नल राजा दमयन्ती रानीको कथा
राधेश्याम उपाध्याय
दमयन्ती उठेर राजालाई नदेखी विलाप गर्न लागिन् । त्यसै समयमा एउटा अजिङ्गर आएर रानीलाई खान लाग्यो, रानी चिच्याएर विलाप गरी सहयोग मागिन् । एउटा किराँतले सुन्यो र अजिङ्गरलाई मार्यो र रानीलाई बचायो । तर बचाएर के गर्नु सुन्दरी देखेर फकाउन लाग्यो फकाउन सकेन, जवर्जस्ती गर्न लाग्यो । दमयन्ती पतिब्रता थिइन्, श्राप दिइन् र खरानी भई मर्यो ।
वन-वनमा आकुल-व्याकुल भई चराचुरुङ्गी, बोटविरूवा, जीवजन्तु सबैलाई राजालाई देख्यौ कि भनी सोध्न लागिन् । कसैले पनि उत्तर दिएनन् र अगाडि बढ्दै गइन् । एउटा नदी किनारमा कुटी देखियो, कुटीमा ज्ञानी मुनिहरु थिए । केही राहत महशुस गर्दै कुटीमा गएर थचक्क बसिन् ।
ज्ञानीहरुले सोधे, ‘को हौ, कहाँबाट आयौ, किन दुःखि देखिन्छ्यौ ?’ भनी सोधेर आफ्नो सबै हाल भनि राजाको बारेमा सोधिन् । मुनिहरुले पनि आफ्नो योगबलले हेरेर भने ‘हे सती ! अब छिट्टै भेट हुनेछ, उनी निष्पाप छन्, उनीले शत्रुको शखी हरेर आफ्नो राज्य फिर्ता गर्ने छन्’ भनी अर्ति दिए र मुनिहरु आफ्नो आश्रमका साथ अन्तरध्यान भए ।
फेरि रानी वनजङ्गल खोज्दै हिड्न थालिन् । बहुत दुःख-कष्ट सहँदै पागल समान भई केही समयपछि चेदेरी देशमा पुगिन् । त्यहाँ पनि बालकहरुले पागल भनी लखेट्न थाले । त्यहाँबाट सुवाहु राजाको दरबार नजिक पुगिन् । दैवको लीला सुवाहु राजाकीे रानीले देखिन र दासीलाई बोलाउन पठाइन् । तिमी यति सुन्दरी छौ, को हौ, कहाँबाट आयौ, के दुःख छ ?’ भनी सोधिन् र दमयन्तीले पनि आफ्नो परिचय लुकाएर म दमयन्ती रानीको महलमा बस्थेँ ।
मेरा पतिले जुवामा सर्वस्व हारी मलाई समेत छोडेर कता जानुभयो थाहा भएन र खोजेर हिड्दैछु भनी आफ्नो दुःखको वणर्न सुनाइन् । रानीमा दयाको भाव आयो र आफ्नी पनि एउटी छोरी भएकाले छोरीसँग आफ्नै घर सम्झी बस र आफ्ना पति खोज्न दूतहरु पठाउ भनिन । यो सुनेर दमयन्तीले पनि केही राहत महशुस गरिन् ।
म कुनै परपुरुषसँग कुरा गर्ने छैन र अर्काको जुठो खाने छैन भनी कुरा राखिन् । रानीले पनि हुन्छ तिमीले कुनै परपुरुषसँग बोल्नुपर्ने छैन र कसैको जुठो खानुपर्ने छैन भनेपछि दमयन्तीले केही राहतको सास फेर्दै सुवाहु राजाको दरबारमा बसी सुक्ष्म रुपले राजाको खोजी गर्न लागिन् ।
यता रानीलाई त्यागेर नल राजा भोक, प्यासले भौँतारिँदै जंगलमा हिडिरहेका थिए । अचानक बचाउ, बचाउ भनी कसैले भनेको सुने र त्यहाँ गई हेर्दा आगोको डठेलोमा परी कुनै नाग जलिरहेको थियो । उसले म आगोमा जलेर मर्न लागेँ हे नल राजा आएर मलाई बचाउ भनेर पुकारा गरिरहेका थिए । नल राजा पनि तुरुन्तै आगोमा पसे र नागलई डढेलोबाट केही पर लगेर बचाए ।
उद्धार गर्दागर्दै पनि नागले नल राजालाई डस्यो र नचिन्निने कालो स्वरुपमा कुरुप पारिदियो । यो देखेर नल राजा आश्चर्यमा परे । नागले सबै कुरा बुझाएर हाँस्दै भन्न लाग्यो हे नल राजा म कर्कोटक नाग हुँ । नारद मुनिका श्रापले गर्दा मैले निकै कष्ट सहेर बस्नु पर्यो । अहिले हजुरको कृपाले म नारदको श्रापबाट मुक्त भएँ । तपाईंको शरीरमा व्याप्त कलीलाई देखेर मेरो विषबाट कष्ट पाएर छोड्ला भनेर टोकेको हुँ ।
यसबाट तपाईंको शरीरमा केही हानी हुने छैन । अब तपाईंलाई कसैले चिन्नसक्ने छैनन् । अब तपाईं अयोध्यामा राजा ऋतुपणर् कहाँ बाहुक नाम राखेर राजाको सारथी भई घोडाको रेखदेर गरी बस्नुहोस् र उनलाई अश्वविद्या सिकाई उनीबाट ध्रुतविद्या सिक्नुहोला ।
ध्रुत विद्याबाट तपाईंले आफ्नो हारेको राज्य फिर्ता लिई अघिकाझैँ शासन गर्नुहुनेछ, चिन्ता लिनु पर्दैन । आफ्नो पहिलेको स्वरुप लिने इच्छा भए मलाई सम्झी यो कपडा ओढ्नुहोला भनी एउटा कपडाको टुक्रा समेत दिए । यो कपडा ओढेमा पहिलेको भन्दा अझ सुन्दर स्वरुप हुनेछ भनी राजा नललाई सबै सिकाई कर्कोटक अन्तरध्यान भए । राजा नल पनि कर्कोटक नागले सिकाए वमोजिम अयोध्याका राजा ऋतुपणर्का साथ रहन लागे ।
सबै राज्य जुवामा हारेर पत्नीलाई सँगै लिई वन जानुभएको सबै खबर विदर्भ देशका राजा भीमले थाहा पाए र छोरी र ज्वाईंलाई खोज्न आफ्ना दूतहरुलाई चारै दिशातर्फ पठाए । त्यसमा एक सुदेव नामका ब्राह्मण पनि थिए । उनी नल र दमयन्तीलाई खोज्दै चन्देरी राजाका दरबारमा पुगे । एउटा मात्र लुगा लगाएकी कुनै आभूषण नलगाएकी मलिन चिन्ताग्रस्त मुहार भएकी सैरन्धि नामकी आफ्नी राजकुमारीलाई देखेर चिन्न नसकेर उनी नजिक गएर उनीसँगै सोध्न लागे ।
म सुदेव ब्राह्मण हुँ । विदेह देशका महाराज तपाईंका मातापिता चिन्तित हुनुहुन्छ र उहाँको आदेशले म तपाईंलाई खोज्न आएको हुँ । यहाँ यसरी बस्नु भन्दा पिताका घरमा गएर बस्नु उत्तम हुनेछ । यो सुनेर दमयन्तीले पनि आफ्ना आमाबुबा तथा छोराछोरीको हालखबर आदरपूर्वक सोधिन् । यो कुराकानी हुँदा सुवाहु राजाकी छोरीसँगै थिइन र उनले सवै कुरा आफ्नी आमालाई भनिन् । राजारानीले दमयन्ती भनी थाहा पाए र स्नेहका साथ अञ्जानमा केही त्रुटि भएको भए क्षमा गरे भने । दमयन्ती पनि राजारानीसँग बिदा भई सुदेव ब्राह्मणसँग आफ्ना बुबाआमासँग विदर्भ देश फर्किइन् ।
बाबुको दरबारमा बस्दा पनि दमयन्ती नल राजाको चिन्ताले चिन्तित, मलिन र दुःखी थिइन् । रोएर मात्र बस्दथिन् । उनले आमालाई भनिन्, जबसम्म म मेरा स्वामीको दर्शन पाउँदिन तबसम्म अन्न खाँदैन र एक मात्र वस्त्र लागाएर तपस्वी सरह बस्दछु भनिन् । आमाले पनि छोरीको यो दुःख सहन नसकेर राजालाई भनिन् र राजाले आफ्ना दूतहरु बोलाएर छोरी दमयन्तीसँग सबै सोधी उनले जे भन्दछिन् जसरी जहाँ जानु भन्दछिन् त्यसरी नै गएर नल राजाको खोजी गरेर आऊ भने र दूतहरु चरै दिशातर्फ पठाए ।
ती दूतहरुमा एक प्रणाद नाम गरेका ब्राह्मण पनि थिए । केही दिनपछि प्रणाद ब्राह्मण फर्किए र दमयन्तीलाई यो समाचार सुनाए । म कुनै दिन डुल्दै खोजी गर्दै अयोध्याका राजा ऋतुपणर् कहाँ पुगेँ र हजुरले भनेको सबै कुरा सुनाएँ तर कसैले पनि मेरो कुराको उत्तर दिएनन् र म निराश भएर फर्कंदैथिएँ । त्यहाँ भएका राजाका बाहुक नामका सारथीले मलाई एकान्तमा लगेर दिक्दार मान्दै भने-‘हे ब्राह्मण जुवामा छलले कुनै पुरुषले अफ्नो सर्वस्व हारे र पत्नी सहित जंगलमा गयो । त्यहाँ पनि एउटा चराले छलले लुगा उडाएर लग्यो र उ नाङ्गै भयो ।
त्यो जङ्गलमा निकै दुःखकष्ट भयो । पत्नीलाई माइत जाऊ भनी सम्झाउँदा पनि माइत जान मन नगरेपछि आफूसँग राखेर दुःख पाउनु भन्दा माइत गए केही शान्ति होला भनी रातमा आधा लुगा चिरेर पत्नीलाई त्यहीँ छोडी विचरा बाटो लागेछ । कुलिन स्त्रीले आपत्ति आउँदा पनि पतिलाई कुवाच्य बोल्दैनन् र आफ्नो स्वधर्मको पालन गर्दै बस्दछन् । यस्ता स्त्रीहरु नै लक्ष्मी र पार्वती सरह पुजिन्छन् भने र यस्ता धेरै कुरा रुँदै गरे । केही समयपछि बाहुक आफ्ना घरतर्फ लागे । म फर्की आएँ भनी पणर्ाद ब्राह्मणले दमयन्तीलाई आफ्नो यात्रा विवरण सबै सुनाए ।
स्वरुप बदलेकाले नल राजालाई कसैले चिन्न सक्दैन थिए । दमयन्तीले वाहुक सारथी नै आफ्ना पति नलराजा हुन् भनी मनमा निश्चय गरिन् । केही समयपछि सुदेव ब्राह्मणलाई बोलाएर आदरपूर्वक नलजी गुप्त रुपमा अयोध्याका राजा ऋतुपणर् कहाँ सारथीका रुपमा बस्ने बुझिएकाले तपाईं त्याहाँ गएर राजा ऋतुपणर्लाई भीम राजाकी छोरी दमयन्तीले नलराजाको खुब खोजी गरिन तर कुनै पत्ता नलागेपछि पुनः विवाह गर्ने विचार गरिन र भोलि स्वयम्बर भएकाले म स्वयम्बरको निमन्त्रणा लिएर आएको हुँ ।
खुशीसाथ आउनुहोला भनी भन्न पठाइन् । सुदेव ब्राह्मणले पनि दमयन्तीले भने वमोजिम राजा ऋतुपणर्लाई विश्वासमा लिई निम्ता दिएर आए । समाचार अयोध्याभरि फैलियो । नलराजाका मनमा पनि शंका, उपशंकका उब्जन थाल्यो । उनी स्वयम्बरमा जाने नजाने दोधारमा परे र अन्त्यमा जाने नै निश्चय गरे ।
क्रमशः..
