नेकपा भित्रको सार्वजनिक आरोप प्रत्यारोप अनुचित
सत्तारुढ नेकपाको आन्तरिक कलह अझै सकिएको छैन । समाधान खोज्नका लागि बोलाइएको स्थायी समितिको बैठक अनिश्चित समयसम्मका लागि स्थगित भएको छ । भागबण्डाबाट समाधान खोज्ने गरी दुई अध्यक्षबीच वार्ता गर्ने भनियो, तर दुई अध्यक्षबीच भेटवार्ता नै हुन सकिरहेको छैन । भएका वार्ताहरू पनि सकारात्मक परिणाम दिनतर्फ उन्मुख छैनन् । यसै पृष्ठभूमिमा शुक्रवारको एउटा कार्यक्रममा प्रचण्डले जुन अभिव्यक्ति दिएका छन् त्यसले दुई अध्यक्षबीचको अपेक्षित संवादमार्फत् सहमति खोज्ने प्रक्रियामा नै समस्या थपिने महशुस गरिएको छ । अर्का अध्यक्ष ओली र उनको समर्थनमा उग्र हुनेहरूप्रति लक्षित गर्दै प्रचण्डले थुप्रै सवाल र आशंका उठाएका छन् । समाधान खोज्नका लागि एउटा समूहबाट जिम्मा पाएको नेताको यो प्रकारको अभिव्यक्ति उचित हुन सक्दैन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेकोदेखि भारतले मिचेको जमिन आफ्नो नक्सामा राखेर नयाँ नक्सा जारी गर्ने निणर्य आफूले गराएको दाबी प्रचण्डले गर्न भ्याए । नेकपाका संस्थापक पुष्पलालको स्मृतिसभामा यसो बोल्नु र आफ्ना समकक्षी अध्यक्षलाई आक्षेप र मानमर्दन महशुस हुने गरी अभिव्यक्ति दिनु नियोजित रूपमै आक्रमण गरेको हो भनेर बुझ्न गाह्रो छैन । नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला १४ असारमा निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको थियो । स्थायी कमिटीमा प्रचण्डसहितका नेताहरूले प्रधानमन्त्री ओलीको राजिनामा मागेपछि सडकमा ओलीको पक्षमा प्रदर्शन भएको थियो । ‘नक्सा जारी गर्नु भनेर निणर्य गर्ने पार्टी राष्ट्रघाती र दलाल हुने तर नक्सा जारी गर्न ढिलो गर्ने सरकारको चाहिँ देवत्वकरण हुने ?’ प्रचण्डको यो अभिव्यक्ति त्यसै आएको होइन । यसरी मनमा रहेको घाउलाई लोकतान्त्रिक विधिबाटै समाधान खोज्नुपर्ने हो । तर आरोप प्रत्यारोप गरेर जग हँसाउने र कार्यकर्तालाई नै निराश गराउने अभिव्यक्ति उचित होइन । यस्ता अभिव्यक्तिले समस्यालाई व्यक्तिसँगको झगडाका रूपमा चित्रण गर्दछ । आलोचना सुन्नै नचाहने, मनमा कुण्ठा र बदलाको भाव राखेर बस्ने अर्का अध्यक्ष ओलीले प्रचण्डको अभिव्यक्तिपछि आफूलाई झनै कडा र क्रुर बनाउने निश्चित छ । दुवै अध्यक्ष त्यसरी उभिए भने विवाद झनै भद्रगोल हुन्छ र एकअर्कालाई सिध्याउने रोगले सिङ्गो नेकपालाई नै सताउने छ ।
समसामयिक विषमा छलफल गर्ने, समस्या उत्पन्न भए समाधान खोज्ने भनेर नै पार्टीभित्र विभिन्न तहका संरचनाहरू निर्माण गरिएका हुन्छन् । ती संरचनाहरूलाई बलियो बनाउने, काम दिने र निरन्तर जिम्मेवारपूणर् निणर्यहरू गर्नसक्ने बनाउने हो भने यस्ता समस्याहरू छिनको छिनैमा हल हुन्छन् । तर, आफैलाई निणर्ायक ठान्ने र ती संरचनाहरूलाई कठपुतली बनाउने चाहना नेताहरूले राख्ने हो भने समस्या झनै बल्झन्छन् र ती संरचनाहरू कमजोर हुँदै जान्छन् । नेताहरूको लडाईले नेकपाका संरचनाहरू कमजोर हुने बाटो पकडेको छ । वैधानिक संरचनामा समस्या समाधानका उपाय खोज, सार्वजनिक रूपमा आरोप प्रत्यारोपको शृङ्खला बन्द गर ।
