Goraksha

National Daily

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण शुरु

तुलसीपुर, ९ साउन । नेपाली कांग्रेस दाङले क्रियाशील सदस्यता नवीकरण फर्म वितरण शुरु गरेको छ । शुक्रवारदेखि प्रत्येक क्षेत्रमा क्रियाशील सदस्यता नवीकरणका लागि फर्म वितरण शुरु गरेको जिल्ला सचिव शंकर डाँगीले बताए । नवीकरण फर्म क्षेत्रमा पठाएको र क्षेत्रमार्फत प्रत्येक वडामा सदस्यता नवीकरण गराउने बताइएको छ ।

क्रियाशील सदस्यता नवीकरणसँगै नयाँ सदस्यता वितरणको काम शुरु हुने नेपाली कांग्रेसले जनाएको छ । ‘क्रियाशील सदस्यता नवीकरणपछि तत्काल नयाँ सदस्यता वितरण शुरु गर्ने तयारीमा छौं’ डाँगीले भने । उनले भदौ पहिलो सातासम्म यो काम सक्ने र नयाँ सदस्यता वितरणको काम शुरु गर्ने बताए ।

त्यसैगरी क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काले क्रियाशील सदस्यता नवीकरणका लागि जिल्लाबाट फर्म आएको र अब एक/दुई दिनमै प्रत्येक वडामा पठाउने तयारी गरेको बताए । उनले पनि त्यसपछि नयाँ सदस्यताका दिने बताए ।

जिल्लामा हाल ९ हजार ९ सय ७६ जना कांग्रेसका क्रियाशील सदस्यहरु छन् । त्यो आधारमा नयाँ सदस्यता पनि वितरण हुनेछ । कांग्रेसको केन्द्रीय निर्देशनअनुसार सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण हुने बताइएको छ । हालको क्रियाशील सदस्यको संख्याको आधा नयाँ क्रियाशील सदस्यता थप हुने बताएको छ ।