नयाँ घर
तल्लो जीवन उपन्यास अंश
यम रेग्मी
दिनभरि गाँउघर डुल्ने गोइँठे त्यस दिन बाहिरै निस्किएन । भित्रबाट ढोकाको चुकुल लगायो । साना दुईवटा झ्याल थिए कोठामा, त्यो पनि लगायो । औँसीको निस्पट्ट रात भयो कोठा । दिनभरि एक्लै कोठामा बस्यो धुमधुम्ती । बिहानको खाना पनि खाएन । छट्पटीमा बितायो पुरै दिन ।
साँझ काली कामबाट आई । दिनभरिको शारीरिक थकाई, त्यसमाथि झनै मानसिक तनाव । ऊ फत्रक्क गलेकी थिई । ओभाना दाउरा खोजी, आगो बाली । एक माना चामल डोसी अगेनीमा । दुईवटा आलु काटी, पकाई । आलुको झोलमा एक मुठी सिन्की राखी । छोरालाई खान बोलाई । तीनपटक बोलाउँदासम्म आएन ऊ । बोल्न पनि बोलेन । चारचोटी बोलाउँदा मात्र देखापर्यो भान्सामा । भूइँमा थचक्क बस्यो । काली थालमा भात पस्की । छोरालाई खान दिई । गोइँठे खान थाल्यो । दुई गास निलेर तेस्रो गास मुखमा राखेको थियो । काली एकटकले केही बेर छोराको अनुहारमा हेरी । भावुक भएर रुञ्चे स्वरले बोली-‘अहिले नै कपडा ठीक पारेस् भोलि उज्यालो नहुँदै जानुपर्छ, बाटामा धेरै मान्छेले देख्छन् । नानाभातीका कुरा गर्छन् ।’
गोइँठे खाँदाखादैको थाल आमातिर हातले हुइँकायो । जुरुक्क उठ्यो । रिसले जोडले हात झट्कार्यो । कोठाभरि छरियो हातका भातका सिता । राता-राता आँखा पार्यो र बोल्यो-‘खान्न मैले भातसात ! तैले नै घिँच । मलाई पैसामा बेच्ने तैँले, जान्न म, जान्न भन्दा पनि किन जिज्दी गर्छेस् ?’
काली टाउको ठाडो पारी । एकटकले केहीबेर छोराको मुख हेरी । बोली, ‘ए ! मैले बेचे नि तलाई म पनि बेचिएको छु, तेरो साखासन्तानको ऋणले ।’ काली कराईको तरकारी थालले ढाकी । आफूले खाना खानको लागि थाल तयार पारेकी थिई । त्यसलाई पछाडि राखी । अगेनामा आगो बलिरहेको थियो । भातको कसौँडी अगेनामा बसाली । उभिरहेको छोरोको अनुहार हेर्दै फेरि बोली-‘बस ह्याँ ! एकछिन् । तसँग आजै छिनोफानो गर्छु म ।’
‘बस्दैन, जान पनि जान्न के गर्छेस् ?’ गोइँठे उभिएर बोल्यो ।
– जान्नस् ?
– जान्न ।
– पक्का जान्नस् ?
– मरिगए पनि जान्न । कतिचोटि भन्ने तलाई कान सुन्दैनेस् ?
– ‘ए ! त्यसो पो हो, म जान्छु । सदाको लागि, तँ बस अब यो घरमा ?’ काली बसेको ठाउँबाट जुरुक्क उठी । सरासर बैठक कोठातिर लागी । गोइँठे सुत्ने कोठातिर लाग्यो, तनावै तनाव शिरमा बोकेर ।
बैठक कोठाको पूर्वतिरको कुनामा नाम्लोको बरियो झुण्डिएको थियो । छामछुम गर्दै त्यहाँ पुगी । बरियो दायाँ हातले छोपी, मूल ढोकाबाट बाहिर निस्किई ।
निस्पट्ट रात, गगनमा गमक्क कुहिरो । मन्दमन्द पवनको गति । त्यसमाथि विरक्तिएको मन । आँगनमा झुम्म परेको आँपको बोट थियो । दायाँवायाँ केही सोचिन उसले, फटाफट रूख चढी । उत्तरतिर गएको थियो रूखको एउटा हाँगा, त्यसमा बरियो एकतर्फको भाग बानी । अर्को तर्फको भाग घाँटीमा बानी । केटाकेटी हाँगाबाट फुन्गालेझैँ फुन्गाली । ऐया ! को आवाज गोइँठेको कानमा पर्यो ।
गोइँठे हतार-हतार कोठाबाट बाहिर निस्कियो । आमाको जुन दृश्य देख्यो । ठूलो आवाजमा चिच्चायो । भित्र कुद्यो हावाभन्दा छिटो । खुर्पा खोज्यो सधैँ राख्ने ठाउँमा, भेटायो । रूखमा चढ्यो बाँदरभन्दा छिटो । च्वाट्ट डोरी काट्यो । काली भुइँमा फ्यात्त ठूलो पाकेको कटहर खसेझैँ खसी । प्राण जोगियो उसको ।
खुर्पा घरको पेटीमा खसाल्यो आफूभन्दा पहिले । अनि हतार हतारमा आफू झर्यो । पल्टिरहेको आमालाई उठायो । बल गरेर काखमा आमाको टाउको राख्यो । च्याप्प आमालाई अँगालो मार्यो र रुँदै बोल्यो-‘आमा ! ए आमा ! तैँले के गरेको यो ? बाले त टुहुरो बनाए बनाए, तैँले पनि छोडेपछि कसको मुख हेरेर बाँच्ने म ? तँ बाहेक को छ र मेरो यो धर्तिमा ? जान्छु आमा ! जान्छु, भोलि ब्यानै जान्छु ।’ आमालाई धेरैबेर अँगालोमा कसेर डाको छोडेर रोइरह्यो ।
आमालाई हात डोर्याएर कोठामा ल्यायो । आमाछोरा एउटै कोठामा सुते, त्यस रात । तर उसको विस्तरामा रातभरि निद्रा आएन । छटपटीमै बित्यो रात ।
माथिल्लो घर भाले बास्यो । बिहानीको संकेत दियो । काली भारी टाउको बोकेर उठी । आँगनको एउटा घाँसको मुठो टिपी, गोठतिर लागी ।
आमासँगै उठ्यो गोइँठे पनि । सधैँ आफू सुत्ने कोठातिर लाग्यो । स्कूलले दिएको डे्रसको झोला थियो । झोलामा एक जोर कपडा राख्यो । पछाडि झोला बोक्यो । गोजाबाट रुमाल झिक्यो । आँखा पुच्यो । अँध्यारै थियो । संघारबाट बाहिर निस्कियो ।
काली गोठबाट फर्कंदै थिई । ऊ आफ्नै सोचमग्नमा थिई । झ्याप्प अगाडि छोराको धमिलो दृश्य देखी, मुटु चीसो भयो । टक्क अडिई । हात गोडा लुला भए ।
गोइँठे आमाको समीप गयो । पाउमा घोप्टो पर्यो । दुबै गोडा पालो गरी हातले तान्यो र ढोग्यो । उसका ताता आँसुले । दुवै गोडा निथ्रुक्क भिजे । जुरुक्क उठ्यो । केही बोलिन । स्वाक्क ! स्वाक्क !! गर्दै एक पटक हातको रुमालले नाक दल्यो, सरासर उत्तरतिर लाग्यो ।
काली सालको बोटझैँ ठिङ्ग उभिई । एकटकले हेरेको हेर्यै भई । केही भन्न चाहन्थी, वाक्य फुटेन । च्याप्प समाएर रोक्न चाहन्थी, गोडा चलेन । छोराको धमिलो आकृति देखिँदासम्म हेरिरही । आकृति क्षणभरमै झिसमिसेमै हरायो । उसलाई भनभनी रिँगटा लाग्यो । थचक्क बसी, घुँडाले टेकेर । टाउको भुइँमा अर्याई, आँखा मिच्दै सुक्क ! सुक्क ! गरी धेरै बेर ।
-०-०-०-
कृष्ण बाजे नित्य कर्ममा थिए । गोइँठेलाई देखे आँगनीमा । मुसुक्क हाँसे । बोले ‘ए आईपुगिस् ? लौ ठिक छ । यही पेटीमा बस ।’
गोइँठे पेटीमा थचक्क बस्यो । दुवै गोडा झुण्ड्याएर । ‘के रे तेरो नाम ?’ बुढा नजिकैको कुर्सी तानेर बस्दै बोले ।
‘नाम त गोपाल हो । तर सबैले गोइँठे भन्छन् ।’ जमिनतिर हेर्दै बोल्यो गोइँठे ।
‘अहा ! कति राम्रो नाम गोपाल । गोइँठे पनि नाम हुन्छ ? तँलाई मैले गोपाल भन्छु अब । हुन्छ नि ?’
गोइँठे केही बोल्दैन । मुसुक्क हाँस्यो । टाउको दायाबायाँ हल्लाउँदै हुन्छ को संकेत गर्यो ।
‘ल भित्र बैठक कोठामा आइज ।’ बुढा कोठामा छिर्छन् । सोफामा थचक्क बस्छन् ।
गोइँठे डराई-डराई कोठामा छिर्छ । ढोकाको छेउमै ठिङ्ग उभिन्छ ।
‘गोपाल बस न ?’ बुढा टिभीको रिमोट छोप्दै बोल्छन् । ऊ दुवै गोडा घुँडाबाट फोल्ड गर्छ । थचक्क बस्छ ।
ठूलो रंगीन कोठा, सुन्दर कार्पेट, सुन्दर सोफा, आर्कषक टेबुल, भित्ताभरिको टिभी । गान्धीदेखि माओसम्मका भित्ताभरि तस्वीर । अभिनन्दनदेखि आर्थिक सहयोगका कोठाभरि प्रमाणपत्र । टाउको ठाडो पारेर आँखा डुलाउँछ ।
‘डाइडी ! कफी लिइस्यो ।’ भर्खर नुहाएर कपालबाट पानी चुहाउँदै रक्षा भित्र पस्छे । आवाजले गोपाल खङ्ग्रिङ्ग गर्छ । भित्ताबाट आँखा हटाउँछ । रक्षातिर पुलुक्क हेर्छ । दुबैको आँखाको मिलन हुन्छ । गोपालको गरिबीपन, फोहरीपन देख्छे रक्षाले । नाक खुम्च्याउँदै बोल्छे-‘छ्या ! को हो यो ? किन यसलाई भित्र पस्न देको हजुरले डाइडी ? यसलाई बाहिर धपाइस्यो न ? भर्खरै पोचा लगाएको कार्पेट हेरिस्यो न कति डट्टी बनायो यसले ?’
रक्षाको कुरा सकिएको थिएन । सीता दूधको गिलास हातमा छोपेर बैठकमा आई । सोफामा थचक्क बसी । गोपालको अनुहारमा पुलुक्क हेरी । लोग्ने कृष्णको अनुहारमा पनि अनौठो भावले हेरी । निधारको छाला खुम्च्याँउदै बोली-‘कठै ! कठै !! यस्तो दूधेबच्चाले के काम गर्नसक्छ ? गोठको काम गर्छ कि घरको काम गर्छ ? खेतबारीको काम गर्छ कि मेलापात जाने काम गर्छ ?’
‘सक्छ, किन सक्दैन ? नसकने काममा हाम्ले सयोग गरे हुन्न ? तिम्ले भने जस्तो मान्छे काँ पाइन्छ आजभोलि ? यसलाई त कुन मुस्किलले खोज्या हो ।’ बुढा चर्को स्वरमा बोले ।
सीता कालो मुख लगाई । गोपालको अनुहार हेरी र बोली, ‘सबलाई पाइन्छ ? हजुरलाई त काँ पाइन्छ र ? एक त लल्लो जात त्यसमाथि यो दुधे पिउसो । उल्टै यसको स्याहार गर्नुपर्छ ।’
‘भयो, धेरै कचकच नगर । यसलाई पनि च्या बनाएर ल्याऊ ?’ बुढा पत्नीतिर हेर्दै बोले, सीताले छोरीलाई अर्याई ।
रक्षा जुरुक्क उठी । सरासर भान्सातिर लागी । एकै छिनमै चिया ल्याई । गोपालको हातमा कप राखिदिई ।
सीता ठूलो स्वरमा बोली- ‘ला ! छोयो मोरा चमरले छोरीलाई ? आफ्नो जात त थाहा पाउनुपर्ने हो नि जाइनलाई ? यत्रो यत्रो भएर पनि ।’ केही अघि सानो देखेकी थिई । अहिले ठूलो देखी । सीताको आवाजले गोपाल लुगुलुगु काप्यो । ठूलै पाप गरेझैँ लाग्यो । कापेका हातबाट चिया छर्छकिएर फेरि पोखियो ।
‘फेरि च्या पोख्यो । लुला छन् क्या हो यसको हातगोडा ?’ सीता झनै ठूलो स्वरमा कराई । रक्षालाई पनि ठूलै अपराध गरेझैँ लाग्यो । ऊ पनि केही नबोलेर टक्क उभिई । सीता छोरीको अनुहारतिर हेरी र बोली, यत्री बड्डी छेस्, तल्लो जातसँग छोइनु हुन्न भन्ने तँलाई था छैन, हाम्ले खाने कपमा दिनुपर्छ यसलाई ? जा फेरि बाथु्रममा नुहाएर आ ?’
रक्षा केही बोलिन । अँध्यारो मुख लगाई बाउले कफी खाएको कप टिपी । आमाले दूध खाएको गिलास टिपी । कोठाबाट बाहिर निस्किई ।
कृष्ण केही बोलेनन्, पत्नीसँग । घरमा झगडाको वीज रोप्न चाहेनन् ।
टिभीको रिमोट नजिकै सोफामा थियो । हातमा ल्याए रिमोट । बटन दबाए । टिभी खुल्यो ।
विरानो यो मन्दिरमा, कुनै दियो बोल्दैन
न आऊ मेरो सामू तिमी, मैले छोएको पानी चल्दैन ।
टिभीमा यश कुमारको गीत बजिरहेको थियो ।
क्रमशः …
