ने गर्नहुन्छ ।

येन बद्धो वली राजा

दानवेन्द्रो महावल

तेनत्वाम प्रतिवध्नामि

रक्ष माचल माचल ।

यो मन्त्रको अनुसार जुन वस्तुले दानवहरुमा प्रमुख महावलशाली वली राजालाई बाँधिएको थियो । त्यसले मलाई पनि बाँधियोस् । हामीलाई किन बाँध्ने र वली राजालाई किन बाँधियो बडो अजीव लाग्थ्यो । तर परम्परा हो । आफु भन्दा ठूलाले जे गर्छन् सोही अनुसार गर्न प¥यो । मेरी आमाले भन्नुहुन्थ्यो उहिले सत्य युगमा राजा वलीले धेरै दान गरे उनी जतिको दान गर्ने संसारमा कोही पनि थिएन । अनि धेरै दान गर्न हुँदैन्थ्यो ।

त्यसैले भगवान विष्णुले वामन अवतार लिएर उनीसित ३ पग भूमिदान माग्नु भयो । उनले स्वीकार गरे तर भगवानले आफनो विश्व रुप धरेर दुई पगमा स्वर्ग, मत्र्य सबै नाप्नुभयो । तेस्रो पग नपुगे पछि उनलाई बाँधेर पातामा लग्नुभयो । त्यहि दिनबाट राजा वलीको सम्मानमा हामीले रक्षा वन्धन वाँधेका हौँ । तर यो कथा सुनेदेखि मलाई राजा वली प्रति झन् श्रद्धा बढ्यो भने भगवान श्री विष्णु प्रति वितृष्णा । आखिर दान त दिएका थिए ।

कहाँ गल्ती थियो त यसबारे वास्तविकता बुझ्ने धेरै प्रयास गरे । तर सबैले माथिकै दोह¥याए । महाभारत पुस्तकमा पनि रहेनछ । सप्ताह महापुराणमा अष्टम स्कन्धमा यस बार उल्लेख गरिएको रहेछ ।

उहीले सत्य युगमा हिरण्यकस्यपु नामका दैत्यका छोरा भक्त प्रहलाद भए । उनका छोरा विरोचन र विरोचनका छोरा वली थिए । वली अत्यन्त वलशाली, वीर, दानी, धीर र भगवानका परम भक्त थिए । राजा वलीले आफ्ना वल पराक्रमले स्वर्गमा समेत विजय प्राप्त गरेका थिए । उनले स्वर्ग र पृथ्वी सरत्र आफ्नो राज्य फैलाएर राज्य गरिरहेका थिए । उनी अत्यन्त दानवीर थिए ।

उनले स्वर्ग र मत्र्यको राज्य लक्ष्मीमा एकाधिकार गरेर आफ्नो दरबारमा दान लिन आउने सबै याचकलाई उनिहरुको आवश्यकतानुसार सबै दिने गरेका थिए । सबै प्रशन्न । कसैलाई केहि गर्नै नपर्ने । आवश्यकता परेको कुरो राजा बाट प्राप्त भैहाल्ने । यसरी हेर्दा त साह्रै राम्रो । तर यसको अर्को पाटो पनि हेरौँ ।

यदि संसार भरि होस् वा स्थान विशेषमा होस् व्यक्तिहरुलाई आवश्यकता हरेक बस्तु दानमा अर्थात सित्तैमा प्राप्त हुन्छ भने उनिहरुले के मेहनत गरेर आफ्नो आवश्यकता पुरा गर्न लाग्छन् त कृषकले कृषि, व्यापारीले व्यापार, उद्योगीले उद्योग, शिक्षकले, कर्मचारीले, सेनाले, सबैले आफ्नो आफ्नो दायित्व छोड्ने छन् अनि केवल आराम र आलस्य बढ्नेछ ।

अपराध र बिचलनका पाटो त छदैछ । यी कुरा मत्र्यमा नभएर स्वर्गमा पनि लागुहुनेनै भयो । किनभने उनी त स्वर्गका पनि राजा थिए । इन्द्रादी देवहरु स्वर्गबाट च्युत त भएकानै थिए भने यो कृत्यले त्यहाँ पनि विचलन अवश्य आयोँ । यस प्रकार सबै तिरका हालत के कस्तो भयो होला सहजै अनुमान लगाउन सकिन्छ । सर्बत्र सन्तुलन नै बिग्रीएको अवस्था ।

राज्यको ढुकुटीनै सकिएको अवस्था । विकाश र प्रगति शून्य । कर्तव्य परायणताको समाप्ति । त्यसो त राजा बली महान् भक्त एवम विष्णुका अत्यन्त प्रिय भक्त थिए । अझ भन्नु पर्दा तिन पुस्ता देखिनै इश्वरका परम भक्त उनलाई यसरी विकृति फैलाउन बाट रोकेर कर्तव्य परायणता र होसमा ल्याउनकालागी श्री विष्णुले वामन रुपधरी माथिको कथामा वर्णन गरे अनुसार चेतनामा ल्याउनु भयो ।

यस प्रकार इन्द्रादि देवतालाई स्वर्गको राज्य दिएर भगवानले भन्नु भो, ‘जसमाथि ईश्वरकृपा हुन्छ परीक्षा लिनको लागी प्रशस्त धन दिन्छन् , तिरस्कार गर्छन् यो जान्न कि उ आफ्नो निर्णयमा कत्तीको अटल छ भनेर । उसमा घमण्ड नबढोस् । किनभने भगवत शरणागतहरु यती दृढ हुन्छन् कि कुनै कुरोबाट पनि मोहित हुदैनन् ।’ राजा बलीले परीक्षा सफल हुनका साथै मायामा विजय प्राप्त गरेर आफुलाई उत्कृष्ठ भक्त सावित गरिसकेका थिए ।

उनका गुरु शुक्राचार्यले उनलाई पटक पटक सचेत गराई तिनपग भूमि दान दिनबाट रोकेका थिए तर उनि कतै कहि आफ्नो भक्तिबाट भ्रमित भएनन् । तसर्थ भगवानले उनलाई सावर्णी मन्वन्तरमा इन्द्र बन्ने आर्शिवाद दिनुभयो । स्वर्ग भन्दा उच्च कोटीको, विश्वकर्माद्धारा निर्मित सुतल लोकको राज्य प्रदान गर्नुभयो र चार महिना अर्थात चतुर्मास ‘हरिसयनी एकादशी देखि हरिबोधनी एकादशी सम्म’ द्धार पालको रुपमा उनको सुरक्षा गर्ने वचन दिनुभो ।

त्यस्तो सुतललोकमा बस्नेहरुमा भगवानको कृपादृष्टि सधै पर्ने हुनाले शारीरिक रोग, मानसिक रोग, थकाई र बाहिरी शत्रु कसैको पनि भय हुँदैनथ्यो । त्यो सुतललोकको राज्य भोग गर्न इन्द्राही देवले पनि चाहाना गर्दा रहेछन् । साथै भगवानले सधै उनको रक्षार्थ आफै बस्ने वचन दिनु भयो । यस प्रकार राजा बलीको दृढताको परिक्षा लिन र उनी जस्ता धर्म भिरुबाट विश्व ब्रमाण्डको सन्तुलन बिग्रिनबाट रोक्न भगवानले यस्तो गर्नु भएको रहेछ । बन्धनमा बाँधिए पछि उनले जे प्राप्त गरे हामीले त्यस्तै भगवानको सामिप्य र कृपा प्राप्त गर्न सकौ भनेर रक्षा शुत्र बाँध्ने प्रचलन चलेको रहेछ ।