कथा : पीडाभित्रको सानो खुशी
पुष्पा शर्मा
बेलुकाको आठ बजेको छ, सधैँ शान्त हुने केशवप्रसादको घरमा आज मानिसहरुको भीड जम्मा भएको छ । घरको आँगनमा तुलसीको मठ नजिकै एउटा लाश सुताइएको छ । केशवप्रसादका बुढाबुढी लाश वरिपरि आँसु चुहाउँदै विलाप गरिरहेका छन् ।
कसैको मुखबाट विचरा, कसैको मुखबाट कठै भर्खर अठार पुगेर उन्नाइसमा टेकेको थियो, अब यसकी आमा कसको मुख हेरेर बाँच्ने होली जस्ता शब्दहरु निस्किरहेका छन् । कोही डाको छोडेर रोइरहेका देखिन्छन् । कसैले ‘के गर्छौ यस्तै छ संसारको रीत, जस्तो परे पनि सहनै पर्छ, अब बुहारीलाई पो कसरी सम्हाल्छौ ? के गरि बाँच्छे विचरी !’ भनेर सम्झाउँदै छन् ।
एकै क्षणमा सडक अगाडि एउटा बस आएर घ्याच्च रोकिन्छ । दश दिनको लागि अफिसको कामले घर बाहिर गएकी रमा हातभरि झोला लिएर बसबाट खुशी हुँदै झर्छे । घरमा मानिसको भीडभाड र कोलाहल सुनेर छाँगाबाट झरेझैँ हुन्छे र झोला छोडेर हुत्तिँदै घरमा पुग्छे । लाशलाई ढाकेको कपडा खोलेर हेर्दा आफ्नो प्राणप्यारो छोराको लाशलाई गम्लङ्ग अँगालो हालेर रुँदारुँदै अचेत हुन्छे ।
वातावरण निःशब्द बन्छ, कसैको मुखबाट केही शब्द निस्कन सक्दैन । गुरु बाले रमाको मुखमा पानी छार्किदिएपछि ऊ होसमा आउँछे । फेरि उसको असह्य विलाप, रोदनमा त्यहाँ आएकामध्ये नरुने कोही पनि भएन । सम्पन्न परिवारमा जन्मिएकी रमाले कर्मघर पनि उस्तै राम्रो पाएकी थिई । शिक्षित, असल श्रीमान् अनि माया गर्ने सासुससुरा र एउटा छोराको साथमा आफ्नो जिन्दगी खुशीका साथ बितिरहेको थियो ।
रमा र मनिषको जोडी चखेवाकोझैँ थियो । उनीहरु एकअर्कालाई असाध्यै माया गर्थे । जहाँ जाँदा पनि दुवैजना सँगै जान्थे । हरेक काम मिलेर गर्थे । तर रमाको खुशी धेरै दिन टिक्न सकेन, खै कसको नजर लागेछ उनीहरुको जीवन भताभुङ्ग हुनपुग्यो ।
पाँच वर्ष अगाडि मात्र रमाले आफ्नो श्रीमानको वियोग सहनुपरेको थियो । उसको रङ्गिन जीवन बेरङ्ग भएको थियो, संसारै उजाडिएको थियो । उसले विधवाको जीवन जिउनुपरेको थियो । विस्तारै पुराना व्यथाहरुलाई भुलेर छोराको मुख हेरेर बाँच्न सिक्दै थिई । त्यही पनि भगवानलाई स्वीकार्य भएन, अर्को बाँच्ने आधार पनि खोसेरै लगे ।
श्रीमानको मृत्युपछि आफ्नो मनलाई भुलाउन, छोराको स्कूलको शुल्क तिर्न भए पनि रमाले काम गर्न थालेकी थिई । केशवप्रसाद पनि छोरा नरहेपछि रमालाई नै छोरासरह व्यवहार गर्थे । रमाले घरको कामको साथै अफिसको काम पनि राम्रोसँग सम्हालेकी थिई । गाउँघरमा उसको कामको निकै प्रशंसा हुने गथ्र्यो ।
एकदिन अफिसको कामले बाहिर जाने बेलामा ‘मामु मलाई धेरै कपडा, ट्याब, गितार र धेरै खाने कुरा ल्याइदिनु है अनि छिटै आउनुहोला’–छोराले भनेको कुरा रमाले झल्झली सम्झिन्छे । छोरा बबिनलाई ल्याइदिएका सामान एकएक गर्दै ओल्टाई–पल्टाई हेर्दै छाति पिटीपिटी रुन, कराउन थाल्छे । ‘मेरो अब को छ र ? म अब कसको लागि बाँच्ने ? म बाँच्नु को कुनै अर्थ नै छैन’ भन्दै विलाप गर्न थाल्छे । यही हाल यही परिस्थितिमा तेह्र दिनको काम सकियो ।
आएका आफन्तहरु सबै आ–आफ्ना घर फर्किए । घरमा सन्नाटा छाएको छ, एकले अर्काको अनुहारमा हेर्नसकेको छैन । सबै मलिन झोक्रिएर बसेका छन् । मानौँ त्यो घरमा कोही बाँचेको छैन । रमा जिउँदो लाशजस्ती भएकी छे, उसलाई कुनै कुराको केही सुर्ता छैन ।
एकदिन धेरै समयसम्म रमाको कोठाको ढोका खुल्दैन । भित्रबाट पनि केही आवाज नआएकोले केशवप्रसादका बुढाबूढी आत्तिँदै ढोका ढकढक्याउन थाल्छन् । केही बेरपछि ढोका खुल्छ, रमाका सुन्निएका राताराता आँखामा आँसु सुकेको छ, कोठामा बबिनका किताब, कापी, कपडा, खेल्ने कुरा सब छरपष्ट छरिएका छन् ।
त्यो सब दृश्य देखेर केशवप्रसादकी श्रीमती बिमला डाको छोडेर रुन थाल्छिन् । केशवप्रसाद रमालाई ‘हेर, रमा यसरी कति दिन रोएर चल्छ बा भन त ? तिमीले पति, छोरा गुमाएकी छौ भने हामीले पनि छोरा अनि वंश धान्ने नातिलाई गुमाएका छौँ । जाने त छोडेर गैहाले, हामी उनीहरुसँगै जान सक्दैनौ, बाँच्नु त छँदै छ । अब हाम्रो जिउने आधार छोरा भने पनि बुहारी भने पनि तिमी नै हौ ‘भन्दै रुँदै सम्झाए ।
बेलुका केशवप्रसाद ‘अब दुई÷चार दिन रमालाई माइत पठाउनुपर्छ कि बिमला, के भन्छ्यौ तिमी ? भोलि नै सम्धिलाई बोलाउनुप¥यो कि कसो ? उसको अवस्थामा केही सुधार हुन्छ कि ? ‘हुन्छ त्यसै गरी हेरौँ न त ।’
माइतमा आएदेखि रमालाई उसका दिदीबहिनीले एक क्षण पनि एक्लै छोडेका छैनन् । हरहमेसा उसलाई बोलाउने, हँसाउने प्रयास गरिरह्न्छन् । घरमा मात्र बसिरहँदा मन निराश हुन्छ, मनले के–के सोच्छ भन्ने सोचेर बाबाआमाले पनि फेरि काममा फर्कन प्रेरित गर्छन् । रमा पनि अलि हाँस्ने, बोल्ने गर्न थालेकी छे र बाबाआमाले भनेजस्तै काममा जान मञ्जुर भई ।
केही दिनपछि रमा आफ्नो घरमा फर्किन्छे । पहिलेझैँ आफ्नो नित्य कर्म गरेर अफिस जान थाली । ऊ काममा यसरी भुल्न थाली कि काम गर्दागर्दै घर जान बिर्सिन्थी । उसको कामले हाकिम पनि निकै खुशी भएका थिए । उसको कामको मूल्याङ्कन गर्दै माथिल्लो पोस्टमा प्रमोसन भयो । बुहारीको प्रगति देखेर बिमलाका बुढाबूढी पनि खुशी भएका थिए, उसको खुशीलाई नै आफ्नो खुशी ठानेका थिए ।
समय बित्दै गयो, रमाले पनि विस्तारै पुराना घाउहरुलाई बिर्सन थाल्छे । कलिलै उमेरमा विधवा भएकोले उसको रुप र यौवनमा कुनै कमी आएको थिएन, उसको यौवन देखेर मरिहत्ते गर्नेको पनि कमी थिएन । रमाको अफिसमा काम गर्ने एकजनाले त उसलाई विवाहको प्रस्ताव पनि राखेछन् । नेपाली सामाजिक परम्परा, बूढा भएका सासुससुरा सबै सम्झेर उसले कमलको प्रस्तावलाई स्वीकार्न सकिन ।
कमलले रमालाई धेरै पहिलादेखि नै भित्रभित्रै मन पराउँथे तर भन्ने हिम्मत जुटाउनसकेका थिएनन् । उनले हार नमानी रमाको बाबासँग आफ्नो कुरा राखे । चालिस पनि नकाटेकी, विधवा, त्यसमा पनि सहाराविहीन छोरीको लागि विवाहको प्रस्ताव आउँदा कसको बाबाको मन खुशी नहोला र ? रमाको बाबालाई पनि ‘के खोज्छस् काना आँखो’ भनेजस्तै भयो ।
‘यो कुरा अब सम्धिसम्धिनासँग कसरी गर्ने ? उहाँहरुले के भन्नुहुन्छ ? एउटै मात्र सहारा बुहारी रमाको विवाह गरिदिन तयार हुनुहुन्छ होला त ? मैले छोरीको विहे गरिदिएँ भने सम्धिसम्धिनाको के हुन्छ ? कतै मबाट पाप त हुने होइन ?’ मनमा धेरै तर्कनाहरु आए । अखिरमा छोरीको मोह अगाडि कसको के लाग्थ्यो र ?
केशवप्रसाद समक्ष कुरा पुग्छ । कुरा सुन्नासाथ बुढाबूढी केही विचलित हुन्छन्, भित्रभित्रै पीडा भए पनि बाहिरी देखावटी हाँसो देखाउँदै ‘रमाको खुशी नै हाम्रो खुशी हो, ऊ खुशी हुन्छे भने हामीलाई कुनै आपत्ति छैन । हामी त डाँडामाथिको जून भइसकेका छौँ, उसको पूरै जिन्दगी बाँकी छ, कसैको जिम्मा लाइदिन पाए सन्तोषले मर्न सकिन्थ्यो ।’ यति भनेपछि रमाको विहे हुने निश्चित भयो ।
आज रमाको विहेको दिन उसका आँखा अगाडि झल्झली पहिलाका एकएक घटनाहरु घुमिरहेका छन् । सिन्दुर हालेर भित्रिएको यही घरबाट फेरि सिन्दुर हालेर नै बाहिरिनुपरेको छ । यो घरमा बिताएका प्रत्येक सुख–दुःखका पललाई समेट्नु छ । आज फेरि अरु कसैकी बनेर उसको घरसंसार सजाउनु छ । एकपटक फेरि जीवनले जिउने अवसर दिएकोमा रमा खुशी छ भने करिब बीस वर्ष सुख–दुःख बिताउँदै सजाएको सानो संसार र बृद्ध सासुससुरालाई छोडेर जानुपर्दा पीडाले मन भारी भएको छ । बिदाइको समयमा रमा स्मृतिका पल सम्झेर धेरै रोएकी छे ।
बेहुलीको रातो शृङ्गारमा सजिएकी रमा नयाँ जीवनको सुरुवात गर्नको लागि पितामाता समान सासुससुराको आशीर्वाद लिएर कमलसँग नयाँ जिम्मेवारी, कर्तव्यबोधसँगै, गुमेका खुशी समेट्दै नयाँ संसारमा प्रवेश गर्छे ।
