पाण्डवहरुको वनबास र अर्जुनले शिवबाट पाशुपत्रास्त्र प्राप्त

राधेश्याम उपाध्याय

उत्तरतर्फको बाटो लागेर पाण्डवहरु वन जाँदै थिए हस्तिनापुरका पन्द्र मन्त्री जनता ब्राह्मणहरुले हामी पनि सँंगै वन जान्छौं भनी पछि लागे । तिनलाई युधिष्ठिरले सम्झाई–बुझाई फिर्ता गराए । त्यस रात गंगाजीका तटमा बास बस्दा भए । भोलिपल्ट सबेरै उठेर वनतर्फ जाँदै थिए । ज्ञानी शौनकादि ऋषिहरु र ब्राह्मणहरु सँगै जान पछि लागे ।

त्यो देखर यी ब्राह्मण तथा ऋषिहरुलाई मसँग धन छैन म लाचारी भएको छु हजुरहरु फर्कनुस् भनी अनुरोध गर्दा शौनकादी ऋषि भन्दछन्– हे युधिष्ठिर तपाई त्यस्तो आत्तिनु पर्दैन जो दुःखका समयमा साथ दिन्छ त्यही आफन्त हुन्छ । हामी ऋषिमुनिहरु सधै वनका फलफूल तथा कन्दमूल खाने हामीलाई तिमीले यहाँ छुट्टै केही व्यवस्था गरिरहनु पर्दैन । जे प्राप्त होला त्यही खाउँला हाम्रो चिन्ता लिनु पर्दैन भन्दछन् तर पनि युधिष्ठिर चिन्तित नहुने कुरै भएन ।

युधिष्ठिरलाई चिन्तित देखेर गुरु धौम्यले सूर्य भगवान्को आराधना गर्ने सल्लाह दिन्छन् । गुरुको सल्लाहअनुसार युधिष्ठिरका पाँचै भाइ तथा पाञ्चालीसमेत सूर्यको आराधना गर्दछन् । सूर्य भगवान प्रसन्न भएर तामाको अक्षय पात्र प्रदान गर्दछन् । यो ताम्रपात्र देख्दा सानो भए पनि खाना बनाएर द्रौपदीले नखाँदासम्म भोजन सकिँदैन र इच्छित भोजन प्राप्त भै रहनेछ यति भनेर सूर्य भगवान अन्तरध्यान हुनुभयो ।

युधिष्ठिरले अफूसँग आएका ऋषिमुनि तथा अतिथि ब्राह्मणहरुलाई यसै पात्रबाट तृप्त गराउन लागे । यस पात्रबाट पहिला आफूसँग आएका ऋषिमुनि तथा अतिथि ब्राह्मणहरु तृप्त भएपछि मात्र भाइहरुलाई खुवाउँथे र युधिष्ठिर आफूले खान्थे र यसरी सबैलाई तृप्त गराएपछि मात्र द्रौपदीले खान्थिन् र पात्र खाली हुन्थ्यो ।

त्यसपछि पाण्डवहरु काम्यक वनमा गएर कुटी बनाई स्वधर्मको पालन गरी बस्दा भए । एक दिन दुर्योधन, शकुनी, कर्ण र दुशासनहरुले सल्लाह गरेर काम्यक वनमा गै पाण्डवहरुलाई मार्ने सल्लाह गरे र मार्नका लागि हिँडे । त्यो थाहा पाएर श्रीकृष्ण द्वैपायन (व्यास) गै सबैलाई सम्झाएर फर्काउनुभयो । धृतराष्ट्र कहाँ गै शिक्षा दिनु भयो । जुवामा छलले पाण्डवहरुको राज्य हरेर पनि पटक–पटक दुःख दिनका लागि किन तिम्रा सन्तान तत्पर हुन्छन् ? यो कूल नासको लक्षण हुन सक्दछ । जब पाण्डवहरु आफ्नो १३ वर्षपछि आफ्ना सङ्कटहरु काटी फर्कने छन् त्यसपछि वंश विनासको क्रम शुरु हुनेछ ।

त्यसैले आफ्ना सन्ताको भलोका लागि पाण्डवहरुलाई वनमा गएर दुख दिने काम रोक भनी सम्झाएर व्यासमुनि फर्किए । त्यसपछि मैत्रेय ऋषि आएर पनि अहिले पाण्डवहरुलाई दुःख परेको छ । दुःखमा सबैले सान्त्वना तथा राहत दिनुपर्दछ, आहत दिनु हुँदैन । १३ वर्ष पछि सम्पूर्ण कौरवहरु मर्नेछन् । त्यसैले पाण्डवहरुको राज्य फिर्ता गरी सन्धिगर तिमी पाण्डवहरु लाई जित्न सक्दैनांै भनी दुर्योधनहरुलाई सम्झाउँदै थिए तर दुर्योधन भने ऋषिको कुरामा ध्यान नदिई घोप्टो परेर नङले माटो कोट्याउने जङ्खा (तिघ्रा) उघारी ताल ठोकर हाँस्न लागे । ऋषि मैत्रेय क्रोधित भए र भीमले युद्धमा तेरा दुवै जङ्घा भाँच्ने छन् अनि तँलाई पछुतो होला तेही तेरो मृत्युको कारण हुनेछ भनी दुर्योधनलाई श्राप दिन्छन् र मैत्रेय जी अन्तरध्यान हुन्छन् ।

पाण्डवहरु केही दिन काम्यक वनमा बस्दछन् । काम्यक वनमा राजा अन्धक, भोज, वृष्णी, धृष्टद्मुम्न, धृष्टकेतुहरुलाई लिएर श्रीकृष्ण पाण्डवहरुलाई भेट्न आउनु हुन्छ । पाण्डवहरुलाई आफू जुवा खेल भइरहेका समयमा द्वारीकामा नभएकाले खेल रोक्न सकिन म भएको भए यस्तो हुन दिने थिइन भनी सान्त्वना दिनुभयो । पाञ्चालीलाई पनि सम्झाउनु भयो । पाञ्चालीले पनि आफूहरुमा परेका दुःख, लाहाघरमा मार्न आटेको, जुवामा छल गरेको, रजस्वला भएकीलाई चुल्ठो पकडेर तान्दै सभामा लगेको आदि कुरा क्रमैसँग सुनाइन् ।

हे पाञ्चाली जसरी तिमीले आफ्ना दुखकष्टहरु खपेर रोइरहेकी छौं त्यसरी नै शत्रुहरुका पत्नीहरुले पनि एक दिन रुनु पर्नेछ । तिमी दासत्वबाट छुटी राजमहिषी हुने छौ भनी सबै पाण्डवहरु तथा पाञ्चालीलाई सम्झाए । पाँच पाण्डव र द्रौपदी बाहेकका अरु जति पनि पाण्डवका पत्नी तथा छोरहरु थिए सबै आफ्ना–आफ्ना माइत तथा मामाघर दुःखका साथ कृष्णसँग फर्किए । पाण्डवहरु पनि काम्यक वनबाट सबै ऋषिमुनि ब्राह्मणहरुलाई बिदा गरी आफूहरु पनि द्वैत वनतर्फ लागे । द्वैत वनमा पाँचै भाइले पर्णकुटी बनाइ शास्त्रहरुको चर्चा गरी बस्न लागे ।

यो समयमा मार्कण्डेय र वक नामका मुनिहरु आएर अर्तिउपदेश दिएका थिए । पाण्डवहरु द्वैत वनमा बसिरहेका समयमा एक दिन व्यास आउनु भयो र पाण्डवहरुलाई शिक्षा दिँदै भन्नुभयो– यो समय तिमीहरुले ऋषि मुनिहरुसँग ज्ञानगुनका कुरा लिँदै शक्ति सञ्चय पनि गर्ने समय हो भनी खाण्डव वन दाह गर्दा इन्द्रले अर्जुनलाई शस्त्र विद्या सिकाई दिऊँला भनी भनेको स्मरण गराउँदै अर्जुनलाई एउटा मन्त्र दिए जुन मन्त्र जपेर अर्जुन स्वर्ग जान सक्ने भए र भने अर्जुन तिमी यो मन्त्र जपेर स्वर्ग जाऊ र इन्द्रसँग शस्त्र विद्या सिकेर आऊ तिमीलाई युद्धका समयमा काम लाग्नेछ भनी अर्ती दिई व्यास पनि फर्कनु भयो ।

अर्जुन स्वर्ग गै शस्त्र विद्या आर्जन गर्नु :– अर्जुन पनि सो मन्त्र पाएर दाजुभाइसँग विदा भै स्वर्ग जान वायुको गतिले हिमालय परी पुगे । इन्द्रकिल गिरीमा पुगेपछि ब्राह्मण रुपमा इन्द्रको दर्शन पाए । ब्राह्मण रुपका इन्द्रले यो स्थल सिद्धी प्राप्तिका लागि हो तिमी अस्त्रशस्त्रसहित किन आयौं । अस्त्रशस्त्रहरु फाल भनी बरम्बार भने तर अर्जुनले फाल्न मन गरेनन् ।

तिमी स्वर्ग किन जान्छौ भनी सोधे र अर्जुनले मेरा दाजुभाइहरु वनमा दुःखका साथ बस्दैछन् म स्वर्गमा एैसआराम सुखभोग गर्न जान लागेको हैन म इन्द्र भगवान्सँग शस्त्रहरुको विद्या आर्जनका लागि जान लागेको हुँ भने । अर्जुनका कुरा सुनेर ब्राह्मण रुप इन्द्र हाँस्दै भन्दछन्– अर्जुन म इन्द्र नै हँु । अर्जुन तिमी यसरी स्वर्ग जान पाउदैनौं स्वर्गका केही सीमा हुन्छन् । यो स्वर्गको सीमा हो । पहिला तिमी शम्भुको दर्शन गरी आफूमा भएका पापहरु पखाल । अनि म तिमीलाई शस्त्रास्त्रहरुको ज्ञान दिनेछु भनी इन्द्र अन्तरध्यान भए ।

अर्जुन शम्भुको दर्शनका लागि ध्यान गर्न लागे । त्यही बेला मुक नामको राक्षेसले बँदेलको रुप लिएर अर्जुनलाई मार्ने विचार ग¥यो । त्यही समयमा किरातरुपमा शम्भु पनि आउनु भयो । दुवैले एक साथ बँदेललाई वाण हाने दुवैका वाण लागेर बँदेल म¥यो । दुवैले बँदेल आफूले मारको दावी गर्न लागे । त्यही विषयलाई लिएर दुवैमा घमासान युद्ध भयो । अर्जुनका कुनै पनि वाणले शम्भुलाई छोएन अर्जुनले आश्चर्य माने । दुवैमा मल्ल युद्ध भयो । मल्ल युद्धमा चोट खाएर अर्जुनले हारे । चोटको पीडाले अर्जुन मूर्छा परे ।

मूर्छाबाट ब्यूँझेपछि शम्भुले मुस्कान दिनुभयो । मुस्कानपछि अर्जुनले शम्भुलाई चिने र शरणमा परे । शम्भु खुसी भएर वर माग्न भन्नुभयो । अर्जुनले दिव्य पाशुपतास्त्र पाऊँ भनी वर मागे । शम्भुले हाँस्दै सामान्य अवस्थामा प्रयोग नगर्नु भनी सारा प्रयोग विधि सिकाएर पाशुपतास्त्र अर्जुनलाई दिनुभयो र अन्तरध्यान भै कैलश पर्वत जानुभयो । त्यसपछि खुसी भएर वरुण, कुवेर, इन्द्र, इन्द्राणी, वसु, यक्ष, आदि देवताहरु आए र आफ्ना आफ्ना अस्त्रहरु सिकाइदिए र अन्तरध्यान भए ।

इन्द्रको आदेशमा हिमालय पर्वतबाट इन्द्रका सारथी मालतीले रथमा बसाएर अर्जुनलाई स्वर्ग लगे । अर्जुन मनमा कष्ट भए तापनि इन्द्र तथा सची का साथ स्वर्गमा प्रशस्त सुखभोगका साथ बस्दा भए । मेरो छोरा हो भनी इन्द्रले पनि अस्त्रशस्त्र तथा संगीत विद्या सम्पूर्ण सिकाएर निपूण बनाए । केही दिनपछि इन्द्रले अर्जुनको चाकरीका लगि उर्वसी अप्सरालाई पठाई दिए । उर्बसी पनि वस्त्राभूषणले सुसज्जित भएर इन्द्रका आदेशले हजुरको चाकरी गर्न आएकी हँु आऊ मसँग सुखभोग गरी मेरो काम पीडा पूरा गर भन्न लागिन् ।

अर्जुनले लज्जित हँुदै मेरा वन्धुवान्धवहरु जंगलमा बसेर कष्टका दिनहरु काटिरहेका छन् म कसरी स्वर्गमा आएर भोगविलासका साथ बस्न सक्दछु मबाट यो हुन सक्दैन भने । तिमीसँग इन्द्र पनि भोगविलास गर्दछन् तिमी मेरो लागि आमा सची सरह हौं त्यसैले मबाट यसो हुन सक्दैन । यो सुनेर उर्वसी रिसाएर भन्दछिन्– म कसैकी पत्नी हैन जो सत्कर्म गरेर स्वर्ग आउँछन् उसले मसँग आनन्दले भोगविलास गर्दछन् भनेर अनेक तरहले आफ्नो काम पीडा शान्त गर्न अनुरोध गर्दछिन् तर अर्जुनले मान्दैनन् । उर्वसीले रिसाएर तिमी एक वर्षका लागि नपुंसक हुनेछौ भनेर श्राप दिन्छिन । श्राप दिएको र अर्जुन चिन्तित भएको कुरा इन्द्रले थाहा पाउँछन् र इन्द्रले सम्झाउँदै यो श्राप तिमीले एक वर्ष गुप्तवास बस्दा सहायक हुनेछ चिन्ता नगर भनी सम्झाउँछन् ।

इन्द्रको आदेशमा पौलनामको राक्षस तथा अन्य धेरै स्वर्गका शत्रुहरुको नास गरी देवगणहरुको सन्ताप अर्जुनले हरण गर्दछन् । त्यो देखेर सबै स्वर्गका देवगणहरुले अर्जुनको गुणगान गर्दछन् । यसरी अर्जुन पाँच वर्ष स्वर्गमा बसी सम्पूर्ण अस्त्रशस्त्र तथा संगीत विद्यामा निपूण हुन्छन् । अर्जुन स्वर्ग गएको समयमा एक दिन बृहदश्व नामका ऋषि आउँछन् । युधिष्ठिरले पनि यथासक्य सम्मानपूर्वक राख्दछन र आफूले छलपूर्वक सवै श्रीसम्पत्ति हारेर यो वन जंगल मा दुःखसाथ बस्नुपरेको कुरा सविस्तार सुनाउँछन् । ऋषिले पनि अब नआत्तिन र धर्ममा मन दिन उपदेश दिँदै नल राजाको कथा सुनाउँदै जुवाका छलसहितका सबै खेल सिकाई दिन्छन् ।

क्रमशः …