Goraksha

National Daily

विवशताको जिन्दगी

(तल्लो जीवन उपन्यास अंश)

यम रेग्मी

गोइँठे गाउँ डुल्दै थियो, आफ्नै सुरमा । श्यामले पसलबाट देख्यो गोइँठेलाई । श्यामको गाउँमा सानो किराना पसल थियो । गोइँठेलाई देखेर कोठा भित्रैबाट बोल्यो,
‘ए ! कता हिंडिस् ? पसलतिर आ न ?’
गोइँठे बाटोबाट सरासर पसलतिर लाग्यो । ढोकैमा उभियो र बोल्यो,
– ‘किन दाजी ?’
– ‘कता हिंडिस् ?’
– ‘कहीँ होइन, गाउँघरतिरै ।’
– ‘मैले भनेको मान्छस् ? एउटा काम अह्राउँछु ?’
– ‘के काम हो ? पहिले भन्नुहोस् न ?’
– ‘हेर न आज पसल हेर्ने कोही पनि छैनन् । पसलमा समान सकिएको धेरै भाथ्यो । तेरी भाउजू बजार गाछे, समान लिनलाई । साथीहरूले तास खेल्न बोलाएको बोलाई छन् । म एकैछिनमा आउँछु । पसलमा बसिदेन, मेरो प्यारे भाइ । जिते भने जितौरी पनि दिउँला ?’ श्यामे जेबबाट ५०० को नोट झिक्दै बोल्यो ।
– ‘हुन्छ, जानुहोस् । छिटो आउनुहोला है त ?’ गोइँठे पेटीमा चप्पल छोडायो । भित्र पस्यो ।
श्याम तास खेल्न हिंड्यो, तल गाउँतिर । गोइँठे पसल कोठामा पस्यो । मालिकझैँ कुर्सीमा थचक्क बस्यो । आनन्दको अनुभूति गर्‍यो । दायाँ खुट्टामाथि वायाँ खुट्टा खपायो । दाँया खुट्टा हल्लाउन थाल्यो आफ्नै तरिकाले ।
सरर आँखा डुलायो पसलका समानमाथि, खाने चीजको खोजिमा । खाने कुराको नाममा चक्लेटको एउटा डिब्बा थियो । केही पोका सुर्ती । केही पोका सलाई । केही पोका नून । केही सरफ । केही पिस साबुन मात्र थियो पसलमा । डिब्बामा २० वटा जति ल्याक्टो चक्लेट थिए । चक्लेट देखेर घुटुक्क थुक निल्यो ।
केही समय एकटकले डिब्बाको चक्लेट हेरेको हेरै भयो । केही समय त हेरेर मन बुझायो । तर पछिपछि मनलाई थाम्म सकेन ।
बसेको कुर्सीबाट जुरुक्क उठ्यो । डराई-डराई टाँडीबाट चक्लेटको डिब्बा झिक्यो । डिब्बा खोल्यो । हातमा राखेर केही बेर चक्लेट गन्यो । नभन्दै २० वटा नै चक्लेट रहेछन् । भित्र बाहिर पुलुक्क हेर्‍यो । कोही देखेन । हात कमाई-कमाई एउटा चक्लेटको कभर खोल्यो । कभर हाप पयन्टको गोजीमा राख्यो । चक्लेट क्वाप्प मुखमा राख्यो । डिब्बाको बिर्को घुमाएर लगायो । पहिलेकै ठाउँमा राख्यो ।
रहँदासम्म चक्लेटको गुलियो मुखमा, ऊ शान्त भयो । जब चक्लेटसँगै मुखको गुलियो हरायो । फेरि मनले मानेन् । वरपर आँखा डुलायो । तलमाथि कोही देखेन । फेरि डिब्बा पुग्यो राखेको ठाउँबाट । चक्लेट झिक्यो डिब्बाबाट, हतार हतारमा । हात कमाई, कमाई । कभर छोडायो । चक्लेट क्वाप्प मुखमा हाल्यो । जिब्रोमाथि खेलायो । मुख मीठो पारीपारी चुस्न थाल्यो । यही क्रमले डिब्बाका ५ वटा चक्लेट झिक्यो र खायो । अझ पनि उसको मनले मानेन । अब कसरी खाने बाँकी चक्लेट ? पहिले त सबै खान्छु भनेर सोच्यो । झल्यास श्यामको दरिलो लात सम्झियो । अगाडि बढ्न सकेन । केही बेर शिरमा हात लगायो । एकोहोरो टोलाइरह्यो ।
एकैछिन पछि हँसिलो मुख बनायो । जुरुक्क उठ्यो बसेको ठाउँबाट । चक्लेटको डिब्बा झिक्यो पहिलेको ठाउँबाट । टाउको तानी तानी बाहिर हेर्‍यो । देखेन कोही । घरमा पनि कोही थिएन । भान्सामा छिर्‍यो चक्लेटको डिब्बा छोपेर । भूइँमा थचक्क बस्यो । डिब्बाबाट स्वारर चक्लेट खनायो भूइँमा । चक्लेट कभर एक-एक गरेर खोल्यो । मकैको घुवा र पोक्सरलाई अलग पारेझैँ चक्लेट र कभरलाई अलग अलग गरायो ।
जब नाङ्गा चक्लेट देख्यो । मुख झनै रसायो उसको । चक्लेटको बगालबाट एउटा चक्लेट हातले टिप्यो । क्वाप्प हाल्यो मुखमा । केही छिन मुखमा खुब चुस्यो । चक्लेटले आकार केही सानो भयो । चुस्दै गरेको चक्लेट मुखबाट हातमा झिक्यो । कभरमा बेर्‍यो । प्वात्त डिब्बमा खसाल्यो । चक्लेटको बगालबाट अर्को एउटा चक्लेट फेरि हातले टिप्यो । क्वाप्प हाल्यो मुखमा । केही छिन मुखमा जिब्राले खुब चुस्यो । चक्लेटले केही आकार सानो भयो । चुस्दै गरेको चक्लेट मुखबाट हातमा झिक्यो । कभरमा बेर्‍यो । प्वात्त डिब्बमा खसाल्यो ।
यही क्रमले सबै चक्लेट आधा खायो । १५ मिनेटमा सकियो, सबै काम । चक्लेटको डिब्बासहित भान्सा कोठाबाट पसलमा आयो । डिब्बा पहिले जहाँ थियो त्यहीँ राख्यो । कसैले थाहा नपाउने गरी । उद्देश्य पूरा भयो, उसको । शान्त भयो । कुर्सीमा थचक्क बस्यो । कति बेला आउँछ भन्दै श्यामको प्रतीक्षा गर्न थाल्यो ।
केही समयमै श्याम टुप्लुक्क आइपुग्यो । श्याम ढोकाबाट भित्र छिर्‍यो । गोइँठे घरतिर लाग्यो ।
काली सर्केनी अँध्यारै उठी । अँध्यारोमै घैंटा डोकोमा हाली । अमुर्य कुवाँतिर लागी । दुई घैँटा पानी बोकी लगातार । अझै उज्यालो भएन । फुर्की गाई आजकालै व्याउने भएकी थिई । दाउराका झिँजा र नल ल्याई । आगो बाली । डेक्चीमा दाना डासी । घाँसको मुठाबाट फुकाई । बाख्रालाई डोरीमा बाँधिदिई । आधा गाईको अगाडि फाली । प्लास्टिकको सानो बाटा थियो, ढोका पोत्ने । त्यसमा रातो माठो भिजाई । रातो माटोले लपक्क संघार र पेटी पोत्न थाली ।
‘काली ! ए काली !! के गर्दैछेस् ए ! एका जिहानै’ कृष्णप्रसाद सामुन्य उभ्भिएर बोले ।
काली आफ्नै सुरले पोप्दै थिई । एक्कासी उनको आगमन र आवाजले सात्तो गयो । झसंग ! भएर बुरुक्क उफ्रिई, डरले काली नीली भई । हेरेको हेरै भई । हातखुट्टा थरर्र पाप्न थाले । बोल्नै सकिन ।
‘के भयो, डराई क्या हो काली ?’ कृष्ण बाजे बोले ।
‘व्यानै सातो खानु भो, आज त बाजे’ काली नीलो मुखले खिस्स हाँसी र बोली ।
‘बूढा थोते हाँसो हाँस्दै बोले-‘बराबरी भो, कुनै दिन तेरो सुन्दर जोवनले मेरो सातो गाथ्यो, आज तेरो गो । बले बितेको पनि वर्ष काट्यो । सिन्दुर र पोटे नलाए पनि राता लुगा ला । हाम्रा चेलीहरूले त लाउन लाए । तँलाई त कसले रोक्छ र ?
काली मुसुक्क हाँसी । सुक्ष्म रूपमा रहेको यौन कुण्ठा टुसायो । बोली, ‘छ्या ! बूढो भएर पनि, के कुरा गरेको होला यो, बाजेले । भो, नगर्नु बितेका कुरा । जोडाले नै छोड्यो भने कसको लागि राम्रो हुनुपर्‍यो र मैलाई ? बस्नुहुन्च ? चकटी ल्याउँ ?’ पोत्दापोत्दै भित्र जान खोज्दै बोली ।
‘भो ! भो !! पर्दैन । ए सुन तो ।’ केही सम्झे जस्तो गर्छन् । छोरो ठूलै भएछ । हिजो बाटोमा लखर-लखर हिड्दै थियो । यसरी बरालिएर हुन्छ ? यै ताल हो भने तेरो छोरो कामै नलाग्ने हुन्छ । यो भन्दा सानो उमेरै तेरो लोग्ने हाम्रो घरमा कमैया बसेको थियो । दुई/चार अक्षर हाम्रै घरमा सिक्यो । लोग्ने मेरेदेखि सावाँ-व्याज एक रुपैयाँ पनि आ छैन तेरो । यसरी त कसरी सहन सकिन्छ ? कसरी चल्छ व्यवहार मेरो । त्यसलाई भोलिबाट पठाई दे, हाम्रो घरमा । उतै खान्छ, उतै सुत्छ । सकेको काम गर्छ । केही ऋण-व्याज त घट्ला ।
बूढाको कुराले काली नीली भई । मन पीरो भयो । गला अवरुद्ध भयो । विद्रोहको ज्वाला नबलेको होइन, मनाम । प्रतिकार गर्ने आँट थिएन । विवश थिई ऊ, ऋाले । सानो आवाजमा यत्ति बोली, ‘छोराले मान्ला र बाजे ?’
‘मान्छ, किन मान्दैन ! आजै तैँले भनेको मान्दैन भने भोलि तँलाई टेर्छ ?’
‘कमैया प्रथा देशबाट हट्यो रे । अस्ति बालिककी रुपाकोटीले छोरालाई काममा पठाइछे । गाउँका सबै मिलेर फर्काइदिएछन् । बालश्रमको मुद्दा लगाई कति दिन त साहुलाई जेलमा पनि राखे रे । हिजै संगठनका मान्छे घरामा आएका थिए ।’ ऊ पञ्छिन खोज्दै बोली ।
‘त्यस्ता गुह्य संगठन दिनदिनै आउँछन्, जान्छन् । तिनुरू के न्याप्छन् ? मान्छेलाई भड्काउने हुन् । एक/अर्काको बीचमा फोटो ल्याउने हुन् । भूँडी भरिदिन्छन् तिनरूले ? मैले कमैया राख्न खोज्वा हो र, तेरो छोरालाई ? सभ्य बनाउन । संस्कार सिकाउन, छोरा जस्तै पाल्न पो लग्न ला हो ।’ बूढा सुस्तरी बोले । तर विहानको शान्त वातावरण भएकोले आवाज परपर सुनियो ।
काली सर्केनी केही बोलिन । झल्यास छोराको अनुहार आयो आँखामा । उभिएर एकटकले भूइँतिर हेरेको हेरै भई । दुवै परेली रसाए, तरर गलाबाट तल झरे ।
‘भोलि सेवेरै पठाइदेस् । चिया खान उतै ।’ बूढा बोल्दै घरतिर लागे । काली गह्रौँ तन र मन बोकेर घरको काम गर्न थाली ।
केही बेरपछि गोइँठे जुरुक्क उठ्यो । आँखा मिच्दै बोल्यो, ‘आमा पाक्यो चिया ?’
काली तनावमा थिई, अघिको कुराले । रिसाएर बोली-‘पाक्यो चिया, तनतनी प्या । भोलिबाट पिउलास् ? उठ्दाबित्तिकै तनतनी चिया ?’ काली गाईको अगाडि दानाको देक्ची राखिदिई ।
गोइँठे टक्क अडियो, मलिन मुखमा । उसले आमा ! कुरा केही बुभ्न सकेन । बोल्यो-‘किन, के भयो ? भोलिदेखि किन चिया खान पान्न मैले ?’ प्रश्नमाथि प्रश्न खपायो ।
‘कृष्ण बाजे आथे, माथिल्लो सुनपुरबाट । भोलिबाट उनैको घरमा बस्ने । उतै काम गर्ने । आफ्नो पेट त पाल्नुपर्‍यो नि ?’ गाई खान लागेको देक्ची दाना हातले चलाउँदै बोली ।
‘के रे ! म बूढाका घरमा कमैया बस्न जाने रे ?’ काट बरु मलाई । तर कमैया बस्न त जान्न, जान्न ।’ गोइँठे बेलाको पानीले मुख धुँदै बोल्यो । बेलाबाट मुखभरि पानी हाल्यो । केही बेर कुल्ला गर्‍यो । भूइँमा पिच्च थुक्दै बोल्यो- ‘जातिवित्ति कमैया बस्न मन लागेको छ भने तिमी नै गएर बस न ?’ बोल्दै बाटोतिर गएर उभियो ।
‘धेरै मुखमुख न लाग ? तेरै साखासन्तानको ऋणले कहिल्यै पनि शान्तसँग बाँच्च दिएन, मलाई । तेरै पुर्खाको ऋण तिर्दै छु, मैले । तेरा बाजेले ऋण घिच्यो, मर्‍यो । बाउले पनि ऋण घिच्यो, मर्‍यो । तेरो बाउले त घर न घाटको बनाएर छोड्यो । तैले नतिरेर कोले तिर्छ ?’ काली आँगनै थर्काएर बोली ।
मरेको बाजेमाथि गाली । बाउमाथिको गाली । गोइँठे सुन्नै सकेन । वाण बनेर मुटुमा रोपिए आमाका गाली । फरक्क बाटोबाट फर्कियो । आँखाबाट बरर आँसु खसाल्यो । सुटुक्क भित्र छिर्‍यो । सुक्क, सुक्क गर्दै रोएको बाहिर आवाज आयो ।
काली बाख्रालाई किलोमा बान्दै बोली-‘कति चाँडै आ हो, आउन पनि आँखाबाट कुकुरको मुत ? छोरो भएर पनि पिलिक्क पिलिक्क रुन्छ, रोएर जीवन चलाउला यसले ?’ क्रमशः …