भद्र प्रतिपक्षका नाममा लोकतन्त्र लुटाउन दिन्नौ : गिरी
खेमराज रिजाल
तुलसीपुर, १० साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले करिब-करिब दुइतिहाईको मत प्राप्त सरकार भए पनि वर्तमान अवस्थामा नागरिकका समस्यामा कत्ति पनि गम्भीर नभएको बताएका छन् । यो सरकारलाई अकर्मण्यताको सरकार भन्न पनि नमिल्ने भन्दै सुशासनका विपरितका गतिविधि र भ्रष्टाचारका विषयमा भने सरकार पोख्न देखिन थालेको पनि उनले बताए ।
लकडाउन अवधिभर काठमाडौंमा रहेर पार्टीलाई सुशासनतर्फ लैजाने र जनमतको राजनीति गर्न सुझाउँदै आएका केन्द्रीय सदस्य लकडाउनपछि गृहजिल्लामा आएर सरकार नागरिक स्वार्थका हरेक विषयमा असफल भएको अभिव्यक्ति दिए ।
सरकार गठन ताका दुइतिहाई वहुमतको सरकार गठन भएकोमा आफ्नो पार्टीलाइ पनि खुशी लागेको भन्दै अब मुलुक समृद्धिको दिशामा अघि बढ्ने आफूहरुले अपेक्षा गरेको अवस्थामा त सरकार एकपछि अर्को वेइमानीतर्फ लागिरहेको आफूहरुले पाएको उनको अभिव्यक्ति थियो ।
वहुमतको सरकारलाई जसरी पनि चलाउन दिनुपर्छ भन्ने मान्यतामा आफूहरु लागिरहेको स्मरण गर्दै केन्द्रीय सदस्य गिरीले पछिल्लो समयमा आएर वर्तमान सरकार अकर्मण्यता मात्र होइन, कताबाट कमिशन आउँछ, कताबाट नेता कार्यकर्तालाई हित हुन्छ भन्नेमा लाग्न थालेको पनि बताए ।
‘नेपाली कांग्रेसको निणर्य भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने थियो, त्यसैले हामीले सरकारले गरेका हरेक गतिविधिहरुलाई सहमति जनाउँदै आयौँ, तर हामीले भद्र सहमति गरेकै भरमा नेकपामा जे गरे पनि हुन्छ भन्ने मानसिकता मौलायो’- केन्द्रीय सदस्य गिरीले भने- ‘अब भद्र प्रतिपक्षीको भूमिका तोड्ने अवस्था आइसकेको छ ।’
नेपाली कांग्रेसलाई भद्र प्रतिपक्षी भएको भन्दै वर्तमान सरकारले वहुदलीय लोकतन्त्र नै समाप्त पार्न खोजेकाले आफूहरुले त्यो कतैबाट पनि हुन नदिने बताए । ‘जनताको मतलाई स्वीकार गर्नुपर्छ भन्ने मान्यता हो, हामीले त्यसै अनुरुप सरकारलाई चल्नलाई कुनै अवरोध गरेनौँ, तर वहुहतका नाममा सरकार निरंकुशतातर्फ मात्रै मडारिइरहेको छ, यदि यस्तै निरंकुशता हो भने वहुदलीय लोकतन्त्र पनि धरापमा परेको हामीले बुझिसकेका छौँ’-लकडाउनपछि तुलसीपुरमा पत्रकारहरुसँग संक्षिप्त भेटघाटमा केन्द्रीय सदस्य गिरीले भने ।
नेकपा आफ्नै कुर्सीदौडको अभ्यास गरिरहँदा आम नेपालीले दुःख पाएको भन्दै जनताका न्यूनतम आवश्यकता पूरा गर्न सरकारलाई चेतावनी दिए ।
‘कोभिड परीक्षणमा रिएजेण्ट र किट अभाव भइरहेकाबेला सरकार विश्व स्वास्थ्य संगठनले बन्देज गरेको आरडिटी किट खरिद गरिरहन्छ, बाढीपहिरोले राजधानी ब्लक हुँदा नेकपाको विवादको बैठकमै सरकार केन्द्रित हुन्छ, न राहत न उद्धार, यो अवस्थामा वर्तमान सरकार वहुमतकै भए पनि जनताको नजरमै गिरेको हो’—केन्द्रीय सदस्य गिरीले भने ।
मुलुकमा चार महिना गरिएको लकडाउनको उपलब्धिका विषयमा केही समीक्षा नै नगरी सरकारले एकाएक लकडाउन खोले पनि स्वास्थ्य सुरक्षाका विषयमा भने केही योजना नल्याएको पनि उनले बताए । यसैगरी बालबालिकाको शिक्षा क्षेत्र खुलाउने वा अन्य विकल्प दिने विषयमा पनि सरकार असफल भइसकेको पनि उनको अभिव्यक्ति थियो ।
‘चार महिना लाडाउन गर्यौँ, तर उपलब्धि के भो र के-कति उपलब्धिका कारण लकडाउन खोलिएको हो ?’ गिरीले भने ‘हामी सरकारलाई यही प्रश्न सोधिरहेका थियौँ, तर सरकार बेखबर छ, सबैले खोलौँ भनेर खोलेको ।’
वर्तमान सरकार कूटनीतिक संस्कारमा पनि असफल भएको गिरीको अभिव्यक्ति थियो । कहिले उत्तर ढोग्ने, कहिले दक्षिण ढोग्न नीतिले नेकपाको सरकार जनतामा स्थापित हुनै नसक्ने पनि उनको अभिव्यक्ति थियो । किनकि यो सरकारसँग वैदेशिक कूटनीति समेत असफल भइसकेको छ ।
वर्तमान सरकारका प्रधानमन्त्री केपी ओली आफ्नै कुर्सी जोगाउन तल्लीन भएको अवस्थामा मुलुकले कुनै समृद्धि पाउन नसक्ने पनि उनको अभिव्यक्ति थियो । केपी ओली र प्रचण्डबीच पार्टी एकताभन्दा पनि कुर्सी एकता भएको स्मरण गर्दै यो अपवित्र गठबन्धन दिगो बन्नै नसक्ने उनको अभिव्यक्ति थियो । यी दुई नेताको कुर्सीमोहको झगडाकै कारण मालपोतदेखि न्यायालय र सञ्चार क्षेत्र समेत प्रभावित भइरहेको बताए ।
एउटा पीडकलाई कानुनले तोकेको समयसम्म सजाय दिन तल्लो अदालतबाट फैसला भइसकेको अवस्थामा पनि फेरि सर्वोच्चका न्यायाधीशकै फैसलामा भएको आदेशमा विरोध किन भइरहेको छ ? यो विषयमा पनि सरकारले संसद्लाई विश्वस्त गराउनुपर्ने पनि उनको अभिव्यक्ति थियो । ‘रञ्जन कोइरालाको सर्वोच्चको फैसलाका विषयमा सर्वन्यायिक क्षेत्रबाट विरोध भइरहेको छ, यो विषयमा फैसलाको पुनरावलोकन हुनुपर्छ भन्ने मेरो मान्यता हो’—केन्द्रीय सदस्य गिरीले भने ।
स्वतन्त्र कानुनको दायरामा सबैलाइ ल्याउनुपर्छ भन्नेमा नेपाली कांग्रेस लागिरहेको पनि उनले बताए । त्यसैगरी दाङ जिल्लामै पनि न्यायलाई पार्टीगत कार्यकर्ता र नेताका रुपमा हेरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि उनको अभिव्यक्ति थियो । आस्थाका आधारमा दण्ड दिने प्रवृत्ति सुरक्षा निकाय र न्यायलायले पनि निरुत्साहित गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो ।
नेपाली कांग्रेसले आउँदो फागुनमा गर्ने महाधिवेशनमा आफूलाई बलियो केन्द्रीय सदस्यको उम्मेद्वारका रुपमा पनि प्रष्ट्याउन आएका नेता गिरीले कांग्रेसको विधानले ५०/५० को क्रियाशील सदस्यको प्रावधानलाई हटाउन पनि आग्रह गरेका छन् । जहाँ कांग्रेसका कार्यकर्ता तथा नेता धेरै सक्रिय छन्, त्यहाँ आवश्यकता अनुसारको सदस्यता वितरण गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । अब कांग्रेसलाई एकढिक्का बनाउनका लागि पनि यो ५०/५० को अवधारणा हटाउनुपर्ने पनि उनको अभिव्यक्ति थियो ।
पार्टीलाई एकढिक्का गर्नका लागि पनि तोकिएको महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्न पनि उनले आम नेताकार्यकर्तालाई सुझाव दिएका थिए । गुटपरस्त राजनीतिको जहिल्यै पनि विरोध गर्दै आएका कांग्रेस नेता दीपक गिरीले आउँदो महाधिवेशनमा केन्द्रीय सदस्यभन्दा पनि माथिल्लो तहमा माहोल बनाउन आम नेता कार्यकर्ताहरुबाट सुझाव आएको बताएका छन् । सम्भवतः उनी सहमहामन्त्रीका प्रत्यासी बन्ने पनि सम्भावना देखिएको कांग्रेस स्रोतले बताएको छ ।
