Goraksha

National Daily

बाबुआमा दिवस र हाम्रो संस्कार

के.पी. सुवेदी

हामीलाई अझैसम्म अनौठो लाग्छ कि आफ्ना आमाबुबालाई सम्झने पनि कुनै खास दिन हुनुपर्छ । तर यो कुनै काल्पनिक कुरा होइन, आज पाश्चात्य संस्कृतिलाई मानव सभ्यताको उच्चतम शिखर भनेर सगौरव वणर्नन् गरिरहँदा त्यही संस्कृतिले यस्तो अनौठो परम्पराको सुरुवात मात्र गरेको छैन संस्कृतिको अभिन्न अङ्ग बनाइसकेको छ ।

तर हाम्रो पूर्वीय दर्शन या हामीले मान्ने संस्कृति र परम्पराले हामीलाई आफ्ना जन्मदाताहरुप्रति सदा उत्तरदायी हुँदै उनीहरुको सेवामा लीन हुन सिकाएको छ । हाम्रो धर्मग्रन्थ र पौराणिक नीति दर्शनले हाम्रा मातापिता, जसलाई हामी जन्मदाता भनेर मानेका छौँ, उहाँहरु इश्वर या देवता भनेर मानिएको छ । त्यसैले भनिन्छ ‘मातृदेवो भवः पितृदेवो भवः ।’

भन्न त अतिथि र गुरुलाई पनि देवता सरह मान्नुपर्छ भनिएको छ तर आज विशेष दिनको अवसरमा विश्वभरिका मानिसहरुले आफ्ना जन्मदाताहरुलाई सम्झेर कृतज्ञ हुने पावन दिनमा हामीले यसको शान्दर्भिकताको चर्चा गर्नु उपयुक्त हुने सम्झेर यो लेखमा समेट्ने कोशिस गरिएको हो ।

आमाबुबाबाट विछुट्टेका सन्तानले कम्तिमा वर्षमा एकदिन सम्झिउन भनेर मातातीर्थ औँसीलाई आमालाई भेट्ने दिन अनि कुसेऔंसीलाई बुबालाई भेट्ने दिन भनेर मनाउन थालिएको छ । यसको अर्थ बाँकी दिनहरुमा आमाबुबाको वास्ता नै गर्न जरुरी छैन भनेको पक्कै पनि होइन ।

तर आजको युगमा कामकाजी मानिस महिला वा पुरुष जोसुकै पनि घर बाहिर काममा नगई नहुन सक्छ । किनभने आकांक्षा र आवश्यकता दुवैले मानिसलाई अगाडिको बाटो पहिल्याएर धेरै टाढासम्म श्रमको खोजीमा भौँतारिन वाध्य पारेको छ ।

यसरी पेशा व्यवसायको सिलसिलामा टाढा रहे पनि हामी पश्चिमी संस्कृतिको अन्धानुकरण कहिल्यै गर्न सक्तैनौँ । आज संसारलाई इन्टरनेट र सञ्चार प्रविधिको सहायताले नजिक तुल्याएको छ । त्यसैले कहाँको मानिस कामको खोजीमा कहाँ पुगेको हुन्छ ।

विकसित मुलुकहरुमा मानिसहरु घरबाहिरै समय व्यतीत गर्नुपर्छ र परिवारसँग समय बिताउन कुनै खास दिनको पर्खाईमा हुन्छन्, त्यस्ता अर्थ सामाजिक परिवेश निर्माण भएका कारण यसरी वर्षमा एकदिन आफ्ना जन्मदातालाई भेटेर उनीहरुलाई आफ्नो उन्नति, प्रगतिबारे जानकारी गराउँदै उपहार दिने र उनीहरुबाट आंशिक ग्रहण गर्ने दिन नै यस दिनको सान्दर्भिकता ठहर्छ ।

सन्तान अर्थात् छोरीछोरा बुढेसकालका सहारा बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ र यही मान्यता कायम राख्न हाम्रो संस्कारले सिकाउँदै आएको पनि छ । हाम्रो परम्परा र संस्कारमा उभिएर हाम्रा कानुनहरु बनेका छन् । हाम्रो कानुनले आफ्नो सम्पत्तिको उत्तराधिकारी वा शेषपछिको हकदारको व्यवस्था जो गरेको छ, त्यसले पनि बाबुआमाको हेरचाह गर्नु हरेक सन्तानको कर्तव्य भनेर मानिएको छ ।

हाम्रो सामाजिक सांस्कृतिक सम्बन्धको परम्परागत व्याख्या अलि फरक र अलि पुरुषप्रधान भएकोले छोरीलाई पराई बनाउने र बुढेसकालमा आमाबावुप्रतिको जिम्मेवारी दिन नखोजिने खालको रहँदै आएकोमा त्यसलाई विभिन्न कानुनले सच्याउने गर्न थालिएको छ । त्यसपछि आफ्ना सन्तानप्रति विभेद गर्ने एक प्रकारको कूप्रथा सच्याएर सन्तान सबै बराबर हुन् भन्ने मान्यता स्थापित गर्न खोजिएको छ ।

तर एउटा शाश्वत सत्य त्यो हो कि फरक वंशका स्त्री र पुरुषको बीचमा वैवाहिक सम्बन्ध हुँदा उनीहरु दुवैजना आफ्ना बाबुआमा सँगसँगै बसेर सहारा बन्न नसक्ने मानवीय कमजोरीलाई सच्याउने कोशिस गर्दागर्दै यस्तो परम्पराको अनुकरण गर्न पुगिँदोरहेछ ।

हुन त यस्ता चलनहरुको लामो इतिहास छ र आ-आफ्नो प्रकारको परिवारप्रतिको जिम्मेवारी एउटा सामाजिक कानुनमा रुपान्तरित भइसकेको हुन्छ । तर कुनै पनि परिवारलाई असल, संस्कारी र सभ्य बनाउन परिवारका अगुवाहरुको भूमिका महत्वपूणर् हुन्छ ।

पश्चिमी सभ्यतामा सन्तानलाई सक्षम बनाएपछि अविभावकको जिम्मेवारी पूरा भएको मानिन्छ र त्यसपछि न त परिवारका अविभावक न त सन्तान, उनीहरु कसैप्रति आश्रित हुनुपर्ने सामाजिक दायित्व रहन्न रे ।

त्यस्तै परम्पराका अनुयायीहरु आफ्ना जन्मदाताप्रति कृतज्ञता जाहेर गर्न आजको दिन छानेका हुन्छन् र यसरी एउटा विशेष पर्वकै रुपमा मनाउने गरी विश्वभरि एकरुपता ल्याउन विश्वका प्रजातान्त्रिक मुलुकका शिखर व्यक्तित्वहरुको संयुक्त प्रयास पहिलो पल्ट सन् २०१८ को जुलाईमा अन्तर्राष्ट्रिय सम्मेलन गरी थालिएको हो । हरेक वर्षको जुलाई २६ को दिनलाई विश्व आमाबुबा दिवस मनाउन थालिएको छ ।

हामी फरक प्रकारको पारिवारिक सम्बन्ध हुर्किनेहरुका लागि यस पर्वको केही महत्व छ कि छैन ? भन्ने जिज्ञासा लिने हो भने राम्रो कुराको सुरुवात सबैलाई प्रेरणादायी हुन सक्छ । हाम्रो संस्कारले जे सिकाएको भए पनि विस्तारै पश्चिमी प्रभावमा पर्नथालेको हुँदा हामी यति पनि बिर्सिन्छौँ कि भन्ने शंका लाग्छ र सधँै सँगसँगै बसेर सहारा बन्न नसके पनि यो धर्तिमा पदार्पण गराएर सवल मानव बनाउने देवगणप्रति नतमस्तक हुनु परम कर्तव्य सम्झनु पर्छ ।

हामी जे गर्छौँ हामी पछिको उत्तराधिकार त्यसरी नै चलिरहन्छ । त्यसैले राम्रो कुरा आफूपछिकालाई हस्तान्तरण गर्न आफूले राम्रो गर्नैपर्छ । आँप फलाउन आँपकै विरुवा रोप्नुपर्छ । यसै प्रसङ्गमा एउटा लघु कथा छः नेपालीमा, एक पटक एउटा मानिसले आफ्नो बुढो बाबुलाई जिउँदै लगेर जंलमा छोड्न डोकोमा हालेर बोक्न थाले छ, त्यसैबेला उसको सानो छोरा उसको नजिकै आएर बाजेलाई फालेर डोको नफाली फर्काएर ल्याउन भने छ, किन ल्याउनु डोको भनेर सोध्दा सानो छोराले भनेछ ‘पछि म ठूलो भएपछि तपाईंलाई फाल्न मलाई पनि डोको चाहिन्छ, नि !

भनेपछि म पनि बुढो हुन्छु र यस्तै हालत मेरो पनि हुने रहेछ भन्ने सम्झेको थियो भन्ने कथाले सिकाउँछ कि हामी जे गर्छौं हामी पछिको पुस्तालाई त्यस्तै संस्कार हस्तान्तरण हुन्छ ।