Goraksha

National Daily

कोरोनाको कहर र मानिसको नियत

विनोद पोख्रेल

२०७६ चैत १८ गते
मान समाजको सामूहिक भोगाई एउटा बन्दैछ वर्तमान विषम परिस्थिति । लकडाउनको प्रथम चरण आज सकिँदैछ । भोलिबाट अरु एक हप्ता दोस्रो चरण शुरु हुने हो । हिजो, अस्तिसम्म आफू व्यवस्थित भएको दावी गर्नेहरु पनि अब केही समानको अपर्याप्ताको अन्दाजमा छटपटाउन थालेका छन् भने केही सीमित र एकोहोरो परिवेशले आत्तिन थालेका छन् । समय निश्चित छैन । तेस्रो, चौथो चरण पनि यो स्थितिको हुनसक्छ ।

त्यसका परिणामहरु खान नपाउनुसमेत धेरै पर्न सक्छन् । हिजो नै एउटा अडियो सुने । ब्रिटिस आर्मीको रिटायर्ड कैप्टन अहिले उनी कतै सुपरभाइजरको काम पनि गरिरहेका छन्, उनको पेन्सन एक लाखभन्दा बढी प्रति महिना आउँछ, ब्रिटेनमा बैंक ब्यालेन्स एक लाखभन्दा बढी पाउण्ड छ, नेपालमा २ करोड बैंक ब्यालेन्स छ, सुगरको बिरामी छन् तर बजारमा खाद्य वस्तुको अभावले चकलेट र पानी खाएर ज्यान बचाउँदै छु भन्ने उनको भनाइ थियो ।

त्यो ज्यान बाँच्ने हो कि सुगरको बिरामीले चकलेट खाँदा त्यसको परिणाम के आउने हो ? त्यतातर्फ सोच्ने हो भने स्थिति कहालिलाग्दो देखिन्छ । यस्तो बेलामा धन–पैसाले केही गर्दैन । अर्को पक्ष मानिस सामाजिक प्राणी हो । यसरी थुनिएर बस्नुपर्दा संयम कम हुनेले चाँडो तनाव अनुभव गर्छ । यसको परिणाम पनि कस्तो पर्ने हो थाहा छैन । अहिले सामाजिक सञ्जाल र फोन सम्पर्कले केही राहत दिएको छ तर यिनी नै चार्ज गर्न नपाएर काम नगर्ने हुन सक्छन् ।

आजभोलि मानिसको विवेक र क्षमतामाथि ठट्टा गर्ने पनि गरिएको छ । ठूला–ठूला काम गर्ने भन्नेहरु पनि सानो भाइरसले ग्रस्त भएको मानिन्छ । वास्तवमा प्रकृति यस्तो शक्ति हो, जससँग लड्न वा जसको विकल्प दिन मानिसले सकेको छैन । प्रकृति संरक्षणका कुरा त्यसै उठेका हैनन् । तर पनि स्वार्थ पूरा गर्नेहरुले अनेक निहुँमा प्रकृतिको अति धेरै दोहन पनि गरिरहेका न् । यस्तो बेलामा पनि गिट्टी, बालुवाको अवैध दोहन भएको समाचार आइरहेको छ ।

अन्य क्षेत्रमा पनि स्वार्थी समूहको नजर पक्कै परेको छ । तर पनि भोलिको चिन्ता कसैलाई छैन । हामीले आफूलाई नपर्दासम्म सबै कुरा सामान्य मान्छौं । यो मानिसको स्वार्थको एउटा रुप हो । भर्खरै मात्र भएको अष्ट्रे्लियाको आगो काण्डले त्यहाँ कति क्षति पु¥यायाृ त्यो समाचारमा सुनेर मात्रै पनि डर लाग्ने र आत्तिने थियो । दुनियाँले प्रयास गर्दा पनि बुताउन नसकेको आगोको विध्वंसको परिणाम अष्टे«ेलियालाई मात्रै थाहा छ ।

अहिलेको प्रकोप भने विश्वका धेरै भागमा परेको र यसको प्रभाव प्रत्यक्ष मानव जीवनमा नै परेकोले यसलाई विश्वकै समस्याको रुपमा लिइएको जस्तो लागेको छ । यस्तो बेलामा पनि आर्थिक फाइदा उठाउने गलत नियत र राजनीतिक खेती गर्ने तुच्छ मनोविज्ञान देख्दा भने मानव जातिप्रति नै घृणासमेत जाग्ने स्थिति बनेको छ । एउटा मानिसले आफूले सामान्य कष्ट सहेर अर्कोको जीवन रक्षा गर्न सक्नु पनि ठूलो मानवता हो । तर जुन कुराको पनि सीमा हुन्छ । त्यसैले आत्म संयमबाहेक यतिबेला अरुबारे चर्चा नगर्दा हुन्छ । प्रार्थना गरौं, समस्याले सीमा ननाघोस् ।

२०७६ चैत १९ गते
आज चैत्राष्टमी । चैते दशै भनेर मनाइने दिन । यस दिनमा हाम्रो घर अगाडिको सडकमा धेरै भीड हुने गथ्र्यो तर यसपल्ट लकडाउनले मानिस देखिएकै छैनन् भन्दा हुन्छ । यो नियमको पालना वा जीवनको डर केले हो अथवा दुबैले पनि हुनसक्छ । मेरो मनमा भएको पक्ष भने एउटा भाइरस (शूक्ष्म जीवाणु)ले मानिसमा सांस्कृतिक प्रभाव पनि त सजिलोसँग पार्न सक्ने रैछ भन्ने हो । मैले अहिलेसम्म बढी शारीरिक र मानिस त्यसपछि आर्थिक पक्षलाई जोड दिएको थिएँ ।

आजको दिनले सांस्कृतिक प्रभाव पनि प्रष्टसँग देख्न पाइयो । हामी मन्दिरको समितिमा भएकाहरु शुरु (प्रतिपदा)बाटै जान्थ्यौं र उतै रमाउँथ्यौं । यसपल्ट एक वा दुईजना त्यो पनि नियमित भएन होला, मात्रैले त्यहाँको परम्परागत पूजा आदिको समन्वय गरे । म आफू त एकदिन पनि गएन । यो परिवेशले अरु के–के प्रभाव पारेको छ त्यो पूर्णरुपमा त यो सकियो भने थाहा होला । आजभोलिका समाचारअनुसार अन्य बिरामीलाई समेत अस्पतालहरुले नै निहुँ बनाएर राम्रो उपचार नदिएको वा कत्ति पनि उपचार नदिएर फर्काएको सुन्दा पीडा महसुस हुन्छ तर के गर्ने ? एउटा कुरा भने मनमा आउँछ ।

सबै कुराको समाधान सरकारलाई गाली गरेर मरात्रै हुँदैन । व्यक्तिका पनि जिम्मेवारीहरु छन् । कमसेकम आफ्नो जिम्मेवारी त पूरा गर्नैपर्छ । त्यो मानवीय पक्षसमेत देखिएन । सरकारले नजानेर, नचाहेर, नसकेर वा किन हो समय हुँदाहुँदै पनि जति गर्नुपथ्र्यो, जति गर्न सकिन्थ्यो त्यति नगरेकामा म पनि सहमत छु ।

अझ भोलि पर्ने विभिन्न क्षेत्रका नकारात्मक प्रभावबारे सरकार कति सचेत र गम्भीर छ त्यो भोलि देखिएला । यस्ता कुराहरु नेतृत्व क्षमता र स्टेटम्यानसीपमा पनि भर पर्छ तर यस्तो बेलामा समेत मानवीयताप्रति संवेदनशील हुन र बनाउन नसक्नु, राष्ट्रिय एकताको भावनाको विचार गर्न नसक्नु, कमिसन आदिका कुरा चर्चामा आउन नछोड्नु, नेतृत्व तह नै सामाजिक सञ्जालमा बाझेको शैलीमा प्रस्तुत हुनु, यस्तो संवेदनशील घडीमा पनि चीन र अमेरिकाप्रति अन्ध समर्थन र अन्ध विरोधका भरमा आफ्ना अभिव्यक्ति दिनुजस्तो परिवेशले अति गैरजिम्मेवार र तुच्छ मानसिकताको प्रदर्शन मात्र गरेको छ । फाट्टफुट्ट आम नागरिकले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने समाचार पनि आएकै छन् तर नेतृत्व पक्षले पाल गाडेर जंगलमै राख्न परे पनि राख्ने गरी आफ्ना नागरिकको जिम्मेवारीसमेत लिन नसक्ने परिस्थिति सुन्नु वा देख्नुले सरकारको नेतृत्व गर्नेहरुमाथि प्रश्न चिन्ह लाग्नु स्वाभाविक नै हुन्छ ।

दशगजा पारी खान नपाएर सडकमा सुतेकाहरुलाई मर्न नै छाडिदिएको हो त ? उनको यो देशमा बाँच्ने अधिकार छैन ? अथवा दुई–चार दिन अरु त्यतै बस । मरेका जति उतै रहन्छौ । बाँचेकालाई व्यवस्था गरौंला भनेको हो ? अथवा अझै केही दिन बसेपछि भाइरसको आक्रमण भएपछि ल्याउँला भनेको हो ? यो पूर्णतया कुटनीतिक कमजोरी र प्रशासनिक असफलता हो । यसको जिम्मेवारी समेत लिन नसक्नेले देशको नेतृत्व गर्न सक्छन् भनेर विश्वास गर्ने नै कसरी ?