सरसफाई र जीवन

  •   
  •  

मनोज पौडेल

सरसफाई वैयक्तिक, पारिवारिक र सामाजिक मान, प्रतिष्ठा र इज्जतको विषय हो । यो हाम्रो सभ्यता, संस्कृति र पहिचान मात्र नभएर निरोगी तथा स्वस्थ जीवन यापनको लागि एक प्रमुख र बलियो अस्त्र पनि हो । विज्ञहरु भन्छन् : ‘सरसफाईमा गरेको १ रुपैयाँ लगानीले ८ रुपैयाँ बराबरको प्रतिफल दिन्छ ।’

नेपालमा सरसफाई अभियान सञ्चालन भएदेखि सरसफाई व्यवहारमा भएको सामान्य व्यवहार परिवर्तनले पनि दिसा मुखमा परेर लाग्ने रोगहरु (झाडा-पखाला, आऊँ, हैजा, टाइफाइड, जण्डिस, रगतमासी, जुका, जिआरडियासिस) मा उल्लेख्य कमी आएको छ भन्ने कुरा विभिन्न तथ्याड्ढले देखाउँदछ तथा सर्वसाधारणले अनुभव पनि गरेका छौँ ।

हामीलाई लाग्ने अधिकांश रोगहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरसफाईसँग जोडिएका हुन्छन् भने केही सीमित रोगहरु (मधुमेह, उच्च-रक्तचाँप, मुटुसम्बन्धी रोगहरु, क्यान्सर आदि) मात्र मानवीय जीवन शैली तथा वंशाणुगत रुपमा लाग्ने गर्दछन् भने केही रोगहरु जनावरहरुको टोकाई वा सम्पर्कबाट सर्दछन् । यी बाहेक अन्य प्रायःजसो रोगहरु सरसफाई तथा हाम्रो सरसफाई अभ्याससँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्दछन् ।

नेपाल सरकारलगायत विभिन्न संघसंस्थाहरुले हिजोदेखि आजसम्म सरसफाईको महत्व दर्शाइरहँदा पनि आम मानिस मात्र नभएर पढेलेखेका जाने बुझेकाले पनि सरसफाई व्यवहारमा खासै परिवर्तन गरेको भने पाइएको छैन । अन्य कुराहरु त छोडौँ धेरैलाई साबुनपानीले हातधुने व्यवहार अपनाउन र परिवर्तन गर्न कोरोना कहरले सिकायो, कस्तो लाजमर्दो कुरा ! सामान्य व्यवहार परिवर्तन गर्न पनि हामीलाई महामारी नै आउनुपर्ने ? हाम्रो देशको सन्दर्भमा सरसफाईलाई कहिल्यै पनि विकासको प्रमुख एजेण्डाको रुपमा लिइएन ।

फलतः रोगव्याधी, कूपोषण, गरिबीले जकडिरह्यो । सरसफाईलाई अझै पनि गौण विषयकै रुपमा लिइएको पाइन्छ । दिगो विकास लक्ष्यका १७ विशिष्ट लक्ष्यमध्ये सरसफाई सुविधा तथा सुरक्षित खानेपानीमा पहुँच पनि एक प्रमुख लक्ष्य (शीर्ष छैठौँ) हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले सरसफाईलाई विकासको प्रमुख एजेण्डामा लिएको सन्दर्भमा पनि सरसफाईको क्षेत्रमा काम गर्ने भन्यो भने ए हात धुन सिकाउनुहुन्छ भनेर मजाकको रुपमा लिने र खिल्ली उडाउने बुज्रुकहरु पनि प्रशस्त भेटेको छु मैले । तर सरसफाई हामीले सोचेजस्तो यति सरल विषय चाहिँ पक्कै होइन । यो एक वृहत विषय हो ।

सुरक्षित पिउने पानीमा पहुँच र मानव मलमुत्रको समुचित व्यवस्थापन, ढल निकास तथा फोहर व्यवस्थापनका साथै एक व्यक्ति, परिवार, समाज तथा राष्ट्रको स्वास्थ्य सुधारको लागि गरिने तथा अपनाइने सम्पूणर् क्रियाकलापहरु, अभ्यास तथा आचरणको समग्र प्याकेज हो सरसफाई । मानव विकासको लागि यो एक प्रणाली हो, विकासको केवल एक अङ्ग मात्र होइन प्रमुख पूर्वाधार हो । हामी स्वस्थ रहनका लागि केही आधारभूत ज्ञान, व्यवहार तथा व्यवस्था जरुरी रहन्छ । ती हुन् :

१. साबुनपानीले मिचिमिचि हात धुने तथा व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने
२. महिनावारी स्वच्छता व्यवस्थापन ३.. सुरक्षित पानीको मात्र प्रयोग गर्ने ।
४. चर्पिको नियमित, समुचित र स्वस्थकर प्रयोग गर्ने
४. घरआँगन तथा वातावरण सफा राख्ने
५. सुरक्षित खानाको प्रयोग गर्ने
६. च्याङ, जुठ्यान तथा हात धुने निश्चित स्थानको व्यवस्थापन
७. धुवाँरहित चुल्होको व्यवस्थापन तथा जडान
८. गोठ व्यवस्थापन तथा वस्तुभाउको मलमुत्रको उचित व्यवस्थापन
९. खेर जाने पानी तथा खानाको व्यवस्थापन
१०. संस्थागत सरसफाई र सुविधाहरुको उपलब्धता ।

हामीले जान्नुपर्ने कुरा के हो भने जोखिमपूणर् अवस्था (खाना खानु अघि, खाना तयार गर्नु अघि, स्तन पान गराउनु अघि, विरामी, बच्चा र बृद्धबृद्धाको स्याहारसुसार गर्नु अघि र पछि, चर्पीको प्रयोग गरिसकेपछि, खाना खाइसकेपछि, र कुनै पनि किसिमको फोहर तथा विषादी छोइसकेपछि आदि) मा साबुनपानीले मिची-मिची हात धोएको खण्डमा हामी करिब ५० प्रतिशतले दिसा मुखमा परेर लाग्ने रोगबाट बच्न सक्छौँ र सुरक्षित रहन्छौँ ।

सुरक्षित पानीको प्रयोगले हामी करिब ३४ प्रतिशत तथा चर्पिको समुचित प्रयोगले करिब ३९ प्रतिशतले यी रोगबाट बच्न सकिने जानकारहरु बताउँछन् । खानेपानी सरसफाई तथा स्वच्छताका असल अभ्यासले स्वास्थ्यको क्षेत्रमा रहेको भार कम्तिमा करिब ९ दशमलव १ प्रतिशतले न्यूनीकरण हुन्छ तथा विश्वको कूल मृत्युमा कम्तिमा ६ दशमलव ३ प्रतिशतले कमी ल्याउँछ (स्रोतः सिडिसी) । सरसफाई मानवीय स्वास्थ्यलगायत अन्य विविध सामाजिक तथा आर्थिक पक्षसँग पनि जोडिएको छ । त्यस विषयमा थोरै र संक्षिप्त चर्चा गरौँ ।

सरसफाई र कूपोषण
जति नै पोषणयुक्त खाना खाए पनि यदि सरसफाईमा उचित ध्यान दिएको छैन भने मानिस बिरामी पर्छ । विरामी भएपश्चात उपचारको लागि स्वास्थ्य संस्था जानुपर्ने हुन्छ र समयमै उपचार पाए निको होला तर केही ढिला भएमा… । केही छ र निको नै हुन्छ भन्ने !! उपचारपश्चात पनि उक्त व्यक्तिको पाचन प्रक्रिया कमजोर हुनजान्छ, ऊ शारीरिक रुपमा कमजोर रहन्छ ।

फेरि पनि कूपोषित हुने सम्भावना रहन्छ किनकि पाचन प्रक्रिया कमजोर भएसँगै शरीरले लिनुपर्ने जति पोषण पाचन गर्न सक्दैन, रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ अनि फेरि अनिश्चित उपचारको शृंखला र कूपोषणको चक्र शुरु हुन्छ । साथै यसबाट हुने आर्थिक व्यय, मानसिक र पारिवारिक क्षति, उत्पादकत्वमा कमी आदि कुराहरु त छँदैछन् ।

सरसफाई र जीविकोपार्जन
अव्यवस्थित, प्रयोग गर्न नजानेका वा नगरिएका स्रोत हो, फोहर । जब यो स्रोतहरुको उच्चतम प्रयोग हुन्छ र गरिन्छ तब फोहर फोहर रहँदैन यो एउटा स्रोत वा साधनको रुपमा रहन्छ, उपभोग्य र आवश्यक वस्तुको रुपमा रहन्छ । उदाहरणको लागि बिस्कुट, चकलेट आदिको खोलबाट ढकिया, खेलौना आदि बनाउन सकिन्छ, खालि सिसी तथा बोत्तलबाट फूलदानी, कलमदानी, साबुनदानी तथा सजावटका विविध सामग्रीहरु बनाउन सकिन्छ, खेर गएका कागज तथा दप्तीबाट गुडिया घर तथा अन्य खेलौनाहरु बनाउन सकिन्छ । जसले गर्दा ती सामग्रीहरु बजारबाट किन्नु पर्दैन र बचत हुन जान्छ भने बढी मात्रामा तथा नियमित बनाई बजारमा विक्री वितरण गरी जीविकोपार्जन गर्न सकिन्छ ।

सरसफाई र कृषि
विशेषत खेर गएको पानीलाई संकलन गर्ने तथा करेसाबारीमा सिंचाईको रुपमा प्रयोग गर्न सकिन्छ जसले गर्दा फोहर पानीको समुचित प्रयोग हुन्छ भने पानीको अभाव भएको स्थानहरुमा यो सिंचाईको विधि झनै उपर्युक्त हुन्छ । एउटा परिवारलाई पुग्ने तरकारी खेतीको लागि घरबाट खेर जाने पानी तरकारी खेतीको लागि पर्याप्त हुन्छ भने सहर बजारमा पनि यो विधि प्रयोगले गमला वा छतखेतीमा सिंचाईको लागि पानीको जोहो गर्नुका साथै पानीको महशुलमा पनि न्यूनीकरण गर्छ । यसका साथै भान्साबाट निस्कने जैविक फोहरलाई प्राङ्गारिक मल बनाई त्यही मलको प्रयोग गर्न सकिन्छ । यसले आर्थिक व्यय कम गर्नुका साथै बचतमा बृद्धि गर्दछ ।

सरसफाई र व्यवसाय
सरसफाई मानवीय जीवनशैलीको अभिन्न अङ्ग हो । जन्मेदेखि मृत्युपर्यन्त सरसफाई जरुरी रहने भएकाले सरसफाई सुविधा तथा सामग्रीहरुको मागमा कहिल्यै कमी हुँदैन । सरसफाई सामग्रीहरु मात्र पाइने विशेष पसलहरु खासै नभएको परिप्रेक्षमा सम्पूणर् सरसफाई तथा स्वच्छता सामग्री पाउने पसल बेरोजगार तथा लगानीकर्ताका लागि एउटा राम्रो रोजगार तथा व्यवसाय हुन सक्दछ ।

यो वा अन्य सरसफाईसँग सम्बन्धित व्यवसायहरु वर्तमान सन्दर्भमा तथा आर्थिक उन्नतिको एउटा राम्रो विकल्प हुन सक्दछ । यसका साथै गरिब तथा विपन्न परिवारका महिलाहरुले बजारमा पाइने पुनः प्रयोग गर्न नमिल्ने सेनिटरी प्याड किन्न गाह्रो पर्ने तथा आर्थिक मारमा पर्ने हुँदा स्थानीय स्तरमा सूचिकारहरुले पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउन सिकेर त्यसको प्रबद्र्धन तथा बजारीकरण गरेमा पनि आम्दानीको राम्रो स्रोत हुन सक्दछ ।

यी केही सामान्य र संक्षिप्त उदाहरणहरु मात्र हुन् । सरसफाई मानव विकासको एक प्रमुख पूर्वाधार हो, जबसम्म मानव विकास हुँदैन तबसम्म अन्य विकासको मूल्य र औचित्य कम नै हुन्छ । अवश्य नै सरसफाईको गरिबी न्यूनीकरण तथा उत्पादकत्वमा बृद्धि, जीविकोपार्जन, पोषण तथा जनस्वास्थ्य सुधार, मानव विकासमा अतुलनीय भूमिका रहेको हुन्छ । यसका साथै महामारी तथा प्रकोपको समयमा सरसफाईको महत्व झनै बढ्नुका साथै स्वस्थकर सरसफाई आनी-बानी संवेदनशील र सचेत भई अपनाउन अपरिहार्य रहन्छ ।

कोरोना कहरको यस परिस्थितिमा सबैले सामाजिक दूरी कायम गरौँ, भीडभाडमा नजाऔँ, मास्कको प्रयोग गरौँ, पटक-पटक साबुन पानीले मिची-मिची हात धोऔं । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो । चेतना भया ।