अनौठो खेल
तल्लो जीवन उपन्यास अंश/(खण्ड–६)
यम रेग्मी
गोइँठेको जीवनमा त्यस दिन जुन घटना घट्यो । मुसोटको मोडझैँ जीवनको मार्ग नै मोडियो । एउटा अध्यायमा भोटे ताल्चा लाग्यो, जिन्दगीको । पाँच कक्षामा पढ्दै थ्यो ऊ । पढाईमा लाग्यो, पूर्णविराम । केही डरले, केही लाजले विद्यालय जान छोड्यो । आमाले धेरै सम्झाइन्, मानेन । अनपढले भोग्नुपर्ने पीडाका सगरमाथा देखाइन्, डराएन । घरमै बस्न थाल्यो अब । ऊ स्वत्रन्त्र भयो । खुल्ला, अनन्त आकाशमाथिको पन्छीझैँ । पढाईको बोझ बिसायो, भरियाले काँचो दाउराको भारी बिसाएझैँ । कपासजस्तै हलुङ्गो भयो, मन र तनबाट ।
शनिवारको दिन थियो । पारिलो घाम लागेको थियो, धरतिमा । गगन स्वच्छ थियो, समुद्रको जल सरी । तीन/चार दिनपछि झरी थामिएको थियो । बिहानको खाना खायो, गाई, बाख्रा फुकायो । गाई, बाख्रा अघिअघि लागे बालिमखोलातिर । बायाँ हातमा छाता छोप्यो दायाँ हातमा लठ्ठी । गाई –बाख्राको पछिपछि लाग्यो आफू । गोरे, लाटा, लछे, बिमले र रामे ऊ भन्दा अगाडि नै गएका थिए, ग्वाला । हरियो विशाल बगर थियो । उन्मुक्त परिवेश । वस्तुभाउ मज्जाले रमाई–रमाई चर्न थाले ।
कञ्चन बनिसकेको थियो, बालिमखोलाको पानी । भदौरे पारिलो घामले धरति तातेको थियो । गोइँठे शरीरका सबै कपडा छोडायो । मकैको घुगाबाट पोक्सर छोडाएझैँ । पङ्ख बिनाको पन्छी भयो ।
निरवस्त्र ! एकछिन खोलाका डिलमा टक्क उभियो । मुसुक्क मुस्कुरायो, बिहानीको उषा बनेर । झ्याप्प आँखा बन्द ग¥यो, पानीमा झ्याम्म हाम फाल्यो । हात खुट्टा हल्लाएर पौड्न थाल्यो, क्रमिक रूपले । उसका सबै साथीहरू निरवस्त्र भए । सोही क्रमले पौडिन थाले ।
हिउँझैँ चिसो पानी । एकछिन त खुब रमाए पौडीमा, चिसोको प्रभाह नै नगरी । केही बेरमै जब जाडोले काप्न थाले । ओंठ नीला हुनथाले । लुरुलुरु पानीबाट बाहिर निस्के । बालुवामा थपक्क बसे र घाम ताप्न थाले ।
बिमले र लछे पानीमै थिए । अरु पानीबाट निस्किसकेका थिए । गोइँठे बगिरहेको पानीमा तुरर्र पारेर सानो पिसावको धारो मिसायो । बालुवामा कुलो बनाउँदै बोल्यो– ‘बड्डा हो ‘सु लङ थ्रो’ प्रतियोगिता खेल्ने हो’ ?
‘खेलौ न ।’ सबैले सहमति जनाए । बिमले र लछे पनि पानीबाट निस्किसकेका थिए ।
‘बाज्जी केको राख्ने हो त ?’ लाटा चीसो बालुवा लिङ्गको वरिपरि टाँस्दै बोल्यो ।
गोइँठे केही बेर घोरियो । घामले तातोको ढुङ्गाले अण्डकोषलाई सकाउँदै बोल्यो, ‘जो सबै भन्दा लास्ट हुन्छ । उसले सबैको गाई हेर्छ ? बाँकी सबै बारीमा काँक्रा चोर्न जाने हुन्छ ?’
रामेले निधार माथिको चीसो केशलाई पछाडि सार्दै बोल्यो, ‘ठीक भनिस् दोस्त । आज काँक्रै चोर्न जानुपर्छ ।’
सबै राजी भए गोइँठेको कुरामा ।
नजिकै थियो, पिउने पानीको जरुवा । वर्षाका कुवाँ पानी जब धमिलो हुन्थ्यो साँझ एक गाग्री बिहान एक गाग्री । सुनपुरबासीले पिउने पानी त्यहीँ जरुवाबाट भर्थे । पानी पिउन जरुवातिर लछे नाङ्गै कुद्यो । उसको पछि–पछि अरु पनि कुदे ।
पहिले पानी पिउनको लागि केही बेर पेलापेल भयो । अञ्जुलीबाट सबैले पेट फुट्ने गरी पानी पिए ।
गोइँठेले सबैतिर हे¥यो र आदेश दिँदै बोल्यो, ‘अबको दश मिनेटपछि ‘सु लङ थ्रो’ प्रतियोगिता सुरु हुन्छ । कसैले मुत्ने होइन नि ?’
रामेले रक्सी खादाकोझैँ मुख विगा¥यो । दुबै हातले नाइटोदेखिको तलको भागलाई बेसरी दाब्यो र घोप्टो पर्दै बोल्यो, ‘मेरो त पेटको घैटा नै झरिएर पोखिन लाग्यो यार बड्डा हो ?’
गोरेले रिसाएको अभिनय गरेर बोल्यो–‘रोक न, तेरो बाको झोललाई ?
सबै गलल्ल हाँसे ।
लस्करै बारीको डिलमा उक्लिए । गोइँठे घोप्टो प¥यो । स्वारर तीखो ढुङ्गाले माटोमा धर्को को¥यो । भयो– ‘ल, सप्पैले यै लाइनमा दुईटा खुट्टाले कुच, लाइनभन्दा अगि कसैले खुट्टो नराख्ने ।’
सबै लस्करै लाइनमा टेके र बारीको डिलमा उभिए ।
गोइँठे आफू पनि लाइनमा उभियो र बोल्यो, ‘सुन बड्डा हो, जसले मुतको धारो सबैभन्दा टाढा पु¥याउँछ उसले बाजी जित्छ । जसको नजिक हुन्छ । उसले पप्पैको गाईभैँसी हेनुपर्छ, हुन्छ ?’
सबैले एकैपटक बोले–‘हुन्छ, हुन्छ ।’
मैले गन्दै जान्छु । दश भन्दाखेरि सप्पैले मुत्न सुरु गर्ने ।
सबैले टाउको दायाँवाया हल्लाए र हुन्छको संकेत गरे ।
गोइँठे १, २, ३, ४, ५, ६, ७, ८, ९ सम्म गन्दै गयो । जब दश भन्यो, प्रतियोगिता सुरु भयो । रामे प्रथम भयो । सबैभन्दा पछि पर्ने गोरे ।
गोइँठे जोस्सिएर बोल्यो–‘लौ ! हिडौँ बड्डा हो, कपडा लगाऊ । जाक्यौँ काँक्रा चोर्न बारीमा ।’ गोरेले हेर्छ सप्पैका गाई–भैसीँ ।’
केही अगाडिको गोरेको घामको अनुहारमा छपक्क बादलले छोप्यो । केही बोलेन । रुञ्चे मुख लाएर हुन्छको संकेत ग¥यो ।
गोइँठे डिलबाट जन्मास्टिङ हान्यो । पानीमा झ्याम्म खस्यो । अरु डिलबाट कोही जन्मास्टिक हाने । कोही पाङ्ग्रे हाने । सबैले आ–आफ्नो बहादुरीपन देखाए ।
केही बेर पानीमा डुबुल्की मारे । शरीरभरिको बालुवा पखाले ।
हतार–हतार कपडा लगाए । उक्लिए बारीमा, काँक्रा चोर्नको लागि ।
टिमको लिडर गोइँठेले गरेको थियो । अगाडि उही थियो । अरु पछि–पछि थिए । गैडेखुट्टेको बिच बारीमा पुगेका थिए, सबै । गोइँठे तेल ब्रेक लागेको गाडीझैँ टक्क अडियो । फरक्क पछाडि फर्कियो र सासैबाट सुस्तरी बोल्यो– ‘कसका बारीमा छन् काँक्रा, देख्या छौ कसैले ? मा कसम मैले त कसैको बारीको एउटा काँक्रो पनि देख्या छैन यार !’
सबैले एकले अर्कोको अनुहार हेराहेर गर्न थाले । कोही बोलेन । गोइँठे रामेको अनुहारमा हेर्दै बोल्यो ।
‘रामे तैले देख्या छस् ?’
(सासैबाट) ‘छैन यार कसैको बारीमा ?’
– विमले ?
छैन भन्दै टाउको हल्लायो ।
– लाटा ‘छस् ?’
बिमलेकोझैँ छैन भन्दै टाउको हल्लायो लाटाले पनि ।
– ‘लछे तैले त देख्या होलास्, देख्या छस् ?’
लछे मुसुक्क हाँस्यो । बोल्यो, ‘देख्न त देख्या छु तर ?’
‘के तर छिटो भन न ?’ रिस धेरै । आवाज थोरै । मिसाएर बोल्यो गोइँठे ।
लछे दायाँ हातको औँलालाई स्वली पारेर सुस्तरी बोल्यो, ‘गोरेको घरको झालमा छन् । आठ–दशवटा काँक्रा ।
गोइँठे सोचेर केही बोल्न खोज्दै थियो । बिमलेले उत्साहित हुँदै भन्यो, ‘ल चल ! तँ र म हिडौँ अगाडि । आज थारूको काँक्राले मस्ती लुटौँ । तिमरू पछि–पछि आओ । अवस्था अनुसार कहिलेकाहीँ आत्मघाती खेल पनि खेल्नुपर्छ । गोइँठे केही बोलेन । ऊ अग्रपंक्तिबाट तेस्रोमा झ¥यो ।
गोरेका बाआमा घरमा थिएनन् । श्रीकृष्णजन्माष्टमी आइपुगेको थियो, घरआँगनमा । पूजाको सामग्री किन्न गएका थिए, घोराही । सुनसान थियो घर । बिमले काँक्रो झालसम्म पुग्यो । झालको तलबाट एक हुल कुखुरा बगाल क्वाट–क्वाट गर्दै निस्के र आँगगतिर लागे ।
बिमलेले दशवटा काँक्रा टिप्यो झालबाट । सबैले दुई÷दुई वटा छोपे । कुदे बालिमखोलातिर ।
गोरे खुशी भयो । एकैछिनमा साथीहरू काँक्रासहित फर्किएको देखेर । ६ वटा हरिया, ४ वटा पहेँला गरी १० वटा थिए काँक्रा । एक–एकवटा पनि सबै खान सकेनन् । आधा कोपरेर मीठो–मीठो भाग मात्र खाए । आधा फाले । बाँकी बचेका पहेँला काँक्रा फोडेर हानाहान गर्दै खेल्न थाले ।
जब घडीको सुईले पाँच बजायो, आ–आफ्ना वस्तुभाउ जम्मा पारे । गाईभैँसीको पछि–पछि घरतिर लागे ।
गोरे भैँसीलाई बाहिरै बान्यो । गाईको दाम्लो बाहिरै थियो । किलाबाट झिक्यो । गोठमा गएर गाई बान्यो । बाहिर निस्किँदै थियो, बुधनी गोरेको अनुहारतिर पुलुक्क हेरी । फेरि नाङ्गो काँक्राको झालको आँखा पु¥याई । झालमा टक्क आँखा रोकी र निराश हुँदै बोली–‘हेर गो¥या आज ट क्याकर प्याट फुट्लस, सक्कु खिरा चोर्ख मुअल काहुँ । कौन पापी कठ्याक घिँचल । ब्वाँट छुच्छ पारके सक्कु टुरराखल । देख्लसे वाकर भुँर फुटाडेटुँ ।
गोरे झल्यास दिनको घटना सम्झियो । टाउको ठाडो पारेर झालमा हेरेको हेरै भयो । साथीहरूको गद्दारीले मन अमीलो भएर आयो । रिसले आगोझैँ तातियो । आमाको डरले केही बोलेन । कालो मुख लगाएर बुधनीले केहीबेर जानेजतिका गाली गरिरही । गोरे विवश बनेर नसुनेझैँ सुनिरह्यो ।
क्रमश ः …
