Goraksha

National Daily

नल राजा दमयन्ती रानीको कथा

राधेश्याम उपाध्याय

विषध नामको देशमा विरशेन नामका राजा राज्य गर्दथे । उनका नल र पुष्कर नामका दुुई छोरा थिए । राजा विरशेनको मृत्युपछि नल राजा भए । त्यस समयमा नल राजाको कीर्ति सन्सारभरि फैलिएको थियो । रैतीहरु (जनता) खुशी थिए । देशमा केही समस्या थिएन ।

कुनै दिन राजाले बगैचामा एउटा हाँस पक्रे, हाँसले डराउँदै मानव बोलीमा भन्यो ‘हे राजन् ! विदर्भ देशका राजा भीमकी छोरी दमयन्ती यो सन्सारमा अति नै सुन्दरी छन्, मलाई छोडिदिनुहोस् म चाँडै विदर्भ देश जान्छु र दुवैको प्रेम गर्नमा सहयोग गर्दछु ।’

पन्छीको पनि यस्तो मानव स्वर सुनेर राजा छक्क पर्दछन् र हाँसलाई छाडिदिन्छन् । हाँस पनि तुरुन्तै उडेर विदर्भ देश जान्छ र राजकुमारी दमयन्तीसँग भेट गरी राजाको गुणगाणको बखान गर्दै राजा नलसँग विवाह गर्न प्रस्ताव गर्दछ । हाँसको यस्तो मानिस सरहको कुरा सुन्दा राजकुमारी दमयन्ती पनि छक्क पर्छिन् र राजाको सबै हालखबर बुझ्दछिन् । यसरी हाँस दुवैको प्रेम वार्तालापको माध्यम बन्दछ । यसरी दुवैको प्रेम वार्तालाप बढ्दै जान्छ र दुवै एक आपसमा विवाह गर्न चाहन्छन् ।

अब छोरी ठूली भइन् भनी राजा भीमले पनि छोरीको विवाहका लागि स्वयम्बरको आयोजना गर्दछन् । सबै देशमा दमयन्तीको स्वयम्बरको निमन्त्रणा गयो । सबै ठाउँका राजा तथा राजकुमारहरु पनि स्वयम्बरमा भाग लिन जम्मा भए । यो सूचना स्वर्गमा पनि पुग्दछ ।

दमयन्तीलाई हेर्न स्वर्गबाट इन्द्र, वरुण, धर्म र अग्निदेवहरु विदर्भ राज्यमा आए । स्वर्गका देवताहरुले अरुले तपस्या गरेको र राम्री महिला अरुले विवाह गरेको रुचाउँदैनन् । देवताहरुले त्यहाँको वातावरण बुझे र दमयन्तीले नल राजालाई वरण गर्दै छिन भन्ने पनि बुझे र कुन उपायले आफूहरुमध्ये एकले ती कन्या विवाह गर्न सकिन्छ त्यतातिर लागे ।

देवताहरुले छलको बाटो लिन लागे । उनीहरुले तिनै नल राजालाई नै आफ्नो दूत बनाएर दरबार पठाउने विचार गरे । नल राजाले पनि देवताहरुको प्रकोपको डरले दूत भएर दरबार जान स्वीकार गरे र देवहरुको दूत भएर देवताहरुको शक्तिले गर्दा उनि सरासर दमयन्तीको खोपीमा पुगे र उनको अगाडि उभिए ।

यो देखेर दमयन्ती लज्जित हुँदै तिमी को हौ ? यहाँ कसरी र किन आयौ भनी सोधिन । म नल हुँ म अहिले देवताहरुको दूत भएर उनीहरुको शक्तिका कारण तिमीकहाँ आउन सफल भएको हुँ र देवताहरुको खबर हामी चार जना इन्द्र, वरुण, धर्म र अग्निमध्ये एकलाई वर चयन गर र स्वर्गको चरम आनन्दको उपभोग गर ।

हामी तिम्रो प्रतीक्षा गर्ने छौँ’ भने । त्यो सुनेर दमयन्ती चिन्तित भइन् । मैले हाँसको वयानबाट मनमनै हजुरलाई पति मानिसकेकी छु । तपाईंले जे भन्नुहुन्छ म त्यही गर्दछु । आफ्नी दासी मानेर आज्ञा हवस् भनिन् । नल भन्दछन् देवताहरुलाई छोडेर मलाई स्वामी मान्नु तिम्रो मूर्खता हुनेछ ।

देवताहरुसँग विद्रोह गरेर मसँग विवाह गर भनेर म भन्न सक्दैन भन्दा दमयन्ती भन्दछिन् ‘मैले हाँसबाट जुन समाचार पाएँ सोहीअनुसार मैले हजुरलाई वर मानिसकेँ । अब देवता वा मानिस जोसुकै आए पनि म अन्यलाई वरण गर्न सक्दिन, बरु म हजुरलाई सम्झेर आत्महत्या गरेर मर्ने छु ।’ नल राजा त्यहाँबाट फर्किए र सवै कुरा देवताहरुलाई जस्ताको त्यस्तै सुनाइदिए । स्वयम्बरको आयोजना भयो । पृथ्वीभरका राजा तथा राजकुमारहरु स्वयम्बरमा भाग लिन आए । नल राजा पनि भाग लिन आए ।

नल राजा सबैभन्दा राम्रा र सुन्दर देखिन्थे । उनीसँगै उनैको लाइनमा देवताहरु पनि नलको रुपमा गएर बसे । उक्त स्वयम्बर सभामा राजा भीम आफै छोरीलाई लिएर सबै राजाको नाम देश कूल वंशको वर्णन गर्न लागे । चारै जना देवता पनि नल राजासँगै नलको रुपमा बसेकाले दमयन्तीले नल राजालाई छुट्याउन सकिनन् र द्विविधामा परिन र उनै देवतालाई प्रार्थना गर्न लागिन् कि मलाई भ्रान्ति भयो पति छुट्याउन सकिन ।

मलाई पति छुट्याउन सक्ने शक्ति देऊ नत्र म आत्महत्या गर्न वाध्य हुनेछु भनी उनै देवतालाई प्रार्थन गरिन् । यस्तो दमयन्तीको प्रार्थना सुनेर देवताहरु खुशी भए र आफ्नो आफ्नो स्वरुपमा आए । दमयन्तीले नल राजालाई चिनिन् र वरमाला लागाई पति वरण गरिन । दुवैको विवाह भयो । त्यहाँ भएका राजा, देवताहरु, ब्राह्मणहरु सवैले नव वरबधुलाई धेरै–धेरै आशीर्वाद दिए ।

इन्द्रले यज्ञमा मेरो दर्शन पाउला र पछि शुभ गति पाउला भने । वरुणले तिम्रो इच्छा भएको समयमा जल पाउने छौ भनी एउटा माला दिए, अग्निले तिमीले जस्तो पकाए पनि मीठो र स्वादिलो खाना हुनेछ र जस्तो विषम परिस्थितिमा पनि तिमीले सद्घर्मको पालन गर्ने छौ– भने, अग्निले तिमीले चाहेको समयमा दर्शन दिनेछु र अन्तमा मेरो लोक प्राप्त हुनेछ भनी चारै देवताले खुशीले नल राजालाई आशीष तथा वरदान दिए र देवताहरु अन्तरध्यान भए । नल राजा पनि रानीलाई लगेर स्वर्गमा गई बस्न लागे ।

दमयन्तीलाई कलीले पनि विवाह गर्ने मन गरेको थियो तर विवाह गर्न पाएन र रिसले रन्कियो । अब कसरी राजा नललाई मतिभ्रष्ट पारेर दुःख दिन सकिन्छ भनी उनको त्रुटि भेटाउन उसले वाह्र वर्षसम्म पर्खियो । एकदिन राजा नलले मुत्र त्याग गरेर धुन बिर्से, त्यही मौका छोपेर दुष्ट कली राजामा प्रवेश ग¥यो र दुःख दिन थाल्यो ।

द्वापर युगसँग गएर दमयन्तीले देवताहरुलाई विहेमा त्यागेर दुष्टता गरी त्यसको म सजाय दिन्छु, तिमी मलाई सहयोग गर भनी सहयोग माग्यो । नल राजाका भाइ पुष्कर थिए । उनीहरुमा दुस्मनी थियो । कली पुष्करकहाँ गयो र तिमीलाई म सहयोग गर्ने छु, तिमी दाजु नलसँग जुवा खेल, तिम्रो जित हुनेछ भन्यो ।

त्यो सुनेर पुष्कर दाजु नलकहाँ गएर जुवा खेल्न जिद्दी गरे । जुवा खेल्नु ठीक होइन भनी जान्दाजान्दै पनि पुष्करको हाँक सुनेर बस्न सकेनन् । जुवा खेल्न सुरु भयो । रानीले जुवा खेल रोक्न निकै कोशिस गरिन् । वाष्र्णेय ज्ञानी तथा राज्यका सज्जनहरुलाई बोलाएर जुवा रोक्न निकै कोशिस गरे पनि व्यर्थ भयो । खेल रोकिएन ।

जुवा एक महिनासम्म चल्यो । द्वापर र कलीको प्रभावले सबै श्रीसम्पत्ति राज्यको वैभव राजा नलले हारे । पुष्करले देशवासीहरुलई कसैले पनि सहानुभूति गरेर नललाई आश्रय नदिनु, जसले आफ्ना घरमा शरण दिएर राख्ला उसले मृत्यदण्ड पाउला भनी नगरवासीमा उर्दी जारी गरे । सारा नगरवासीहरु पुष्करका डरले गर्दा घरमा लुकेर बसे ।

दुःखका साथ राजारानी आभूषण त्यागेर वनतर्फ लागे । रानीले आफ्ना छोराछोरी माइत भीम कहाँ पठाइन् । द्वापर र कली मिलेर सित्तैमा राजालाई दुःखकष्ट दिए । वनको बाटोमा केही नखाई दुःख साथ तीन दिन बित्यो । राज्यको वैभव र सुखभोग सम्झेर राजा चिन्तित भए ।

नदी किनारमा सुनौला प्वाँख भएका चराहरु देखे र यिनलाई नै मारेर खान्छु र यिनका प्वाँख सहरमा लगेर बेच्छु भनी आफ्नो लगाएको एउटा कपडा नै खोली चरालाई ढाके तर यो कलीको माया थियो लगाएको लुगा नै लगेर गयो ।

नल चिन्तित र थकित भएर आफ्नो अतीतलाई सम्झेर बसे । खानलाई अन्न छैन लगाउनलाई कपडा छैन कुन दिनको पापले आज यो दूरगति व्यहोर्नु प¥यो भनी दुवै दम्पतिबीच वार्ता भयो । दमयन्तीलाई विदर्भ देश माइत जान भने तर दमयन्तीले जाने भए दुवै जाउ म मात्र हजुरलाई यो अवस्थामा एक्लै छोडेर जादैन भनिन् । बाटोमा कुनै एक धर्मशाला भेटियो । दुवै जना भूईमा सुते, रानी त निदाइन् तर राजा निदाउन सकेनन् र रानीले लगाएको आधा कपडा च्याथे र रानीलाई तेही धर्मशालामा एक्लै छोडेर देवताहरु आदित्य, महेन्द्र, धर्म र वसुहरुलाई केही समयका लागि म छोडेर जाँदैछु रानीको रक्षा गरे भनेर जिम्मा लगाई कलीको प्रभावमा परी छोडेर गए ।
क्रमशः …