दिल खोलेर माया बाँडौ
मनोज पौडेल
कुनै पनि कारण वा महामारीले हुने संक्रमण, प्रभाव, मृत्युका घटनाक्रम, त्यसको मापन र प्रकृतिले हाम्रो मनोविज्ञान र त्यस सँगसँगै उत्पन्न प्रश्न, जिज्ञासा, विचार, व्यवहार तथा सोचाईले हाम्रो वैयक्तिक, पारिवारिक एवम् सामाजिक जीवनमा सकारात्मक र नकारात्मक दुबै पक्षलाई समेटेको हुन्छ । यसले अवसर र चुनौतीलाई सँगै डोर्याइरहेको हुन्छ ।
हामीसँग अवसरका अनगिन्ति विकल्पहरु रहन्छन् र ती विकल्पहरुलाई जब हामीले देख्दैनौँ, देखाउने वा सिकाउने कोही हुँदैन तब नैराश्यता उपन्न हुन्छ । नैराश्यताले नकारात्मक ऊर्जा उत्पन्न गर्छ, सन्त्रास पैदा गर्छ र यसले मानिसमा वैरागीपन सिर्जना गर्छ । जसले गर्दा ऊ खुशी हुन सक्दैन, मानसिक स्वास्थ्यको सन्तुल बिग्रन सक्छ ।
यसले आफूमा भविष्य छैन, जिन्दगी के नै पो हो र भन्ने चिन्तनको विकास गर्छ । नितान्त एक्लोपन महशुस हुन्छ र निम्त्याउँछ अकल्पनीय घटनाका क्रमबद्ध शृंखलाहरु । हाम्रो सानो हेल्चक्राईले हामीमा, हाम्रो परिवारमा, समाजमा र राष्ट्रमा ठूलो विपत नपरोस्, त्यस कुरामा कुनै पनि असर नपरोस् त्यस कुरामा हामी सचेत रहनु आवश्यक छ ।
यो हाम्रो वैयक्तिक, पारिवारिक, नैतिक र सामाजिक उत्तरदायित्व, जिम्मेवारी र कर्तव्य पनि हो । जहिले पनि महामारीले निम्त्याउने समस्या भन्दा मानसिक विचलन सँगै उपन्न हुने डिप्रेसनले निम्त्याउने समस्या जटिल हुन्छ र पीडादायक पनि । जीवनलाई हामीले तथ्याड्ढ वा गणितीय हिसाब गरेर तुलना गर्न मिल्दैन ।
हो मापनको लागि गरिन्छ र त्यसको जानकारी पनि रहनु पर्छ तर वास्तविकता के हो भने हरेक मानिस आफैमा शतप्रतिशत हो । चाहे एक मात्र होस्, सयमा एक होस्, हजारमा एक होस् वा लाखौँ, अर्बौंमा । उसको एउटा जीवन उसको लागि उसको परिवार, बालबच्चा, आमाबुबा, दाजुभाइ। दिदीबहिनी, शुभचिन्तक सबैको लागि शतप्रतिशत नै हो । यो कुरा हामीले बुझ्न र बुझाउन जरुरी छ । किनकि मानसिक स्वास्थ्य जरुरी छ ।
मेरो प्रिय मित्र कपील भन्नुहुन्छ : ‘हामीलाई टाउको दुखेको समयमा कहाँ जाने भन्ने त थाहा छ तर मन दुखेमा कहाँ जाने भन्ने थाहा छैन, हामीले हरेक कुरामा जजमेन्ट गर्छौं, बिना जजमेन्ट हामीले कसैको कुरा बिना कुनै आग्रह वा पूर्वाग्रह सुनिदियौँ मात्र भने पनि यो समस्यामा निकै कमी आउन सक्छ ।‘ साथी कपील एक चर्तित तथा जल्दोबल्दो मनोपरामर्शदाता हुनुहुन्छ ।
हिजो कोरोना कहर र लकडाउनका कारण प्रत्यक्ष वा परोक्ष रुपमा उपन्न पारिवारिक, सामाजिक, वैयक्तिक, आर्थिक आदि विविध समस्याका कारणले उत्पन्न मानसिक समस्याका कारण हामीले धेरै नै अकल्पनीय, दुःखद् र पीडादायक समाचारहरु सुन्नुपर्यो र आज लकडाउन खोलेसँगै उत्पन्न हुने यस्तै विविध समस्याका कारण उत्पन्न हुनसक्ने मानसिक समस्याका कारण हामीले फेरि यस्ता पीडा भोग्नु नपरोस् भन्ने कुरामा हामी सबै सचेत रहनुपर्ने हुन्छ ।
लकडाउन भएको केही समय पश्चात मैले आफ्नो एक आलेखमार्फत् कोरोनाको यो वैश्विक महामारीमा पनि कसरी खुशी रहनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्यलाई कसरी बरकरार राख्न सकिन्छ भनेर संक्षिप्त रुपमा आफ्ना ज्ञान तथा सिकाई पस्केको थिएँ र आज लकडाउन खुलेको अवस्थामा पनि यस्ता समस्याहरु देखिँदैनन भन्ने छैन ।
हिजो र आजको अवस्थामा मात्र नभई जीवनपर्यन्त हाम्रो मानसिक स्वास्थ्य ठिक रहन अनिवार्य छ । सबैले आफू वा अरु कोही कतै डिप्रेशनमा त छैन वा जान लागेको त हैन भनेर जान्न र सो निर्मूलीकरणका लागि चाल्नुपर्ने पाइलाहरुको बारेमा अनिवार्य जान्नुपर्ने हुन्छ ।
सामान्य रुपमा कहिलेकाहीँ दुःखी हुनु सामान्य जीवनको प्रक्रिया हुन सक्ला तर कहिले जब मानवीय भावनामा जीवन भोगाई र हुने उतारचढावका करणले निराशा, खिन्नता तथा वैराग्यताले जरो गाडेर उम्कन मान्दैन भने त्यो डिप्रेशन हो । डिप्रेशन दुःखी हुनु भन्दा केही फरक कुरा हो ।
जीवन संघर्ष तथा भविष्य निर्माणको बाटोमा आउने बाधा, व्यवधान तथा खाएका हण्डरका कारण वा मानसपटलमा आउने विभिन्न सोचाई र त्यसले कुनै पनि मानिसको वैयक्तिक जीवनमा आउने परिवर्तन मात्र नभई उसको कार्य दक्षता, अध्ययन, खानपान, निद्रा, रमाइलो गर्ने प्रवृति र प्रकृति, व्यवहारमा परिवर्तन गरेको छ भने सम्झनुस् उसलाई डिप्रेशन भएको हुनसक्छ, प्रवल सम्भावना छ ।
यसलाई समयमै सम्बोधन गर्न सकिएन, उपचार गरिएन भने गम्भीर स्वास्थ्य समस्याको रुपमा रहने मात्र नभई अप्रिय दुर्घटना पनि निम्त्याउन सक्छ । र, डिप्रेशनबाट बच्नको लागि मानसिक स्वास्थ्य ठिक रहन जरुरी रहन्छ । मेरो बुझाई के हो भने एक्लोपनको महशुस, रुष्ठता, दबाब, असफलता, असमझदारी, मायामा कमी कसैले नियमित गर्छ, गरिन्छ वा गराइन्छ भने डिप्रेशन हुने सम्भावना प्रवल रहन्छ ।
यसले नकारात्मकता सिर्जना गर्न मद्दत गर्छ र ती सोचाईसँग अवश्य नै मानवीय आवेग, संवेग, भावना, व्यवहार र उसले अगाडि चाल्न सक्ने सम्भावनाका पाइलाहरु जोडिएका हुन्छन् ।
सकारात्मक सोचौँ, एक्लोपन हुन नदिऔँ, असमझदारीहरु अन्त्य गरौँ, रमाइलो गरौँ, आफ्ना भावना तथा सोचाई आदानप्रदान गरौँ । आफ्नो अथवा अरु कसैको पनि व्यवहार, प्रतिक्रिया आदिमा असामान्य परिवर्तन महशुस केही समयदेखि गरिरहनुभएको छ भने र हामी कसैलाई पनि दैनिक रमाइलो लाग्ने र गर्न मन लाग्ने कुराहरु आजको दिनमा क्रमशः गर्न मन नलाग्ने, एक्लै बस्न मन लाग्ने, अनायासै कमजोरी महशुस हुने, निद्रामा र खानामा गडबडी, कसैले निरन्तर दबाब दिएको जस्तो अनुभव हुने, झर्को लाग्ने, चिडचिडाहट लाग्ने आदि कुराहरु डिप्रेशन वा त्यसको सुरुवात हुन सक्छ ।
यसो भएमा तत्कालै मनोपरामर्शदातालाई भेट्ने तथा उपचार एवम् निदानको लागि जानुपर्ने हुन्छ ।
हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने जति नै निराश भए पनि हाम्रो अमूल्य जीवन र त्यो निराशाले उत्पन्न वातावरण नभई, अब आउने सुन्दर भविष्य हो । जसले हजारौं अवसरहरुका साथ हामीलाई पर्खिराखेको छ, हामी धेरै सुन्दर गर्न सक्छौँ र त्यो क्यालिबर हामी सबैसँग छ । कसैले हार मानेर बीचैमा छोड्छन् कसैले निरन्तर गर्छन्, समय र परिश्रमले हामीमा निखार र परिपक्वता ल्याउँदै जान्छ । निराशा हाम्रो सोचाई मात्र हो, जीवनको वास्तविकता होइन, हामीले धेरै राम्रो गर्न सक्छौँ ।
स्याबासी र सहानुभूतिका दुई शब्द, प्रेममय केही कुराकानी, सहयोग, अनुभव आदान-प्रदान, काम बाँडफाँड, माया र आत्मीयताको अनुभव, समझदारी, मनोरञ्जन, घुमघाम, थोरै स्वतन्त्रता, थोरै सद्भाव, थोरै ढाडस, आफ्ना प्रियजनको लागि केही परे म छु नि भन्नसक्ने दिलाशा, यी र यस्तै साना कुरामा हामी खुशी हुन्छौँ, मन चङ्गा हुन्छ, आनन्दका लहर कुद्छन् । त्यही पनि हामी गरिरहेका हुँदैनौँ ।
जुन कुरा वैयक्तिक जीवनको लागि मात्र नभएर पारिवारिक र सामाजिक जीवनको लागि अपरिहार्य छ । यही सामान्य र सजिलै गर्न सकिने कुरामा पनि हामी किन कञ्जुसी गर्ने, हामी थोरै उदार बनौँ ।
आफ्ना प्रियजनहरुलाई उनीहरुले गर्न खोजेका सकारात्मक कार्यमा साथ समर्थन गरौँ, आफ्ना शौखहरु पूरा गरौँ, परिवार, साथीभाइ, इष्टमित्रसँग नजिक रहौँ, नाचौँगाऔँ, खेलकुद गरौँ, योगध्यान गरौँ, फिल्म हेरौँ, हरेक कुरालाई सकारात्मक भएर सोचौँ, मीठो बोलौँ, मानवताको कदर गरौँ, कसैको जजमेन्ट नगरौँ, दिल खोलौँ र माया बाँडौँ ।
