भानुको सम्झना
खगराज न्यौपाने
ए आदिकवि ? ए भानुभक्त ? कहाँ छौ अहिले ?
हामीले तिम्रो सम्झना गर्छौं सम्झन्छौं पहिले ।
जुन बेला तिम्ले कविता रच्यौ नेपाली भाषामा
भाषाको धार बहेको देख्छौं भक्तिको भावना ।
समाजलाई एकत्र ग¥यौ भाषाको माध्यमले
समृद्ध भाषा पारेका साँच्चै ए भानु तिमीले ।
यो कुरा सधै सम्झन्छौ हामी नेपालवासीले
त्यो तिम्रो कृति हिमालै सरी खडा छ अहिले ।
श्रीकृष्ण बाजे विद्वान् थिए उनैले पढाको
माता र पिता धर्मावती र धनञ्जय आचार्य यही छ लेखेको ।
अनेक तिम्ले कविता लेख्यौ नेपाली भाषामा
समाजलाई उन्नत पा¥यौ बेला र मौकामा ।
त्यो प्रश्नोत्तर त्यो वधुशिक्षा अनेक काण्डमा
रचना धेरै गरेका यहाँ रामका नाममा ।
त्यो ठूलो शिक्षा तिमीले दियौ नेपाली जनमा
परोपकारी भएर बाँच भनेका बस्तीमा ।
कोरोना आयो सतायो ऐले राष्ट्र भो खल्बल
सिमाना हाम्रा थालेछन् मिच्न पारेर अल्मल ।
नैतिक बन्दै कर्तव्य बोध सद्भाव राखेर
मानवताको तिमीले पाठ पढाको सम्झेर ।
यो राष्ट्रलाई बलियो पार्न परेका बेलामा
तिमीले मात्र यो काम गर्न सक्दछौ मौकामा ।
त्यसैले आऊ ए भानु तिमी ती स्तम्भ खोजन
यो काम अब सक्दैनन् नेता तिमी नै आउन ।
तिम्रो छ भर तिम्रो छ आश नेपाली मनमा
लौ चाँडै आऊ मसाल लिई खोजौ न सिमाना ।।
