सडकका ड्रम तत्काल हटाऊ

  •   
  •  

पटक-पटक हाटइएका राजमार्ग र सहायक राजमार्गमा फेरि ड्रम राख्ने अभ्यास सुरु भएको छ । दुर्घटना न्यूनीकरण अभियानका नाममा राखिएका ती ड्रमहरुले खासमा दुर्घटना बढाएको अवस्था देखिएको छ । कहिले राख्ने र कहिले हटाउने भन्ने नेपाल सरकारको भिन्नै नियम छ तर यहाँ त नेपाल सरकारले स्वीकृति नै नदिएको अवस्थामा पनि सडकै छेक्ने गरी राजमार्गमा ड्रम राख्ने अभ्यास फेरि सुरु भएको छ । तर सडकमा ड्रम राखेर दुर्घटना न्यूनीकरण हुने एउटा पनि तथ्य देखिएको छैन । खालि प्रहरीले आप्mनो अनुकुलको सुरक्षा प्रबन्धका लागि डकमा ड्रम राख्ने अभ्यासले सडक दुर्घटना न्यूनीकरण होइन, दुर्घटनाका सम्भावना बढाइरहेको छ । किनकि सडकमा राखिएकै ड्रममा ठोकिएर गोटीखोलामा एउटा स्कूलबस नालामा खसेको अवस्था छ, त्यस्तै सडकमा राखिएको ड्रममा ठोकिएर घाइते भएका एकजनालाई यहीँ हेलिकोप्टर झिकाएर उपचारका लागि काठमाडौं पनि लगिएको छ ।

सडकमा आम नागरिकलाई तथा यातायात व्यवसायीलाई समेत मुस्किल हुने गरी ढ्रम राख्न नेपाल सरकारको न सडक ऐनले स्वीकृति दिएको छ, न त स्थानीय पालिकाहरुले नै त्यस्तो निणर्य गरेका छन्, न त जिल्ला प्रहरी कार्यालयकै अभियानका रुपमा छ । तैपनि निहित स्वार्थका लागि जहाँ प्रहरी त्यहाँ ड्रमको उपस्थिति छ । प्रहरी रहँदारहँदै पनि ड्रम राखेर यातायात क्षेत्रलाई अवरुद्ध र असहज बनाउनु अवश्य पनि उपयुक्त होइन । पछिल्लो अवस्थामा ड्रम राख्नुको आशय प्रहरीले भागेका अभियुक्तलाई समाउने भनिएको छ । तर जहाँ ड्रम राखिएको छ, सायद त्यहाँ प्रहरीको उपस्थिति न्यून देखिएको छ । यो अवस्थामा अब सुरक्षा निकाय पनि समय सुहाउँदो चल्नु आवश्यक छ ।

दुर्घटना न्यूनीकरण हामी सबैको साझा अभियान हो, त्यसका लागि मादक पदार्थ सेवन गरेकाहरुलाई कुनै पनि अवस्थामा क्षमा नदिइने गरी चालक अनुमतिपत्र खारेजको अभियान प्रहरीले सञ्चालन गर्न आवश्यक छ । तीव्र गतिमा हुइँकिने सवारीलाई पनि प्रहरीले त्यही अनुसारको कारवाही प्रक्रियामा ल्याउन आवश्यक छ । आवश्यक परेको अवस्थामा स्थानीय सरकार तथा सरकारी वकिललाई समेत समन्वय गरी कारवाही प्रक्रिया अघि बढाउनु एउटा विकल्प हुन सक्छ, तर प्रहरीले हो वा जनसमुदायकै बलमा हो, कुनै पनि राज्यले लगानी गरेका सडकमा ड्रम राख्नु न्यायसम्मत होइन । ड्रम राख्नका लागि केन्द्रीय राज्य संयन्त्रले एउटा विषम परिस्थितिमा मात्रै स्वीकृति दिने छ । सडकमा ड्रम राखेर दुर्घटना न्यूनीकरण हुने होइन, सके सूचना प्रविधिलाई अनुशरण गर्दै सिसी क्यामेराको व्यवस्थापन गर अन्यथा सडकमा राखिएका ड्रम तत्काल हटाउ, ती वैधानिक प्रक्रियामा राखिएका होइनन् ।